कोल्टी(बाजुरा),
असार ३० -
सुगममा मोवाइललगायत आधुनिक सञ्चार सुविधा बिस्तार भएपनि बाजुराका आधा बढी
भुभाग र जनसंख्या अझै पनि आधारभूत सञ्चार सेवाको पहुँच बाहिर छ । 'मोबाइल सेवा चाहिएन बरु पुरानै आकाश वाणी दिए पुग्छ,' साप्पाटाका मनबहादुर रोकायाले भने, 'सञ्चार सुविधा नभएर ११ गाविसका बासिन्दालाई अन्धकार जस्तै छ ।' भौगोलिक रूपमा ठूलो हिस्सा र विकट भएपनि यस क्षेत्रको सदरमुकामसँग सम्पर्क छैन । स्थानीयवासीको अनुभवमा कोल्टी सञ्चारविहिन भएकाले सरकारी/गैरसरकारी प्रतिनिधि, व्यापारीलगायत कोही पनि त्यस क्षेत्रमा जान रुचाउँदैनन् ।
'इन्टरनेट सुविधाले फेसबुक, स्काइप, ट्वीटरजस्ता सामाजिक माध्यमसँग अभ्यस्थ भएकाहरूका लागि कोल्टी क्षेत्र पुग्दा साँच्चै अन्धकार लाग्छ,' जलस्रोत सल्लाहकार चन्द्र ठगुन्नाले आफ्नो अनुभव सुनाए । कणर्ालीसँग जोडिएको कोल्टी क्षेत्रका ११ गाविसका बासिन्दा सञ्चार सेवाबाट बञ्चित छन् । जबकी, जिल्लामा मोबाइल सेवाको विस्तारअघि कोल्टीमा भीस्याट प्रविधिको १ सेट सार्वजनिक टेलिफोन उपलब्ध थियो । अहिले उक्त सेवा पनि उपलब्ध छैन । सेवा उपलब्ध गराउने उद्देश्यले ३ वर्षअघि नेपाल टेलिकमले कोल्टीमा सिडिएमए प्रविधिको टावर स्थापना गरेपनि विस्तार नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । टावरले काम नगरेका कारण सिडिएमए सेवा विस्तार हुन नभएको हो । 'बिजुली नभएकाले टावरले काम गरेन र उपकरण समेत खराब छ,' सदरमुकाम मार्तडीस्थित टेलिकमका स्टेशन प्रमुख गोबिन्द अवस्थीले भने । कोल्टीका स्थानीय प्रेम रोकायाका अनुसार उक्त टावर पहिलोपटक बिग्रेको नभई सुरुदेखि नै खराब भएकाले सेवा सुरु नभएको हो । स्थापना सयममा नै कम क्षमता जडान गरिएको अवस्थीले बताए । 'एक पटकमा १२ जनाले मात्रै कुरा गर्न सक्ने सिडिएमए क्षमता थियो,' उनले भने ।
बारम्बार माथिल्ला निकायमा जानकारी दिएपनि भौगोलिक विकटताले काम गर्न नसकिएको अवस्थीले बताए । पाण्डुसैनको कालाजग्रा डाँडामा रिपिटर टावर निर्माण भइरहेकाले केही महिनाभित्रै त्यस क्षेत्रमा सञ्चार सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।
फोटो क्याप्सन
बाजुरा सदरमुकाम मार्तडीदेखि तीन घण्टाको दुरीमा रहेको ढम्कनेका स्थानीयले सञ्चालन गरेको पिसिओमा फोन गर्दै । उनी बाजुराको बिच्छ्याँ गाविसबाट तीन दिनको पैदल हिडेर आफन्तलाई फोन गर्न ढम्कने पुगेका हुन् ।
प्रकाशित मिति: २०७० असार ३०
- See more at: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
https://www.facebook.com/nepalinewss