- एक त, भदौमा मात्र सरुवा गर्न पाइन्छ, साउनमै गरियो । अर्को सामान्य प्रशासनको सहमति लिनुपर्छ, त्यसो पनि गरिएन: महेन्द्र गुरागाईं, सहसचिव, सामान्य प्रशासन मन्त्रालय
काठमाडौ, श्रावण १३ - संविधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले गतिविधि तीव्र बनाएका छन् । एमाओवादीले गत बिहीबार थालेको अभियानलाई मंगलबारदेखि सशक्त रूपमा अघि बढाउने जनाएको छ । कांग्रेसले 'सबभन्दा ठूलो दलका रूपमा विजयी हुने’ लक्ष्यका साथ ७५ जिल्लाकै अगुवा कार्यकर्तालाई शनिबारदेखि प्रशिक्षक प्रशिक्षण थालेको छ । जेठ र असारमा २ सय ४० निर्वाचन क्षेत्रमै अभियान चलाएर प्राप्त रिपोर्टका आधारमा चुनावी रणनीति बनाइसकेको एमाले यतिखेर उम्मेदवार छनोटको मापदण्ड तय र घोषणापत्र निर्माणमा केद्रित भएको छ । मधेसवादी दलहरू पनि अभियान घोषणा गरेरै जिल्ला दौडमा लागेका छन् ।
तीव्र पार्दै एमाओवादी
एमाओवादीले साउन १० देखि सुरु देशव्यापी निर्वाचन अभियानलाई मंगलबारदेखि तीव्र पार्ने जनाएको छ । यसअघि आन्तरिक पदीय झगडामा अल्भिmएको एमाओवादीको विस्तारित बैठकले २ सय ४० निर्वाचन क्षेत्रमै नेता खटाउने निर्णय गतसाता गरेको हो ।
'जनसम्बन्ध' नाम दिएको अभियान कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको श्रद्धाञ्जलि गरी सबै निर्वाचन क्षेत्रमा तीव्र पार्ने प्रवक्ता अग्नि सापकोटाले बताए ।
'चुनावको माहौल सिर्जना गर्न र जनतासँग सम्बन्ध सुदृढ गर्न अभियान सुरु गरिएको हो,' उनले भने, 'अभियानले तोकिएको मितिमा चुनाव गर्न र पार्टीको विजय सुनिश्चित गर्ने काम गर्नेछ ।'
एमाओवादीले सबै निर्वाचन क्षेत्रमा नयाँ नेता खटाएको छ । उसले आफ्नै निर्वाचन क्षेत्रमा कोही नेतालाई पनि पठाएको छैन । अभियानको उद्देश्य निर्वाचन अभियान मात्र चलाउनु नभएर आन्तरिक सर्वेक्षण गर्नु पनि भएको उसले जनाएको छ । अभियानमा जाने नेताहरूले पार्टी र विपक्षीको प्रभाव स्थितिबारे विवरण लिनेछन् । 'हामी लामो समय पार्टी बैठकमा केन्दि्रत भएकाले अभियानलाई युद्धस्तरमा लग्नेछौं,' उनले भने । 'पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान, दोस्रो संविधानसभा निर्वाचनका लागि जनसम्बन्ध अभियान' भन्ने नाराका साथ अभियान सुरु गरेको हो ।
एमाओवादीले नेताहरूले केन्द्रमा बुझाउने रिपोर्टका आधारमा निर्वाचन रणनीति बनाउने उनले जानकारी दिए ।
अभियानमा सल्लाहकार, केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, राज्य सदस्यहरू, जिल्ला सदस्यहरू र सम्पूर्ण पार्टी, वाईसीएल, जवस, जातीय मोर्चा, विभाग र पार्टी समर्थक कार्यकर्ता सामेल गराउने उसको नीति छ । गाउँस्तरीय भेटघाट, गोष्ठी, अन्तक्रिर्या, जनताका समस्याको अध्ययन, सहिद तथा बेपत्ता योद्धा परिवार तथा घाइते/अपांग योद्धासँगको भेटघाट र विवरण संकलन गर्ने एमाओवादीले जनाएको छ । उसले निर्वाचन क्षेत्र र मतदान केन्द्र स्तरसम्म कम्तीमा पार्टी, युवा, दलित, महिला मोर्चाको चुनाव प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरिसकेको छ ।
अभियानमा जाने नेताहरूले मतदातासँग भेटघाट गर्न घरदैलो अभियान चलाउने सापकोटाको भनाइ छ । एमाओवादीको प्रचारप्रसारको यो पहिलो अभियान हो ।
यसैबीच, नेता बाबुराम भट्टराईको संयोजकत्वको निर्वाचन घोषणापत्र मस्यौदा समितिले सुझाव माग गरेको छ । भट्टराईको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कार्यालयमा आइपुग्ने गरी वा इमेलबाट सुझाव सल्लाह पठाउन आग्रह गरेको हो । बैठकले राज्य समितिस्तरमा निर्वाचन घोषणापत्रका लागि अन्तक्रिर्या गर्ने निर्णयसमेत गरेको छ । यस्तै नेता पोस्टबहादुर बोगटीको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिसकेको छ ।
प्रशिक्षणमा कांग्रेस
