Tuesday, July 30, 2013

बगेको विद्यालय बन्ने भो

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

भुजेला (कञ्चनपुर), श्रावण १६ - डेढ महिनादेखि बाढीको पीडा झेल्दै आएका यहाँका बासिन्दा मंगलबार निकै उत्साहित देखिएका छन् । बालबालिकासँगै कार्यक्रमस्थलमा भेला भएका  पीडितहरू आफ्नो ठूलो समस्या समाधान हुने भएकाले उत्साहित भएका हुन् ।
असार पहिलो साता महाकालीमा आएको बाढी अझै घटेको छैन । बाढीले नदी किनारका घरखेत बगाएर धेरैको उठिबास गर्‍यो । दुई दशकदेखि सञ्चालित विद्यालयसमेत  बाढी कटानले सक्यो । स्कुल भवन बगाएपछि विद्यालयविहीन भएको बस्तीमा नयाँ भवन बन्ने खबरले उपभोक्ता घरको कामकाजसमेत थाती राखेर कार्यक्रममा सहभागी  भएका थिए ।
विद्यालय भवन नदी किनारभन्दा अलि टाढा सुरक्षित ठाउँमा बन्ने भयो भन्ने खबरपछि उनीहरू शिलान्यास स्थलमा भेला भएका हुन् । 'यति चाँडो बगेको विद्यालय बन्ला  भन्ने सोचेकै थिएन,' आफ्नो घरसमेत बाढीले बगाएको पीडा बेहोरिरहेका स्थानीयवासी ऐभान सुनारले भने, 'सहयोग गर्नेहरू जुटेपछि अब विद्यालय बन्ने पक्का भएको छ ।'  नदी किनारवासी बाढीका कारण घरखेत गुमाउनुको पीडासँगै विद्यालयसमेत बगेपछि बालबालिकाको भविष्यप्रति चिन्तित थिए ।
बाढीले दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली किनारमा पुर्‍याएको विनाशका खबर विभिन्न सञ्चार माध्यममा आउन थालेपछि राहत र पुनर्निर्माणका लागि सहयोगी हात पनि  देखा पर्न थालेका हुन् । 'सञ्चारमाध्यमबाट भुजेलामा बाढीले बगाएको विद्यालय र बालबालिकाको अवस्था झल्कने समाचारले मन साह्रै छोयो,' मंगलबार बाढीले बगाएको  महाकाली जनज्योति निमाविको भवन पुनर्निर्माणको सुरुवात गर्न आएका एसिया फ्रेन्डसिप नेटवर्क जापानको दक्षिण एसिया प्रतिनिधि गणेश लामाले भने, 'हामीले विद्यालय  निर्माणका लागि तत्काल २५ लाख सहयोग गर्ने निर्णय गर्‍यौं ।' संस्थाले देशका विभिन्न क्षेत्रका ६३ विद्यालय निर्माणमा सहयोग गरिसकेको उनले बताए । 'यो वर्षमात्र हामीले  ११ विद्यालय निर्माण गरिरहेका छौं, यो १२ औं हो,' उनले भने ।
दुई दशकअघि सानो प्राविका रूपमा विद्यालय स्थापना गर्दा महाकाली निकै टाढा बग्ने गरेको स्थानीयहरू सम्झन्छन् । उनीहरूले विभिन्न ठाउँमा हारगुहार गरी कक्षाकोठा  विस्तार गरेर आफ्नो विद्यालयलाई यही शैक्षिक सत्रदेखि निमाविस्तरमा पुर्‍याए, यसै वर्षको बाढीले अर्को वर्ष मावि तहमा पुर्‍याउने स्थानीयको सपना चकनाचुर हुन पुग्यो ।  स्थानीय समाजसेवी मनिराम रावत भन्छन्, 'यसपाला असार पहिलो साताको बाढीले पूरै विद्यालय बगायो ।'
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment