Saturday, July 27, 2013

मधेसी दल चुनावी अभियानमा,उपेन्द्रले मागे सरकारसँग सुरक्षा


काठमाडौ, श्रावण १३ - मधेसवादी दलहरूले पनि चुनावी अभियान तीव्र पार्ने भएका छन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले शुक्रबार नै चुनावी अभियान घोषणा गरेको छ भने राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले शनिबार । 'पार्टीले अभियानलाई सक्रियताका साथ अघि बढाउने निर्णय गरेको छ,' तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले भने, 'संघीयतावादी र परिवर्तनकारी शक्तिका लागि मंसिर ४ का लागि तोकिएको संविधानसभाको दोस्रो निर्वाचन महत्त्वपूर्ण छ ।' तमलोपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले चुनाव गराउन र देशभर चुनावी माहौल बनाउन केन्द्रदेखि स्थानीयस्तरसम्म अभियान चलाउने निर्णय गरेको हो ।
उसले मतदाता नामावलीमा दर्ता गराउने म्याद थप गर्न र जनसंख्या वृद्धि भएका जिल्लामा नयाँ निर्वाचन क्षेत्र निर्धारण गर्नसमेत आग्रह गरेको छ । '१६ महिनादेखि तमलोपाले मधेसवादी दलबीच एकताका लागि गर्दै आएको गहन प्रयासलाई बैठकले निरन्तरता दिने निर्णय गरेको छ,' पार्टी विज्ञप्तिमा भनिएको छ । महतो नेतृत्वको सद्भावना पार्टीले समेत कुनै पनि हालतमा ४ मंसिरमै चुनाव हुनुपर्ने निष्कर्ष निकाल्दै भदौ पहिलो सातासम्म ६४ जिल्लाका निर्वाचन क्षेत्रमा अभियान चलाइसक्ने निर्णय गरेको छ ।
'निर्वाचनलाई केन्दि्रत गर्दै देशभर पदयात्रा गरिनेछ,' महतोले शनिबार कान्तिपुरसँग भने, 'अभियानमा केन्द्रीयस्तरका नेता सहभागी हुनेछन् ।' भदौ पहिलो साता बस्ने केन्द्रीय समिति बैठकमा चुनावी अभियान यात्राको प्रतिवेदन पेस गरी छलफल हुने उनले बताए ।
पछिल्ला दिनमा महतो सद्भावनाले तराई/मधेसका साथै पहाड र हिमाली जिल्लामा समेत पार्टी विस्तार गरेको छ । उसको राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले चुनाव लक्षित कार्यक्रम घोषणा गरेको हो । उसले पनि जनसंख्या बढेका जिल्लामा निर्वाचन क्षेत्र बढाउन माग गर्दै सरकार र निर्वाचन पुनर्संरचना निर्धारण आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै, मतदाता सूचीमा नाम लेखाउने समय थप गर्न माग गर्दै यसै साता निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएको छ ।
यस्तै, तराईमा सशस्त्र विद्रोहमा संलग्नलाई वार्तामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउनुका साथै वार्तामा आएका समूहसँग भएका सम्झौता कार्यान्वयन गर्नसमेत ध्यानाकर्षण गराउने जनाएको छ ।
यसअघि महेन्द्रराय यादव नेतृत्वको तमलोपा नेपालले समेत मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर जनसंख्या अनुपातमा तराई मधेसमा निर्वाचन क्षेत्र बढाउन र मतदाताको नाम सूचीकृत गर्ने समय थप गर्न माग गरेको थियो । चुनाव घोषणा भएकै बेला आफ्ना कार्यकर्तामाथि आक्रमण बढेपछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले केन्द्रदेखि जिल्लास्तरका नेतालाई विशेष सुरक्षा दिन सरकारसँग माग गरेको छ ।
अध्यक्ष यादवले शनिबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर केन्द्रीय कार्यालय र स्थानीय कार्यालयमा सुरक्षाको विशेष व्यवस्था गर्न माग गरेका हुन् । आफ्ना कार्यकर्ता र पार्टी कार्यालय निसानामा परेको भन्दै उनले मधेसका जिल्लामा सुरक्षामा सतर्कता अपनाउन माग गरेका हुन् । 'महोत्तरीलगायत पूरै मधेसमा भइरहेको आपराधिक गतिविधि अविलम्ब बन्द गरी शान्ति सुरक्षा बहाल गर्न हाम्रो आग्रह छ,' ज्ञापनपत्रमा छ ।

प्रकाशित मिति: २०७० श्रावण १३
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment