Saturday, July 27, 2013

» मुख्य समाचार » नेपालीलाई पत्याए ब्राउनले


लन्डन, श्रावण १३ - रेस्टुरेन्ट उद्घाटनको अन्तिम संघार थियो । सञ्चालकहरू अर्जुन भण्डारी र काशीराम भण्डारीले एक्कासि सोचे, 'पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन यही क्षेत्रका सांसद पनि, उनलाई ल्याउन सके रेस्टुरेन्टको चर्चा नै बेग्लै हुने थियो ।' अर्जुनले फोन लगाए ब्राउनको पार्टी कार्यालयमा । उताबाट खास कार्यक्रम के हो भनेर सोधियो । सम्मान र रेस्टुरेन्ट उद्घाटन गर्नुपर्ने सुनाएपछि सेक्रेटरीले ब्राउनको व्यस्तता देखाउँदै अर्का एमपीलाई लगाए हुनेजस्तो कुरा गरे । तर, भण्डारीद्वयको चाहना ब्राउन नै थिए ।
विशेष अनुरोध गरेपछि फोनभन्दा इमेलमा निम्तो पठाउन भने सेक्रेटरीले । त्यसैअनुरूप निम्तो पठाएको तीन दिनमै ब्राउन राजी भए रेस्टुरेन्ट उद्घाटनमा आउन । 'हामीले त सोचेकै थिएनौं ब्राउनका हातबाट रेस्टुरेन्ट उद्घाटन होला भनेर,' अर्जुन र काशीरामले शनिबार कान्तिपुरसँग भने, 'अझ श्रीमती सारा बिनासूचना बच्चै बोकेर आउँदा त हामी दंगै पर्‍यौं ।' सुरक्षाका हिसाबले तीन दिन बीचमा ब्राउनको प्रोटेक्सन युनिटले भण्डारी ब्रदर्शहरूको सबै 'डिटेल्स्' चेक गरेका थिए ।  पूर्वप्रधानमन्त्री एवं स्कटल्यान्डको काउडेन्बिथ र किर्कोल्डी क्षेत्रका एमपी गोर्डन ब्राउनले केही दिनअघि नेपाली बफेट रेस्टुरेन्ट 'सिमला प्यालेस' उद््घाटन गरेपछि अहिले बेग्लै चर्चा छ । 'हाई प्रोफाइल' भएको व्यक्ति नेपालीको एउटा सानो कार्यक्रममा पुगेपछि नेपाली समुदाय आश्चर्यचकित र उनीप्रति बढी नै कृतज्ञ छ । यही कारण व्यवसाय पनि राम्रो चलेको मनोविज्ञान सञ्चालकमा छ । 'एक सय ५० सिट क्षमताको रेस्टुरेन्ट खुलेयता फुल छ,' काशीराम दंग छन् ।
स्कटल्यान्डको राजधानी एडिनबराबाट ३० माइल उत्तर ग्लेनरोथेस सहरमा रेस्टुरेन्ट खुलेको हो । ब्राउन त्यहींका बासिन्दा हुन् । हाल विश्व शिक्षाका लागि राष्ट्रसंघका विशेषदूत रहेका लेबोर पार्टी आबद्ध वरिष्ठ राजनीतिज्ञ ब्राउन त्यस दिन अर्को मिटिङ आधा घन्टा छोट्याएर रेस्टुरेन्ट आएका थिए ।
उद्घाटन गर्न पुग्दा पञ्चकन्याले लगाइदिएको फूलमाला अनि काशीराम र अर्जुनले लगाइदिएको दोसल्ला र ढाका टोपीले ब्राउन दुलहाजस्तै
देखिए । रिबन काटेपछि ब्राउनले आफ्नै क्षेत्रमा व्यवसाय सुरु भएकामा शुभकामनासहित प्रसन्नता मात्र व्यक्त गरेनन्, उनको क्षेत्र किरकेल्डीमा पनि कहिले खोल्ने भनेर जिज्ञासासमेत राखे ।
समारोहमा ब्राउनले नेपाली समुदायप्रति आफ्नो उच्च लगाव दर्शाए । नेपाली र इन्डियन खाना पाइने उक्त रेस्टुरेन्ट एक लाख पाउन्ड लगानीमा चौथो शाखाका रूपमा खुलेको हो ।  
समारोहमा ब्राउनकी धर्मपत्नी सारा, ग्लेनरोथेस एमपी लिन्जे रोयलगायत अन्य वरिष्ठ व्यक्तित्वहरू पनि सामेल थिए । त्यो रमाइलो माहोलमा ब्राउन करिब आधा घन्टा
अल्मलिए । 'स्टार्टर ल्याम्ब टिक्का र पकौडा मात्र खाएर निस्कनुभयो,' काशीरामले भने, 'श्रीमती सारा बच्चासाथ आएको र उनले बच्चाको तस्बिर नलिनु भनेपछि ब्राउन पनि त्यति हेलमेल हुन नपाएझैं लाग्यो ।'
रेस्टुरेन्टका लगानीकर्ता अर्जुन र काशीराम दुवै गुल्मेली व्यवसायी हुन् । भारतमा १८ वर्ष र दुबईमा ६ वर्ष नोकरी गरेपछि सन् २००४ मा वेटरको वर्क परमिट लिएर स्कटल्यान्ड छिरेका थिए काशीराम । उनी जुन रेस्टुरेन्टमा काम गर्न आएका थिए, पछि सन् २००९ मा त्यही रेस्टुरेन्ट किनिदिए । १२ वर्षको उमेरमा घर छाडेकाले उनले पर्याप्त पढ्न पाएनन् । 'सन् १९८४ ताका मैले महिनाको २० भारुमा चिया बेच्ने काम गर्थें, उनले संघर्षको विगत सम्भिmए, 'परिवार ठूलो, घरको आर्थिक अवस्था पनि दयनीय भएपछि इन्डिया हिँडेको थिएँ ।'
उता, १६ वर्षअघि अध्ययनका लागि यूके आएका थिए अर्जुन । एसीसीए उत्तीर्णपछि उनले एकाउन्टेन्सी फर्म पनि चलाइरहेका छन् । हाल स्कटल्यान्डमा मात्र व्यवसाय सञ्चालन गरिरहेका यी दुईले भविष्यमा काठमाडौंमा बाल उद्यानसहित फास्टफुड रेस्टुरेन्ट सञ्चालन गर्ने योजना सुनाए । स्कटल्यान्डकै ग्लास्गोमा भने छिट्टै अर्को शाखा खोल्ने योजना उनीहरूको छ । स्कटल्यान्डमा नेपालीले चलाएका रेस्टुरेन्ट संख्या करिब तीन दर्जन रहेको अनुमान छ ।

प्रकाशित मिति: २०७० श्रावण १३
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment