Saturday, August 3, 2013

"मानिसलाई सरेको छैन भन्ने पुष्टि के ?"


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २० - व्यक्तिमा बर्डफ्लु संक्रमण भए/नभएकोबारे हालसम्म प्रयोगशाला परीक्षण नगरिएकाले 'नेपालमा मानिसलाई संक्रमण नभएको भनेर दाबी गर्न नसकिने' चिकित्सकहरूले बताएका छन् । बर्डफ्लुको जस्तै लक्षणहरूबाट मृत्यु भए पनि 'अन्य रोगतर्फ केन्दि्रत हुँदै बर्डफ्लुको प्रयोगशाला परीक्षण नगरिएका कारण' पछि प्रमाणित गर्न नसकिने उनीहरूले जनाए ।
'प्रयोगशाला परीक्षण नै नगरी कसरी छ/छैन भन्न मिल्छ ? लक्षण हेरेर होइन होला भन्ठान्ने, अनि परीक्षण नै नगर्ने हो भने त कहिल्यै संक्रमण भए/नभएको थाहै हुन्न,' राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा. गीता शाक्यले कान्तिपुरसँग भनिन्, 'हामीसँग थ्रोट स्वावबाट गरिने परीक्षण उपलब्ध
छ । अन्य फ्लुसँगै बर्डफ्लुको एच५एन१ र एच७एन९ परीक्षण गर्ने क्षमता छ ।' एच७एन९ चीनका मानिसमा देखिएको कडा खालको बर्डफ्लु हो ।
सरकारले भक्तपुरको बर्डफ्लु प्रभावित क्षेत्रका बासिन्दा बिरामी परे पनि 'रुघाखोकीलगायत सामान्य संक्रमण' भनेर अझैसम्म प्रयोगशाला परीक्षण गरेको छैन । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) को निर्देशिकाअनुसार शंकास्पद व्यक्तिमा संक्रमण रहे/नरहेको किटान गर्न नाक, घाँटी आदिको स्वाव वा रगतको प्रयोगशाला परीक्षण
गर्नुपर्छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले स्थानीय नगरपालिका-२ मा ६७ जना बिरामीले परीक्षण गराएको जनाए पनि प्रयोगशाला परीक्षणका लागि कसैको नमुना लिएको छैन । हालसम्म भक्तपुरको उक्त क्षेत्रमा केन्द्रबाट कुनै मानव स्वास्थ्य हेर्ने विशेषज्ञ टोली पुगेको छैन । आफूमा संक्रमण रहे/नरहेको जान्न चाहनेलाई मात्र स्थानीय जनस्वास्थ्य कार्यालयका प्रमुख, सिनियर अहेब, जनस्वास्थ्य निरीक्षकले परीक्षण गरेका छन् ।
स्थानीयमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्नेलगायत समस्या देखिएको तर उनीहरूले उपचार नपाएको समाचार बाहिर आएपछि शनिबार परीक्षण भएको
हो । स्वास्थ्यकर्मीले बिरामीलाई एन्टिबाइटिक र सिटामोल लगायत औषधि दिएका छन् । टोलीले ती औषधिले निको नभए भक्तपुर अस्पताल वा टेकुस्थित शुक्रराज सरुवा रोगमा जान सुझाव दिएका छन् । चिकित्सकले 'माथिको निर्देशन' नआई मानिसलाई बर्डफ्लु परीक्षणका लागि आग्रह गर्न नसकिने बताएका छन् । 'कोही खोकी लाग्यो भन्छन्, कोही घाँटी खसखसायो भन्छन्,' भक्तपुर जनस्वास्थ्यका प्रमुख अर्जुनकुमार अधिकारीले भने, 'थ्रोट स्वाव परीक्षणका लागि नमुना संकलन गर्न मन्त्रालयले निर्देशन दिएको छैन ।'
'सबैको ध्यान कुखुरा मार्नमा केन्दि्रत छ, मानव स्वास्थ्यतिर कसैको ध्यान पुगेको छैन,' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले शंकास्पद रोगीको प्रयोगशाला परीक्षण अत्यावश्यक रहेको
बताए । 'बर्डफ्लु मानिसमा सर्‍यो भने के होला ? सरकारलगायत सबैले संवेदनशील भएर सोच्नुपर्ने हो,' उनले भने ।
'परीक्षण नगरिएको अवस्थामा प्रभावित क्षेत्रका कसैलाई रुघाखोकी र पछि बिगि्रँदै निमोनियाले ज्यान गयो भने संक्रमण भए/नभएको किटान कसरी गर्ने ?,' डा. पुनले प्रश्न गरे, 'यस स्थितिमा मान्छेको मृत्यु भए पनि बर्डफ्लुका कारण हो/होइन प्रमाणित हुँदैन ।'
मान्छेमा बर्डफ्लु हुने मुख्य कारणमा जीवित वा मृत संक्रमित पन्छी, पोल्ट्री र्फम वा पन्छीको सुलीको निकट सम्पर्क हो । बर्डफ्लु प्रभावित पन्छीको सुलीसँग टाँस्सिएको वस्तुले समेत एक ठाउँबाट अर्को ठाउँमा संक्रमण फैलाइरहेको हुन्छ । यो भाइरस भएको एक ग्राम सुलीले करिब १० लाख कुखुरालाई संक्रमित पार्न सक्ने चिकित्सकीय विश्वास छ ।
मानिसमा नगन्य रूपमा भाइरस देखापरे पनि संक्रमित पन्छीसँग असावधानीपूर्वक र जथाभावी सम्पर्कमा आउनेमा यो रोग सर्ने सम्भावना हुन्छ ।
प्रकाशित मिति: २०७० श्रावण २०

