- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण १६ - वार्ता टोली बनाए पनि नेकपा-माओवादी र सम्बद्ध मोर्चा त्यसबारे मौन बसेका छन् । माओवादीसहित २५ दलीय मोर्चाको बैठकले मंगलबार वार्ताबारे मौन हुँदै आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
सरकारले भने मंसिर ४ को संविधानसभा चुनाव बिथोल्ने रणनीति लिएका दल-समूहका कार्यकर्तामाथि कडा रणनीति अपनाउने भएको छ । खासगरी वैद्यले नेतृत्व गरेको माओवादीले चुनावविरुद्ध विभिन्न गतिविधि गरेकाले त्यसलाई रोक्न सरकारले तयारी सशक्त बनाएको हो ।
वार्ताका लागि पटक-पटक बोलाउँदा पनि अटेर गरेको र मोर्चाभित्रै विवाद खडा गरी समय लम्याएको सरकारको ठम्याइ छ । 'वार्ताका लागि पटक-पटक बोलाएका छौं । फेरि पनि बोलाउँछौं,' सरकारका एक मन्त्रीले मंगलबार कान्तिपुरसँग भने, 'सरकारले वार्तामात्र भन्दैन । निश्चित समयमा चुनाव गराउने दायित्व भएकाले त्यसविपरीत हुने काममा हस्तक्षेपसमेत गर्नेछ ।'
निर्वाचन आयोग र सुरक्षा निकायले चुनाव बिथोल्न खोज्नेमाथि कारबाहीसमेत थालिसकेको छ । प्रहरीले सोमबार र मंगलबार चुनावको विरोधमा भएका प्रचारबाजीमा संलग्न आधा दर्जन व्यक्तिलाई पक्राउ गरिसकेको छ ।
'बिथोल्न खोज्नेलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्ने देशभर निर्देशन भइसकेको छ,' ती मन्त्रीले भने । उता सरकार र ४ राजनीतिक शक्तिसँग असन्तुष्ट मोचार् बीच विवाद थपिँदै छ । मंगलबारको २५ दलको मोर्चाले समेत वार्ताबारे निर्णय लिन सकेन । नेकपा-माओवादी कार्यालयमा २ दिन चलेको बैठकमा २५ भित्रका ११ दलले राजावादीसँग सहकार्यको विषय उब्जाएर विज्ञप्ति जारी गरेका छन् ।
'हाम्रो आन्दोलनले पूर्वराजा, त्यसका मतियार र जनआन्दोलनका दोषीसँग कुनै पनि हालतमा सहकार्य नहुने कुरा स्पष्ट पार्न चाहन्छौं,' वैद्यले नेतृत्व गरेको माओवादीबाहेक मोर्चाका ११ दलले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजावादीसँग सहकार्यको विरोधमा फरक मत राख्ने मोर्चाभित्रका दलहरूमा मातृकाप्रसाद यादवले नेतृत्व गरेको माओवादी, मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, कुमार लिंगदेनले नेतृत्व गरेको संघीय लिम्बुवान राज्यपरिषद्लगायत छन् । थापाले राष्ट्रियता भन्दै राजावादीसँग सहकार्य गर्ने भनी माओवादीका जिम्मेवार नेताबाट आएका अभिव्यक्तिप्रति मोर्चाको आपत्ति रहेको बताए ।
'अहिले राष्ट्रियताभन्दा पनि ठूलो गणतन्त्र गुम्ने खतरा हो,' थापाले कान्तिपुरसँग भने । माओवादी सचिव देव गुरुङले भने '३३ दलीय मोर्चाको तर्फबाट' भनी दाबी गर्दै विचारको तहमा दलहरू स्वतन्त्र रहे पनि आन्दोलन भने एकीकृत रूपमा गर्ने विज्ञप्ति जारी गरेका छन् ।
यसैबीच सरकारी वार्ता टोलीले १८ दल/समूह रहको फरक मोर्चासँग मंगलबार वार्ता गरेको छ । प्रगतिशील लोकतान्त्रिक मोर्चा नामक उक्त दलका नेताहरू समयमै चुनावमा जान तयार रहेको र वार्ता फेरि हुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले कान्तिपुरलाई बताए । उनका अनुसार सरकारले किशोरकुमार विश्वासले नेतृत्व गरेको ८ दलीय संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासँग समेत एक/दुई दिनमै वार्ता गर्ने भएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:
Post a Comment