Friday, August 23, 2013

यो साता को साप्ताहिक मा के के छापियो त ?जस्ता को तस्तै

blowup

गाईजात्रा फिभर

हिजो गाईजात्रा, काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गाईजात्रा र्‍यालीहरू निकालिए। सधैंझैं गाईजात्रामा थुप्रै किसिमका दृश्य देखिए यसपटक पनि। मल्लकालमा जगतप्रकाश मल्लले पुत्र वियोगमा मन बहलाउन प्रारम्भ गरेको यो पर्व अहिले आएर विभिन्न कारणले महत्त्वपूर्ण बन्दै गएको छ। खेतीकिसानीको समय सकिएपछि मनाइने पर्व गाईजात्रामा हास्यकलाकारहरूले खुलेर समसामयिक परिस्थितिप्रति व्यंग्य कस्छन्। यो पर्वमा विभिन्न गेटअप र चरित्रमा पनि प्रस्तुत हुन पाइने छुट पनि छ। बुधबारदेखि नै नेपाल प्रज्ञा-प्रतिष्ठान तथा राष्ट्रिय सभागृहमा मुलुककै ख्यातिप्राप्त हास्यकलाकारहरूले दर्शकहरूलाई हँसाइरहेकै छन्। 

गाईजात्राकै अवसर पारेर नेवारी समाजले गत वर्ष मृत्युवरण गरेकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै आएको छ। यही मेसोमा समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगीहरूको समूहले पनि विभिन्न भाव-भंगिमामा र्‍याली आयोजित गर्छ। ब्लु डायमन्ड सोसाइटी अर्थात् नीलहीरा समाजले सन् २००१ मा प्रारम्भ गरेको गाईजात्रे र्‍याली यसपटक पनि भव्य रूपमा सम्पन्न भयो। 

यसपटकको र्‍यालीमा भूमिका श्रेष्ठ नेतृत्व तहमा रहेर त्यसको व्यवस्थापनमा व्यस्त देखिन्थिन्। ब्लु डायमन्ड सोसाइटीकी बोर्ड मेम्बर भूमिका गत वर्ष भने धिमाल डे्रसमा सजिएर र्‍यालीमा सहभागी भएकी थिइन्। भूमिकाका अनुसार उनले विगतमा ड्रागक्विन -फिदर सहित एक्स्ट्रा डे्रसअप र गेटअप जसमा मनोरन्जनका निम्ति प्रतिष्ठित व्यक्तित्वको दुरुस्त नक्कल गरिन्छ) का रूपमा पनि सहभागिता जनाएकी थिइन्। 

गत वर्ष पर्यटन प्रवर्द्धनको नारा तय गरेको ब्लु डायमन्डले यसपटक भने 'म एक नागरिक मेरो एक भोट, हाम्रो प्रतिनिधित्वको खास महत्व छ' नारा तय गरेर र्‍यालीमा सहभागिता जनायो। जात्रामा ड्रागक्विन अर्थात् इन्टरनेसनल सेलिब्रेटीहरूको नक्कलमा थुप्रै देखिए। लेडी गागादेखि लिएर मर्लिन मुनरो, बियोन्से, जेनिफर हसन आदि सेलिब्रेटीझैं बनेर र्‍यालीमा सहभागी थिए तेस्रोलिंगीहरू। उनीहरू र्‍यालीमा कल्चरल, ड्रागक्विन, कमेडी, सेक्सी, सिम्पलजस्ता गेटअपमा देखा परे। 

नेपाली समाजको परम्परागत मान्यता र साँघुरो सोचका कारण सार्वजनिक हुन नसकेका समलिंगी तथा तेस्रोलिंगीहरू घरबाट निस्किएर आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउन् भनेर ब्लु डायमन्डले गाईजात्रामा सहभागिता जनाउन थालेको थियो। 'यो दिन पुराना मात्र होइन, थुप्रै नयाँ साथीहरू पनि देखा पर्नुहुन्छ,'  भूमिकाले भनिन्- 'गाईजात्रा स्वतन्त्रता उपभोग गर्न पाउने दिन भएकाले हामीले यो दिनलाई आफ्ना निम्ति उपयोग गरेका हौं।' भूमिकाका अनुसार आफ्नो लैंगिक पहिचान तथा यौनिकता लुकाएर बस्नुपर्ने बाध्यता भएकाहरू यो र्‍यालीमा समलिंगी एवं तेस्रोलिंगीहरूका विभिन्न भावभंगिमा देखेर समाजमा खुलेर आउने हौसला-प्रेरणा प्राप्त गर्न सक्छन्। समलिंगी-तेस्रोलिंगीहरूले गाईजात्रालाई आफ्नो पक्षमा उपयुक्त वातावरण सिर्जना गर्ने दिनका रूपमा प्रयोग गर्दै आएका छन्। 

केटाले केटी बन्न पाउने, केटीले केटा बन्न पाउने यो अवसरमा कोही जोगी बनेका हुन्छन्, कोही राम, सीता, रावण त कोही कृष्ण-गोपिनी बनेर देखा पर्छन्। ब्लु डायमन्डले दिवंगत भएका आफ्ना समुदायका साथीहरूको आत्माको चिरशान्तिका लागि यो पर्व मनाउँदै आएको कुरा पनि बताएको छ। प्रारम्भिक वर्षहरूमा सानो जमातले मात्र उपस्थिति जनाउने यो जात्रामा पछिल्ला चार वर्ष यता विदेशी समलिंगी तथा तेस्रोलिंगीहरू पनि सहभागी हुन थालेका  छन्। 



उषा पौडेल हिन्दी चलचित्रमा

साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अब बलिउडको चलचित्रमा देखिने भएकी छिन्। ओस्कार विजेता चलचित्र 'स्लमडग मिलेनियर'मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सकेको चलचित्रको शीर्षक हो- 'सुन लड्की'। चलचित्रमा नायक तथा नायिका नयाँ छन्। उषा पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्री हुन्। 'मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु। कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा।' -उषाले नाम बदल्नु परेको प्रसंग सुनाइन्।

विगत डेढ महिनादेखि काठमाडौंमा छुट्टी मनाइरहेकी रुक्मणी अर्थात् उषाले आज शुक्रबार मुम्बई र्फकनुअघि मंगलबार साप्ताहिकसँग केही अनौपचारिक कुराकानी गरिन्। 'मुम्बईमा साढे तीन वर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु। अहिले दुई महिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ। यसपटकको मेरो बसाइ नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिएँ। त्यही स्ट्याटस्का कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो। मैले पनि केही नजिकका साथीहरूलाई भेटेँ। भेटघाटमै बित्यो डेढ महिना।'

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'माथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन्। यता स्थापित भैसकेकी उषा अनायसै मुम्बई पलायन भइन्। 'मुम्बई पलायन हुने सोच थिएन। हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ।' अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ।

'हरेक दिन फुटबलजस्तो अडिसन दिँदै यता-उता दौडिरहन्थे।' -मुम्बईमा कुनै चिना-परिचयबिना हुत्तिएर पुगेकी उषाले भनिन्- 'स्ट्रगल गरिरहेका तीन जना केटी साथी भेटेँ। उनीहरूसँग सानो रुम लिएर बस्न थालेँ। पेपर एड, टेलि एड आदिमा काम गरेर खाने-बस्ने खर्च जुटाइरहेँ, तर कास्टिङ काउचको बाटो समातिनँ। यदि त्यो बाटो समातेको भए मलाई आफ्नो उद्देश्यमा पुग्न तीन वर्षको लामो समय लाग्दैनथ्यो।' उनले ऋत्विक रोशन अभिनीत 'अग्निपथ'मा ऋत्विककी बहिनीको भूमिकाका लागि अडिसन दिन गएको तर भाषाका कारण छनौट नभएको कुरा सुनाउँदै भनिन्- 'भाषामा समस्या भएपछि म अनुपम खेरको अभिनय स्कुलमा भर्ना भएँ। त्यहाँ अभिनयका साथै हिन्दी भाषा उच्चारणको प्रशिक्षण लिएँ, तर त्यतिले पुगेन। अनि हिन्दी भाषा प्रशिक्षणको विशेष कक्षा लिएँ, जसले मलाई फाइदा पुर्‍यायो।'

अक्षय कुमारले सञ्चालन गरेको रियालिटी शो 'मास्टर सेफ'को प्रोमोसनल उनको करियर अघि बढाउने ढोका बन्यो। त्यसपछि उनले चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा काम लगाइदिने एजेन्टहरू भेटिन्। सुरुवातमा उनले धार्मिक टेलिसिरियलहरूमा मुख्य भूमिका पाउँदै गइन्। 'जय जय जय बजरंगबली', 'जय शनीदेव', 'विष्णु पुराण' जस्ता धार्मिक तर महँगो बजेटका श्रृंखलामा उनको व्यस्तता बढ्दै गयो। उनले त्यसपछि 'अदालत', 'चिन्टु चिंकी और एक बढी सी लभस्टोरी'मा पनि मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्। नेपाल आउनुअघि हरर श्रृंखला 'फेयर फाइल्स'मा अभिनय गरिन्। 'तुझसंग पि्रत लगाई सजना'मा उनको कामको निकै प्रशंसा भयो।

'मैले नेपाली चलचित्रलाई चटक्क माया मारेकी छैन, तर तत्काल फर्केर यता आउने मेरो कुनै योजना छैन। बीचमा मलाई अशोक शर्माले एउटा चलचित्रका लागि अफर गर्नुभएको थियो। म त्यतिबेला 'तुझसँग पि्रत लगाई सजना'को टाइट सेड्युलमा थिएँ। कुनै बेला मुम्बईमा पनि फुर्सद हुन्छ, त्यतिबेला यताको काम पाइयो भने गर्न पनि सकिन्छ,' -उषाले नेपाली चलचित्रप्रतिको लगावलाई व्यक्त गरिन्। समकालीन रेखा थापा, ऋचा घिमिरे, झरना थापा, अरुणिमा लम्साल, सञ्चिता लुइँटेलहरूले विवाह गरिसकेको र कतिपयले फिल्म लाइन नै छोडिसकेको अवस्थामा उषा भने अहिलेसम्म अविवाहित नै छिन्। विवाह र प्रेमका बारेमा उषाले भनिन्- 'प्रेम गर्ने समय छैन, विवाह हुन्छ कि हुँदैन थाहा छैन।'

हिन्दी चलचित्र 'सुन लड्की'मा काम गरिसकेपछि त्यसबाट आउने रेस्पोन्सले उनको बलिउड करियर निर्धारण गर्नेछ। तैपनि उषा हिन्दी श्रृंखलाहरूमा भने लगभग स्थापित भैसकेकी छिन्। 'हेर्दै जानु कुनै दिन मैले गोल हान्नेछु,' छुट्टनिे बेलामा उषाले हाँस्दै भनिन्। 

अन्तरवार्ता

 »

कसैले शारीरिक संरचनामा प्रश्न नगरुन्

मुलुकमा ५ लाखजति समलिंगी, द्विलिंगी, अन्तर्लिंगी तथा तेस्रोलिंगी भएको बताउने ब्लु डायमन्ड सोसाइटीकी भूमिका श्रेष्ठ नेपालमा तेस्रोलिंगीको संख्या झन्डै ३ लाख भएको बताउँछिन्। उनका अनुसार २ लाखजति प्रत्यक्ष-अप्रत्यक्ष सम्पर्कमा आएका छन्। केन्द्रीय तथ्यांक विभागले जनगणनामा २ लाख चानचुनमात्र यसप्रकारको अल्पसंख्यक समूह रहेको बताएको छ। 'जनगणनामा हाम्रो समुदायका साथीहरूको सही तथ्यांक आएको छैन,' भूमिका भन्छिन्- 'छोराछोरीको विवरण भर्दा यति छोरा यति छोरी मात्र भनियो।' आफ्नो समुदायको हकहितमा सक्रिय रहँदै आएको बताउने भूमिका अब राजनैतिक सक्रियता पनि बढाएर मुलुककै हितका निम्ति आफ्नो जीवन समर्पण गर्ने बताउँछिन्।

जीवन कसरी चलिरहेको छ ?

सबै मानिस आ-आफ्नै तरिकाले जीवन बाँच्छन्, मेरो पनि त्यही नै हो। अहिलेको जीवनमा म खुसी छु, परिवार, साथीभाइ एवं संघसंस्थाहरूले माया गर्नुभएको छ। अल्पसंख्यक समुदायको हकहितका निम्ति ब्लु डायमन्ड सोसाइटीमा कार्यरत छु। तेस्रोलिंगी भएर सुरुमा पहिचान खोज्दा समाजको नकारात्मक सोचका कारण केही गाह्रो थियो। अहिले केही कम भएको छ।

त्यसो भए नकारात्मक सोचका कारण मानसिक रूपमा पीडित पनि हुनुभयो ?

धेरै पटक पीडित भएँ । मैले त स्कुले उमेरदेखि नै भोगेकी हुँ। मेरो अलग किसिमको व्यवहार देख्नेहरूले 'छक्का' 'हिजडा' आदिको ट्याग झुन्ड्याएँ। ९ कक्षा अध्ययन गर्दासम्म मानसिक यातना खेप्दै गएँ। स्कुल र शिक्षकहरूले स्कुलबाटै निकाला गरिदिएपछि मेरो अध्ययन यात्रा पनि समाप्त भयो।

तपाईंको विचारमा किन त्यस्तो व्यवहार गरियो ?

समाजमा रहेका मानिसहरू सबैको सोच विचार फरक-फरक हुन्छ, त्यसकै परिणाम हो, हामीमाथि हेर्ने दृष्टिकोण पनि सकारात्मक र नकारात्मक दुवै किसिमका भए। सकारात्मक सोच राख्ने भन्दा नकारात्मक सोच राख्नेहरूको संख्या धेरै हुँदा हामी माथी धेरै नै अन्याय भयो तर अहिले सोच फराकिलो हुदै गएको छ, धेरैले हाम्रो उपस्थिति स्वीकार गर्नुभएको छ।

त्यसो भए तेस्रोलिंगीलाई हाम्रो समाजले नबुझेको हो ?

हो, हामीलाई अल्पसंख्यक यौनिक समुदाय भनेर चिन्ने प्रयास गरिएन। यदि यो समाजले हामीलाई अवसर प्रदान गर्ने हो भने हामी महिला-पुरुषहरूभन्दा अझ बढी सिर्जनात्मक ढंगले काम गर्न सक्छौं।

तेस्रोलिंगी वा समलिंगीहरू अप्राकृतिक हुन्, यो विकृति पनि हो भनिन्छ नि ?

यो नकारात्मक र नबुझ्ने व्यक्तिहरूले भन्ने कुरा हो। समलिंगी तेस्रोलिंगीहरूको उपस्थिति अहिले मात्र भएको होइन्, शास्त्रीय ज्ञान हुनेहरूलाई त यो कुरा थाहा हुनुपर्ने हो, शिखण्डी, बृहन्नला, विष्णुले धारण गरेको मोहिनी रूप आदि चरित्र तेस्रोलिंगी हुन्। देवताहरूले समलिंगी व्यवहार रुचाएका धेरै उदाहरण पनि छन्। हुर्कने क्रममै म किन यस्तो भए भनेर सोच्थें, यदि म पुरुष नै हुन्थें भने त्यस्तो सोच किन आउँथ्यो र ? जसरी समाजमा पुरुष र महिला छन् त्यसरी नै अन्य भित्र समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगी छन्। यसलाई अप्राकृतिक विकृति भन्नेहरूको सोचचाहिँ अप्राकृतिक हो, भ्रम हो।

योगगुरु रामदेवले पनि अप्राकृतिक भने नि ?

जुन मानिसलाई यौनिकता, लैंगिकता आदिका बारेमा जानकारी छैन, उसले यो विषयमा नबोलेकै राम्रो। रामदेव साधु हुन्, त्यसकारण साधुकै रूपमा बसेको राम्रो। उनलाई त महिलाकै शारीरिक संरचना पनि थाहा छैन। त्यसैले कसैको शारीरिक संरचनामाथि प्रश्न नगरून् रामदेवले। रामदेवले हामीमाथि शंका गर्छन् भने हामीले पनि उनीहरूप्रति शंका गर्ने, प्रश्न उठाउने ठाउँ रहन्छ।

तपाईंहरू चौबीसै घण्टा सेक्सका बारेमा मात्र सोच्नुहुन्छ रे ?

यो पनि हामी माथि लगाइएको गलत आरोप हो। के सेक्सका बारेमा पुरुष र महिलाले सोच्दैनन्, उनीहरू सेक्स गर्दैनन् ? उनीहरूको संख्या धेरै छ, उनीहरू चाहेको जुनसुकै समयमा गोप्य रूपमा सेक्सुअल रिलेसन राखिरहेका हुन्छन् तर हामी तेस्रोलिंगी समलिंगीहरू थोरै भएकाले हामीले यौनिकताका विषयमा थोरै कुरा राख्नेबित्तिकै समस्याको विषय बनाइएको छ। यो लैंगिक पहिचानको समस्या हो। लैंगिक तथा यौनिक कुरालाई सेक्ससँग जोडिनु हुँदैन। अपहेलित गरिएकाले हामी पढाइ र करियरमा केन्दि्रत हुन नसकेका हौं। यसमा हामी र हाम्रो शरीरको गल्ती नभई समाजको गल्ती छ।

अध्ययन र करियर विकासमा समाजलाई दोष देखाएर उम्कन खोज्नुभएको हो ?

भएको नै त्यही छ, कसरी दोष दिएको भन्नुहुन्छ ? हाम्रो व्यवहार देखेर घर परिवारले निकालिदिन्छ, स्कुलबाट निकालिन्छ, नियमित अध्ययन गर्न सक्ने वातावरण हुँदैन, राज्यले कुनै सुविधा दिएको छैन, शिक्षा एवं रोजगारीको ठेक्का लिएकाहरू अझ बढी विभेद गर्छन् भने हामीले के गर्ने ? काम गर्न समेत दिइँदैन। अहिले आएर हाम्रो एड्भोकेसी बढेकाले केहीले राहत पाएका छौं।

आफू तेस्रोलिंगी भएको कति बेला थाहा पाउनुभयो ?

म लामो समयसम्म कन्फ्युज रहें, म के हो भनेर। शरीर पुरुषजस्तो थियो, रुचि, चाहना महिलाको जस्तो। मलाई महिला पुरुषको यौनांग फरक-फरक हुन्छ भन्ने समेत थाहा थिएन। उत्सुकताका कारण धेरै कुरा साथीहरूसँग सेयर गरेपछि मात्र थाहा भयो मेरो प्रकृतिका मानिस पनि यो संसारमा रहेछन् भन्ने कुरा। सुरु-सुरुमा त भगवान्लाई पनि खुबै दोष दिए।

नेपालका समलिंगी, तेस्रोलिंगीहरूको बाँच्ने आधारचाहिँ के छ त ?

ब्लु डायमन्ड सोसाइटीमा सबै प्रकारका अल्पसंख्यक यौनिक समुदायका ७ सय ५० जनालाई रोजगारी प्रदान गरिएको छ। विशेष तालिम एवं परियोजनाअन्तर्गत अन्य साथीहरूले पनि केही राहत पाउनुभएको छ। यद्यपि अधिकांश आफ्नै घरमा खेती-किसानी तथा अन्य पेसामा हुनुहुन्छ। बेरोजगारको संख्या पनि उल्लेख्य छ। करिब ३ सयजति यौन व्यवसायमा पनि संलग्न छ भन्ने सुनेकी छु । जे भए पनि अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले डिसेम्बर १० मा दिएको वक्तव्यमा दक्षिण एसियामै नेपाली समलिंगीहरूको समुदाय र पहिचान बलियो रूपमा सार्वजनिक भएको बताउनुभएको थियो। यो हाम्रा निम्ति सुखद पक्ष हो।

तेस्रोलिंगी भएकैले राजनीतिमा आउन खोज्नुभएको हो ?

होइन, हाम्रो संस्था ब्लु डायमन्ड सोसाइटीमा अब राजनैतिक रूपमा पनि हाम्रा मुद्दाहरूलाई उठाउनुपर्छ भन्ने निर्णय भएपछि साथीहरू विभिन्न पार्टीमा लाग्ने कुरा भयो, मेरो विचार कांग्रेससँग मिल्छ, यो पार्टीमा म प्रवेश गर्नुको मुख्य कारण अरू पार्टी बोल्छन् तर व्यवहारमा उतार्दैनन्, कांग्रेस जे बोल्छ त्यो पूरा गर्छ भनेर हो। म पार्टीमा प्रवेश गर्ने बित्तिकै हाम्रो समुदायको प्रतिनिधित्व गराउनुपर्छ भनेर नै मलाई महाधिवेशन प्रतिनिधि बनाइयो। अरू कुन ठूलो पार्टीले तेस्रोलिंगीलाई यसरी स्थान दिएको छ ?

केन्द्रीय सदस्यमा लाने कुरा पनि आयो नि होइन ?

म सक्रिय सदस्य भएपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन पाउँथें, त्यही भएर चुनाव जितेर आएँ तर केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष सक्रिय सदस्य हुनुपर्छ, म सक्रिय सदस्य भएको पाँच वर्ष भयो होला, अहिले नै केन्द्रीय सदस्य हुन सम्भव छैन। इच्छा त प्रधानमन्त्री नै बन्ने छ नि, तर इच्छा गरेर मात्र हुँदैन। सुरुमा मैले आफ्ना मुद्दाहरूलाई सम्बोधन गराउनुछ, नेतृत्व विकास गरेर लानु छ।

पार्टी एवं नेताहरूले ब्लु डायमण्ड सोसाइटीको मुद्दालाई कसरी हेरेका छन् ?

अरू पार्टी र नेताहरूको त मलाई थाहा छैन, म त्यसमा धेरै टिप्पणी गर्न चाहन्नँ तर मेरो पार्टीमा ज्ञापनपत्र बुझाउनेदेखि हरेक अन्तर्क्रियामा पार्टी नेताहरूले हाम्रा कुरा धैर्यतापूर्वक सुन्नुभएको छ। यो मुद्दालाई गम्भीर रूपमा लिएर यसमा पार्टीले सहयोग गर्ने बताउनुभएको छ। कांग्रेसले यो मुद्दालाई सहज रूपमै लिन्छ जस्तो मलाई लाग्छ। अहिलेसम्म कसैले 'अप्राकृतिक वा विकृति' भन्नुभएको छैन, बरु अरू पार्टी र नेताहरू चुनाव आएकाले हाम्रो पार्टीमा आउनुहोस्, यो पद दिउला त्यो पद दिउँला भन्नुहुन्छ। यति सिट दिन्छु, समुदायका साथीहरू ल्याउनुहोस् पनि भन्नुहुन्छ।

अरू पार्टीका नेताहरूचाहिँ फरक धु्रवका त होइनन् होला ?

हामीले झलनाथ खनाल, डा. बाबुराम भट्टराई आदि अन्य नेताहरूसँग पनि हाम्रा मुद्दा सेयर गरेका हौं, हाम्रा स्पेसिफिक केही मुद्दालाई सहयोग गरे पनि अरु कुरा सहयोग नगर्ने जस्ता कुरा आए। वर्षौंको संघर्षपछि महिलाहरूले ३३ प्रतिशत हक अधिकार पाए भने तपाइहरूको मुद्दा त भर्खरै बामे सर्दैछ, समय आउँछ कुर्नुहोस् भन्नुहुन्छ। महिलाहरूले अधिकार पाउन समय लाग्यो भनेर हामीले पनि त्यहि समय कुर्ने कुरा आउँदैन।

कांग्रेसले तपाईंलाई के जिम्मेवारी दिएको छ ?

मैले हालै मात्र पार्टी सभापतिसँग भेटेर कुरा गरें। उहाँले समुदायमा कति साथी कांग्रेस विचारधाराका छन ? भनेर उनीहरूलाई समेट्न निर्देशन दिनुभएको छ। अब विस्तारै जिम्मेवारी बढ्दै जाने आशा राखेकी छु।

सभासद हुने लोभमा पार्टीमा सक्रियता बढाउन लागेको हो ?

हाम्रो समुदायको आवाजलाई नेतृत्वतहसम्म कसरी पुर्‍याउने भनेर अझै सक्रिय हुने हो। पार्टीले हाम्रो समुदायको उपस्थिति आवश्यक मान्नुपर्छ र हामीमध्ये कसैलाई सभासद बनाएर त्यहाँ हाम्रा कुरा राख्ने मौका दिनुपर्छ भनेर लबिङ गरिरहेकी छु। हुन त सभासद भएपछि समग्र मुलुकको विकासको सन्दर्भमा काम गर्नुपर्छ भन्ने हेक्का पनि छ मलाई।

तपाईंले भूमिकाकै नाममा किन नागरिकता पाउनुभएन ?

अहिलेको कानुनले १६ वर्ष पुगेको अवस्थामा अल्पसंख्यक यौनिक समुदायलाई अन्य वर्गमा नागरिकता दिन्छ। अन्तर्राष्ट्रिय रूपमै समलिंगी, द्विलिंगी, तेस्रोलिंगी, अन्तर्लिंगीलाई अन्यमा राखिँदो रहेछ, तर मजस्ता पहिले नै पुरुषवर्गको नागरिकता लिनेहरूले भने पुरानै परिचयमा बस्नुपर्ने बाध्यता छ। नागरिकताअनुसार म कैलाश श्रेष्ठ नै हुँ। लाइसेन्स, प्यानकार्ड, ब्लु बुक आदिमा तस्बिर मात्र महिलाको छ।

कृत्रिम ब्रेष्ट इम्प्लान्ट गर्ने, सेक्सुअल अर्गान चेन्ज गर्ने कुरा पनि उत्तिकै छन् होइन ?

मैले सिलिकन ब्रेस्ट इम्प्लान्ट गरेकी हुँ तर सेक्सुअल अर्गान चेन्ज गरेकी छैन, चेन्ज गर्नुपर्ने आवश्यकता महसुस पनि गरेकी छैन। ब्रेष्ट इम्प्लान्टमा २ लाख खर्च भयो। आर्थिक स्थितिका कारण पनि सेक्स चेन्ज गर्न गाह्रो भएको हो। सेक्स चेन्ज गर्दैमा म महिला हुने पनि होइन, सामाजिक रूपमै मेरो पहिचान तेस्रोलिंगी भएकाले म यही पहिचानमा सन्तुष्ट छु।

आफ्नो सेक्सुअल अर्गान पुरुषको जस्तो देख्दादेख्दै कसरी तेस्रोलिंगी वा महिलाजस्तै लाग्छ ?

मलाई अहिलेसम्म पनि म केटा हो जस्तो लाग्दैन। मैले आफूलाई महिला जस्तै अनुभूत गरे। कुनै राम्रो पुरुष देख्दा आकषिर्त भएँ, महिलाहरूसँग साथीको जस्तो मात्र व्यवहार गरे। सेक्सुअल रिलेसनसिपको सन्दर्भमा पनि महिलाजस्तै भूमिका निर्वाह गर्न सक्ने भएर होला, त्यो मसँग भएको यौनांग नै मलाई बेकारको जस्तो लाग्छ।

राजनैतिक नेताहरू पनि समलिंगी र तेस्रोलिंगी छन् भन्नुभयो, उहाँहरूको त्यो रूप किन बाहिर आउँदैन त ?

मैले देखेको आधारमा भनेको हो, केहीसँग सम्पर्क पनि भएको हो तर उहाँहरू अहिले आफ्नै स्थानमा रहेर राजनीति गरिरहनुभएको छ। कानुनतः वा सामाजिक रूपमै उहाँहरू समलिंगी वा तेस्रोलिंगी समुदायको पहिचान भित्र पर्नुहुन्छ। उहाँहरू सार्वजनिक नभए पनि यो यथार्थलाई स्वीकार गर्नुपर्छ। नेतामात्र किन ? डाक्टर, इन्जिनियर, वकिल, पाइलट, चार्टड एकाउन्टेन्ट, फेसन डिजाइनर, मेकअप आर्टिस्टजस्ता विभिन्न क्षेत्रमा तेस्रोलिंगीहरू हुनुहन्छ।

सिनेमा तथा सिरियलहरूमा तेस्रोलिंगी क्यारेक्टर देखाउँदा फाइदा नै पुग्छ होला नि होइन ?

क्यारेक्टर भनेको त जुनसुकै हुनसक्छ, त्यसमा कुनै समस्या छैन। क्यारेक्टरका रूपमा हाम्रो उपस्थिति जनाउँदा फाइदा नै पुगेको छ तर जुन प्रकारले डोमिनेट गरेर देखाइन्छ, त्योचाहिँ आपत्तिजनक छ। हाम्रो जीवनशैली त्यो क्यारेक्टरजस्तो हुँदैन। सन्तोष पन्तले कुनै बेला चलचित्र कोसेलीमा तेस्रोलिंगी चरित्रमा अभिनय गर्नुभएको थियो, अहिले उहाँका छोरा नै तेस्रोलिंगी देखिनुभएको छ।

जीवनसाथी रोज्नुभएको होला नि ?

छैन, म एक्लै छु, तर परिवारका साथमा बस्दै आएकी छु। किशोरवयमा बचकनापनले ब्वाइफ्रेन्ड तथा सेक्सजस्ता कुरामा चाख थियो। अहिले म परिपक्व भैसकेकी छु, सामाजिक, राजनैतिक कार्यकर्ता भएपछि यस्ता कुरामा ध्यान दिने फुर्सद पनि हुँदो रहेनछ। मलाई पुरुष दमन मन नपर्ने भएकाले मेरो विचारलाई सम्मान गर्ने साथी खोज्छु। विवाह कहिले गर्छु, कस्तो साथी रोज्छु केही थाहा छैन, विवाह गर्ने भए सार्वजनिक रूपमा बताउने नै छु।

मन पराउनेहरू त होलान् नि ?

छन्, धेरै छन् तर कसलाई कत्तिको विश्वास गर्ने भन्ने हो। म अहिले धेरै अगाडि बढिसकेजस्तो लाग्छ, अब कसैसँग प्रेम गरेर त्यसमै रमाउने स्थिति छैन। एकपटक प्रेम गरेर त्यसलाई अनुभूत गरिसकेपछि अब फेरि त्यही लफडामा फस्न मन छैन। नेतृत्वतहमा पुग्ने अभिलाषा राख्नेले यी कुरामा अल्झिनु आफैंलाई पछि पार्नु हो। लिभिङ टुगेदर मलाई मनपर्छ तर समाज त्यहाँसम्म पुगिसकेको छैन र त्यसलाई कानुनी मान्यता पनि छैन।

उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा

»

दीपाश्री निरौला

फ्यानहरू त दीपकजी तपाईंकै श्रीमान् हुन् भनेर झुक्किएका छन् नि?

प्रशंसकहरू झुक्किनु स्वाभाविक छ। ११-१२ वर्षदेखि सँगै भएपछि नझुक्किए पो टेन्सन त।

चुम्बन के हो? गर्नुभएको छ कसैलाई?

शरीरको स्पर्श हो, यसले ऊर्जा दिन्छ। मैले चुम्बन गरें कि गरिनँ, त्यो कसैलाई भन्दिनँ।

ह्वाट इज सेक्स?

प्रकृतिको सुन्दर देन हो। सही ठाउँमा उपयोग गर्नुपर्छ, नत्र यसले मृत्युसम्म निम्त्याउँछ।

विवाहपछिको हनिमुन कहाँ मनाउने विचार छ?

पोखरामा, त्यो पनि डुंगामा बसेर।

विवाह कहिले गर्ने नि?

ज्योतिषले भनेको ७१ सालमा पक्का अरे !

उमेर अधबैंसतर्फ गएजस्तो लाग्दैन?

उमेर जहाँसुकै जाओस्, मन सधैं तरुनो हुनुपर्छ नि।

कि अहिले तरुनी हुँदा भाउ खोज्ने, बूढी भएपछि यता न उता हुने हो कि?

मैले राम्रो प्लान गरेकी छु। यता न उत्ति लाला भित्ती हुन्न पक्का।

नेपालको संविधान जस्तो हुने हो कि तपाईंको विवाह?

बरु नेपालको संविधान बन्दैन, तर मेरो विवाहको जग्गे पक्का बन्छ।

टेलिभिजनमा तपाईंको हिरो दीपकजी, तर रियल हिरोचाहिँ को छ? खुसुक्क भन्नुस् त?

भेटेकी भए त विवाह गरेर हनिमुन मनाइसकेकी हुन्थें। के गर्ने? रियल हिरो भेटेकै छैन।

केवल एक प्रश्न

 »

गाईजात्रा त मनाइन्छ तर गोरुजात्राचाहिँ किन नमनाइएको होला ?

जहाँबाट आम्दानी हुन्छ त्यसैलाई पुज्ने मानिसको प्रवृत्ति नै हो। गाईबाट आम्दानी हुने भएर नै गाईजात्रा मनाइएको हो। गाईले दुध दिन्छिन् कमाइ पनि हुन्छ, तर गोरुले सधैं दुख मात्र दिन्छ भनेर स्वार्थी मानिसहरूले गोरुजात्रा नै मनाएनन्। चाकडी, पूरै चाकडी....।

     - निर्मल शर्मा गैंडा, हास्यकलाकार

काठमाडौं उपत्यकाभित्र मात्र मनाइने चाड हो गाईजात्रा, यसै त गोरुलाई उपत्यकाभित्र बन्देज गरिएको छ, साँढे फाट्ट-फुट्ट देखिए पनि काठमाडांैमा गोरुले जोत्न मिल्दैन। त्यही कारण होला, यहाँ गोरुजात्रा नमनाइएको। यो महिलाहरूले मात्र किन तीज मनाउँछन्, पुरुषले किन मनाउँदैनन् भन्या जस्तै हो।

     - शिवहरि पौडेल, हास्यकलाकार

गाईजात्रा मात्र होइन, हामी त गोरुजात्रा पनि मनाउँछौं नि, तर घरबाहिरका कसैले थाहा पाउँदैनन्। बूढाबूढीको यो गोरुजात्रा घरभित्रै सीमित हुन्छ। वास्तवमा गोरुजात्रा सार्वजनिक रूपमा मनाउनु पनि हुँदैन, गाईको निहुँमा गोरुहरूको झगडा पर्छ, त्यसले गाईलाई टेन्सन हुन्छ।

     - कुञ्जना घिमिरे, हास्यकलाकार

बच्चा जन्माउन नसक्ने भएर हुनुपर्छ। गोरुमा जोत्ने क्षमता हुन्छ, गोरु गर्भवती नहुने भएकैले गोरुजात्रा नमनाइएको हो।

     - दमन रुपाखेती, हास्यकलाकार

गोरुभन्दा गाईको सहन गर्न सक्ने क्षमता बढी हुन्छ, त्यसैले होला। गोरुहरू सबै काममा अकर्मण्य, गतिछाडा अनि नालायक हुन्छन्। गाईको इज्जत र सम्मानका लागि वर्षमा एकपटक गाईजात्रा मनाइएको हो।

     - मदन सिटौला, कलाकार

गोरुजात्रा त बर्खा लागेदेखि खेतमा हुन्छ नि, किसानलाई मात्र यो जात्राका बारेमा थाहा छ, गाउँमा सधैं गोरुजात्रा मनाइन्छ त्यही भएर सहरतिर भने गाईजात्रा मनाएका होलान्।

     - नील डेभिड कटवाल, हेयरस्टाइलिस्ट

गाई भनेको ग्लामर हो नि त, गाईको नभएर गोरुको जात्रा हुन थाल्यो भने कसले हेर्ने ? गाई भनेको रसिलो जात, जसबाट पाइने सबै कुरा स्वास्थ्यवर्द्धक छन्, त्यसकारण पनि गाईलाई महत्व दिइएको हो। हाम्रो समाजमा यसै पनि नारीलाई महत्व दिइन्छ, हैन ?

     - राजेश पायल राई, गायक

यहाँ दिनैपिच्छे गाईजात्रा देख्न पाइराखिएको छ। देशका नेताहरू नै हास्यकलाकारभन्दा कम छैनन्, नेताहरूको गाईजात्राका कारण अब वर्षमा एकपटक मात्र हुने गाईजात्राको पनि खासै काम देखिँदैन। त्यस्तो अवस्थामा झन् गोरुजात्रा किन चाहियो र ?

     - इन्दिरा जोशी, गायिका

गन्तव्य

 »

बन्दीपुर

समुद्र सतहबाट करिब १ हजार ३ सय मिटरको उचाइमा रहेको 'बन्दीपुर' तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हो। तनहुँको सदरमुकाम दमौलीमा स्थानान्तरण हुनुपूर्व भारत तथा तिब्बतको प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित बन्दीपुरमा काठमाडांै, भक्तपुरदेखि नेवारहरू आएर बसोबास गरी व्यापार प्रारम्भ गरेका थिए। काठमाडौंबाट १ सय ४५ किलोमिटर पश्चिम पृथ्वी राजमार्गको डुम्रे, विमलनगर हुँदै बन्दीपुर पुग्न ४ घण्टा लाग्छ भने पोखराबाट ७५ किलोमिटर दक्षिणमा रहेको बन्दीपुर पुग्न २ घण्टा लाग्छ। यसैगरी चितवन, नारायणगढबाट ७० किलोमिटर उत्तरमा पर्ने बन्दीपुर पुग्न २ घण्टा नै छुट्याउनुपर्छ। पृथ्वीराजमार्गमा पर्ने डुम्रे बजारबाट ७ किलोमिटर दक्षिण उकालो चढेपछि आधा घण्टामा बन्दीपुर पुग्न सकिन्छ। पैदल यात्रा गर्ने हो भने डुम्रेबाट २ घण्टा र विमलनगरबाट आधा घण्टा लाग्छ। विश्वकै सबैभन्दा ठूलो सिद्ध गुफा हुँदै जाने हो भने २ घण्टामा बन्दीपुर पुग्न सकिन्छ।

औसत ३० डिग्री सेल्सियस तापक्रम रहने बन्दीपुरमा न धेरै जाडो हुन्छ, न धेरै गर्मी। पहाडको टाकुरामा थचक्क बसेको बन्दीपुरको टुँडिखेल मैदानबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, हिमालचुली, माछापुच्छ्रे, लाङटाङ तथा गणेश हिमाल ऐना हेरेझैँ हेर्न सकिन्छ। त्यहाँबाट नागबेली आकारमा बगेको मस्र्याङदी नदीलगायत लमजुङ दरबार, गोर्खा दरबार एवं मनकामना मन्दिर समेत दृष्टिगोचर हुन्छ। बन्दीपुरलाई पहाडकी रानी पनि भनिन्छ। यहाँ सुविधायुक्त होटल तथा लजहरू छन्।

बन्दीपुरका खष्ठदेवी, विन्ध्यवासिनी, थानीदेवी, महालक्ष्मी, नारायण, पारपानी महादेव, तीनधारा महादेव तथा मुकुन्देश्वरी मन्दिर प्रसिद्ध छन्। दुवैतिर लाइन मिलेका घरहरू बाटोमा ढुङ्गाको छपनी र ढुङ्गाकै छाना भएका घरहरू यहाँको मौलिक विशेषता हो। बन्दीपुरमा बाहै महिना सांस्कृतिक चाडपर्वहरू मनाइन्छ। घाट्टु, कौरा, पाउदुरे, सोरठी र सेलो यहाँका प्रमुख नाच हुन्। २४ प्रजातिका सुनाखरी पाइने बन्दीपुर क्षेत्रको यात्रा दोहोर्‍याउनेहरूको संख्या धेरै छ।

    - एलपी शर्मा

पहिलो विश्व

»

रेकर्डका लागि अन्डरवेयर

हालै न्युयोर्कको टाइम स्क्वायरमा अनौठो दृश्य देखियो। असंख्यौं युवा-युवती एकाएक सडकमा ओर्लिए। अनपेक्षित बढेको उक्त भीडले मात्र होइन, उनीहरूको पहिरनले पनि दर्शकको ध्यान खिच्यो। भीडमा उपस्थित सबैले अन्डरवेयर मात्र लगाएका थिए। यो अनौठो तामझामको उद्देश्य विश्व रेकर्ड कायम गर्नु रहेछ। यसअघि २ हजार २ सय ७० जना यसरी अन्डरवेयरमा एकत्रित भएर विश्व रेकर्ड बनाएका थिए। पछिल्लो भेला त्यही रेकर्ड तोड्न जुटेको थियो।

ब्युटी सैलुन तथा स्पा

 »

अनानिक ब्युटी सैलुन तथा स्पा

अनानिक ब्युटी सैलुन तथा स्पा राजधानीको नयाँ बानेश्वर श्रीकृष्ण सदनको दोस्रो तलामा छ। यो सैलुनमा क्यानाडा बस्दै आएकी अनानिक राईको लगानी छ। यहाँ उच्च प्रविधि र सुविधासम्पन्न ब्युटी सैलुनबाट ब्युटिपार्लरसम्बन्धी सेवा उपलब्ध गराइन्छ। यहाँ बडी केयर, स्किन केयर, फेसियल, नेल केयर, मेनिक्योर, पेडिक्योर तथा हेयर रिमुभल सेवा उपलब्ध रहेको सञ्चालिका राई बताउँछिन्। यहाँ उच्च घरानियाँलाई मात्र नभै सर्वसाधारणलाई पनि हुने गरी स्पा सञ्चालनमा ल्याइएको राईले बताइन्।

यहाँ पुरुष वा महिलाको केशको स्टाइल चेन्ज, वास, आइरन, टि्रटमेन, हाइलाइट, कलर आदि विभिन्न सेवा सुविधा उपलब्ध छन्। केशका लागि १ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्मको सेवाशुल्क तोकिएको छ। स्किन केयरका लागि पनि १० किसिमका सेवा उपलब्ध छन् भने स्पा र नङमा कलर गर्ने छुट्टै प्याकेज उपलब्ध छन्। स्पाका लागि १८ हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध छ। 

हाम्रै नेपालमा

»

१ सय ६ वर्षमा पूरा भयो प्लेन चढ्ने रहर

'खाने मुखलाई जुँगाले छेक्न सक्दैन' भन्ने उखान पात्लेखोला, धनकुटाका १ सय ६ वर्षीय बोटे राईको जीवनमा चरितार्थ भएको छ। जीवनसंगिनीको मृत्युपछि एक्लिएका राईलाई कुनै धार्मिक स्थल जाने चाहना जागेन। ७४ वर्षीय भान्जा मानबहादुर राईको संरक्षणमा बस्दै आएका बोटे राईको मर्नुअघिको चाहना 'जहाज चढ्ने' मात्र थियो। उनी भन्थे- 'मलाई औषधी खानु छैन, तर मैले जहाज चढ्न पाउनुपर्छ।' तिनै १ सय ६ वर्षका वृद्ध राईको इच्छा गत मंगलबार पूरा भएको छ।

केही सञ्चारमाध्यममा उनको प्लेन चढ्ने चाहना सार्वजनिक भएपछि यति एयरलाइन्सले घरमै पुगेर उनलाई विराटनगर ल्याई गत मंगलबार ३ बजेको प्लेनबाट काठमाडौं पठाइएको यती एयरलाइन्सका स्टेसन म्यानेजर प्रेम कुँवरले बताए।

कुँवरका अनुसार राई २/३ दिन काठमाडौं बस्नेछन्। सहयोगी भान्जा मानबहादुरका साथ गएका राईलाई काठमाडौंमा खाने, बस्ने र घुम्ने सुविधा एयरलाइन्सले नै मिलाइदिएको छ। एयरलाइन्सकै खर्चमा काठमाडौका धार्मिक स्थलहरू घुमाएर राईलाई प्लेनमार्फत नै विराटनगर ल्याएइ घरमै पुर्‍याइ दिने एयरलाइन्सले जनाएको छ। 

सम्पदा

»

देशाःमरु झ्याः

काठमाडौंको नरदेवीस्थित एउटा घरको यो अनौठो झ्याललाई नेवारी भाषामा देशाःमरु झ्याः भनिन्छ। करिब २ फिट अग्लो र डेढ फिटजति चौडाइ भएको यो झ्याललाई नेपालमा कहीं नभएको झ्यालका रूपमा पनि चिनिन्छ। श्वेतकाली भगवतीको मन्दिर नजिकै पुरानो शैलीको घरको यो झ्याल रहेको घरलाई १५ वर्षअघि भत्काएर पुनःनिर्माण गरिएपनि झ्याललाई भने सोही स्थानमा संरक्षण गरेर राखिएको छ। प्रा.डा. मुकुन्दराज अर्यालका अनुसार यो झ्यालको कुनै अभिलेख नभएका कारण यसको निर्माण कहिले भएको हो भन्ने विषयमा विवाद छ। स्थानीय बासिन्दा हरि महर्जनका अनुसार कलात्मक शैलीको यस्तो झ्याल अत्यन्त्र कतैछैन। राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहको शासनकालसम्मको अवधिमा बनेको हुनसक्ने अनुमान गरिएको यो झ्याललाई ऐतिहासिक महत्त्वको कला मानिन्छ। 

sms प्रतिक्रिया

 »

गाईजात्रा अंकमा एउटै विषयमा धेरै कुरा समेटिएकाले नियमित स्तम्भहरू छुटेछन्

गाईजात्रा अंकमा एउटै विषयमा धेरै कुरा समेटिएकाले नियमित स्तम्भहरू छुटेछन्, जसले गर्दा अलि नरमाइलो लाग्यो। सबै स्तम्भ समावेश गर्दा राम्रो हुने थियो।

     - कृपन पौडेल

म पढ्न अस्ट्रेलिया जान चाहन्छु -जेन्युयन विद्यार्थीहरूका लागि अस्ट्रेलिया, साउन ३२) र, परिवारलाई पनि उतै लान चाहन्छु। यसका लागि के-कस्तो प्रक्रिया छ ?

     - राजेन्द्र पौडेल

साप्ताहिकमा मोबाइलसम्बन्धी सूचना-जानकारी समेट्न सके सुनमा सुगन्ध हुने थियो।

     - गोकुल गौतम

साप्ताहिकमा विकृति ल्याउने तस्बिर बढी छापिन्छ कि जस्तो लाग्छ।

     - मोना कार्की

पि्रयंका जी, तपाईंले भन्न खोजेको के हो ? गाईभन्दा पनि केटीहरू पवित्र हुन्छन् भन्न खोजेको हो ? कुरा अलि प्रष्ट भएन नि।

     - ३३४४

फिल्म, म्युजिक तथा फेसन धेरै युवाको रोजाइमा पर्छ। त्यसैले गीत लेखन, कथा एवं पटकथा लेखन, अभिनय, गायन, संगीत, प्राविधिक आदि क्षेत्रको रोजगारीका बारेमा विस्तृत जानकारी दिनु राम्रो हुन्छ।

     - विशु उपाध्याय

गाईजात्रा विशेषांकमा धेरै हास्य कलाकार समेटिए। यो पनि एउटा राम्रो अबसर हो।

     - १४७६

साप्ताहिकमा अनौठा तथ्यहरू प्रकाशन गरे हामीलाई केही ज्ञान मिल्ने थियो।

     - साजन पोखरेल, विराटचोक

नेताजीहरूको ब्यंग्य कार्टुन उत्कृष्ट लाग्यो। -फोटो फन्डा, साउन ३२) नेताजीहरूको मति सपि्रयोस् भन्ने कामना छ।

     - निर्मल, बेदना राइ, धरान

हाम्रो देशमा जनताले गाईजात्रा देखाउँछन्। -गाईजात्रा त मनाइन्छ तर गोरु जात्राचाहिँ किन नमनाइएको होला, साउन ३२) गोरु जात्रा त नेताहरूले देखाउँछन्।

     - सूर्य, काठमाडौं

साप्ताहिकको ब्लोअपमा अहिलेसम्मकै सबैभन्दा हट फोटो सिर्जना सुब्बाको लाग्यो। उनी सबैभन्दा हट छिन्। यो तस्बिर प्राकृतिक देखिन्छ।

     - सुनील श्रेष्ठ, बनेपा

मनोज गजुरेलको पूर्वजन्म, पुनर्जन्म लेखमा हास्य, ब्यंग्य एवं भविष्यको पूर्वानुमान सबै छ। मलाई राम्रो लाग्यो।

     - सुवास लिम्बू, सुनसरी

प्रशिक्षण

 »

धरानमा बागिना

धरानमा एउटा अर्को कला तथा शास्त्रीय संगीत प्रशिक्षण स्कुल 'बागिना' स्थापना भएको छ। बागिना संगीत विद्यालयमा गायनमा शास्त्रिय संगीत, भावसंगीत, संगीततर्फ तबला, हार्मोनियम, गीतार, भ्वाइलन, बाँसुरी, मादल, किबोर्ड आदीको प्रशिक्षण प्रदान गरिनेछ। बागिनाले पूर्वाञ्चल स्टारको दोस्रो संस्करणको अडिसन चाँडै प्रारम्भ गर्ने जानकारी पनि दिएको छ। 

चलचित्र

»

चलचित्र 'करामत'

निर्देशक ः दिनेश पौडेल

संगीत ः लक्ष्मण शेष

कलाकार ः सुमन सिंह, रोही श्रेष्ठ, सम्झना प्याकुरेल, सोनिया शर्मा आदि।

गुन्डाहरूको दुई समूहबीचको परस्पर द्वन्द्वमा आधारित भएर धेरै चलचित्र बनेका छन्। बलिउडका धेरैजसो चलचित्र गुन्डागर्दी र ग्याङस्टरमै आधारित हुने गरेका छन्। त्यसको असर नेपाली चलचित्रमा पनि परेको छ। यो साता प्रदर्शन हुने चलचित्र 'करामत' पनि गुन्डागर्दी र ग्याङ्स्टरमा आधारित छ। सुमन सिंहले मुख्य भूमिका निर्वाह गरेको चलचित्र करामतका अर्का नायक रोही श्रेष्ठ हुन्। केही चलचित्रमा नायक भैसकेका रोही श्रेष्ठले नै यो चलचित्रको निर्माण पनि गरेका हुन्। एक्सन, लभस्टोरी र फेमिली ड्रामाका मरमसलाको भरपुर प्रयोग भएको चलचित्र 'करामत'मा 'एटिएम'बाट चर्चामा आएकी नायिका सोनिया शर्माले नायिकाको भूमिका निर्वाह गरेकी छिन्।

उनी @ Aswini Koirala

»

मुद्दा

लोग्ने-स्वास्नीको झगडाको मुद्दा अदालतमा पुग्योभन्ने सुनेर अदालत पुगें । त्यहाँ पीडित महिला वकिलसँग आफ्नो लोग्नेको अत्याचार सुनाउँदै थिइन्। साधारण कुर्ता-सलवारमा रहेकी ती महिला सलले आँसु पुछ्दै भन्दै थिइन्, 'मैले स्वतन्त्रता पाइन्। साथीसंगी झपक्क सुनले मोरिएर बिहे-बटुलोमा पुग्छन्, मेरा श्रीमान् मलाई एउटा टपसम्म लगाउन दिँदैनन्।'

यो मुद्दा हेर्ने जिम्मा महिला न्यायाधीशलाई दिइएको थियो। निकै सजिएर आएकी महिला न्यायाधीश बेञ्चमा बसेपछि बहस सुरु भयो। पीडित महिलाले बयान दिने ठाउँमा उभिएर भनिन्, 'मेरो श्रीमान्को रूप हेर्नुहोस्, कपाल पालेका छन्, टप लगाएका  छन्। हेन्डसम क्रिम दलेर हिँड्छन्।' सबैले उनका श्रीमान्तर्फ आँखा लगाए। 'उनी सेन्ट दलेर हिँड्छन्, तर मलाई सौन्दर्य सामग्रीको नाममा एउटा टीका पनि लगाउन दिँदैनन्।' उनले रुदै न्यायाधीशसँग भनिन्, 'मेरो रहर यो मान्छेले बरबाद बनायो। न्याय पाऊँ हजुर।'

न्यायधीश गम्भीर देखिइन्। उनले लोग्नेलाई सोधिन्, 'तपाईंले श्रीमतीलाई एउटा टीकासम्म लगाउन दिनुहुन्न भन्ने कुरा आयो, सत्य हो ?'

'हो हजुर।' लोग्नेले भन्यो, 'मैले यिनलाई माया गरिनँ भनिन् भने म मान्दिनँ, किनभने मैले यिनलाई आफूभन्दा बढी माया गरेको छु। खान दिइनँ भनिन् भने म मान्दिनँ, किनभने यिनलाई मनपर्ने बाहेक अरू परिकार मेरो घरमा पाकेकै छैन। जहाँसम्म शृङ्गारको कुरा छ, त्यो चाहिँ मैले रोकेकै हो।'

'आफूचाहिँ क्रिम, तेल सबै दलेर हिँड्ने। न्यायाधीशले अचम्म मान्दै भनिन्, 'श्रीमतीलाई भएको गहना पनि लगाउन नदिने ?

'मैले प्राकतिक माया गरेको हो, हजुर।'

'तपाईं कस्तो मान्छे, श्रीमतीलाई झुत्रो झाम्रो दिएर अझै पनि गर्वका साथ श्रीमतीलाई माया गरेँ भन्नुहुन्छ।'

पछाडि उभिएको वकिल अगाडि आएर हास्यव्यङ्ग्य शैलीमा भने, 'यो कस्तो खालको माया हो महाशय, न्यायमूर्तिसहित यो सम्माननीय अदालतलाई बताइदिनु हुन्छ कि ?

'यो प्राकृतिक माया हो हजुर।' न्यायाधीशतर्फ हेर्दै लोग्नेले भन्यो, 'तपाईंलाई थाहै होला, कुखुरी साधारण हुन्छे तर भाले आकर्षक हुन्छ। भाले मयूरको प्वाँख रंगीन हुन्छ, तर पोथी मयूर साधारण देखिन्छ।' लोग्नेले चारैतिर हेरेर घुटुक्क थुक निल्दै भन्यो, 'भाले कोइली कोहो कोहो गर्छ, तर पोथी कोइली चुप लागेर बस्छे। उसले नगाए पनि लोग्नेले माया गरेकै हुन्छ। साँढेको गर्धन जुरो भएरै राम्रो देखिन्छ, गाईले ढिस्को लगाइरहनु पर्दैन, त्यसै राम्री छे।'

'यो के वाहियत कुरा गरेको ध्रुवजी तपाईंले ?' वकिलले अलि कड्किँदै भने, 'कहाँ मान्छेको मुद्दा, कहाँ कोइली, कुखुरा र साँढे।'

'त्यही त बुझाउन खोजेको महाशय।' वकिललाई आँखा तर्दै लोग्नेले भन्यो,  'पशुपन्छीमा सेक्स संयमित छ, किनभने पोथी साधारण छन्। भालेले दुःख गरेर फकाउनुपर्छ। मान्छे सेक्समा आतुर छ, किनभने महिलाले पुरुषलाई असंयमित बनाइरहेका छन्, थरीथरीका प्रसाधन र पहिरन लगाएर हामीलाई उक्साइरहेका छन्।'

बहस चर्कंदै गएपछि मुद्दा भोलिका लागि सर्‍यो। भोलिपल्ट मैले देखें, 'अघिल्लो दिन निकै सजिएर आएकी महिला न्यायाधीश भोलिपल्टको बहसमा अत्यन्तै साधारण परिहनमा थिइन्। 

अपराध

 »

हत्यारा नै चमत्कारी

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको सवा एक वर्ष बितेको छ। हत्यारा पक्राउ पर्नु त कता हो कता, नेपाल प्रहरीले उनीहरूको पहिचान समेत गर्न सकेको छैन। गत वर्षको जेठ १८ मा ललितपुरको बंगलामुखी मन्दिरबाट दर्शन गरी र्फकंदा उनको गोली हानी हत्या भएको थियो।

प्रहरीले चमत्कार भए मात्र हत्याको कारण र हत्यारा पता लाग्ने बताएको छ। 'यो अनुसन्धानमा केन्द्रीत छौं, तर लुप्स र ल्याप्स -सुराक) फेला नपारेसम्म रहस्य खुल्न कठिन छ,' प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने।

घट्नालगतै हालका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति पनि गठन गरिएको थियो। लगातार तीन महिनासम्म कम्मर कसेर काम गरेको उक्त समितिमा प्रहरीका लगभग सबै स्वच्छ छविका कुशल अधिकृतहरू सहभागी थिए। अन्य थुप्रै स-साना टोली पनि हत्यारा पत्ता लगाउन दौडधूप गरेका थिए।

हजारौं मोबाइल एसएमएसको अध्ययन र सयौंसँग सोधपुछ गर्दा पनि न्यायाधाशी बमको हत्याको रहस्य खुल्न सकेन। अनुसन्धान पूरा नहुँदै हतारोमा उनलाई सहिद घोषणा गर्ने सरकारले पनि यो विषयमा स्पष्ट रूपले केही बोलेको छैन। भरतपुर क्यान्सर अस्पतालका चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्नलाई छाडेको मुद्दामा बम विवादित भएका थिए।

यही कारणले तत्कालीन प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले उनलाई झन्डै दुई वर्षसम्म कुनै मुद्दा तोकेनन्। कुनै ऐतिहासिक, उल्लेखनीय एवं उदाहरणीय फैसला नगरेका बम पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट सर्वोच्चका न्यायाधीश बनेका थिए। उनको पूर्वपत्नीसँग जोडिएको घरायसी किचलो र उनी सर्वोच्चमा आउनुअघि गरेका फैसलाहरूको अध्ययन गर्दा पनि प्रहरीले यस विषयमा कुनै सुइँको पाएन। मुलुकका लागि कुनै ठूलो त्याग र योगदान नभए पनि सहिद घोषणा गरिएका न्यायाधीश बमको हत्याको कारण र हत्याराका सम्बन्धमा जान्न जनता भने पक्कै उत्सुक छन्। 

उपाधि

»

मेलिनालाई मिस प्रिन्सेसको उपाधि

झापाको बिर्तामोडमा सोमबार सम्पन्न मिस प्रिन्सेस नेपालको उपाधि मेलिना मगरले जितेकी छिन्। २१ जना पूर्वेली युवतीलाई पछि पार्दै उनले मिस पि्रन्सेस-२०१३ को उपाधि माथि कब्जा जमाएकी हुन्। निर्णायक डा. घनश्याम खतिवडाले देश विकास नहुनुको समस्या के हो भनेर सोधेको प्रश्नमा उनले राजनीतिक अस्थिरता तथा देशका नेताहरू जनताको स्वार्थभन्दा पनि आफ्नो स्वार्थमा लिप्त भएकाले भन्ने जवाफ दिएकी थिइन्। मेलिनालाई प्रमुख अतिथि लोक गायिका कोमल वलीले पुरस्कार वितरण गरेकी थिइन्। प्रतियोगितामा मोनिका भण्डारी फस्ट रनर्सअप, सुनयना तिम्सिना सेकेन्ड रनरअप र अविलासा लम्साल तथा सरु बराइली थर्ड रनर्सअप घोषित भए। त्यस्तै टाइटल उपाधितर्फ मिस ग्ल्यामरसमा पवना श्रेष्ठ, पपुलर प्रस्तुतिमा जुनु राई, बेष्ट हेयरमा पवलिका थापा, फोटोजेनिकमा सुनयना तिम्सिना, मिस ट्यालेन्डमा सन्जु कटुवाल तथा स्मार्ट वाकमा मेघना थापा विजयी भए।

गजु Real

 »

बूढाहरूका कुरा

अग्रजहरूका धेरै कुरा सुन्न लायक होलान् तर मान्न लायक कति होलान् ? आउनोस्, गजुरियल विश्लेषण गरौं। 'घाँटी हेरी हाड निल्नु' भन्ने बूढाहरूको भनाइलाई नै लिनुहोस्। कुकुरले त हाड निल्दैन भने हामीलाई हाड निल्न सुझाव दिनुको तात्पर्य के हो ? यसका पछाडि दुईवटा योजना छन्। पहिलो, हड्डी अड्काएर युवाहरूको आवाज बन्द गर्ने अनि दोस्रोचाहिँ हड्डी देखाएर युवा र कुकुर एउटै हुन् भन्ने कुरा प्रमाणित गर्ने π सौभाग्य, बूढाहरूको यो ग्राइन्ड डिजाइनमा तन्नेरीहरू फसेनन्, त्यसैले अहिलेसम्म ज्यूँदै छन्। नत्र, हड्डी निल्ने क्रममा सबै युवा यमराजको पाहुना भैसक्ने थिए। यस आधारमा गजुरियल विश्लेषण भन्छ- बूढाहरूका सबै कुरा राम्रा हुन्छन् भन्ने होइन।

'ढिलै होस्-छोरै होस्' भन्ने बूढो वाणीलाई नै लिनुहोस्, यसले छोरीहरूविरुद्ध विषबमन मात्र गरेको छैन, छोरी पाउने आमालाई 'स्लो पोइजन'पनि पिलाएको छ। 'ढिलै होस्-छोरै होस्' भन्नुको मतलब, बरु ९ महिनाको साटो १८ महिना गर्भ बोकोस्, तर छोरीचाहिं जन्माउँदै नजन्माओस् भन्न खोजेको होइन त ! डाक्टरले दिएको समयमा सुत्केरी नहुँदा टेन्सन हुनुपर्नेमा छोराका लागि 'ढिलै भए पनि फरक पर्दैन' भन्नुको अर्थ 'छोरा पाउँदिनँ भने मरे पनि फरक पर्दैन' भन्न खोजेको होला ! हामीे बूढाका कुरा सुनेका भरमा चलेका भए अहिलेसम्म करोडौं आमा टाइममा सुत्केरी हुन नपाएर अहिलेको संसार बाबु नै बाबुको मात्र हुने थियो।

अब 'बाह्र छोरा तेह्र नाति- बूढाको धोक्रो काँधैमाथि'- यसको भाव बुझ्नुहोस्। धेरै सन्तान पाल्न नसकेपछि सन्तान लाखापाखा लाग्ने नै भए। कि त थोरै छोरा जन्माउनुपथ्र्यो, कि त पाल्न सक्ने सम्पत्ति हुनुपथ्र्यो। आफू पाल्न पनि नसक्ने, गरिखाएको पनि नसहने ! बूढाहरूका केही कुरा घोर आत्मनिर्भरता विरोधी छन्।

'राजाको काम छोडी कामीको बिहे।' यो कुरालाई गहिरिएर बुझ्नुहोस्, बूढाहरू कति सामन्ती रहेछन्। यसमा एकातिर 'कामी' र 'राजा'लाई ईश्वर र मान्छेका रूपमा विभाजित गरेका छन् भने अर्कातिर राजाको कामलाई धार्मिक कार्य र कामीको विवाहलाई 'झारपात'को संज्ञा दिएका छन्। राजाको काम भनेको के हो त ? हामीले इतिहासमा पढेका छौं, हाम्रा राजाहरूले केहीबाहेक धेरै काम यस्ता गरेका छन्, जसलाई काम नभनेर कुकार्य भन्नु उपयुक्त हुन्छ। जनतालाई घोडाका खुट्टामा बाँधेर घिसार्ने, पजेरोले कुल्चने, आफ्नै वंशको सत्यानाश गर्ने, लोकतन्त्र खानेजस्ता राजाका कामलाई महान् मान्ने र विवाहजस्तो शुभकार्यलाई सामान्य भन्ने बूढाहरू जातिभेदका पक्षधरमात्र होइनन्, कट्टर राजवादी पनि हुन् भन्ने गजुरियल ठम्याइ छ।

