Sunday, June 23, 2013

» मुख्य समाचार » ६ वर्ष फेल भएको महानगर बल्ल 'पास'


काठमाडौं, असार १० - छ वर्षपछि काठमाडौं महानगरपालिका न्युनतम सर्त र कार्यसम्पादन मुल्याङकन (एमसीपीएम) मा सफल भएको छ । आर्थिक वर्ष ०६८/६९ मा महानगरले न्युनतम सर्त र कार्य सम्पादन मापनमा सफल भएको हो । न्युनतम सर्त र कार्यसम्पादन मापनमा छ पटकसम्म असफल भएको महानगर यस वर्ष सफल भएको हो ।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले यस वर्ष कार्यसम्पादन मुल्यांकनमा सफल भएको बताए । 'यसपाली बल्ल पास भयो, कर्मचारीको चरम लापरबाहीले गर्दा कार्यसम्पादन मूल्यांकनमा असफल भएको थियो,' उनले भने, 'तेह्र वटै सुचाकांकमा महानगर सफल भएको छ । केही दिनमा सबै परिणाम बाहिर आउँछ ।'  
यस अघि महानगरले करदाताको विवरण अद्यावधिक राख्ने र मासिक प्रतिवेदन स्थानीय विकास मन्त्रालय बुझाउने काम कहिल्यै नगरेको उनले बताए । कार्यसम्पादन मुल्यांकनमा असफल हुंदा प्रत्येक वर्ष मन्त्रालयले दिंदै आएको अनुदान रकमसमेत महानगरले गुमाउंदै आएको थियो । गत वर्ष महानगर ५८ नगरपालिकामध्ये ५७ औ स्थानमा झरेको थियो । महानगरले सर्लाहीको मलंगवा नगरपलिकालाई मात्र जितेको थियो ।
कार्यसम्पादन मुल्यांकनमा सफलतापछि लामो समयदेखि गुमाउदै आएको मन्त्रालयको अनुदान रकम महानगरले पाउने छ । गत वर्ष महानगरले न्यूनतम् सर्त तथा कार्यसम्पादन मूल्यांकनमा चालीस अंक प्राप्त गरेको थियो । यसपालिको कार्यसम्पादन मुल्याङकनको प्राप्तांक भने हालसम्म मन्त्रालय खुलाएको छैन् ।
लेखापरीक्षणको विवरण, बेरुजु र फछ्र्यौटको अभिलेख कारबाही सबैमा सफल देखिएको छ । महानगर प्रशासन महाशाखाका प्रमुख महेश काफ्लेले गतवर्ष राजस्व संकलन, स्थानीय शासन, सेवा प्रवाह, पारदर्शीताजस्ता आधारभूत र अनिवार्य कामलाई प्राथमिकता राखेर काम गरेकाले महानगर सफल भएको दाबी गरे ।
कार्यसम्पादन तथा मूल्यांकनमा असफल हुनबाट बचाउन वित्तीय अनुशासन कायम गर्नुपर्ने उनको भनाइ थियो । 'राजस्व जस्ता कुराको स्पष्ट तथ्यांक राखेका छौं, अन्य वर्षभन्दा सुधार आएको छ,' उनले भने । कर्मचारी र करदाताको सहयोगले पनि कार्य सम्पादन मूल्यांकनमा महानगर सफल भएको उनको भनाइ थियो ।
यसअघिको कार्यसम्पादन मूल्यांकनमा योजना तथा बजेट स्वीकृति, प्रगति समीक्षा, कर तथा आयस्रोतत अभिलेख, लेखापरीक्षणलगायत जिन्सी व्यवस्थापनमा महानगर असफल भएको थियो । नगरपालिकाले न्यूनतम् सर्त पालना नगर्दा त्यसको दण्डस्वरूप ३३ करोड १३ लाख रुपैयाँ कटौती गरेको मन्त्रालयले कटौतीसमेत गरेको थियो ।
प्रकाशित मिति: २०७० असार १०
- See more at: https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » लोकमानविरुद्ध मुद्दा जहिल्यै 'हेर्न नमिल्ने'


काठमाडौं, असार १० - लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्चमा चलिरहेको मुद्दा पेसीमा त चढ्छ तर जहिल्यै 'हेर्न नमिल्ने' इजलासमा पर्छ । न्यायाधीश भरतबहादुर कार्की संलग्न इजलासमा कार्कीसम्बन्धी मुद्दा हेर्न नमिल्ने भनी दुई/दुई पटक सरिसक्दा पनि पेसी तोक्ने जिम्मेवारी पाएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आइतबार फेरि उनैको इजलासमा पारिदिए ।
परिणाम उही दोहोरियो, कार्कीको मुद्दा 'हेर्न मिलेन भन्दै' न्यायाधीश इजलासमा बसेनन् । तयारीसहित बहसमा गएका अधिवक्ताहरू हिस्स परेर सर्वाेच्चबाट फर्किए । 'यति गम्भीर र संवेदनशील प्रकृतिको संवैधानिक मुद्दामा बारम्बार उही हेर्न नमिल्ने इजलासमा पारिदिएर हैरानी दिने काम भयो,' जनआन्दोलनका दोषी कार्कीलाई अख्तियारमा गरेको नियुक्ति असंवैधानिक भएकाले खारेज गरिपाऊँ भनी परेको रिट दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले दिकदारी पोखे, 'यो त ठूलै मजाक भयो ।'
कार्कीको मुद्दा सुनुवाइ नै नभई सरेको यो लगातार चौथो पटक हो । पहिलो पेसीमा इजलास बस्न समय नै पुगेन भने बाँकी लगातार न्यायाधीश कार्कीकै इजलासमा परेर हेर्न मिलेन । आइतबार न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र कार्कीको इजलासमा उक्त मुद्दा परेको थियो ।
न्यायाधीश कार्कीले आफू सर्वोच्चमा नियुक्त हुनुअघि मिलेर नेपाल ल र्फमबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले कार्कीविरुद्ध बहस गर्ने भएकाले 'हेर्न नमिल्ने' भनी पन्छाएका हुन् । यसअघि असार २ गते आइतबारै न्यायाधीशद्वय गिरीशचन्द्र लाल र भरतबहादुर कार्कीको इजलासमा यसलाई तोकिएको थियो ।
त्यसअघि जेठ २१ मा पनि न्यायाधीशद्वय लाल र कार्कीकै इजलासमा उक्त मुद्दा तोकिएको थियो । अघिल्ला दुवै पटक पनि त्यही कारण देखाएर कार्कीले उक्त मुद्दा आफूले 'हेर्न नमिल्ने' बताएका थिए । हेर्न नमिल्ने भनेर पन्छिसकेकै न्यायाधीशको इजलासमा फेरि पनि मुद्दा पर्नु भनेको यसको सुनुवाइलाई सकेसम्म पर धकेल्न खोज्नु भएको कानुनविज्ञहरू बताउँछन् । कार्की नियुक्त भएको भोलिपल्टै अर्यालले उक्त रिट दायर गरे पनि सर्वोच्चले उनी अख्तियारमा पुगिसकेपछि मात्रै दर्ता गरिदिएको थियो । दर्ता भएपछि त्यसमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद शाहले रिटले मागेअनुसार अन्तरिम आदेश दिनुपर्ने/नपर्ने भन्नेबारे दुवै पक्षलाई जेठ १० गते अदालतमा आउन आदेश दिएका थिए ।
जेठ १० गते न्यायाधीश वैद्यनाथ उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासमा उक्त रिट सातौं नम्बरमा पेसी चढेको थियो । तर तेस्रो रिट हेर्दैमा समय सकिएपछि सुनुवाइ हुन सकेन । त्यसपछि सर्वोच्चले २१ गतेका लागि यसको पेसी तोकेको थियो । त्यस दिन पनि हेर्न नमिलेपछि असार २ गतेका लागि तोकिएको थियो । असार २ गते पनि हेर्न नमिलेपछि आइतबारका लागि मुद्दाले पेसी पाएको थियो । आइतबार पनि उही कारणले सरेपछि असार १८ गतेका लागि अर्को पेसी तोकिएको छ ।
प्रकाशित मिति: २०७० असार १०
- See more at: https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » चीनसँग कुन कुन सम्झौता हुँदैछन् ? आज जेइची आउँदै -

काठमाडौं, असार १० - औपचारिक भ्रमणका लागि आज सोमबार साँझ आइपुग्ने चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको उपस्थितिमा नेपाल र चीन सरकारबीच तीन महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
नेपालमा संविधानसभा चुनावको मिति घोषणा भइसक्दा चिनियाँ सत्ता संरचनामा उपप्रधानमन्त्रीस्तरका जेइची एक दिने औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनको मंगलबारको व्यस्त तालिकाबीच द्धिपक्षीय आर्थिक साझेदारी, चुनावमा चीन सरकारले गर्ने प्राविधिक सहयोग र सशस्त्र प्रहरी एकेडेमी निर्माणसम्बन्धि सम्झौतामा दुई देशका अधिकारीहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बताए ।   
जेइचीले मंगलबार नै काठमाडौं चक्रपथ सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रम चिनियाँ पक्षले गत हप्ता नै सार्वजनिक गरेको हो । दक्षिण पूर्वी एसियाली छिमेकी वर्माको भ्रमण सकेर नेपाल आउने उनी मंगलबार राति नै स्वदेश फिर्ता हुने छन् ।
चीनको मौलिक सत्ता संरचनाका कारण जेइचीको नेपाली समकक्षी चयन गर्न सरकारलाई अलिक कठीन परेको थियो ।  जेइची यसअघि परराष्ट्र मन्त्री भएको र स्टेट काउन्सिलर बढी राजनीतिक किसिमको पद भएकाले नेपालतर्फबाट परराष्ट्रमन्त्री माधव घिमिरेलाई समकक्षी बनाइएको छ ।   
गत मे महिनामै जेइचीको दुई दिने औपचारिक भ्रमण तय भएकामा अन्तिम समयमा स्थगित भएको थियो । त्यतिखेर वरिष्ठ चिनियाू नेताहरु  विदेश भ्रमणमा रहेकाले समय नमिलेर स्थगित गरिएको भनियो । तर चीनले नेपालमा चुनाव मीति घोषणा नभएकाले स्थगनको निर्णय गरेको विश्लेषण अधिकारीहरुले गरेका थिए ।
प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठनभएपछिकै सबैभन्दा उच्चस्तरीय विदेश पाहुनाका रुपमा जेइची नेपाल आउन लागेका हुन् ।  जेइचीको उपस्थितिमा हुने उल्लेखित सम्झौताबाट वेइजिङले यतिखेर नेपालमा आफूले बढाउूदै लगेको चासो, सक्रियता र सहभागिता अथ्र्याउन खोजेको विज्ञहरु बताउँछन् ।
गत महिना काठमाडौंमा सम्पन्न नेपाल भारत गृह सचिवस्तरीय वार्तामा भारतले नेपाल प्रहरीलाई अत्याधुनिक एकेडेमी निर्माण गरिदिने पुरानो प्रस्तावलाई टुङ्गो लगाएको थियो । यसैबीच चीनले पनि सशस्त्र प्रहरी बललाई २ अर्व ५२ करोड रुपैयाँ लागतमा ट्रेनिङ एकेडेमी बनाइदिन लागेको हो । चीनले केही वर्षदेखि तिब्बतसँग जोडिने नेपालको उत्तरी सीमामा सशस्त्र प्रहरी बलको वलियो उपस्थितिमा जोड दिंदै आएको छ ।
नेपाललाई चुनावका लागि भारत र युरोपेली युनियनले ठूलो परिमाणमा सहयोगको आश्वासन दिइरहेका बेला जेइची भ्रमणमार्फत् वेइजिङ खुल्न लागेका हो । चीनसूगको आर्थिक साझेदारीको विषय नेपालले वर्षौदेखि उठाउदै आएको हो ।  सन्  २०१२ को अर्थ मन्त्रालयको  प्रतिवेदनअनुसार चीन नेपालका लागि छैठौं ठूलो अन्तराष्ट्रिय दाता हो । चीनले नेपाललाई खास गरी सिधा भौतिक निर्माण र उद्योग क्षेत्रमा सहयोग गर्दै आएको छ ।
जेइचीले मंगलबारै कार्यवाहक राष्ट्रपति परमानन्द झा र अध्यक्ष रेग्मीलाई पनि भेट्ने कार्यक्रम छ ।   
प्रकाशित मिति: २०७० असार १०
https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » नेपालीलाई उद्दार गर्न दुतावासको आग्रह बद्री-केदारबाट उद्धार पहल


देहरादून, असार १० - नेपाली दूतावासका अधिकारीले उत्तराखण्डका मुख्यमन्त्री विजय बहुगुणासँग आइतबार भेटवार्ता गर्दै बद्रीनाथमा अलपत्र परेका कम्तीमा ३० नेपालीलाई सक्दो चाँडो हवाई उद्धार गरिदिन आग्रह गरेका छन् ।
काठमाडौंका गंगालक्ष्मी श्रेष्ठसहितका यात्रुहरू ७ दिनदेखि उद्धारको पर्खाइमा रहेको जानकारी आएपछि उनीहरूको तत्काल उद्धारको पहल भएको हो । मुख्यमन्त्री बहुगुणाले नेपाली मात्र नभई सबै यात्रीको एकैसाथ उद्धार कार्य जारी रहेको बताएका थिए ।
उनले बद्री-केदार क्षेत्रका तीर्थयात्रुहरूको उद्धारमा ध्यान दिइने भन्दै नेपालीसहित त्यहाँ रहेका सबै यात्रुको अवस्था सुरक्षित रहेको जनाएका थिए । दूतावासका काउन्सिलर यदुलाल खरेल र तृतीय सचिव थानप्रसाद शर्माले मुख्यमन्त्रीसँगको भेटमा नेपाल सरकार र नपाली समुदायले उत्तराखण्डमा आइपरेको बाढीपहिरोको प्राकृतिक विपत्तिमा उद्धार समन्वयका लागि साथ दिइरहेको जानकारी गराएका थिए ।
हरिद्वारस्थित आनन्दमयी आश्रमका प्रबन्धक पुष्पराज पाण्डेका अनुसार स्थानीय नेपाली समुदायले आफैं खाद्यान्न तथा राहत संकलन गरेर विभिन्न आश्रयस्थल तथा केन्द्रमा वितरण गर्न थालेको छ । आइतबार पनि पाण्डेसहित स्थानीय स्वयंसेवी तारा चन्द, नारायण पन्थी, पदम सुवेदीको समूहले सहस्रधारा हेलिप्याड, जलिग्रान्ट -देहरादून) विमानस्थल, गौरीकुण्ड, जोशीमठमा उद्धार गरेर ल्याइएका तीर्थयात्रुलाई खाद्यान्नसहितको राहत पुर्‍याएका थिए । 'आइतबार मात्रै २ सय ४७ जना तीर्थयात्रुलई निःशुल्क सेवामा रुपडिया हुँदै नेपालगन्ज पठाएका छौं,' पाण्डेले भने ।
यसैबीच बाढीपहिरोको प्रकोपमा परेर बेपत्ता बनिरहेका तीर्थयात्रुको शव गंगा नदीमा बगेर आउने क्रम यथावत् छ । पाण्डेका अनुसार संकलित त्यस्ता शव बढीमा ७२ घन्टा राखेर पहिचान हुन नसकेको स्थितिमा स्थानीय प्रशासनले जलाउने प्रक्रिया थालेको छ । हरिद्वारको किनारसहित उत्तर प्रदेशको मुजफ्फरनगरमा पनि केही शव गंगाको नहरमा भेटिएकाले मृतकको संख्या यकिन हुन नसकेको अवस्था छ ।
व्यस्त दूतावास
दुई वर्षदेखि राजदूतविहीन रहेको दिल्लीस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत खगनाथ अधिकारी तालिमका कारण एक महिनादेखि काठमाडौंमा छन् । उत्तराखण्डका तीर्थस्थलहरूमा आइपरेको प्राकृतिक विपत्तिका कारण दूतावासका एक काउन्सिलर र तृतीय सचिव अहिले देहरादून तथा हरिद्वारको वस्तुस्थिति पहिल्याउन काजमा खटिएका छन्् ।
यही बेला सांस्कृतिक मामला हेर्ने काउन्सिलर अर्जुनराज पन्त व्यक्तिगत बिदामा काठमाडौं पुगेका छन् । कार्यवाहक राजदूतको जिम्मेवारी लिने उपसचिव तीर्थराज वाग्लेले दूतावासमा बेहोर्ने दौडधुप कुनै गाविस सचिवको झैं देखिन्छ ।

प्रकाशित मिति: २०७० असार १०
- See more at: https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » पाकिस्तानमा आरोहीको हत्या मृतकमा नेपालीसहित ११


काठमाडौ, असार १० - पाकिस्तानको नङ्गा पर्वत आरोहणमा गएका एक नेपालीसहित ११ विदेशी आरोहीको आइतबार अज्ञात बन्दुकधारीको आक्रमणबाट मृत्यु भएको छ । हत्या गरिएका नेपाली ३५ वर्षका सोना शेर्पा हुन् ।
उनीहरू विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये एक नङ्गा पर्वत चढ्न गएका थिए । यही टोलीलाई लिएर आरोहीहरू छाङदावा शेर्पा र टासी शेर्पा पाकिस्तान गएका थिए । उनीहरू आरोहीको एउटा समूहलाई नङ्गा पर्वत पठाएर अरू समूहलाई जी-१ र जी-२ हिमाल आरोहणमा पठाउने तयारी गर्दै थिए । नङ्गा पर्वत गएको टोलीमा रहेका आठ नेपाली शेर्पा राति बाटो बनाउन गएकाले आक्रमणबाट जोगिएका थिए । उनीहरू सबै सकुशल रहेको टासीले कान्तिपुरसँगको अनलाइन कुराकानीमा बताए । नङ्गा विश्वको नवौं अग्लो हिमाल हो । पाल टाँगेर सुतिरहेका बेला मध्यरातमा बन्दुकधारीले ती आरोहीलाई आक्रमण गरेको नेपालबाट आरोहीलाई पठाउने काठमाडौंस्थित सेभेन समिट ट्रेकिङ एजेन्सीका मिग्मा शेर्पाले बताए ।
हत्या गरिएका अन्यमा पाँच युक्रेनी, तीन चिनियाँ र एक लाटभियाली छन् । आक्रमणमा एक पाकिस्तानी सेफ पनि मारिएको जनाइएको छ । सुतिरहेका बेला एक्कासि गोली चलेपछि आरोहीबीच भागदौड मच्चिएको थियो । टासीले बिहानै इमेल गरेर अरू आरोहीको उद्धारका लागि आग्रह गरिदिन कान्तिपुरसँग आग्रह गरेका थिए । बीबीसीका अनुसार उक्त आक्रमणको जिम्मा पाकिस्तानी आतंकवादी संगठन जुन्दुल्लाहले लिएको छ ।
सेभेन समिटका सञ्चालक दाजुभाइ मिग्मा र छाङदावा शेर्पा हुन् । दुवै दाजुभाइले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आराहण गरेर कीर्तिमान कायम गरेका छन् । चिनियाँ तीन आरोही र आरोहणमा सघाउन नेपाली आठ जना शेर्पासहित आरोही छाङदावा गत साता पाकिस्तान गएका थिए । पाकिस्तानी सेनाले हेलिकप्टरमार्फत अरू आरोहीको उद्धार गरेको इस्लामावादमा रहेका टासीले कान्तिपुरलाई बताए । 'हामीले सोनाको शव प्राप्त गरेका छौं,' उनले भने, 'अरू नेपालीलाई समेत सेनाले उद्धार गरेर गुलगिटस्थित सैनिक क्याम्पमा राखेको छ ।' सेभेन समिटका सञ्चालक मिग्माले आक्रमणका बेला बाटो बनाउन गएका कर्मा शेर्पासँग आफ्नो सम्पर्क भएको बताए । 'टोलीमा रहेका पेछेम्पे शेर्पा, ओलुङ दोर्जे शेर्पा, दानुरु शेर्पा, मिग्मा छिन्दु शेर्पालगायत आठ नेपालीसहित आरोहीलाई उद्धार गरेर सेनाले आफ्नो क्याम्पमा राखेको छ,' उनले भने, 'उनीहरूलाई सोमबार इस्लामावाद ल्याइने जानकारी आएको छ ।'
आक्रमणमा मारिएका सोना सोलुखुम्बुको छेस्कामका स्थायी बासिन्दा हुन् । उनी काठमाडौंमै बसेर आरोहणमा जानेहरूलाई सघाउँदै आएका थिए । उनका पत्नी र दुई छोरा छन् । उनले यसअघि सगरमाथा आरोहण गरिसकेको मिग्माले जनाए । आरोहीहरू नेपाली एजेन्सीबाट पाकिस्तानका हिमाल आरोहण गर्न आरोही जाने गरेका थिए । विश्वका ८ हजार मिटरभन्दा अग्ला पाँच हिमाल पाकिस्तानमा पर्छ ।
प्रकाशित मिति: २०७० असार १०

» मुख्य समाचार » अनुचित खर्च गरी जिते चुनाव रद्द हुने


https://www.facebook.com/nepalinewss



काठमाडौ, असार १० - साम, दाम, दण्ड र भेद प्रयोग गरेर भए पनि चुनाव जित्ने तयारीमा हुनुहुन्छ ? होस् गर्नुहोस्, आगामी संविधानसभा निर्वाचनमा विजयी भए पनि उम्मेदवारले चुनाव प्रचारमा अनुचित खर्च गरेको प्रमाणित भए पद गुमाउनुपर्ने हुन सक्छ । आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी नै रद्द गर्न सक्ने अधिकार पनि निर्वाचन आयोगसँग हुनेछ ।
सरकारले मंसिर ४ गते घोषणा गरेको संविधानसभा निर्वाचन-२ का लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा दल र उम्मेदवारको आम्दानी खर्च पारदर्शी बनाउन यस्तो व्यवस्था गर्न लागिएको हो । राजनीतिक दल, सरकार र सरोकारवालासँगको छलफलपछि आयोगले आचारसंहिता लागू गर्नेछ । राजनीतिक दल, सरकार र अन्य निकायका धेरैजसो क्षेत्रमा असार मसान्तबाट आचारसंहिता लागू गर्ने आयोगको तयारी छ ।
प्रस्तावित व्यवस्थाअनुसार अनुचित खर्च गर्ने उम्मेदवारलाई निर्वाचन आयोगले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी 'अयोग्य' घोषणा गर्न सक्ने छ । यस्तो कारबाहीमा पर्ने उम्मेदवार निर्वाचित भइसकेको पाइए निजको पद स्वतः रद्द हुने प्रस्तावित व्यवस्थामा उल्लेख छ ।
दल र उम्मेदवारको आम्दानी-खर्च पारदर्शी बनाउने प्रयासका लागि आयोगले अनुगमन संयन्त्र प्रभावकारी बनाउने र आचारसंहिता उल्लंघन गर्नेलाई दण्डित गर्ने प्रावधान प्रस्ताव गरेको छ । आचारसंहिता उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तबरबाट हुन नसक्नेमा आयोग विश्वस्त भएमा आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने छ । आचारसंहिता उल्लंघन भएको देखिएमा आयोगले त्यस्तो कार्य रोक्न आदेश दिने, अटेर गर्नेलाई प्रहरी प्रशासनमार्फत कार्यान्वयन गराउने र उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ ।
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मत परिणाम घोषणा भएको ३५ दिनभित्र आम्दानी र खर्चको विवरण आयोगमा बुझाउनुपर्ने छ । यस्तो विवरणमा आम्दानीको स्रोत र खर्चको शीर्षकसमेत छुट्टयाई ढाँचा प्रस्ताव गरिएको छ । प्रत्यक्षतर्फको उम्मेदवारले १० लाखसम्म र समानुपातिक क्षेत्रतर्फ एक जना उम्मेदवारका लागि एक लाख रुपैयाँसम्मका दरले सम्बन्धित राजनीतिक दलले खर्च गर्न पाउने प्रस्ताव गरिएको आयोगको एक वरिष्ठ अधिकारीले जनाए । उनका अनुसार विगतको अनुभव र बजार मूल्यका आधारमा नयाँ खर्च सीमा प्रस्ताव गरिएको हो ।
२०६४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५ लाख र समानुपातिकतर्फ ५० हजारको खर्च सीमा तोकिएको थियो । तर दल र उम्मेदवारहरूले त्यसभन्दा निकै बढी खर्च गरेका थिए । खर्चको सीमा उल्लंघन भएको र दल तथा उम्मेदवारले तोकिएको समयमा आम्दानी-खर्चको विवरणसमेत नबुझाएको अनुभवका आधारमा आयोगले यस पटक आचारसंहिता उल्लंघन गर्नेलाई जरिवानाका अतिरिक्त भविष्यमा उम्मेदवार बन्नसमेत अयोग्य हुने गरी दण्ड गर्ने प्रावधान प्रस्ताव गरेको हो ।