» मुख्य समाचार » समानुपातिकमा प्रमुख दल लचिलो हुने


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, श्रावण २० - प्रमुख राजनीतिक दल आन्दोलनरतहरूलाई निर्वाचनमा सहभागी गराउन लचक हुने भएका छन् । निर्वाचनमा तयार भए उनीहरूले मागिरहेको समानुपातिक प्रतिशत बढाउनेबारे सोच्न सकिने उनीहरूले बताएका छन् ।
 मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, अशोक राई नेतृत्वको संघीय समाजवादी दल निर्वाचनमा सहभागी हुने अवस्थामा लचक हुने निष्कर्षमा उच्चस्तरीय राजनीतिक समिति पुगेको छ । माओवादीबाहेक फोरम र समाजवादी पार्टीले प्रमुख दलसँगको कुराकानी नकारात्मक नभएको प्रतिक्रिया दिएका छन् ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा समानुपातिक प्रतिशत बढाउने विषयमा छलफल भइरहेको बताए । 'उपेन्द्रजी र अशोकजीसँग अलग-अलग कुरा गर्ने र समानुपातिक अलिकति बढाउँदा वा पहिलेजस्तो बनाउँदा सबै निर्वाचनमा आउने हुन्छ भने सोच्न सकिन्छ भनेर उच्चस्तरीय राजनीतिक समिति अघि बढेको छ,' उनले कान्तिपुरसँग भने ।
फोरम, संघीय समाजवादी र साना दलले समानुपातिक ५८ र प्रत्यक्ष ४२ प्रतिशत हुनुपर्ने माग गरेका छन् । प्रमुख दलहरूबीच भने समानुपातिक र प्रत्यक्ष ५०/५० प्रतिशत गर्ने सहमति भइसकेको
छ । दाहालले पहिलेकै जस्तो नभए पनि लचक हुन सक्ने भन्दै वार्ता सकारात्मक भएको बताए ।
ती दलको प्रमुख मागमध्ये समानुपातिक प्रतिशत बढाउने एक हो । त्यसलाई सम्बोधन गर्ने विषयमा प्रमुख दलको राजनीतिक समिति छलफल र वार्तामा जुटेको हो । एमाओवादी, कांग्रेस र एमालेले ती तीन दलसँग बेग्लाबेग्लै वार्ता गरेका थिए । दलहरूले वार्ता सकारात्मक भएको बताएका छन् । त्यसलाई निष्कर्षमा पुर्‍याउन आइतबार पनि छलफल हुनेछ ।
कांग्रेस नेता मिनेन्द्र रिजालले असन्तुष्ट दलहरूसँग वार्ता सकारात्मक भएको बताए । 'असन्तुष्ट दल निर्वाचनमा आउन सकारात्मक देखिएका छन्,' उनले कान्तिपुरसँग भने, 'सबै दलसित पहिला द्विपक्षीय र बहुपक्षीय वार्ता गर्ने कुरा भएको छ ।'
'संविधानसभा सदस्य संख्या ४ सय ९१ बनाउने चार दलको सहमति हो । पहिला असन्तुष्ट दलहरूसँग वार्ता गरांै,' उनले भने, 'अनि मात्र निष्कर्षमा पुगिन्छ ।'
 एमाले नेता रघु पन्तले पार्टी संविधानसभा ४ सय ९१ -प्रत्यक्ष ५० र समानुपातिक ५० प्रतिशत) बनाउने पहिलेकै अडामा कायम रहेको उल्लेख गरे ।
यसैबीच उच्चस्तरीय राजनीतिक समितिले माओवादीलगायत ३३ दललाई वार्तामा आउन तेस्रो पठाउने निर्णय गरेको छ ।


प्रकाशित मिति: २०७० श्रावण २०


'सफ्ट ड्रिंक्स चुसेर खानु खतरा’ फुड पोइजन, निमोनिया र घाउमा इन्फेक्सन हुने कीटाणुको मात्रा धेरै -

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, श्रावण २० - सफ्ट ड्रिंक्स गिलासमा नराखी सोझै बोतलमा चुसेर पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको एउटा अनुसन्धानले देखाएको छ । उत्पादक कम्पनीबाट उपभोक्तासम्म पुग्दा त्यसमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणुको प्रवेश अत्यधिक हुने भएकाले चुस्नु हानिकारक भएको अध्ययनले देखाएको हो ।
माइतीघरको सेन्ट जेभियरर्स कलेजमा माइक्रो बायोलोजी अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीले डेढ महिना लगाएर उक्त अध्ययन गरेका हुन् । राजधानीको कोटेश्वर, माइतीघर, पुरानो र नयाँबानेश्वर, जावलाखेल र भक्तपुरमा गरिएको नमुना अध्ययनले बोतल चुसेर खाँदा फुड पोइजन, निमोनिया र घाउमा इन्फेक्सन हुने खतरा उच्च रहेको देखाएको छ ।
'संकलन गरिएका नमुनाको ल्याब परीक्षणमा 'स्टाफाइलोकोकसअरियस' नामक कीटाणु सबैभन्दा बढी पाइयो,' अध्ययन समूहका किरणराज गिरीले कान्तिपुरसित भने, 'यसले फुड पोइजन गराउँछ । यसप्रति व्यापारी र उपभोक्ता दुवै सचेत देखिएनन् ।' उनका अनुसार त्यस्ता पेय भरिएका बोतलको मुखमा स्युडोमानस एपेसिस ४ प्रतिशत, माइक्रोककस एपेसिस ८ प्रतिशत र ब्यासिलस एपेसिस नामक कीटाणु २० प्रतिशत पाइएको छ । यी सबै कीटाणु विशेषगरी फुड पोइजन र निमोनिया गराउनेमा पर्छन् ।
यस्ता कीटाणु प्लास्टिक र काँच दुवैमा भेटिएको छ । 'यस्ता सामग्रीको व्यवस्थापन राम्रो छैन, भरिएका बोतल जथाभावी झरेका, जे पायो त्यही चीजले पुछेको र खुला रूपमा ढुवानी हुने भएकाले संक्रमणको खतरा उच्च भएको हो,' अर्का अध्येता कुमार श्रेष्ठले भने, 'पढेलेखेका व्यक्तिले पनि यसमा ध्यान दिएका छैनन् । मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने कुरालाई ख्यालख्यालजस्तो ठानिएको छ ।'
अध्ययनमा गिरी, श्रेष्ठसहित कल्पना पाण्डे, कृष्णा पनेरू र कृष्णमुरारी खनाल सहभागी थिए । उनीहरूको अध्ययनले विशेषगरी कलेज पढ्नेहरूले बोतलबाट नै खाने गरेको देखाएको छ । 'पाको उमेरकाले बोत्तल पुछेर पिउने गरेको देखियो,' कृष्णा पनेरूले भनिन्, 'पुछेर सफा हुने वा कीटाणु मर्ने हुँदैन । गिलासमा राखेर खाँदा सोझै कीटाणुको प्रवेशलाई कम गर्न सकिन्छ ।'
अध्ययनले उपभोक्ताले बोतलको यस्तो पेय करिब ५ सेन्टिमिटर मुखभित्र छिराएर पिउने गरेका छन् । बिर्को लगाएको भाग करिब २ सेन्टिमिटर हुन्छ । लामो समय बिर्को लगाएको बोतलको मुखमा खिया लागेको हुने र त्यसले जनस्वास्थ्यमा थप प्रभाव पर्ने उनीहरूले बताए । अध्येयता गिरीका अनुसार उनीहरूले आफ्नो अध्ययन क्षेत्रबाट नमुना संकलन गरी ल्याब परीक्षण गरेका थिए । ल्याब परीक्षणको प्रतिवेदन, यसबारे विभिन्न देशमा भएका अध्ययन तथा निष्कर्ष, सहभागीसितको कुराकानीका आधारमा निष्कर्ष निकालिएकाले अध्ययनको विश्वसनीयतामा शंका गर्नु नपर्ने उनीहरूको दाबी छ । कल्पना पाण्डेले भनिन्, 'ल्याबको नतिजाका आधारमा हामीले निष्कर्ष निकालेका हौं, यो हचुवा अध्ययन होइन ।'
प्रकाशित मिति: २०७० श्रावण २०