काठमाडौं- कांग्रेसले संविधानसभा चुनावमा पार्टीलाई सबभन्दा ठूलो दलका रूपमा विजयी गराउन चुनावी अभियान सुरु गरेको छ । ७५ जिल्लाका ३ सयभन्दा बढी अगुवा कार्यकर्तालाई राजधानीमा शनिबार प्रशिक्षक प्रशिक्षण सुरु गरी उसले अभियान थालेको हो ।
कार्यकर्तालाई विचार र नीतिगत प्रशिक्षण दिई प्रचारमा संलग्न गराउन, मतदातालाई मतदान केन्द्रसम्म पुर्याई सुरक्षित मतदान गर्ने वातावरण तयार पार्न र पार्टी घोषणापत्र निर्माणमा सुझाव लिन केन्द्रमा पहिलो चरणमा तीनदिने प्रशिक्षक प्रशिक्षण गरिएको पार्टी प्रवक्ता दिलेन्द्र बडुले बताए । अब सबै जिल्ला, निर्वाचन क्षेत्र, मतदान केन्द्र र गाउँ-गाउँसम्म प्रशिक्षण र प्रचार एकसाथ सुरु गरी कार्यकर्तालाई चुनावका लागि सैद्धान्तिक र मनोवैज्ञानिक रूपले तयार पारी आमजनतालाई पार्टीका पक्षमा उभ्याउने उनले
उल्लेख गरे ।
उनका अनुसार केन्द्रका अगुवादेखि गाउँसम्मका कार्यकर्तालाई समसामयिक राजनीतिक सवालमा पार्टीको दृष्टिकोण, कांग्रेस र अरू दलबीचको भिन्नता तथा निर्वाचन तयारी र नयाँ संविधानमा पार्टीले अघि सार्ने एजेन्डा र अडानबारे प्रशिक्षण दिइनेछ ।
प्रशिक्षणमा पार्टी नेताहरूले संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान निर्माणका लागि पार्टीले चुनाव जित्न अपरिहार्य भएको बताए ।
पूर्ण एकताका सात चुनावी अभियान चलाउन उनीहरूले पार्टी नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे ।
अघिल्लो संविधानसभामा लोकतान्त्रिक शक्ति हारेकैले संविधान बन्न नसकेको दाबी उनीहरूको थियो । नेताहरूले अभियान तीव्र बनाउन छिट्टै केन्द्रीय समिति बैठक बोलाई प्रचार समिति, घोषणापत्र निर्माण समिति, उम्मेदवार छनोट गर्न संसदीय समिति, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने जानकारी दिए । जोसुकैले विरोध गरे पनि ११ बुँदे सहमति र २४ बुँदे बाधा अड्काउ फुकाउ आदेशका आधारमै मंसिर ४ मा चुनाव सम्पन्न गरिने उनीहरूले बताए ।
सभापति सुशील कोइरालाले चुनाव बिथोल्ने षड्यन्त्र भए मुलुकमा ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिँदै कहींबाट बहिष्कार र व्यवधान भए आमजनता उतारेर खबरदारी र प्रतिवाद गर्नसमेत कार्यकर्ताहरूलाई आग्रह गरे । निर्वाचन बहिष्कार गर्छु भन्नेहरूलाई आमजनताले नै बहिष्कारसहित खबरदारी गर्ने उनको भनाइ थियो । जनताको चाहना, मित्रराष्ट्रहरूको सद्भावअनुरूप राष्ट्रिय संकटको निकास खोज्न निर्वाचन अपरिहार्य भएकाले तिथि कुनै पनि हालतमा यताउता गर्न नहुनेमा उनले जोड दिए ।
उपसभापति रामचन्द्र पौडेलले मंसिरमा चुनाव नभए राष्ट्रियता कमजोर हुने उल्लेख गर्दै 'नेकपा-माओवादीका वैद्यले विरोध गरे पनि डाक्टरले विरोध गरे पनि चुनाव गराएरै छाड्नुपर्ने' बताए । 'देशमा भइरहेको ब्रह्मलुट, अराजकता र दुर्दशाको अन्त गरी सुशासन कायम गर्न तथा लोकतन्त्रलाई सुदृढ गर्न र राष्ट्रलाई विकासको बाटोमा अघि बढाउन चुनाव अवश्यम्भावी छ,' उनले भने । महामन्त्री प्रकाशमान सिंहले राष्ट्रियता र लोकतन्त्र कमजोर हुन नदिन चुनाव अपरिहार्य भएको उल्लेख गर्दै संघीयता, समावेशिता र गणतन्त्र संस्थागत गर्न मंसिर ४ मा निर्वाचन गराउनैपर्ने बताए । अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले असन्तुष्ट दलहरूसित वार्ताका नाममा कांग्रेस मंसिर ४ मा घोषित चुनाव पछि सार्ने पक्षमा नरहेको बताए । उग्रवामपन्थी र उग्रदक्षिणपन्थीबाट राष्ट्रियतामाथि प्रहार भएकाले जनताको मनबाटै आएको राष्ट्रियताको भावनालाई बलियो बनाउन पनि निर्वाचनमा जानुपर्ने उनले बताए ।
कोषाध्यक्ष चित्रलेखा यादवले पार्टीमा नेताको वरिपरि घुम्ने र मुख हेर्ने प्रवृत्ति त्यागेर रूख (पार्टीको चुनाव चिह्न) हेर्ने प्रवृत्तिले प्रोत्साहन पाउने हो भने आगामी निर्वाचनमा कांग्रेसलाई हराउने कसैको सामथ्र्य नभएको दाबी उनले गरिन् ।
प्रकाशित मिति: २०७० श्रावण १३
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:
http://www.youtube.com/watch?v=xmpNPgUvoxY