१५ दिनमा १६ वटा फर्ममा संक्रमण
'जोखिमपूर्ण संक्रमण भए पनि सरकारले गम्भीर रूपमा लिएन । फितलो नियन्त्रण प्रक्रियाले व्यवसायीसमेत संवेदनशील हुन सकेनन् । परिणामतः संक्रमित कुखुरालाई सडकछेउमा मानिसलाई प्रत्यक्ष प्रभावित गर्ने गरी फ्याँकिन थालियो ।’
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण १६ - बर्डफ्लुको संक्रमण एकपछि अर्को स्थानमा गरी बढ्दै गएर राजधानीमा साउनका १५ दिनमा मात्रै १६ ठाउँमा देखिएपछि विज्ञहरूले संक्रमणको दर बढ्नुमा ' नियन्त्रण र कारबाहीमा पहल नगर्ने' सरकार नै दोषी रहेको बताएका छन् ।
पछिल्ला तीनवटा संक्रमण मंगलबार भक्तपुरमा देखिएको छ । स्थानीय बलराम केसीको जीजे पोल्ट्री फर्म, क्रिस राम घुस्याँको निकलेश्वर महादेव-२ स्थित पोल्टी फर्म र कोलासे भक्तपुर-१२ स्थित विमल धिमासुको पोल्ट्री फर्ममा मंगलबार साँझ बर्डफ्लु प्रमाणित भएको हो । उनीहरूको र्फममा केही दिनयता कुखुरा मर्दै आएका थिए । तर पनि संक्रमित हजारौं कुखुरा उनीहरूले रातारात बजारमा पठाएका थिए ।
यो सँगै हालसम्म मुलुकमा एक सय नौ ठाउँमा बर्ड फ्लु संक्रमण देखिएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो वर्षमात्रै करिब ८४ ठाउँमा बर्डफ्लुको संक्रमण देखिएको छ । मुलुकमा सबैभन्दा पहिले २०६५ साल माघ ३ गते झापाको शरणामतीमा बर्डफ्लु देखिएको थियो ।
'बर्डफ्लु रोग नियन्त्रण आदेश २०६६ दोस्रो संशोधनमा प्रस्ट रूपमा संक्रमण देखिएको तीन किलोमिटरको परिधिलाई संक्रमित क्षेत्र घोषणा गर्ने र घना बस्ती भए आवश्यकता मध्यनजर गरी एक किलोमिटर परिधिसम्म संक्रमित क्षेत्र घोषणा गर्न सकिने व्यवस्था छ । तर गत वर्षदेखि यो नियम लागू गरिएको छैन,' नेपाल भेटरिनरी एसो सिएसनका महासचिव डा शितलकाजी श्रेष्ठ भन्छन्, 'यसैले गर्दा हाल उच्च संक्रमण देखिएको हो ।'
डा श्रेष्ठका अनुसार हाल जुन खोरमा बर्डफ्लु देखियो त्यसमा मात्र कुखुरा मार्ने काम भयो र नजिकका खोरमा केही नगर्दा बारम्बार संक्रमण फैलिरहेको हो ।
पशु स्वास्थ्य निर्देशनालयका एक उच्च पदाधिकारीले संक्रमित क्षेत्रको मापदण्ड लागू गर्दा सरकारले कुखुरा व्यापारीलाई तिर्नुपर्ने रकम धान्न नसकिने भएकाले हाल यो बन्द गरिएको दाबी गरे । संक्रमित कुखुरा मारेबापत निश्चित रकम क्षतिपूर्तिस्वरूप सरकारले व्यापारीलाई तिर्नुपर्ने हुन्छ । ती अधिकारीका अनुसार हाल धेरै संक्रमण देखिनुको कारण कुखुरा व्यवसायीले आफनो र्फममा शंका लागे वा संक्रमण भए कुखुरालाई बजार र अन्यन्त्र र्फममा पठाउनु रहेको छ ।
कृषि मन्त्रालयका एक अधिकारीले बर्डफ्लु नियन्त्रणमा सरकारी नीति सर्वसाधारण उपभोक्ताभन्दा पनि व्यसायीको हितमा लक्षित रहेकाले यस्तो स्थिति आएको दाबी गरे । 'राजधानीका तीन सीडीओसहितको बैठकले ओसारपोसार बन्द गर्ने निर्णय गर्ने तयारी थियो तर उच्च राजनीतिक दबाब र व्यवसायीको विरोधले गर्दा कुनै निर्णय हुन सकेन,' ती अधिकारीले भने । बर्डफ्लुले मानव स्वास्थ्यमा पार्नसक्ने असरबारे माथिल्लो निकाय खासै संवेदनशील नभएको उनले बताए ।
निर्देशिका अनुसार संक्रमित क्षेत्रमा कुखुरा मार्न, संक्रमणमुक्त गर्न दक्ष जनशक्ति प्रयोग गरिनुपर्ने भए पनि हाल सम्म यो प्रक्रिया राम्ररी अपनाइएको छैन । 'दिनभर ढुंगा-मुढा, घरको काम गर्ने अदक्ष श्रमिकलाई ज्याला दिएर मार्ने काममा उपयोग गरिन्छ,' स्रोतले भन्यो, 'यसैले तपाईं गत एक वर्षदेखि कुखुरा मार्ने काम कहिले पनि दिनमा गरिएको देख्न सक्नुहुन्न, सधैं साँझ परिसकेपछि हुन्छ ।'
'कुखुरा मार्नमा सरिक रहेका श्रमिकले दिनभर आफ्नो काम सिध्याएपछि मात्र पैसाको अतिरिक्त फाइदाले गर्दा राति मार्ने काम गर्छन्,' स्रोतले भन्यो, 'अदक्ष श्रमिक र उनीहरूमा स्वक्षता सरसफाइ आदिको ज्ञानको अभावले रोग मानवमा सर्ने जोखिम समेत छ ।' 'सरकारले न नियन्त्रण संयन्त्र अपनाउन सकेको छ न त व्यवसायी जीम्मेवार भएका छन,' श्रेष्ठ भन्छन्, 'बर्डफ्लु नियन्त्रण आदेश पालना हुँदा भयावह स्थिति निम्तिँदैन ।' यो संवेदनशील रोग भए पनि सरकार त्यसलाई गम्भीर र संवेदनशील रूपमा नलिएको उल्लेख गर्दै उनले भने, 'फिलतो नियन्त्रण प्रक्रियाले गर्दा व्यापारी समेत संवेदनशील हुन सकेनन्, यसको प्रमाण संक्रमित कुखुरालाई सडक छेउमा आमजनता प्रत्यक्ष रूपमा प्रभावित हुने गरी फयाँक्नु समेत हो ।'
प्रकाशित मिति: २०७० श्रावण १६