हात्तीको आक्रमणमा बालिकासहित दुईको मृत्यु


See more at: 
-भिडियो हेर्नुस्: http://www.youtube.com/watch?v=xmpNPgUvoxY


सर्लाही, श्रावण २० - जंगली हात्ती को आक्रमणबाट आइतवार बिहान सर्लाहीको हरिपुर गाविस-१ मा एक बालिका सहित दुईजनाको मृत्यु भएको छ ।
अढाई बर्षकी हिरीया महतो र ३० बषिर्य उपेन्द्र महतोको हात्ती आक्रमणवाट मृत्यु भएको हो । पानी लगाउन राती खेतमै बसेका उपेन्द्रलाई निदाएको बेला हात्ती ले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी हिरनीका परिवार गर्मीका कारण घर वाहिर सुतेका बेला हात्ती पुगेर आक्रमण गरेको थियो । हात्ती ले सुतेकै ठाउँमा आक्रमण गरेपछि सबै भागेका थिए । भाग्न नसक्ने सानी बालिकालाई हात्ती ले लछारपछार पारेर मारेको हो । दुबै घटना २ सय मिटरको फरकमा भएको थियो ।
हिरनीका बुबा नथुनीले हात्ती आँगनमा आएपछि सबैजना हल्ला गर्दै भागेको वताए । 'हामी ज्यान बचाउन भाग्यौं,' उनले भने, 'छोरीलाई सुंडले बेरेर पछार्‍यो ।' भागदौडमा हिरनीकै जुम्ल्याहा बहिनी गिरनीको दाहिने खुट्टा भाँचिएको छ ।
सुतेकै स्थानमा हात्ती ले आक्रमण गर्न थालेपछि गाउँमा आतंक फैलिएको छ । स्थानीय विनोद साहले हात्तिको त्रासले कोहीपनि खेतमा पानी लगाउन जान नसक्ने अबस्था आएको वताए । 'घरमै बसेर काम हुंदैन,' उनले भने, ' हात्ती को त्रासले भोकै बस्नु पर्ने अबस्था आयो ।'
जंगली हात्तिको आक्रमणवट दुई महिनामा यहाँ चारजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: २०७० श्रावण २०

शीर्षस्थानमा पर्छन् लन्डनमा नेपाली रेस्टुरेन्ट




See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

लन्डन, श्रावण २० - लन्डनबाट २ सय ८० माइल टाढा रहेको पर्यटकीय सहर कर्नवालमा रेस्टुरेन्ट चलाइरहेका राजु आचार्यको व्यस्तता अचेल निकै बढी छ । स्कुल बिदा र समर सिजनसँगै बढ््दो गर्मीले समुद्र छेउको उनको रेस्टुरेन्ट मालामाल छ । ५२ सिट क्षमताको रेस्टुरेन्टमा दैनिक सयभन्दा बढीले खान्छन् । होलिडे स्पट र क्याराभानका लागि दैनिक सयजनालाई 'टेक वे' खाना मात्र उपलब्ध गराउँछ रेस्टुरेन्टले । 'शनिबार आइतबार करिब ३ सयसम्मलाई ख्वाइन्छ,' एक दशकयता कर्नवालमा काठमाडौं प्यालेस रेस्टुरेन्ट चलाइरहेका आचार्यले भने, 'यतिखेर निकै व्यापार वृद्धि भएको छ ।'
बेलायतको लोकपि्रय पत्रिका इन्डिपेन्डेन्टको सर्वेक्षणमा टप ५० मध्ये १६ औं स्थानमा पर्न सफल उक्त रेस्टुरेन्टमा ग्राहक बढ्नुमा समर सिजन र गुणस्तरीय खाना ठान्छन् आचार्य । कर्नवालमै सञ्चालित नेपालीका अरू चार रेस्टुरेन्टले समेत उच्च व्यापार गरिरहेको आचार्यले जनाए ।  
उता, डोभर समुद्री तट नजिक आसफोर्ड र हाइथमा बेग्लाबेग्लै चालु एभरेस्ट इन रेस्टुरेन्टको व्यापारसमेत ३० प्रतिशत बढी छ । 'नियमित ग्राहकबाहेक घुम्न आउनेहरूले रेस्टुरेन्ट भरिभराउ छ,' एभरेस्ट इन समूहका प्रबन्ध निर्देशक पशुपति भण्डारीले कान्तिपुरसँग भने, 'दैनिक सयभन्दा बढीलाई खाना ख्वाउँदा  एकछिन फुर्सद हुँदैन्, व्यापार वृद्धिले कामदारसमेत थप्नुपरेको छ ।' समुद्रतिर ओइरिनेहरूलाई निःशुल्क खाना चाख्न दिएर पनि रेस्टुरेन्टले ग्राहक आकषिर्त गरिरहेको छ । अरू थप कारण छन् यो रेस्टुरेन्ट चल्नुमा । राजकुमार चाल्र्ससमेत संरक्षक रहेको जिमी मिजेन फाउन्डेसनसँग निकट भएर काम गरिरहेको उक्त रेस्टुरेन्टले १८ जना बेलायती नागरिक तथा तन्नेरीलाई नेपाल घुम्न आंशिक प्रायोजन गरेकाले पनि प्रतिष्ठा बढेको सञ्चालकको बुझाइ छ । त्यसो त अभिनेत्री जोआना लुम्ली, थुप्रै हलिउड बलिउड सेलिब्रेटीहरूको रोजाइमा पर्ने उक्त रेस्टुरेन्टमा पूर्व अध्यागमनमन्त्री डेमियन गि्रन भान्सामै गएर खाना पकाएपछि यसको लोकपि्रयता अरू बढेको सञ्चालकको दाबी छ ।
आर्थिक मन्दीले अरू बेला 'सर्भाइभ' मात्र भइरहेका सी साइडका नेपाली रेस्टुरेन्ट अहिले भने व्यस्त
छन्् । जुलाईदेखि सेप्टेम्बरसम्म पिक सिजन हो उनीहरूको । लन्डनभन्दा सी साइडका रेस्टुरेन्टमा खानाको मूल्य करिब १५ प्रतिशत महँगो भए पनि ग्राहक संख्या झन् बढेको छ ।
समर सिजनको सुरुवातसँगै बढ्दो गर्मीले यसपटक बि्रटेनका होटल, रेस्टुरेन्टको व्यापार अकासिएको छ । बेलायतको बजेट होटल चेन 'ट्राभलज' को पछिल्लो तथ्यांकमा होलिडे मनाउने ग्राहक गत वर्षभन्दा यसपटक ४१ प्रतिशतले बढेका छन् । बेलायतका प्रमुख गन्तव्यमा बास बस्ने बेलायतवासीको संख्या ४ करोड नाघेको तथ्यांक छ । ती चर्चित टप २० गन्तव्यमा लन्डन, एडिनवरा, लेक डिस्टि्रक्ट, कर्नवाल, स्कटिस हाइल्यान्ड, डोरसेट, डेभोन, नर्थ वेल्स्, ब्ल्याक पुल, योर्क, योर्कसायर डेल्स्, साउथ वेल्स्, पिक डिस्टि्रक्ट, आइल अफ वाइट, न्यू क्यासल, सोमरसेट, म्यानचेस्टर, लिभरपुल मर्सी साइड, कोट्सवोल्ड्स र बर्नमोथ छन् । यी गन्तव्यमा होलिडे मनाउँदा बेलायतको अर्थतन्त्रमा यस वर्ष करिब १२ बिलियन पाउन्ड योगदान गर्ने अनुमान छ ।
त्यसो त यस वर्ष बि्रटेनमा अत्यधिक गर्मी बढ्यो । मेट अफिसको तथ्यांकमा गत बिहीबार यस वर्षकै अधिकतम तापक्रम ३४ दशमलव एक डिग्री सेल्सियस् मापन भएको थियो, जुन मुम्बईभन्दा अधिक हो । अधिक गर्मीकै कारण होलिडे बिताउनेको संख्या बढेको छ ।
तर, लन्डनमै भने व्यापार मन्दी छ । नेपलिज क्याटरिङ एसोसिएसन यूके अध्यक्ष विजय थापाले समर सिजनमा बढ्दो गर्मीका कारण घुम्नेहरू समुद्री किनार वा अन्यत्रै होलिडे जाने हुँदा मुख्य लन्डनको व्यवसाय भने सन्तोषजनक नभएको बताए । 'ग्राहकहरू रेस्टुरेन्टभन्दा बरु पवतिर झुम्मिने भएकाले हामीलाई यो सिजनमा मार पर्छ,' २३ वर्षयता लन्डन पट्नीमा मुनाल तन्दुरी रेस्टुरेन्ट चलाइरहेका थापाले भने ।  
सन् १९७६ देखि रेस्टुरेन्ट व्यवसायमा संलग्न धु्रव केसीले पनि यतिखेर व्यवसायमा मन्दी आएको अनुभव गरेका छन् । सन् १९९९ यता वेम्ली स्टेडियम सामुन्ने वेम्ली तन्दुरी रेस्टुरेन्ट चलाइरहेका केसीले स्टेडियममा नियमित हुने इभेन्ट्सले व्यवसाय 'सर्भाइभ' भए पनि समग्रमा बीस प्रतिशतसम्म घटेको जनाए ।
लन्डनबाहिर फार्नवोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टका सञ्चालक सूर्य गुरुङलाई भने यो समरमा मन्दी खेप्नु परेन । उनको रेस्टुरेन्टअगाडि प्रत्येक दुई वर्षको अन्तरालमा एयर सो हुने भएकाले इभेन्ट्सका बेला आसपासका रेस्टुरेन्ट बढी चल्ने गर्छन् ।
प्रकाशित मिति: २०७० श्रावण २०

