See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र १२ -
मधेसी दलहरू 'जित्ने उम्मेदवार' चयन गर्न व्यस्त छन् । मधेसी केही दलले
मधेसका १ सय १६ वटै क्षेत्रमा लड्ने उम्मेदवारबारे समीक्षा गरिसकेका छन्
भने, केहीले यसै सातादेखि उम्मेदवार चयन गर्न छलफल थाल्दैछन् ।
मधेसमा राम्रो पकड रहेको दाबी गर्दै आएको मधेसी जनअधिकार फोरमले उम्मेदवार
घोषणा गरिसकेको त छैन तर प्रभावशाली उम्मेदवारको सूची तयार पार्दैछ ।
यसबीच फोरममा प्रभावशाली नेताहरू भरतविमल यादव, महेशप्रसाद यादव, देवेन्द्र
यादव, बबन सिंह, करिमा बेगमलगायत प्रवेश गरेका छन् । उनीहरू सबै प्रत्यक्ष
लड्ने छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव भर्खरै मधेसमा चुनावी प्रशिक्षण सकेर राजधानी
फर्केका छन् । छिट्टै उम्मेदवार र चुनावी घोषणापत्रबारे छलफल थालिने उनले
कान्तिपुरलाई बताए । पदाधिकारी र प्रभावशालीजतिलाई प्रत्यक्षमा लडाउने फोरम
नेपालको तयारी
छ । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले
उम्मेदवार चयन र निर्वाचनसम्बन्धी तयारीबारे यसै साता राष्ट्रिय भेला गरी
विराटनगरमा छलफल गर्दैछ । वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवका अनुसार कुन
क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो सोही भेलाबाट लगाइने छ ।
फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का शीर्ष
नेताबीच चुनावमा मिलेर जाने यसअघि नै सहमति भइसकेको छ । फोरम
लोकतान्त्रिकले पनि पदाधिकारी र प्रभावशाली र नवप्रवेशीलाई प्रत्यक्षमै
भिडाउने तयारी गरेको छ ।
महन्थ ठाकुर नेतृत्वको तमलोपाले देशभरिबाट प्रत्यक्ष र समानुपातिकका
उम्मेदवारको नाम संकलन गरेको छ । अध्यक्ष ठाकुर सर्लाही-६, उपाध्यक्ष
हृदयेश त्रिपाठी नवलपरासी-६ अर्का उपाध्यक्ष वृषेशचन्द्र लाल धनुषा-४,
महामन्त्री सर्वेन्द्रनाथ शुक्ल रूपन्देही-६ अर्का महामन्त्री गोविन्द
चौधरी नवलपरासी ५, सहमहामन्त्री जितेन्द्र सोनार बारा-४ बाट चुनाव लड्ने
लगभग पक्कापक्की छ ।
यस्तै तमलोपाका केन्द्रीय सदस्यहरू इश्वरदयाल मिश्र कपिलवस्तु-४,
वृजेशकुमार गुप्ता कपिलवस्तु-३, अनिता यादव धनुषा-५ र कमलेश्वर पुरी
रूपन्देही-७ बाट लड्ने पक्का भएको छ । अघिल्लो चुनावमा अनिता यादव झिनो
मतले पराजित भएकी हुन् । तमलोपा नेपालमा अध्यक्ष महेन्द्र राय यादव
सर्लाही-४, नवप्रवेशीहरू शिवपुजन राय यादव सर्लाही-६, खोभारी राय यादव
सर्लाही-५, अलाउद्दिन अन्सारी नवलपरासी-५, दानबहादुर कुर्मी चौधरी
कपिलवस्तु-२, रामचन्द्र कुसवाहा पर्सा-३ बाट चुनाव लड्ने छन् । अध्यक्ष
यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो एउटै क्षेत्रबाट चुनाव लड्ने छन् ।
तमलोपा नेपालले जित्ने सम्भावना भएको क्षेत्रमा मात्रै उम्मेदवार खडा
गर्ने अध्यक्ष यादवले कान्तिपुरलाई बताए ।
यस्तै, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले नवप्रवेशी सबै नेतालाई
प्रत्यक्ष चुनावमा लडाउने भएको छ । संविधानसभा विघटनपछि पूर्वसभासद,
पूर्वमन्त्री र अरूमा असन्तुष्ट धेरै नेता सद्भावना प्रवेश गरेका छन् ।
जनकपुरमा सोमबार सम्पन्न पार्टीको विस्तारित बैठकले सबै नयाँ अनुहारलाई
मधेसका चुनावी क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको
अध्यक्ष महतोले कान्तिपुरलाई बताए ।
उनका अनुसार नवप्रवेशी बद्रीप्रसाद मण्डल मोरङ-५, सञ्जयकुमार साह धनुषा-४,
ओमप्रकाश यादव गुल्जारी रूपन्देही-६, रामानन्द मण्डल मोरङ-४ र लक्ष्मण
महतो कोइरी सिरहा-१ बाट चुनाव लड्ने छन् । साह, यादव, मण्डल र महतो अघिल्लो
संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए ।
संविधानसभाका बखत उनीहरू राज्यमन्त्रीसमेत बनेका थिए ।
यस्तै नवप्रवेशी योगेन्द्रराय यादव रौतहट-१, अब्दुल जब्बार शेख रौतहट-२,
अनिश अन्सारी सप्तरी-३, जशनुल खाँ सप्तरी-४, अमृता अग्रहरी कपिलवस्तु-३,
नवप्रवेशी मिर्जा अरशद बेग कपिलवस्तु-५, अब्दुल रहिम मोरङ-७ बाट उम्मेदवार
बन्नेछन् ।
यस्तै, फोरम लोकतान्त्रिक छाडेर सद्भावना आएकी ममता झा सप्तरी-१, सशस्त्र
समूह त्यागेर आएका राजीव झा धुनषा-२, एमालेबाट सद्भावना आएका अरुणसिंह थारू
महोत्तरी-१, डीएफओबाट निवृत्त नवप्रवेशी जयलाल साह रौतहट-४ बाट जयलाल साह
चुनाव लड्ने छन् ।
सद्भावनामा नवप्रवेशी देवदत्त मिश्र 'राजगुरु' कपिलवस्तु-४ बाट चुनाव
लड्ने केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए । विस्तारित बैठकमा चुनाव
जित्न सक्ने सम्भावित उम्मेदवारबारे पनि छलफल भएको यादवले बताए ।
सद्भावनाले अधिकांश पदाधिकारीलाई समेत प्रत्यक्षमा चुनाव लडाउने भएको छ ।
अध्यक्ष महतो सर्लाही-४, महतोका स्वकीय सचिव उपेन्द्र महतो सर्लाही-२,
सहअध्यक्ष लक्ष्मणलाल कर्ण पर्सा-५, उपाध्यक्ष नरसिंह चौधरी कपिलवस्तु-३,
महासचिव सरोजकुमार यादव बारा-१, प्रवक्ता सन्तोष मेहता सुनसरी-५ बाट चुनाव
लड्ने छन् ।
भदौ अन्तिम साता काठमाडौंमा बस्ने पार्टीको संसदीय समितिले सबै निर्वाचन
क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारको नाम पार्टीलाई सिफारिस गर्नेछ ।
सद्भावनाको विस्तारित बैठकले मंसिर ४ मा चुनाव सफल पार्न देशभर अभियान
चलाउने निर्णयसमेत गरेको छ भने १७ र १८ गते काठमाडौंमा पहाडी र
हिमालीसहितका ४४ जिल्लाका पदाधिकारीलाई समेटेर सम्मेलन गर्ने निर्णय गरेको छ
।
कुसवाहा र चौधरी सद्भावनामा महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपालका
सहअध्यक्ष रामचन्द्र कुसवाहा र महामन्त्री दानबहादुर कुर्मी चौधरी महतो
नेतृत्वको सद्भावनामा प्रवेश गर्ने तयारी गरेका छन् । सद्भावनाबाट चुनाव
लड्ने गरी दुवै नेता सद्भावनामा प्रवेश गर्न लागेको स्रोतले कान्तिपुरलाई
बतायो । कुसवाहा पर्सा-३ बाट र चौधरी कपिलवस्तु-२ बाट चुनाव लड्ने छन् ।
अघिल्लो चुनावमा कुसवाहा पराजित भएका थिए भने चौधरीले कपिलवस्तु-२ बाट
चुनाव जितेका थिए ।
प्रकाशित मिति: २०७० भाद्र १२