- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण १६ - गृहमन्त्री माधवप्रसाद घिमिरेले माओवादी पूर्वलडाकुलाई निगरानी राख्न निर्देशन दिएका छन् । प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय सुरक्षा प्रमुखसँग सोमबारको छलफलपछि उनले त्यस्ता लडाकु चुनावी सुरक्षामा चुनौती हुनसक्ने जनाउँदै निगरानी गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री घिमिरेले उनीहरूबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको आँकलन गर्नसमेत क्षेत्रीय सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । 'चुनाव बिथोल्ने भनेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग कम्तीमा पनि १५ सय प्रतिबद्ध पूर्वलडाकु छन् । उनीहरू युद्धकलामा प्रशिक्षित पनि छन् । त्यसैले निरन्तर निगरानी राख्नुहोला र उनीहरूले चुनावमा पुर्याउनसक्ने सम्भावित क्षतिबारे पनि आँकलन गरी प्रतिवेदन तयार गर्नुहोला,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । गृहमन्त्री घिमिरेले तराई केन्दि्रत ने तामाथि सुरक्षा चुनौती बढेको जनाउँदै त्यही अनुसारको सुरक्षा प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका थिए । केही दिनअघि महोत्तरीमा मधेसी जनाधिकार फोरमका स्थानीय नेतामाथि धनुषामा भएको गोली प्रहारको प्रसंग निकाल्दै गृहमन्त्रीले चनाखो रहन निर्देशन दिएको स्रोतले बतायो ।
गृहमन्त्री घिमिरेले व्यक्तिको आदेश नभई कानुनको पालना गर्न भनेका थिए । 'कर्तव्य पालनाको सिलसिलामा जस्तोसुकै घटना भए पनि सरकारले संरक्षण गर्छ,' उनको भनाइ थियो । चुनावमा ५ वटै विकास क्षेत्रमा ५ वटा हेलिकप्टर 'स्ट्यान्डवाई' राखिने भएको छ । चुनावका बेला नेपाली सेनालाई 'ब्याकअप' का रूपमा प्रयोग गरिने एकीकृत चुनावी सुरक्षा योजनाको मस्यौदामै छ । ।
गृहसचिव नवीन घिमिरेले चुनावविरोधी गतिविधि गर्नेमाथि सुरक्षा निकाय हाबी हुनुपर्ने धारणा राखेका थिए । उनले चुनाव बहिष्कार गर्ने तत्त्व र व्यक्तिको पहिचानका साथै निगरानी गर्न निर्देशन दिएका थिए । हतियार राख्नु फेसन भएको उल्लेख गर्दै सशस्त्र समूहको कार्यगत एकतालाई नजिकबाट नियाल्नुपर्ने उनले औंल्याएका थिए । मूल प्रवाहमा रहेका ३३ राजनीतिक दल चुनावका विषयमा अस्पष्ट रहेको उल्लेख गर्दै चुनावी माहोलका लागि सुरक्षा प्रत्याभूति महत्त्वपूर्ण रहेको बताए ।
तराईको खुला सीमाना पनि चुनौती रहेको बताउँदै 'काउन्टर पार्ट' सँग समन्वय गरेर सीमामा हुने गतिविधि निगरानी राख्न गृहसचिवले निर्देशन दिए । उनले सूचना संकलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय अनुसन्धान विभाग कमजोर रहेकाले सुधार गर्नुपर्ने बताए । 'अनुसन्धान विभागको परिणाममुखी परिचालनका लागि विशेष नियमावली बनिरहेको छ,' उनले बैठकमा भने 'त्यसपछि काम गर्न सहजता आउनेछ ।' उनले सुरक्षा निकायलाई चुनावका लागि चाहिने आर्थिक र भौतिक सहयोग उपलब्ध हुने आश्वासन दिलाएका थिए ।
भारतले चुनावी प्रयोजनकै लागि ७ सय बढी सवारी साधन उपलब्ध गराउने उनले बताएका थिए । बैठकमा प्रहरीले विभिन्न समयमा बरामद गरेका सवारी साधन पनि चुनावी प्रयोजनका लागि प्रयोग गर्ने विषयमा छलफल भएको थियो । त्यसमा अर्थसँग समन्वय गरेर प्रयोग गर्न सकिने भनिएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:
Post a Comment