Tuesday, July 30, 2013

इन्टरनेट चलाउँदा ४ अर्ब बाहिरिन्छ

-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, श्रावण १६ - नेपालबाट इन्टरनेट चलाउँदा गत वर्ष ३ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले ब्यान्डविथबापत यो शुल्क विदेशी कम्पनीलाई बुझाएका हुन् । ब्यान्डविथ भनेको सर्भर र इन्टरनेट चल्ने उपकरण जोड्ने माध्यम हो ।
विदेशबाट सञ्चालन भएका वेबसाइट नेपालमा खोलेपछि ब्यान्डविथको शुल्क विदेश पठाउनुपर्छ । सामाजिक सञ्जाल, इमेल, भिडियो उपलब्ध गराउने लगायतका अधिकांश वेबसाइट विदेशी छन् । '६० प्रतिशतभन्दा बढी वेबसाइटका सामग्री विदेशी प्रयोग हुन्छ,' इन्टरनेट सेवा प्रदायकको संस्था (आईएसपीएएन) का अध्यक्ष विनय बोहराले कान्तिपुरसित भने, 'त्यसकै लागि यस्तो शुल्क बुझाइएको हो ।'
नेपालले स्याटलाइट र अप्टिकल फाइबरको माध्यमबाट ब्यान्डविथ प्रयोग गर्दै आएको छ । धेरैजसो इन्टरनेटका सामग्री अप्टिकल फाइबरबाट भारत हुँदै नेपाल प्रवेश गर्छन् । भारतका एयरटेल, टाटालगायत कम्पनीलाई नेपालका सेवा प्रदायक कम्पनीले शुल्क बुझाउँछन् ।
इन्टरनेट सेवामा ठूलो हिस्सा राख्ने नेपाल टेलिकम, एनसेलसहित इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले यो रकम बुझाएका छन् । आर्थिक वर्ष ०६८/६९ मा नेपालबाट २ अर्ब ५८ करोड रुपैयाँ ब्यान्डविथ शुल्क विदेश गएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुल्क घट्दै गए पनि त्यसको एक वर्षपछि झन्डै थप एक अर्ब विदेशियो ।
'इन्टरनेट प्रयोगकर्तासँगै माग बढेपछि शुल्क बढेको हो,' दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, 'इन्टरनेटमा जति बढी आबद्ध हुँदै जान्छन्, प्रयोग बढेर त्यति नै शुल्क पनि बढ्छ ।' इन्टरनेट सेवा प्रदायकले आफूले बुझाएको रकमको जानकारी प्राधिकरणलाई गराउनुपर्छ ।
जेठसम्म जनसंख्याको २५ दशमलव ८२ प्रतिशतमा इन्टरनेटको पहँुच पुगेको छ । जसअनुसार ६८ लाख ४१ हजार इन्टरनेट प्रयोगकर्ता छन् । यी प्रयोगकर्ताको ९७ प्रतिशत नेपाल टेलिकम र एनसेलका ग्राहक हुन् । एक प्रतिशत प्रयोगकर्ता मात्र इन्टरनेट सेवा प्रदायकका ग्राहक छन् । धेरै ग्राहक भएका नेपाल टेलिकम र एनसेलले ब्यान्ड विथका लागि बढी शुल्क बुझाउँछन् । प्राधिकरणका अनुसार एनसेलले १ अर्ब ६६ करोड र नेपाल टेलिकमले १ अर्ब ५ करोड रुपैयाँ गएको वर्ष ब्यान्डविथका लागि खर्चेका थिए ।
इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या बढ्दै गएपछि बढी ब्यान्डविथ खरिद गर्ने क्रम बढ्दै गएको छ । ब्यान्डविथलाई सिक्रोनस ट्रान्सर्पोट मोड्युल (एसटीएम) मा नापिन्छ ।
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment