काठमाडौं, श्रावण १३ - अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिको अध्यक्ष नियुक्ति विषयमा सहरी विकासमन्त्री छविराज पन्त र सचिव किशोर थापाबीच विवाद देखिएको छ । सचिव थापालाई दिइएको जिम्मेवारी मन्त्री पन्तले सोही मन्त्रालयका सहसचिव नारायण रेग्मीलाई दिएपछि विवाद बढेको हो ।
अध्यक्षको पदावधि असार मसान्तमा सकिएपछि मन्त्रिपरिषद्ले सचिव थापालाई अर्को व्यवस्था नहुञ्जेल अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसपछि निर्वाचन आचारसंहिता लाग्नुभन्दा १ दिनअघि बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पन्तले सहसचिव रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्ले रेग्मीलाई अर्को व्यवस्था नहुञ्जेल जिम्मेवारी दिने निर्णय गरेको थियो । सहायकमन्त्रीस्तरको पदमा आफू मातहत कर्मचारीलाई जिम्मेवारी दिँदा मर्यादाक्रम मिचिएपछि सचिव थापाले असन्तुष्टि जनाएका थिए । मन्त्रालय स्रोतका अनुसार सहसचिव रेग्मीलाई जिम्मेवारी दिएपछि सचिव थापा मन्त्रीको कार्यशैलीप्रति निकै असन्तुष्ट छन् ।
'अब सचिव नै अप्ठ्यारोमा छन्, उनी ज्यादै भद्र व्यक्ति हुन्, पदीय हैसियतले अध्यक्ष पद सचिवभन्दा ठूलो हो,' स्रोतले भन्यो । मन्त्री पन्तले भने ३० वर्ष काम गरिसकेकाले सहसचिवलाई उक्त जिम्मेवारी दिएको बताए । उनले कान्तिपुरसित भने, 'उनी सक्षम व्यक्ति हुन्, यसबारे सचिवज्यू असन्तुष्ट हुनुहुन्छ भन्ने जानकारी मलाई आएको छैन ।'
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अध्यक्ष पदमा नरेशबहादुर स्वाँरलाई नियुक्ति दिने प्रस्ताव पन्तले मन्त्रिपरिषद्मा लगेका थिए । स्वाँरको सिफारिसलाई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले अस्वीकार गरेका थिए । स्वाँरको नियुक्तिमा पन्तले अडान लिन नसकेको भन्दै पूर्वप्रधानमन्त्री देउवा पनि आक्रोशित बनेका छन् ।
स्रोतका अनुसार मन्त्री पन्तको भित्री चाहना भने स्वाँर नभई सहसचिव रेग्मी थिए । उनले ३ महिनाअघिदेखि नै सहसचिव रेग्मीलाई वाग्मतीको जिम्मेवारी दिने आश्वासन दिएका थिए । सहसचिव रेग्मीले मनोहरा पुलदेखि बल्खुसम्मको ढलको टेन्डर फाइललाई मन्त्री पन्तकै निर्देशनमा २ महिनासम्म रोकेका थिए । अर्थ मन्त्रालयले १० करोड थप बजेटका लागि स्वीकृति दिइसकेको फाइल मन्त्री पन्तको निर्देशनमा रेग्मीले रोकेका थिए । त्यसपछि अन्तिम अवस्थामा ठेकेदारसँगको मिलोमतोमा स्वीकृत गरेका थिए ।
केही दिनअघि डडेलधुरा कांग्रेस सभापति कर्ण मल्लले भौतिक योजना मन्त्रालयमा देउवाको बदनाम नगर्न मन्त्री पन्त र उनका स्वकीय सचिव नेत्र पन्तलाई चेतावनी दिएका थिए ।
प्रकाशित मिति: २०७० श्रावण १३
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment