मुम्बई (भारत), असार १९ - भारतको मुम्बई र त्यसको छिमेकी ठाणेमा भवन भत्किएर ८ नेपालीको मृत्यु भएको छ । मुम्बईमा ३ र ठाणेमा ५ को ज्यान गएको हो । पारिवारिक भेटघाटका लागि मुम्बई आएका एक परिवारका ३ सदस्यको मुम्बईको दहीसरमा ४ तले भवन भत्कँदा अघिल्लो शनिबार मृत्यु भएको हो । १२ दिन पुरानो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासमा अझै जानकारी पुगेको छैन ।
मुम्बईमा कार्यरत स्थानीय नेपालीका अनुसार मृत्यु हुनेमा बावियाचौर-५, सुर्खेतकी अनुमानित ३५ वर्षीया नन्दकली सार्की, छोरी १० वर्षीया पवित्रा र बहिनी-ज्वाइँ कैलालीका धनबहादुर भुल छन् । नन्दकली मुम्बईमा रहेका पति माङ्ले र छोरा खुमानलाई भेट्न ज्वाइँ (नन्दका श्रीमान्) को सहयोगमा पुगेकी थिइन् ।
घरबाट आएको २३औं दिनमा उनीहरूको मृत्यु भएको मृतकका छिमेकी कमल सावतले बताए । '४ माला (तला) पुरानो घर हो, २ माला जमिनमा गाडियो, २ माला भत्कियो' उनले भने, 'दोस्रो मालामा बसेका उनीहरू जमिनको सहतमुनि पुगेका थिए ।' भवनसँगैको ट्यांकीमा पानी तान्न निस्किएका ३८ वर्षीय माङ्ले ट्यांकीलाई केही असर नपरेकाले बचे । उनी त्यही भवनका चौकीदार थिए । भवनमा पुरिएर चिया पसले, तरकारी बिक्री गर्ने ४ भारतीयको मृत्यु र ६ घाइते भए ।
स्थायीनवासीका अनुसार भवन भत्काउन मुम्बई महानगरपालिकाले ३ वर्षअघि आदेश दिएको थियो । भवनधनीले खाली भवनमा अन्य आएर बसे हटाउन गाह्रो हुने भएकाले रेखदेखका लागि माङ्लेलाई राखेका थिए । अन्य व्यक्ति भवन खाली भएकाले बसेका थिए । '४/५ वटा डोजरले ६/७ घन्टा लगाएर मृतकका शव निकालेका थिए,' घटनास्थल पुगेका अछाम मंगलसेनका रूपबहादुर कुँवरले भने ।
कमल बुवा दुर्गबहादुर सार्कीका अनुसार मृतक नेपालीलाई मुम्बईका केही नेपाली जुटेर स्थानीय दुई सुल पुल नजिक दाहसंस्कार गरेका थिए । मृतकका परिवार काजक्रियाका लागि घर फर्किसकेको उनले बताए । 'गाउँमा दुई छाक खाने
जोहो गर्न नसकेर परदेश काम गर्न आएका थिए, परिवारै गुमाएर घर फर्किए,' दुर्गबहादुरले भने, 'त्यसै त दुःख थियो, झन् दुःख थपियो ।' पीडित परिवारलाई भवनधनीले क्षतिपूर्ति दिएको छैन ।
भत्किएको भवन क्षेत्र हेर्न सातादेखि खटिएका ६५ वषर्ीय एक पन्जाबी चौकीदारले लामो र पुरानो बिल्डिङ ढल्दा यही बस्ने, चिया पसल गर्ने, तरकारी बेच्नेहरूको बिचल्ली भएको बताए । घटनाबारे जानकारी लिन कान्तिपुरले प्राप्त पीडित माङ्लेको मोबाइल नम्बरमा नेटवर्क सम्पर्क हुन सकेन । स्थानीय लालबहादुर सार्कीका अनुसार माङ्ले र छोरालाई मुम्बईमा रहेका आफन्तले घर ल्याएका छन् । 'मुम्बईको समितिले तीन मृतकको काजक्रियाको ६० हजार उठाएर दिएछन्' उनले भने, 'अरू कतैबाट केही सहयोग मिलेको छैन ।'
यसैगरी अर्को एक घटनामा मुम्बईबाट ३५ किमि टाढा ठाणेमा अनधिकृत रूपमा निर्माण भएको ७ तले भवन भत्किएर ५ नेपालीको मृत्यु भएको हो । गत अपि्रल ४ मा भएको घटनाको महाराष्ट्रको दैवीप्रकोप विभागले क्षतिपूतिर् लागि मृतकका परिवारका कानुनी हकदार पत्ता लगाई दिन खबर गरेपछि दूतावासले ढिलो गरी ती नेपालीबारे थाहा पाएको थियो ।
दूतावासका अनुसार मृत्यु हुनेमा कपिलवस्तुका मुजाहिर अब्दुल मजिद राजा (३२), बर्सानु फरजान अली खान (२७), रुकया खातुन मजाहिद राजा -६), मिलादिन निसा मुसाहिड राजा (२८) र जुलेखा खातुन मुसाइड राजा (८) छन् । घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । स्थानीयका अनुसार ठाणेको घटनामा कुल ७२ को मृत्युमा सयभन्दा बढी घाइते भएका थिए ।
दूतावासको कन्सुलर शाखाले मृतकको नाता प्रमाणीकरणसहित कानुनी हकदार पत्ता लगाउन परराष्ट्र र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई जेठ २८ मा पत्राचार गरेको जनाएको छ । पीडित परिवारलाई महाराष्ट्र दैवीप्रकोपले २ लाख भारतीय रुपैयाँको दर क्षतिपूर्ति दिने भनेको छ ।
प्रकाशित मिति: २०७० असार १९
- See more at: https://www.facebook.com/nepalinewsspopular VDO http://www.youtube.com/watch?v=xmpNPgUvoxY