खर्च विवरण नबुझाउने र बढी खर्च गर्ने उम्मेदवारलाई आयोगले तोकेको खर्च सीमा र उम्मेदवारले गरेको अतिरिक्त खर्चमध्ये जुन बढी हुन्छ, सो रकम जरिवाना गर्ने प्रस्तावित व्यवस्थामा उल्लेख छ । कार्यकर्ताका तर्फबाट भएको आचारसंहिता उल्लंघनको जिम्मेवारी सम्बन्धित दल र उम्मेदवारले लिनुपर्ने छ ।
 चुनाव प्रचारमा हवाई जहाज तथा हेलिकप्टर चार्टर गर्न पाइने छैन भने उम्मेदवारले एक निर्वाचन क्षेत्रमा दुईवटासम्म हलुका सवारी साधन प्रयोग गर्न सक्ने छन् । राजनीतिक दलले एक जिल्लामा बढीमा दुईवटासम्म हलुका सवारी मात्र चुनाव प्रचारमा प्रयोग गर्न सक्ने छन् ।
आचारसंहिताअनुसार उम्मेदवारी दर्तापछि परिणाम घोषणा नहुँदासम्म मत सर्वेक्षण गर्न पाइने छैन । उम्मेदवारी मनोनयन अघि गरिएको सर्वेक्षणको परिणामसमेत सार्वजनिक गर्न बर्जित हुनेछ । दल र उम्मेदवारको निर्वाचन प्रचारमा कुनै व्यक्ति समूह वा दलले अवरोध गरे प्रहरीमार्फत कारबाही गर्ने प्रावधान आचारसंहितामा छ ।
आचारसंहिता उल्लंघन भएको देखिए आयोग वा सम्बन्धित निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, अनुगमन टोली वा संयन्त्र वा मतदान अधिकृतले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति आम सञ्चारका माध्यमलगायत अन्य संघसंस्था वा व्यक्तिलाई कुनै काम गर्न वा नगर्न आदेश दिन सक्नेछ ।
प्रस्तावित प्रावधानअनुसार आचारसंहिताको पालना भए/नभएकोे जाँचबुझ गर्न आयोगले आवश्यकताअनुसार अनुगमन टोली वा अन्य संयन्त्र गठन गर्न सक्नेछ ।
आचारसंहिता उल्लंघन गर्ने सुरक्षाकर्मी र कर्मचारीलाई पनि आयोगले कारबाहीको दायरामा ल्याउन खोजेको छ । विगतमा सरकारी अधिकारीबाटै निर्वाचनमा कुनै पक्षलाई सहयोग पुग्ने गरी पद तथा शक्ति दुरुपयोग भएको घटनाका आधारमा उनीहरूलाई आयोगले सोझै कारबाही गर्ने व्यवस्था गर्न लागिएको हो ।
कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा निर्वाचन अधिकृत वा मतदान अधिकृतले आवश्यक कारबाहीका लागि सोझै वा जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा लेखिपठाउने व्यवस्था प्रस्तावित छ । आचारसंहिता लागू गर्नुपर्ने निकाय, अधिकारी, संस्था वा व्यक्तिले आचारसंहिता पालना नगरेमा सोको जानकारी आयोगले सञ्चार माध्यममार्फत सर्वसाधारणलाई जानकारी गराउने छ ।
आचारसंहिताले चुनाव प्रचारलाई कम खर्चिलो, तडकभडकरहित र महिला मैत्री बनाउने प्रावधान प्रस्तावित छन् । भित्ते लेखन, तुल ब्यानर र बहुरंगी पोस्टर प्रच्ाारप्रसारमा रोक लगाउँदै आचारसंहिताले निर्वाचन प्रचारप्रसारको प्रयोजनका लागि एक रङमा छापिएको १८० वर्ग इञ्चसम्मको पर्चा प्रयोग गर्ने छुट दिइने छ । यस्तो पर्चा ७५ ग्रामसम्मको कागजमा मात्र छाप्न सकिने छ । चुनाव प्रचारमा प्लास्टिक सामग्री बर्जित हुनेछन् भने बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र चुनाव प्रचार गर्न पाइने छ ।
प्रकाशित मिति: २०७० असार १०