-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ,
श्रावण १७ -
मुख्य मुद्दा राष्ट्रियता कि गणतन्त्रलाई बनाउने भन्नेमा विवाद भएपछि
नेकपा-माओवादी नेतृत्वको मोर्चाबाट दलहरु अलग हुने क्रम बढेको छ । एक महिनाअघि सम्म साना/ठूला गरी ४५ वटा दल/समूहको नेतृत्व गरेको माओवादीलाई अहिले त्यसको करिब आधाले साथ छाडिसकेका छन् । औपचारिक रुपमा साथ नछाडेका बाँकी ११ वटा दलले पनि मुख्य मुद्दा के लाई बनाउने विषयमा मतान्तर भई मोर्चाको बैठकमा किचलो गर्न थालेका छन् ।
विवादकै कारण मंगलबारको बैठकपछि मोहन वैद्यले नेतृत्व गरेको माओवादीको बेग्लै र अन्य ११ वटा दलले बेग्लै विज्ञप्ति सार्वजनिक गरे । उनीहरुबीच मुख्य मुद्दामा विवाद भएपनि चुनावविरोधी कार्यक्रमा भने मिलेर जाने सहमती बनेको छ ।
'हामी गणतन्त्रलाई मुख्य मुद्दा बनाइ त्यसलाई जोगाउनका लागि केन्द्रीत हुनुपर्छ भन्छौं,' मोर्चाभित्रका विवादबारे क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मणि थापाले बुधवार कान्तिपुरसँग भने-'वैद्यजीहरुले गणतन्त्र भन्दा नि राष्ट्रियतालाई ठूलो देख्नुभएको छ । गणतन्त्र जोगियो भने त राष्ट्रियता त्यसै जोगाउन सकिन्छ नि ।'
सरकार र त्यसको पृष्ठभूमीमा रहेको चार राजनीतिक शक्तिको विपक्षीका रुपमा नेतृत्व गरेको माओवादीले आफूहरुलाई रणनीतिक रुपमा आवद्ध गर्न खोजेको भन्दै अन्य दलले आपत्ति जनाएका हुन् ।
माओवादीले यसअघि ३३ दलमात्र नभै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय लोकतान्त्रिक मोर्चा, संघीय समाजवादी दलसहितलाई एउटै छाताभित्र राखि चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गरेको थियो । एक हप्ता पनि सहकार्य नभै ती मोर्चा र दल माओवादीबाट बिच्किएका थिए ।
३३ भित्रै रहेको किशोर कुमार विश्वासले नेतृत्व गरेको संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा आवद्ध ८ वटा दल/समूहले पनि माओवादीका गतिविधिप्रति शंका उब्जेको भन्दै सहकार्य नहुने भन्दै बाहिरिएका थिए । त्यसपछि २५ वटा दल/समूहभित्र पनि ११ वटाले मंगलबार फरक विज्ञप्ति निकाली राष्ट्रियता भन्दै माओवादीले पूर्व राजा सहित राजावादीहरुसँग साँठगाँठ गरेको आरोप लगाएका हुन् ।
'हाम्रो आन्दोलनले पूर्व राजा, त्यसका मतियार र जनआन्दोलनका दोषीसँग कुनै पनि हालतमा सहकार्य नहुने कुरा स्पष्ट पार्न चाहन्छौं', वैद्य नेतृत्वको माओवादीसँग फरक मत राख्दै ११ दलले जारी गरेको विज्ञप्तिमा छ ।
राजावादीसग सहकार्यको विरोधमा फरक मत राख्ने मोर्चाभित्रका दलहरुमा मातृका प्रसाद यादवले नेतृत्व गरेको माओवादी, मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, कुमार लिङ्गदेनले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषद लगायत छन् ।
मोर्चाको बैठकमा उनीहरुले माओवादीले राजावादीसँग गोप्य भेटघाट गरेको, राष्ट्रियताको मुद्दालाई गणतन्त्र सिध्याउने गरी ल्याएको जस्ता गम्भीर आक्षेप लगाएका सहभागी अर्का एक नेताले बताए । ती नेताका अनुसार राजावादीका विषयमा बोल्न साथ देशभक्त, राष्ट्रवादी भन्दै मोर्चामा सहभागी भएका करिब आधा दर्जन समूहका नेताहरुले त्यसको प्रतिवाद गरेका थिए । कतिपयले त राजतन्त्रै फर्काउने प्रसङ्ग समेत राखेपछि क्रान्तिकारी र राजावादी धारविच विवाद भएको थियो ।
'तपाईहरुलाई देशको माया छैन । राष्ट्रियता बचाउन पर्दैन भन्दै उनीहरुले प्रश्न राखेपछि विवाद चुलिएको थियो', ती नेताले भने । पछि माओवादी सचिव देव गुरुङ्गले राजावादीसँगको सहकार्यबारे पार्टीको तर्फबाट प्रष्ट पारेका थिए ।
२५ दलमा एकमत नदेखिएपछि सचिव गुरुङ्गले मोर्चाको तर्फबाट बेग्लै विज्ञप्ति जारी गरेका थिए । त्यसमा 'विचारको तहमा दलहरु स्वतन्त्र रहेपनि आन्दोलन भने एकिकृत रुपमा गर्ने' उल्लेख छ ।
प्रकाशित मिति: २०७० श्रावण १७