आचारसंहिताविपरीत बोर्ड सदस्य नियुक्त


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २० - सहरी विकासमन्त्री छविराज पन्तले  निर्वाचन आचारसंहिताविपरीत अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिको सदस्य नियुक्त गरेका छन् । आचारसंहिताविपरीत १९ सदस्यीय बोर्ड सदस्य गठन गरेका हुन् । सदस्य नियुक्तिसँगै समितिले पूर्णता पाए पनि त्यसको कानुनी मान्यतामा भने प्रश्नचिह्न खडा भएको छ ।
निर्वाचन आचारसंहिता लाग्नु एक दिनअघि मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव नारायण रेग्मीलाई समितिको अध्यक्ष नियुक्त गरेका थिए । रेग्मीले कानुनसम्मत बोर्ड सदस्य नियुक्त भएको बताए । बोर्ड सदस्यमा बद्री सिग्देल, केशवराज जोशी, ठाकुर पन्त, नारायणदत्त भट्ट, सहदेव गौतम, गीता श्रेष्ठ, डोरप्रसाद अर्याल, सुनील झा, शंकर खतिवडा, मञ्जु विक, शशि थापालगायत छन् । ठाकुर मन्त्री पन्तका भाइ हुन् भने जोशी पूर्वमन्त्री टेकबहादुर चोख्यालका स्वकीय सचिव थिए ।
त्यसैगरी सहदेव गौतम पूर्वसहरी विकास सचिव ताना गौतमका नातेदार हुन्, उनी यसअघि पनि बोर्ड सदस्य थिए । शंकर खतिवडा एमाओवादी कार्यकर्ता भए पनि मन्त्री पन्तको विशेष सूचीमा थिए । वाग्मती नदी वरपरका ८ गाविसका स्थानीय जनतालाई बोर्ड सदस्यमा ल्याउने परम्परा यसपालि तोडिएको छ । आठ गाविसको सुन्दरीजल-गोकर्ण वाग्मती सरोकार समितिको अध्यक्ष बोर्डको पदेन सदस्य हुने व्यवस्था छ ।
यसपालि आठ गाविसका एकजना पनि बोर्ड सदस्य परेका छैनन् । सहसचिव रेग्मीले स्थानीय मान्छे कोही नपरेको स्वीकार्दै मन्त्री पन्तले नै सदस्य चयन गरेको बताए । स्थानीयवासीले त्यसको विरोध गरेका छन् । स्थानीयवासी जनार्दन खडाले स्थानीयवासीको महत्त्वलाई नबुझी बोर्ड गठनको औचित्य नभएको
बताए । 'स्थानीयस्तरमा काम गर्ने अनि हामीलाई नै लत्याउने हेरौं कसरी काम गर्दा रहेछन्,' उनले भने ।
विकास समितिको म्याद पनि दुई वर्ष थप गरिएको रेग्मी जानकारी
दिए । ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नहुन्जेसम्मका लागि रेग्मीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले नियुक्ति विषयमा उजुरी नआएको बताए । 'उजुरी परे त्यस्तो विषयमा आयोगले विचार गर्छ,' उनले भने ।
अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भन्ने पत्रमा उल्लेख गरेपछि रेग्मीले त्यो शब्द नसच्याएसम्म आफू जिम्मेवारी नलिने अडान राख्दै आएका थिए । त्यसपछि मन्त्री पन्तले उक्त शब्दलाई सच्याई दुई वर्षसम्मका लागि भन्दै सच्याउन लगाएका थिए । आफूलाई दिएको जिम्मेवारी आफूमुनिको कर्मचारीलाई दिएको भन्दै सहरी विकास सचिव किशोर थापा र मन्त्री पन्तबीच पनि विवाद बढेको छ ।

प्रकाशित मिति: २०७० श्रावण २०

सवारी ज्ञान अब विद्यालयबाट


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २० - सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले उपत्यकाका विद्यालयमा ट्राफिक कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई ट्राफिक नियमको जानकारी गराउँदा त्यसको प्रभावकारिता बढी हुने भन्दै 'स्कुल-स्कुलमा ट्राफिक प्रहरी' अभियान थालेको हो । महानगरीय ट्राफिक प्रहरी दरबारमार्गले त्यसको अगुवाइ गरेको छ ।

अभियानको डीआईजी केशव अधिकारीले उद्घाटन गरे । नियम उल्लंघन गर्नेलाई जरिवाना गर्नुभन्दा हरेक घरका बालबालिकालाई सचेत गराउन सके त्यसको प्रभाव बढी हुने ट्राफिकको विश्लेषण छ ।

प्रकाशित मिति: २०७० श्रावण २०

दुई वर्षमा ९२० ले गरे आत्महत्या


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


डोटी, श्रावण २० - यौन तथा घरेलु हिंसाका घटनाहरू सार्वजनिक भइरहेकै सुदूरपश्चिममा भने बढ्दै गएको आत्महत्याले धेरैलाई झस्काएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको तथ्यांकअनुसार दुई आर्थिक वर्षमा ९२० जनाले आत्महत्या गरेका छन् । युवामा उच्च महत्वाकांक्षा, महिलामा आर्थिक परनिर्भरता तथा चेतनाको अभाव र ग्रामीण क्षेत्रमा गरिबी तथा अशिक्षाले आत्महत्या बढ्दै गएको बुद्धिजीवीहरूको निष्कर्ष छ । सुदूरपश्चिममा गत आर्थिक वर्षमा ५ सय ३ र आव ०६८/०६९ मा ४ सय १७ ले आत्महत्या गरेको प्रहरी तथ्यांकमा छ ।
डोटीका प्रजिअ दीपक कापmलेले आत्महत्या बढ्नुबारे सूक्ष्म अनुसन्ध्ाानबिना केही भन्न नसकिने बताए । 'अनुसन्धानै नगरी यसै भन्न सकिँदैन,' उनले भने, 'यसमा उमेर समूहले पनि प्रभाव पार्छ, कतिपय घरायसी झगडाका कारणले पनि आवेशमा आत्महत्या गरेका हुन्छन् ।' डोटी बहुमुखी क्याम्पसका प्राध्यापक डण्डीराज ओझाले गरिबी, अशिक्षाका बीच उच्च महत्त्वाकांक्षा बढ्दै गएकाले आत्महत्या बढ्दै गएको बताए । महिला अधिकारकर्मी शशि सोपले घरेलु हिंसा बढ्दै गएपछि न्यायका लागि प्रशासनसम्म जाने साहस र आँट नहुँदा अधिकांश महिलाले आत्महत्या गरेको पाइएको बताइन् ।
आत्महत्या हुनुको कारण खोज्नुपर्ने कानुनी बाध्यता नभएकाले पनि प्रहरीले पोस्टमार्टमका आधारमा फाइल बन्द गर्नुपर्ने अवस्था रहेको डोटीका बार अध्यक्ष गोबिन्द जोशीले बताए । 'पञ्चायतकालमा सरकारवादी मुद्दा ऐन २०१७ मा आत्महत्याको कारण खोज्ने व्यवस्था थियो,' उनले भने, 'हाल उक्त व्यवस्था कानुनबाट हटाइएको छ, मृतकको पोस्टमार्टमले आत्महत्या गरेको पुष्टि गरिसकेपछि कारण खोज्नु पर्दैन, आफन्तहरू पनि कानुनी झन्झटका कारण आत्महत्याको केश अगाडि बढाउन हिच्किचाउँछन् ।' आत्महत्या गर्नेको संख्या सुदूरपश्चिमका जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी छ ।
त्यहाा पुरुषभन्दा महिलाले बढी आत्महत्या गरेका छन् । पछिल्ला
दुई वर्ष अवधिमा कैलालीमा ४ सय ३६, कञ्चनपुरमा २ सय ९०, डोटीमा २७, अछाममा ३६, बाजुरामा १०, बैतडीमा ४३, डडेल्धुरामा ४४, दार्चुलामा १९ र बझाङमा १५ जनाले आत्महत्या गरे ।
प्रकाशित मिति: २०७० श्रावण २०

८ बर्षीय बालकको पित्तथैलीको शल्यक्रिया




See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

धरान, श्रावण २० - मोरङको मृगौलिया ८ गोठगाउँका चार वर्षीय एक बालकको पित्तथैलीको ढुंगा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभागले शनिबार शल्यक्रिया गरी निकालेको छ ।

पदम दुलाल र मिना दुलालको चार वर्षे छोरा यमनको शल्यक्रिया गरी १ दशमलव ३ सेन्टिमिटरको 'पिग्मेन्ट स्टोन' निकालेको चिकित्सक प्रा.डा. शैलेश अधिकारीले बताए । उनका अनुसार बालबालिकाको पित्त थैलीमा सामान्यतया ढुंगा बन्दैन । ठूला मानिसमा मात्र हुने पित्तथैलीमा ढुंगा विश्वमा बालबालिकामा विरलैमात्र बन्छ । उनले भने, 'कहिलेकाहीं बच्चाको रगतको सेलमा खराबी हुँदा पिग्मेन्ट स्टोन बन्छ ।'  

ल्याप्रोस्कोपिक प्रविधि अपनाएर बच्चाको पित्तथैलीबाट ढुंगा निकाले पनि उक्त ढुंगा बच्चाको पित्तथैलीमा कसरी र के कारणले

बन्यो त्योचाहिँ थाहा पाउन बायोकेमेस्ट्री ल्याब टेस्ट गर्न पठाएको अधिकारीले बताए । चिकित्सा विज्ञानमा बच्चाको पित्त थैलीमा

ढुंगा बन्नुलाई कतिपय अवस्थामा अनौठो र विरलै मानिन्छ ।

शल्यक्रियामा सर्जरी विभागका प्रा.डा. अधिकारीसहित डा. सरोज राजवंशी, डा. कुनाल देव तथा एनेस्थेसिया विभागका प्रमुख प्रा.डा. बालकृष्ण भट्टराईलगायतको सहभागिता रहेको थियो ।