आगो ताप्नु मुढाको भन्छन् तर जमाना भुङ्ग्रो, हिटर हुँदै एयरकन्डिसनमा पुगिसक्यो- अझै पनि मुढाको आगोमा अल्भिmन सिकाउने कुरा कति अवैज्ञानिक छ ? रेडियो, टिभी, एमपी थ्री, आइपोड सुनेर विज्ञानसँगै दौडनुपर्ने समयमा बूढाका कुराका पछि लागेर पुगिने ठाउँ भनेको आर्यघाट मात्र हो। उता 'सन्तानले डाँडाकाँडा ढाकून्' भन्ने बूढाहरूको आशीर्वादमा डरलाग्दो यथास्थितिवाद देखिन्छ। संसार साँघुरिदै छ, थोरै सन्तान जन्माए जीवन सफल र शान्तिपूर्ण हुने निश्चित हुँदाहुँदै सन्तानले डाँडाकाँडा ढाकून् भन्ने कुरा अस्वीकार्य छ भन्ने गजुरियल बुझाइ छ।

बूढाहरू भन्छन्- 'बस्न पाएँ भनेर थ्याच्च नबस्नु, बोल्न पाएँ भनेर प्याच्च नबोल्नु।' यसको तात्पर्य हो- तिमीहरूले हाम्रो कुरो सुन्नेमात्र हो, बोल्ने होइन। एक जना मित्रले रिसाउँदै भन्नुभयो- 'तपाईंको यो तर्कसँग म सहमत छैन। बूढाहरूले त सोचेर मात्र बोल्नु भन्न पो खोजेका हुन् त।' तर मचाहिँ ती मित्रको तर्कसँग बिल्कुल सहमत छैन। किनभने बूढाहरू छोराछोरीहरू बाठा हुन्, जानेको कुरा सिकाउन्, नजानेको कुरो सिकून् भन्ने चाहँदैनन्। ठूलामान्छे बोलेका ठाउँमा कोही सानो मान्छे बोल्यो भने भन्छन्- 'केटाकेटी भएर ठूला मान्छेका अगाडि प्याच्च बोल्ने हो !' यस आधारमा बूढाहरूका कुरा सुन्ने हो, गुन्ने हो तर कुरै नबुझी मान्नेचाहिँ होइन भन्ने गजुरियल ठम्याइ छ। 

अब हाम्रो पालो

 »

पैसाले व्यक्तित्व बनाउँछ कि व्यक्तित्वले पैसा कमाइन्छ ?

पैसाबिना हामी बाँच्न पनि सक्दैनौं, तर जीवनमा व्यक्तित्व धेरै आवश्यक छ।

    - गोकुलप्रसाद पौडेल

पैसा धेर-थोर सबैले कमाउन सक्छन्, तर व्यक्तित्व सबैसँग हुँदैन। लुटेर कमाएको पैसाले व्यक्तित्व बनाउँदैन। मेहनत गरेपछि व्यक्तित्व र पैसा दुवै कमाइन्छ।

    - भीम बिडी

पहिलेको जमानामा व्यक्तित्वले पैसा कमाइन्थ्यो तर यो कलियुगमा पैसाले व्यक्तित्व बनाउँछ र बिगार्छ पनि।

    - बिन्दु थापा

च्यवनप्रास र हर्लिक्सले पो व्यक्तित्व बनाउँछ, कहाँ पैसाले बनाउनु ? पैसाले त जीवनलाई आलुजस्तै बनाउँछ।

    - दीप मगर

व्यक्तित्वले पैसा कमाइन्छ।

    - शान्ता भण्डारी श्रेष्ठ,

    - विकास अधिकारी

पैसाले व्यक्तित्व बनाउँछ र व्यक्तित्वले इज्जत बढाउँछ।

    - सन्तोष बलाम्पाकी मगर

व्यक्तित्वले पैसा कमाइने हो। पैसा छ भन्दैमा मूर्खहरूको व्यक्तित्व कहिल्यै बन्दैन। बरु भएको पैसा पनि गलत काममा प्रयोग गर्छन्।

    - प्रकाश कट्टेल

दुईवटा पी अर्थात् पावर र पैसाचाहिँ सुन्या हो। यो दुइटा भएपछि त पुगिहाल्यो नि। तेस्रो पी पर्सनालिटी त तपसिलको कुरा हो नि।

    - पदमजंग आङबुहाङ

अचेल त पैसा भए सबै थोक पाइन थालेको छ। पैसा भए जे पनि गर्न सकिन्छ।

    - पेम्बा शेर्पा

परिस्थितिमा भर पर्छ। कुनै बेला पैसाले व्यक्तित्व बनाउँछ भने कुनै बेला व्यक्तित्वले पैसा कमाइन्छ।

    - शंकर चौधरी, तिलक बास्तोला

पैसा जीवन चलाउने साधन मात्र हो। यसलाई ठूलो नमानेकै राम्रो।

    - एक्लो मुटु

हुन त व्यक्तित्वले पैसा कमाउनुपर्ने हो तर अचेल पैसाले व्यक्तित्व बनाउँछ।

    - अनुपराज खनाल

वास्तवमा व्यक्तित्वले पैसा कमाइन्छ, तर अहिले पैसाले व्यक्तित्व किन्न सकिने जमाना आयो। सबैका लागि पैसा नै ठूलो भयो।

    - पर्वत बस्याल

दुवै एक-अर्काका परिपूरक हुन्। किनभने पैसा छैन भने व्यक्तित्व बन्दैन। व्यक्तित्व बनाउन पैसाको आवश्यकता पर्छ।

    - टीकाराम गौतम

पैसाले व्यक्तित्व बनाउँछ भन्ने कुरा विनोद चौधरी र हरिवंश आचार्यको पुस्तक पढेपछि थाहा भयो।

    - अशोकविक्रम केसी

पैसा भएपछि मानिसको आर्थिक, सामाजिक अनि राजनैतिक हैसियत आफैं बन्छ।

    - दिपेश तामाङ योञ्जन

पैसाले पैसा तान्छ भन्ने कुरा बिर्सनुभयो कि क्या हो ? व्यक्तित्वले पैसा कमाउने भए त  नेपालका सबैभन्दा धनी मिस नेपाल र मिस्टर नेपालहरू हुने थिए ।

    - सुमित, पन्जाब, भारत

कुखुरा पहिले कि अण्डा भनेजस्तो पो लाग्यो। खोइ के खोइ के ? भन्नै सकिएन।

    - फन्नी केटो, विश्वराज

व्यक्तित्व ठूलो हो तर व्यक्तित्वले नै पैसा कमाउँछ भन्नचाहिँ सकिँदैन।

    - उद्धवराज भट्टराई

पैसाले व्यक्तित्व कमाउन सकिएला तर व्यक्तित्वले पैसा कमाइँदैन। मान-सम्मान भने कमाइन्छ।

    - उज्ज्वल लामिछाने

व्यक्तित्वले पैसा कमाइन्छ। पैसाले व्यक्तित्व कमाइँदैन।

    - आलम

एउटै सिक्काका दुई पाटा हुन्। पैसाले मात्र व्यक्तित्व बन्दैन। त्यो त उही सुन भन्दा कम छैन, हराएमा डर छैन भनेर कमसल धातुमा सुनको जलप लगाउनुजस्तै हो। फेरि व्यक्तित्व विकासका लागि पैसा पनि अपरिहार्य छ।

    - संघर्ष क्षेत्री, बानेश्वर

इमानदारिता, कर्तव्यनिष्ठता भन्ने कुरा पैसाले बनाउँदैन। पैसाले जंगलको बँदेललाई काठमाडौंवासी मात्र बनाउँछ।

    - गणेश गुरुङ

व्यक्तित्वले मात्र पैसा कमाइँदैन। मैले देखेअनुसार पहिले मानिसको व्यक्तित्व बनिरहेको छ। उदाहरणका लागि विनोद चौधरीलाई हेरौं न। उहाँको लगानीले व्यापार बढायो, जसले गर्दा व्यक्तित्व पनि बढायो। यदि उहाँसँग व्यक्तित्व मात्र भएको भए पैसा कमाउन सक्नुहुन्नथ्यो।

    - मोना कार्की

खासमा व्यक्तित्वले पैसा कमाइन्छ। किनभने पैसाले व्यक्तित्व बनाउला तर त्यो सीमित समयका लागि मात्र हुन्छ। आज छ भोलि नहुन सक्छ, तर यदि उच्च व्यक्तित्व छ भने त्यो इज्जत कहिल्लै खेर जाँदैन।

    - निसान बानियाँ

व्यक्तित्वले पैसा कमाउन सकिन्छ तर पैसाले व्यक्तित्व कमाउन सकिँदैन।

    - गोपाल चन्द परिवर्तन

आफूमा भएको जाँगर, खुबी एवं सीपले पैसा कमाइन्छ। पैसाले कतिलाई सपार्छ कतिलाइ बिगार्छ पनि।

    - न्यारो वे

पैसाले व्यक्तित्व कमाउन धेरै गार्‍हो छ, तर व्यक्तित्व भएपछि पैसा कमाइन्छ।

    - सुगम जिसी

ग्ल्यामर डल नबन्ने इलियाना

चलचित्र 'बर्फी'बाट बलिउड भित्रिएकी तेलुगु अभिनेत्री इलियाना डी क्रुजले आफूमा ग्ल्यामर गर्ल बन्ने चाहना नरहेको बताएकी छिन्। भनिन्छ, उनी राम्रो भूमिकामा मात्र देखिन चाहन्छिन्। हाल चलचित्र 'फटा पोस्टर निकला हिरो' को छायांकनमा व्यस्त इलियाना आगामी दिनमा भूमिका हेरेर मात्र बलिउडमा काम गर्न चाहन्छिन्।

यौन मनोविज्ञान

गृहपृष्ठ » » यौन मनोविज्ञान » लेखहरु »

यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइ

म १९ वर्षीय अविवाहित युवती हुँ। मैले अहिलेसम्म दुई जना केटासँग यौनसम्पर्क गरिसकेकी छु। पहिलोले मसँग धेरै नै प्रतिबद्धता व्यक्त गरेको थियो। त्यो उसले पूरा गरेन। कुनै दिन अर्कै केटी साथीसँग रमाइलो गरेर हिँडेको देखेपछि मैले उससँगको सम्बन्ध तोडिदिएँ। मैले केही समयको अन्तरालपछि अर्को विश्वासिलो साथी फेला पारेकी छु र ऊसँग जुनसुकै मूल्य चुकाएर पनि सम्बन्ध राम्रो बनाउन चाहन्छु, तर एउटासँग धोका पाएकाले मलाई अर्कोसँग पनि पूरै विश्वास भने लागेको छैन। कम उमेर भए पनि एकातिर मैले कुमारित्व गुमाइसकेकी छु। यसले मलाई बेलाबखत झस्का दिइरहन्छ। यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइले पनि मलाई कहिलेकाहीं झस्काउँछ। नयाँ प्रेमीसँगको सम्बन्ध नराम्रो होला कि भन्ने चिन्ताले सताइरहन्छ। किनभने सधैं केटा फेर्दै हिँड्ने जस्तो देखिएला र समाजमा अप्ठेरो स्थिति आउला भन्ने त्रास पनि छ। विगतको घटनालाई सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ?

