See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं,
भाद्र १० -
एमाओवादीले संविधानसभा निर्वाचनमा तराईका जिल्लामा पहिलेभन्दा बढाउने र
पहाड, हिमालमा पुरानो सिट गुम्न नदिने दाबी गरेको छ । त्यसका लागि उसले
रणनीति बनाउने गृहकार्य सुरु गरेको जनाएको छ ।
पूर्व स्थायी समिति, ब्युरो प्रमुखहरुको आइतबारको बैठकमा नेताहरुले एक
महिनो निर्वाचन अभियान सकेर राजधानी फर्केपछि रिपोर्टिङका क्रममा यस्तो
दाबी गरेका हुन् । उनीहरुले मध्य र पूर्वी तराईका जिल्लामा एमाओवादीले
पहिलेभन्दा दोब्बर बनाउने दाबी समेत प्रस्तुत गरे । अवध, मिथिला र भोजपुरा
जिल्लाको ६६ सिटमध्ये अघिल्लो संविधानसभा निर्वाचनमा उसले ११ सिट मात्र
जितेको उसले तीन दोब्बर बनाउने बताएको छ । मधेश इञ्चार्ज हरिबोल गजुरेलले
यसपकट कम्तिमा ३० सिट जित्ने दाबी गरे ।
'मध्य र पूर्वी मधेशमा यसपटक हामीले कम्तिमा पनि ३० सिट जित्ने आधार बनेको
छ' उनले आधार प्रस्तुत गर्दै कान्तिपुरसँग भने, 'हामीले संघीयतको एजेण्डा
स्थापित गरेका छौ । मधेशीको मुद्दालाई अरुभन्दा बढी महत्व दिएका छौ ।'
बिगत लामो समयदेखि एमाओवादीले मधेशमा संगठन विस्तार अभियानलाई तीब्रता
दिएपछि आधार राम्रो बनेको प्रवक्ता अग्नि सापकोटाले बताए । 'हामीले मधेशीमा
एजेण्डा स्थापित पनि गर्यौ र मधेशमा संगठन विस्तारलाई केन्दि्रत गर्यौ'
उनले भने, 'यसपटकको संविधानसभा निर्वाचनमा मधेशमा सिट संख्या बढ्ने
प्रारम्भिक रिर्पोटिङ आज (आइतबार) को बैठकमा भयो ।'
उनले मधेशमा एमाओवादीप्रति माहौल बन्नुको कारण अध्यक्ष पुष्पकमल दाहाल
धुनषाबाट निर्वाचनमा उठ्ने घोषणा गर्नु पनि भएको बताए । 'अध्यक्षले
धनुषाबाट उठ्ने घोषणा गर्नुभएको छ' उनले भने, 'पार्टीको ध्यान मधेशी जनताको
एजेण्डा स्थापित गर्नमा केन्द्रित रह्यो ।'
पहाडी र हिमाली क्षेत्रमा पहिले जितेका क्षेत्र नगुमाउने बरु थप्ने
गृहकार्यमा लागेको सापकोटाको भनाइ छ । 'पहाड र हिमाली क्षेत्रमा हामीले
पहिले जितेका क्षेत्र गुम्न नदिने प्रयास रहन्छ, बरु बढाइने छ' उनले दाबी
गरे ।
सुदूर पश्चिमका कैलाली र कंचनपुरमा भने एमाओवादीले जित्न निकै कसरत
गर्नुपर्ने एमाओवादीको बुझाइ छ । ती क्षेत्रका ठूलो थारु समुदाय
नेकपा-माओवादीतिर ढल्किएका भन्दै उम्मेदवार र चुनाव प्रचार त्यही ढंगले
गर्नुपर्ने त्यस क्षेत्रमा खटेका नेताको भनाइ छ । पूर्वी पहाडी जिल्लाका
जनजातिको मत भने पहिलेभन्दा बढ्ने दाबी उसले गरेको छ । जातीय एजेण्डाबाट
कांग्रेस, एमाले पर गएको भन्दै त्यहा मतदाता आफूतिर आउने उसले जनाएको छ ।
आइतबार दाहाल निवास लाजिम्पाटमा भएको बैठकमा निर्वाचन अभियानमा गएका १३
पूर्व स्थायी र ब्युरो प्रमुखहरुले रिपार्टिङ गरेका थिए । 'रिपार्टिङमा
सरकार बनाउन सहज बहुमत पुर्याउन सकिने देखियो' सापकोटाले भने, 'एजेण्डा
मिल्ने अन्य दलगरी दुई तिहाइ हाम्रो पक्षमा पुग्ने प्रारम्भिक रिपोटिङ छ ।'
एमाओवादीको केन्द्रीय समिति बैठक मंगलबारदेखि राजधानीमा बस्दैछ । उक्त
बैठकले निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णय गर्ने प्रवक्ता सापकोटाले बताए
।
एमाले मतदाताकेन्द्रित अभियानमा
दोस्रो संविधानसभा निर्वाचनमा एक सय सिट जित्ने दाबी गरेको एमालेले मतदाता
केन्द्रित निर्वाचन अभियान चलाउने गृहकार्य सुरु गरेको छ । मतदाताको सूची
हातमा लिएर एमाले नेता तथा कार्यकर्ता घरघर पुग्ने तयारी गरेका छन् ।
अभियानमा उसले पार्टीका सबै भातृ संगठनहरु परिचालन गर्ने छ । 'हामी मतदाता
केन्दि्रत अभियान सुरु गर्ने गृहकार्यम छौ' सचिब शंकर पोख्रेलले
कान्तिपुरसंग भने, 'मतदाता नामावली हेरेर हामी घरघर पुग्छौ ।' निर्वाचनमा
ध्यानमा राखी सबै भातृ संगठनलाई जिल्ला, क्षेत्र, गाउँ र बुथसम्म परिचालन
गरिने उनले जानकारी दिए ।
उसले भदौ २० गतेभित्र कम्तिमा एक महिलाको नाम सहित प्रत्यक्ष निर्वाचनका
लागि प्रत्येक क्षेत्रबाट ३/३ जना र समानुपातिकका लागि २/२ जना नाम पठाउन
जिल्ला र क्षेत्रलाई लिखित निर्देशन दिएको छ । '२० गतेसम्म उम्मेदवारका नाम
पठाउन सर्कुलर गरिएको छ' पोख्रेलले भने, 'निर्वाचन क्षेत्रले उम्मेदवारको
नाम सिफारिश गरेपछि जिल्लाले संशोधन गर्ने अधिकार दिइएको छ । त्यसमा अंचल
कमिटीले राय दिने छ ।' स्थायी कमिटीले अन्तिम रुप दिएपछि अनुमोदनका लागि
केन्दि्रय समितिमा पठाउने छ ।
एमालेको निर्वाचन घोषणापत्र स्थायी समितिले लेख्दैछ । त्यसका लागि
सोमबारदेखि सुझाव मागिने सचिब पोख्रेलले जानकारी दिए । निर्वाचनको पुरा
तयारीको रणनीति बनाउन भदौ १५ गतेदेखि केन्द्रीय कमिटीको बैठक एमालेले
बोलाएको छ ।
प्रकाशित मिति: २०७० भाद्र १०