प्रकाशित मिति: २०७० श्रावण २०

पहिरोको त्रासमा ५८ परिवार


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

लमजुङ, श्रावण २० - भोजेका बासिन्दा २० वर्षदेखि पहिरोको त्रासमा बाँच्न बाध्य छन् । पहिरोले आजित भएपछि उनीहरू ठाउँ-ठाउँमा हारगुहार गर्दै हिँडेका छन् ।
दुई दशकअघि सुरु पहिरो रोकिने छाँट नभएपछि विकट भोजे ४ र ५ वडाका बासिन्दा पुनर्बासको माग गर्दै सदरमुकाममा आएका छन् ।
अघिल्ला वर्षमा झैं यस वर्ष पनि वर्षायाम सुरु हुनासाथ पहिरो जान थालेपछि त्रसित स्थानीय बासिन्दाले जिल्ला प्रशासन र राजनीतिक दलका प्रमुखहरूलाई भेटी पुनर्बास गराउनुपर्ने माग गरे । 'पहिरोले गाँस, बास सबै उडायो, अब बस्न सक्ने स्थिति नभएकाले डेलिगेसन आएका हौं,' पीडित कुशबहादुर गुरुडले भने, 'सरकारले पुनर्बासका लागि विकल्प नदिएसम्म हामी र्फकन्नौं ।' बच्चा काखमा च्यापेर युवा, वृद्धसहित दिनभर हिँडेर बिहीबार सदरमुकाम आएका हुन् । कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने उनीहरूले सुनाए ।
वषर्ांैदेखिको पहिरोले खेतीयोग्य जमिन बगाइसकेको छ । अहिले गाउँसमेत चारैतिरबाट पहिरोले घेरेको छ । खेतबारी जाने र सहर र्झने बाटोसमेत बगाएको छ । यसले खाद्यान्नको अभाव भएको छ । साथै सिँचाइ, कुलो र खानेपानीका पाइपमा समेत क्षति पुगेको छ । ओहोरदोहोर गर्दा प्रत्येक पटक नयाँ बाटो बनाएर हिँड्नुपर्ने बाध्यता छ ।
हुनेखाने सहर झरिसकेका छन् । अहिले भएका ५८ घरमध्ये ८ घरपरिवार महिनादेखि विस्थापित भएका छन् । उनीहरू छिमेकीको घर, आमा समूहको भवन र पाल टाँगेर बस्दै आएका छन् । नजिकै अन्यत्र कतै बसाइँ सरौं भने पनि कुनै आधार नभएको उनीहरूले सुनाए । एक महिनादेखि ११ जनाको परिवारसहित आमा समूहको भवनमा बस्दै आएका ६० वषर्ीय पूर्णबहादुर गुरुङले आँखाभरि आँसु झार्दै भने, 'हामीलाई सरकारले बासको व्यवस्था गर्नुपर्‍यो ।'
उनी समूह भवनमा सर्न मानेका
थिएनन् । यही साउन ४ गते दिउँसो आँगनबाटै पहिरो गएपछि गाउँलेले
उनीसहित ८ घरलाई समूह भवन र छिमेकीकोमा सारेका थिए ।
१३/१४ वर्ष पुरानो पुस्ता बस्दै आएको गाउँ छाड्न मन मानेको छैन । तर दिनहँु वषर्ासँगै पहिरो गइरहने भएकाले बस्न नसकिने कुशबहादुर बताउँछन् । पहिरो नियन्त्रणका लागि अहिलेसम्म जिविस, जल उत्पन्न प्रकोप केन्द्र, भूसंरक्षणलगायतले २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । तर तारबार गरेर कुनै हालतमा रोक्न नसकिने उनी बताउँछन् । पहिरोको गत वर्ष भौतिक तथा सहरी विकास मन्त्रालयका इन्जिनियर मनिकुमार राई नेतृत्वको विज्ञ टोलीले अध्ययनसमेत गरेको थियो । अध्ययनले पहिरोको जोखिम कम हुँदै गएको र डिटेल रिपोर्ट गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर उल्टै यस वर्ष ठूलो पहिरो गएको गाउँलेले बताए ।
गत वर्ष पनि गाउँले पुनर्बासको माग गर्दै सदरमुकाम झरेका थिए । तर जिल्लाबाट दबाब नपुगेको भन्दै शनिबार उनीहरू भौतिक मन्त्रालयमा डेलिगेसन जाने तयारीमा छन् । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले गाउँलेको माग शुक्रबारै केन्द्रमा पठाएको बताए । पहिरोको स्वरूप ठूलो भएकाले स्थानीय तहमा नियन्त्रण गर्न सकिने अवस्था नदेखिएको उनले बताए ।

प्रकाशित मिति: २०७० श्रावण २०

गाउँका स्वास्थ्य संस्था रित्तै


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
जाजरकोट, श्रावण २० - ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी आगामी भदौ पहिलो साता हुने लोकसेवा आयोगको परीक्षा तयारी गर्न सहर पसेपछि गाउँका स्वास्थ्य संस्था रित्तै छन् । जिल्ला अस्पतालमा भने नियमित रूपमा डाक्टर बस्न थालेपछि बिरामीलाई सहज भएको छ । उता डोल्पा लैजानुपर्ने औषधि जाजरकोट अस्पतालमा अलपत्र छ ।   
गाउँका प्राथमिक स्वास्थ्य केन्द्र, उपस्वास्थ्यचौकी लगायतमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय बासिन्दा उपचारबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी नहुँदा ग्रामीण क्षेत्रका झाडापखाला, भाइरल ज्वरो, टाइफाइडका बिरामीहरू समस्यामा परेको भगवतीका स्थानीय भीमबहादुर मल्लले बताए । एक दर्जन स्वास्थ्य संस्था कार्यालय सहयोगी र माशिकाको भरमा सञ्चालन
भएका छन् ।
भगवती, पजारु 'ख', डाँडागाउँ 'क', पुन्मा, मजकोट, दह, कोर्ताङ लगायत दर्जन स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालित छन् । ३ दर्जन करार स्वास्थ्यकर्मीको गत असारदेखि म्याद सकिँदा गाउँका स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन बन्न पुगेको जिल्ला जनस्वास्थ्य प्रमुख धीरजंग शाहले बताए ।
 जिल्लामा ३० प्रतिशत दरबन्दी रिक्त हुँदा यस्तो समस्या आएको उनको भनाइ छ । प्राथमिक उपचार केन्द्र ७५ प्रतिशत दरबन्दी रिक्त, स्वास्थ्यचौकीमा ५१ प्रतिशत, उपस्वास्थ्यचौकीमा ३५ प्रतिशत रिक्त र जिल्ला अस्पतालमा समेत ३५ प्रतिशत दरबन्दी रिक्त रहेको स्वास्थ्य प्रमुख शाहले जनाए ।
३ डाक्टरसहित ९६ जना स्वास्थ्य प्राविधिकको दरबन्दी रिक्त हुँदा जिल्लाको स्वास्थ्य सेवा प्रभावित भएको जनस्वास्थ्यले जनायो । 'यस हिसाबले कुल दरबन्दीको ४५ प्रतिशत दरबन्दी रिक्त हुन आउँछ,' उनले
भने । लोकसेवा आयोगले पनि रिक्त दरबन्दीको मागअनुसार विज्ञापन नगरेको शाहको गुनासो छ । त्यस्तै गाउँका स्वास्थ्य संस्थामा मेट्रो इन्जेक्सन, जिन्क ट्याब्लेट, कोर्टिन, स्लाइनलगायत औषधि अभाव
हुँदा स्वास्थ्य सेवा झन् प्रभावित बनेको छ ।
त्यस्तै विगत लामो समयदेखि डाक्टरविहीन जिल्ला अस्पतालमा भने चिकित्सक आएपछि बिरामीलाई उपचारमा सहज भएको छ । गत असार तेस्रो साता सरुवा आएका डा. गणेशसिंह भण्डारीले बिरामीको नियमित चेकजाँच र स्वास्थ्य सल्लाह प्रदान गरेपछि उपचारमा सहज भएको बिरामीले बताए ।
अस्पतालका एक्ला डाक्टर भण्डारीले बिरामी चेकजाँच, उपचार, भिडियो एक्सरे, फ्याक्चर प्लास्टर, माइनर अप्रेसन, गर्भपतन, सुत्केरी लगायतका सेवा प्रदान गरेपछि यहाँका स्थानीयलाई उपचारमा सहज भएको हो ।
प्रकाशित मिति: २०७० श्रावण २०

भारतमा पक्राउ परेकाको अवस्था अज्ञात


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
निजगढ, श्रावण २० - दस दिनअघि नेपाल-भारत सीमा बजार आदापुरमा पक्राउ परेका तराई मुक्ति मोर्चाका सैन्य कमान्डर सुनिल जैसवालको अवस्था अज्ञात छ । उनी सशस्त्र प्रहरीबाट भागेर तराई मुक्ति मोर्चा बारा, पर्सा, रौतहटका सैन्य कमान्डरको जिम्मेवारी लिँदै भारततर्फ गतिविधि सञ्चालन गर्दै
आएका थिए । प्रहरीका अनुसार सुनिलमाथि हत्यासहित दर्जन मुद्दा छन् ।
उनलाई न भारतीय प्रहरीले सार्वजनिक गरेको छ, न त नेपाल प्रहरीले । अवस्था सार्वजनिक नगरिएपछि उनको परिवारले चिन्ता व्यक्त गरेका छन् । कहिले मानव अधिकार आयोग, कहिले भारत त कहिले नेपाल प्रहरीमा सार्वजनिक गर्न परिवारले अनुरोध गर्दै आएको छ । गम्भीर प्रकृतिका मुद्दाका अभियुक्त सुनिलको अवस्थाबारे प्रहरी प्रशासनले पहल गरिरहेको सुरक्षा स्रोतले जनायो । 'उनको अवस्थाबारे बुझ्ने काम भइरहेको' नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।   
सुरक्षा स्रोतका अनुसार भारतीय 'मोस्ट वान्टेड' ३० वषर्ीय मिथिलेस भन्न्ो बब्लु दुबेलाई नेपाल प्रहरीले पक्राउ गरी भारतीय प्रहरीको जिम्म्ाा लगाउन सहयोग पुर्‍याएबापत भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीको सर्तअनुसार पक्राउ गरेको थियो । 'बब्लु दुबेलाई बुझाउँदा सुनिललाई गिरफ्तार गरिनुपर्छ भन्न्ो हाम्रो सर्तअनुसार नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको हो,' एक नेपाली सुरक्षा अधिकारीले भने, 'तर स्वदेश ल्याइएन । उतै छन् ।' मोस्ट वान्टेड दुबेलाई नेपाल प्रहरीले काठमाडौंबाट केही
महिना अघि पक्राउ गरी भारतीय प्रहरीलाई सुटुक्क बुझाएका थिए ।
छोराको कतै अतोपत्तो छैन, कानुनअनुसार कारबाही गरे हुन्छ, तर सार्वजनिक गर्न आग्रह छ,' सुनिलका बुवा रामचन्द्र साहले भने, 'पटनादेखि काठमाडौं चहारेका छौं, पत्तो छैन ।' बन्दीप्रत्यक्षीकरणअनुसार सार्वजनिक गर्न भारतीय अदालतमा मुद्दा दायर गरिएको उनले बताए । चार माओवादीलाई हत्या गरी साढे चार वर्षदेखि फरार रहँदै आएका बारा गन्जभवानीपुर गाविस ३ का ३५ वषर्ीय अग्नि भन्न्ो सुनिललाई भारतीय प्रहरीले नेपाल प्रहरीको सहयोग र सर्तअनुसार पक्राउ गरेको थियो । नेपाल प्रहरीको सर्वाधिक खोजीका सुनिल एक प्रभावशाली भारतीय विधायकको संरक्षणमा 'सेल्टर' लिई पारि लुकिछिपी बस्दै थिए ।
०६६ पुस २२ मा सुनिलसहित मोर्चाका कार्यकर्ताहरूले एकीकृत माओवादीका माओवादी कार्यकर्ता ३५ वषर्ीय रामप्रकाश यादव, उनका भाइ कन्है यादव तथा भान्जा दारा यादव र वडा ९ का २७ वषर्ीय अम्बिका महतो नुनियामाथि आक्रमण गरी अन्धाधुन्ध गोली प्रहार गर्दा चारै जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०७० श्रावण २०

खर्च अभावमा नाबालकको मृत्यु



-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


ताप्लेजुङ, श्रावण २० - खर्च अभावमा यहाँका एक दम्पतीले नाबालकलाई गुमाउनुपरेको छ । थुकिम्मा ६ का देउमान लिम्बू र सञ्जु साउदेनका १७ महिने छोराको निमोनियाले मृत्यु भएको छ । पाँच महिनाअघिदेखि अस्वस्थ ती नाबालकलाई उपचारको खर्च जम्मा पारेर लिम्बू दम्पती नौ दिनअघि मात्रै अस्पताल आइपुगे । डा. अनिल चौधरीका अनुसार अवस्था बिगि्रसकेको स्थितिमा आएकाले उपचारका लागि अन्यत्र लैजान भनिएको थियो । उनीहरूका गाउँको उपस्वास्थ्य चौकीका अहेव छेदीलाल साह बेपत्ता भएपछि नजिक उपचार केन्द्र छैनन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको गाउँबाट बजार पुग्दा उपचारमा लाग्ने खर्चका विषयमा दुवै चिन्तित थिए ।
प्रकाशित मिति: २०७० श्रावण २०

वेम्ली ऐरेनामा गुञ्जियो नेपाली संगीत नेपथ्यको ऐतिहासिक फड्को -


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

लन्डन , श्रावण २० - 'आकाशैबाट के उडी आयो भेडाको ऊन जस्तो, भेडाको ऊन जस्तो मायाको फोटो मै खिची लान्छ पूर्णेको जुन जस्तो ...'
असंख्य नेपालीको हृदयमा बसेको यो गीत । गायक थिए नेपथ्यका उनै अमृत गुरुङ । तर, शनिवार राति यो गीत बेग्लै स्थानमा गुञ्जियो नेपाली संगीतमा एउटा इतिहास रचेर । अन्तर्राष्ट्रिय मञ्च ठानिने १२ हजार ५ सय सिट क्षमताको लन्डनस्थित वेम्ली एरेनामा पहिलोपटक नेपाली गीत पस्कंदै थिए अमृत नेपथ्य समूहका साथ । 
यो यस्तो ठाउँ हो जुन लन्डनको ओटु एरेनापछि दोश्रो ठूलो इण्डोर ऐरेना मानिन्छ भने ओटु र अल्र्स कोर्ट एक्जिविशन सेन्टर पछि तेश्रो ठूलो कन्सर्ट भेन्यू । विश्व विख्यात व्याण्डहरु बिटल्स्, स्याडोज्, पप समूह दि होलिज, ब्रिटिश महिलाहरुको सांगीतिक समूह स्पाइस गल्र्सदेखि इङ्लिस रक व्याण्ड रोलिङ स्टोन्स्, द हुले आफ्नो कला देखाइसकेको उक्त स्थान । विश्व चर्चित केही नाम मध्ये अमेरिकी गायिकाहरु बि्रट्नी स्पेयर्सर्, टेलर स्वीफ्थ, वियोन्स् र म्याडोना, कोलम्बियन गायिका साकिरा, अंग्रेजी गायक एवं संगीतकार डेभिड रोवर्ट जोन्स् (डेभिड बो), बि्रटिश पप गायक क्लिफ रिचार्ड, बि्रटिश गायिका डस्टि स्प्रिङ फिल्ड, रक एण्ड रोल गायक जो ब्राउन, डेभ डि लगायतको रोजाइमा परिसकेको वेम्ली एरेनामा पहिलो पटक नेपाली संगीत गुञ्जिँदा गायक अमृत केवल भनिरहेका थिए, 'निम्तो दिने आयोजकलाई धन्यवाद अनि कार्यक्रम सफल बनाइदिने दर्शकहरुलाई झन् मुरी मुरी धन्यवाद ।'
'जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना...' करिब ७ हजार दर्शकबीच उनले गीत गाउंदै पटक पटक दोहोर्‍याए, 'तपाईंहरुको यति धेरै माया अनि सदभावले मेरो छाती गर्वले फुलेको छ, यो अविष्मरणीय सम्झना मेरो जीन्दगीभर रहिरहनेछ ।' 
उनी अगाडि गाउँछन् रेशम रेशम, तालको पानी माछीले खाने र चरी मर्‍यो सिसैको गोलीले । कहिले उनी जोमसोमै बजार पुग्छन् भने कहिले जाम भने जाम त नि भन्छन् दर्शकलाई । अमृतले छेक्यो छेक्यो देउराली डांडा हुस्सु र कुइरोले, आजभोली के भको कुन्नी लगायत दर्जन बढि गीत गाउंदा उभिएर हेर्ने दर्शक एक छिन नरोकिइ निरन्तर नाचिरहे सुरक्षागार्डको अवरोध वेवास्ता गर्दै । सिटमा बस्ने दर्शक पनि थामिन सकेनन् अनि उफ्रिए धित मरुन्जेल ।
रातो र चन्द्र सूर्य गाउंदै गर्दा अमृत भनिरहेका थिए, 'हामी बांची रहे सम्म हाम्रो चन्द्र सूर्य अंकित झण्डा रहिरहनेछ र यसमा कसैको आंखा नलागोस् ।' 
उनी पानी पिउँदै आफ्नो लामो कपाल र चश्मा बेला बेला तह लगाउँदै निरन्तर गाइरहेका छन् । त्यति ठूलो मञ्च र हजारौं दर्शकको गडगडाहट तालीबीच उनलाई नयां पुराना गीत गाउनमै बढि आनन्द छ न कि कुनै भाषण गर्न । उनी एउटा गीतको अन्त्यसंगै बीचमा भन्छन्, 'तपाईं हामी जहाँ भएपनि नेपाली भनेर बाँच्न सकौं, नेपाली कला, संस्कृति र भाषाको संरक्षण गरौं ।' 
अमृतलाई नेपालको राजनीतिक तरलता र नेताहरुको स्वार्थीपन देखेर पटक्कै चित्त बुझेको रहेनछ । उनले दर्शकलाई आग्रह गरे, 'तपाईंहरुले यहाँबाट हाम्रा नेताहरुलाई गफ होइन, अब काम गरेर देखाउनुस् भन्ने सामूहिक सन्देश दिनुहोस् हामी लिएर जानेछौं ।' बेला बेला उनले 'नमस्ते छ है तपाईंहरु कति राम्रो र सभ्य भनिदिंदा दर्शक त्यसै उचालिन्थे ।' 
साँझ ८ बजे देखि सवा दश बजे रातीसम्म निरन्तर गाइरहेका अमृतले दर्शकहरुमाझ अनुनय गर्दै भने, 'नेपालको द्वन्द्वका कारण करिब ४० हजार वालवालिका शिक्षाबाट वञ्चित छन्, तपाईं विदेशमा बस्नेहरुले महिनाको कम्तीमा १५ पाउण्ड प्रायोजन गरेर ती अनाथ वालवालिकाको भविष्य बनाइदिनुहोस्, हामीले सहयोग नगरे अरु कसले गर्ने ।' 
नेपथ्यको शोले अब नेपाली संगीत विश्व बजारमा छाउन सफल भएको धेरैको विश्लेषण छ । 'कार्यक्रम नेपाली संगीतमा एउटा इतिहास बनेको छ', दर्शकदीर्घामा रहेका गायक विवेक श्रेष्ठले कान्तिपुरसंग भने, 'मलाई नेपाली गायक भन्न गर्व महशुस भएको छ । नेपाली लोक गीतलाई पाश्चात्यकरण गर्न सक्नु नै यस व्याण्डको खुबी र विशेषता बन्यो ।' उता, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली भन्दै थिए, 'राम्रा गीत सुनिन्छन् भन्ने प्रमाणित आजको शो ले गरिदिएको छ, यो नेपाली संगीतलाई विश्व बजारमा लैजान एउटा खुड्किलोका रुपमा लिन सकिन्छ ।'
पर्छ प्रोडक्शन र सव सोनिक रुट्स नामक दुई संस्थाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । आयोजकहरु पर्छ प्रोडक्शनका तर्फबाट समीर र नवल एवं सव सोनिक रुट्सका शुभ गिरीले  कार्यक्रम सफल भएकामा प्रसन्नता व्यक्त गरेका छन् । 
नेपाली संगीत र नेपथ्य एक अर्काका पर्याय भइसकेका छन् । विगत २२ वर्षदेखि संगीतमा निरन्तर सक्रिय यस व्याण्डका लोक, आधुनिक तथा रक टाइपका गीतले सबै वर्ग समेटेको छ । सहरदेखि गाउँ गाउँसम्म छाएको छ व्याण्ड । उसका गीतले नेपालको समकालिन वस्तुस्थिति देखि युद्धका घाउ र पीडाहरु समेत प्रतिनिधित्व गर्छन् । खासगरि यस व्याण्डको सातौं एल्बम 'घट्ना' नेपालको सशस्त्र द्धन्द्धमा आधारित छ । आठौं एल्बम मेरो देश एल्बमका गीतले देशको वर्तमान अवस्था चित्रण गरेको छ । उसको ऐना झ्याल चाहिं लोक रक टाइपको छ । 
सन् १९९० मा दीपक राना (हाल पाइलट), भिम पुन (हङकङमा स्थापित) र अमृत गुरुङले संयुक्त रुपमा स्थापना गरेको यो सांगीतिक समूहमा संस्थापक सदस्यमध्ये हाल एक जना अमृत मात्र छन् । 
नेपथ्यले दुई दशकभन्दा बढि समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान गर्दै आएको छ । यस अवधिमा नेपथ्य आफ्नो सांगीतिक प्रस्तुतिलाई निरन्तरता दिादै दर्शक/श्रोतामाझ लोकप्रिय बन्न सफल भयो । नेपथ्यले आˆनो सांगीतिक प्रस्तुति लिएर देशभित्र र बाहिर थुप्रै भ्रमण गरिसकेको छ । भारतको सिक्किमदेखि अस्ट्रेलियाको सिड्नी, इजरायल, हङकङ, दक्षिण कोरिया, अमेरिका, फिनल्यान्ड, हल्यान्ड, बेल्जियम लगायत मुलुकमा नेपथ्यका कार्यक्रम भएका छन् । 
नेपथ्यका पहिलो एल्बम नेपथ्य (१९९१), हिमाल चुचुरे (१९९३), मिन पचासमा (१९९५), श्रृंगार (१९९७), रेशम (२००१), भेडाको ऊन जस्तो (२००३), घट्ना (२००५), मेरो देश (२०१०), ऐना झ्याल (२०१०) गरि ९ वटा एल्वम बजारमा आइसकेका छन् । उक्त व्याण्डका छेक्यो छेक्यो (व्याण्ड स्थापनाको शुरुतिर), जोमसोमै बजारमा (९० दशकको मध्य), रेशम... (२००१), भेडाको ऊन जस्तो (२००३) लगायत कयौं चर्चित गीत छन् ।




प्रकाशित मिति: २०७० श्रावण २०