पी.

तपाईं १९ वर्षअघि नै दुई जनासँगको प्रेममा परिसक्नुभएको रहेछ। जीवनमा टिनएज अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक हो। यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन्। यो उमेरमा भएका घटना अस्वाभाविक होइनन् तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले एकपटक गम्भीर भएर सोचेर अघि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्छ। सामान्य रूपमा सोच्दा पनि हामीले अहिलेको सूचना-प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं। आफ्ना राम्रा पक्षमा गौरव गर्न छोडेका छौं। तिनलाई जोगाइराख्न सकिरहेका छैनौं, तर संसारका नराम्रा कुरा हामी छिटै ग्रहण गरिरहेका हुन्छौं। एकछिन् गम्भीर भएर नियालौं त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ?

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाइर्ं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग त्यस्तो सम्बन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले पटक-पटक घचघच्याइरहन्छ। यो स्वाभाविक पनि हो, तर तपाईंले त्यो घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने यसलाई शिक्षाका रूपमा नै लिनुपर्ने हुन्छ। घट्ना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ।

मानव सभ्यताको उचाइ प्राप्त गरेको अमेरिकामा पनि मानिसहरूमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ। धेरैजसो अमेरिकीले नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन्।

टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भुमरीमा धकेल्नबाट जोगाउनेहरूले नै पछि लभ, सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन्। केटा मानिसहरूले कुनै बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेमप्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ। धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौनसम्पर्क गरेकोमा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। केटाहरू क्याजुअल सेक्स मन पराउँछन्। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। केटाहरू सेक्सपछि लभ गर्ने खालका हुन्छन् भने केटीहरू लभपछि सेक्स चाहन्छन्। केटीहरू यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु केटी मानिसका लागि जैविक, भावनात्मक र प्रजननजन्य कुरा हुन पुग्छ। सिद्धान्ततः केटाहरूले चाहे एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन्, अर्थात् केटी मान्छेको यो धर्तीमा बेग्लै भूमिका छ। तैपनि कहिलेकाहीं केटी मान्छेहरू कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र कुमारित्व गुमाउँछन्। भर्जिनिटी र प्रजनन केटी मानिसका लागि जीवनका दुई महत्त्वपूर्ण सम्पत्ति हुन्। यी दुई चीज गुमाउँदा केटी मानिसलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा। यो स्वाभाविक हो। समयक्रमसँगै सकिने प्रजनन् क्षमता र कुमारित्व टार्न सकिँदैन, तर गलत मानिसबाट कुमारित्व गुमाउने काम रोक्न सकिन्छ। अब तपाइर्ंसँग गुमेको कुरा बाँकी छैन। विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलोसँग जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

सानो पर्दा

गृहपृष्ठ » » सानो पर्दा » लेखहरु »

रातामकैले सम्मान गर्दा

हास्यश्रृंखला 'जिरे खुर्सानी' का लोकप्रिय पात्र ए राता मकै अर्थात् किरण केसीले हास्यकलाकारिताबाट लोकप्रिय भएका ध्रुवरत्न हाडाका साथमा मह -मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीलाई सम्मान गरेका छन्। गाईजात्राको पूर्वसन्ध्यामा आयोजित समारोहमा तीनै जना कलाकारलाई जनही नगद १० हजार रुपैयाँ नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो। उक्त अवसरमा 'हास्यव्यंग्य हिजो, आज र भोलि' शीर्षकमा एक छलफल कार्यक्रम पनि सम्पन्न गरियो। मह जोडीले संयुक्त रूपमा १० सेकेन्डसम्म हाँसेर शुभारम्भ गरेको उक्त कार्यक्रममा किरण केसीले प्रत्येक वर्ष एक जना चलचित्र पत्रकारलाई १० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणासमेत गरे।

पूर्वाञ्चल तीज तारा 

नेपाली महिलाहरूको महान् चाड तीजलाई लक्षित गर्दै 'सेप्टी पूर्वाञ्चल तीज तारा-२०७०' हँुदैछ। महिलाहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरबाट प्रसारण हुने मकालु टेलिभिजनको आयोजनामा तीज ताराको आयोजना गर्न लागिएको हो। विराटनगरबाट प्रारम्भ भएको तीज ताराको झापाको बिर्तामोड, सुनसरीको धरान हुँदै इटहरीमा टप टेनको छनौटसम्म सम्पन्न भएको छ। व्यक्तित्व, दक्षता एवं प्रतिभामा आधारित यो प्रतियोगिताको फाइनल भदौ २१ गते धरानमा हुने कार्यक्रम संयोजक भारती सुब्बाले जानकारी दिइन। यो प्रतियोगिता मकालु टेलिभिजनबाट प्रसारण हुनेछ।

सानो पर्दामा सेतो बाघ

साहित्यकार डायमनशमशेर राणाको सर्वाधिक चर्चित उपन्यास 'सेतो बाघ' अब टेलिश्रृंखला तथा चलचित्रका रूपमा दर्शकमाझ आउनेछ। राणाको निधन भएको करिब अढाई वर्षपछि निर्देशक नीर शाहले 'सेतो बाघ' लाई टेलिश्रृंखला तथा चलचित्रका रूपमा प्रस्तुत गर्ने घोषणा गरेका छन्। टेलिश्रृंखलाको छायांकन आगामी कात्तिकदेखि प्रारम्भ हुनेछ। चलचित्र ३ घण्टाको तथा टेलिश्रृंखला १ सय ५ भागको हुनेछ। टेलिश्रृंखलाका रूपमा 'सेतो बाघ' विराटनगरको मकालु टेलिभिजनबाट प्रसारण हुनेछ।  चलचित्र तथा टेलिश्रृंखलाको छायांकन बन्दीपुर, विराटनगर एवं काठमाडौंका ऐतिहासिक स्थलहरूमा गरिने बताइन्छ। नीर सिनेमा एन्जल हर्स प्रोडक्सनले निर्माण गर्ने टेलिश्रृंखलामा करिव ५० जना कलाकारले अभिनय गर्नेछन्।

पुरस्कार

गृहपृष्ठ » » पुरस्कार » लेखहरु »

अमृतलाई शिरोमणि

सांगीतिक समूह नेपथ्यका गायक अमृत गुरुङ भोलि शनिबार गृहनगर पोखरामा पुरस्कृत हुँदैछन्। पोखरेली युवा सांस्कृतिक परिवारले दुई-दुई वर्षमा प्रदान गर्ने 'शिरोमणि पुरस्कार' बाट यसपटक गुरुङ पुरस्कृत हुन लागेका हुन्। दुई दशकदेखि नेपाली गीत-संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने क्रममा नेपाली लोकलयलाई आधुनिकतासँग जोडेर लोकपि्रय फ्युजन सिर्जना गर्न सफल भएकोले उनलाई पुरस्कृत गर्न लागिएको बताइएको छ। 

विदेशबाट

गृहपृष्ठ » » विदेशबाट » लेखहरु »

रिहान्नाकै चर्चा

सांगीतिक व्यस्तताबीच बिदा मनाउन आफ्नो देश पुगेकी गायिका रिहान्ना स्वदेश पुगेर समेत चर्चामा आइन्। बारबाडोसस्थित आफ्नो निवासमा आराम गर्न गएकी रिहान्नाले आफ्ना केही कामुक तस्बिर आफैंले खिचेर इन्टाग्राममार्फत सार्वजनिक गरिन्। परिवारका सदस्यहरूसँग रमाइलो गर्न गएकी रिहान्नाले अपलोड गरेका अधिकांश तस्बिरमा उनले बिकिनी लगाएकी छिन्। अर्धनग्न तस्बिरहरू आफैंले सार्वजनिक गरेपछि रिहान्नाले प्रशंसकहरूको आलोचना पनि सहनुपरेको छ। अहिले सामाजिक सञ्जालहरूमा रिहान्नालाई गाली गर्नेहरूको संख्या बढ्दो छ।

कार्यक्रम

गृहपृष्ठ » » कार्यक्रम » लेखहरु »

मुम्बईमा पुजनाको नृत्य

देखचेम्स ग्रुप मुम्बईले मुम्बईको कालिदास हलमा गत आइतबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै नायिका पूजना प्रधान । उध्रेको चोली छ है... गीतमा पुजनाले नृत्य गर्दा युवाहरूले सिठी बजाएर हल गुञ्जायमान गराए भने कतिपय दर्शकले छाडा भन्दै आपत्ति जनाएका थिए। उक्त सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका मञ्जु महत, लोकदोहोरी गायक इन्द्र जिसी, मोडल शिवम पोखरेल, गायक मधु क्षेत्री आदि मुम्बई पुगेका थिए।

गफ नदेउ न यार !

गृहपृष्ठ » » गफ नदेउ न यार ! » लेखहरु »

कम्प्रोमाइज गर्नुपरे चलचित्रमा कामै गर्दिनँ।

       - अनामिका, नायिका

भनेपछि नेपाली चलचित्र उद्योगले अर्की बेरोजगार नायिका पाउने भयो।



म लसक-मसक गर्ने खालकी केटी होइन।

       - सिर्जना सुब्बा, नायिका

यो सब त भन्ने कुरा न हो !



धर्मका सम्बन्धमा निर्णय गर्न जनमत-संग्रहमा जानुपर्छ।

       - पशुपतिशमशेर राणा, नेता

अनि राजतन्त्रका सम्बन्धमा नि ?



आवेगमा काम गर्दा भूल भएको हो।

       - पुष्पकमल दाहाल प्रचण्ड, नेता

तपाईंको नाम त कमरेड भूलप्रसाद दाहाल 'आवेग' हुनुपर्ने हो !



वार्ता भनेर सधैं अल्झेर बस्ने कुरा आउँदैन।

       - रघुजी पन्त, नेता

तर वार्ताभन्दा बढी केही गर्न पनि सक्नुभएन नि !



नम्रताको सबै राम्रो।

       - सौगात मल्ल, नायक

हो र ! सबैभन्दा राम्रो चाहिँ के नि ?



एक सयभन्दा बढी सिटमा एमाले अगाडि छ।

       - झलनाथ खनाल, नेता

मंसिर ४ पछि त्यो संख्या केवल २५ पुग्छ।



सस्तो प्रचारका लागि चलचित्र बनाउँदिनँ।

       - रमेश बुढाथोकी, निर्देशक

महँगो प्रचार गरिरहेको छु भन्न खोज्नुभएको हो ?