See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र १२ -
एमाओवादीले सदूर तथा मध्यपश्चिम र पश्चिमका ८२ निर्वाचन क्षेत्रबाट ७० सिट
जित्ने दाबी गरेको छ । एक महिने निर्वाचन अभियान सकेर मंगलबारदेखि सुरु
भएको केन्द्रीय समिति बैठकमा ८२ निर्वाचन क्षेत्रमा गएका नेताहरूले लिखित
रिपोर्ट पेस गर्दै यस्तो दाबी गरेका हुन् ।
सेती-महाकाली, भेरी-कर्णाली, थारूवान, मगरात र तमुवान राज्यमा निर्वाचन
अभियानमा गएका नेताहरूले यी क्षेत्रमा पहिलो एमाओवादी, दोस्रो कांग्रेस र
तेस्रो एमाले हुने रिपोर्ट पनि पेस गरेका छन् । यी क्षेत्रमा एमाओवादी एक
नम्बर हुने कारण पनि उनीहरूले बैठकमा राखे । उनीहरूले पार्टीको पुरानो आधार
नभत्केको, पार्टी फुटको असर परे पनि निर्वाचन हार्ने गरी नघटेको, साना
समूह र नेता एमाओवादीमा प्रवेश गरेको र राष्ट्रियस्तरमा एजेन्डा स्थापित
गर्न सकेकाले पार्टी बलियो अवस्थामा रहेको रिपोर्ट बैठकमा पेस गरेका थिए ।
सदूर, मध्यपश्चिम र पश्चिम क्षेत्रका मुगु, बाजुरा, कञ्चनपुर, स्याङ्जा,
लमजुङ, बागलुङ र तनहुँ जिल्ला पार्टीको अवस्था कमजोर भएकाले निर्वाचन जित्न
कडा मिहिनेत गर्नुपर्ने ती क्षेत्रमा गएका नेताहरूले बताएका थिए ।
सेती-महाकाली, भेरी-कर्णाली, थारूवान, मगरात, तमुवान राज्यका अन्य जिल्लामा
भने पार्टीको अवस्था बलियो रहेको जानकारी बैठकलाई गराएका थिए । 'ती
क्षेत्रमा ८२ मध्ये ७० सिट जित्ने रिपोर्टिङ भएको छ,' प्रवक्ता अग्नि
सापकोटाले भने, 'थोरै जिल्लामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।'
पार्टी फुटको प्रभाव सुदूरपश्चिममा सबैभन्दा कञ्चनपुरमा परेको रिपोर्टमा
उल्लेख छ । दाङ र रोल्पामा पनि फुटको प्रभाव परे पनि कांग्रेस, एमालेभन्दा
बलियो अवस्थामा रहेको दाबी गरिएको छ । 'पार्टी फुटको प्रभाव परेको भए पनि
पहिले जितेका क्षेत्र हार्ने अवस्था देखिएन,' सापकोटाले सुनाए, 'पहिले धेरै
मतले जितेका जिल्ला अहिले अलि कम मतको फरक पर्न सक्छ ।'
कांग्रेस सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेमा पहिलेभन्दा सुधार
हुने त्यस क्षेत्रको नेतृत्व गरेको नेता कृष्णबहादुर महराले जानकारी गराएका
थिए । उनले बाँकेको मधेसी, मुस्लिम समुदायको आफ्नो पार्टीतिर ढल्केको उनको
भनाइ थियो । मधेसवादी दलको फुटको सकारात्मक प्रभाव आफ्नो पार्टीमा परेको
उनले बताए ।
नेता टोपबहादुर रायमाझीले कैलालीको ६, नन्दकिशोर पुनले दाङका ५ मा सबै
क्षेत्र जित्ने दाबी बैठकमा सुनाएका थिए । माओवादी फुटको ठूलो प्रभाव परेको
कञ्चनपुरमा पार्टीले कडा मिहिनेत गर्नुपर्ने बताए ।
मंगलबार नेताहरूले ३८ जिल्लाको रिपोर्टिङ गरेका थिए । सात जिल्लाबाहेक
अन्य जिल्लाको अवस्था राम्रो भएको नेताहरूको भनाइ थियो । प्रायः सबै
नेताहरूले पहिलेका सभासद गाउँ नगएको गुनासो सुनाए । उनीहरूले पार्टीको
प्रभाव राम्रो भएका जिल्लामा आन्तरिक व्यवस्थापन चुनौती रहेको जनाए ।
केन्द्रमा गुटबन्दी अन्त्य भएको घोषणा भए पनि जिल्ला र स्थानीय तहमा अझै
कायम रहेको, प्रत्यक्ष र समानुपातिक सूचीमा नपरेका कार्यकर्ताको असहयोग
रहने सम्भावना भएको नेताहरूले आंैल्याएका थिए । 'पार्टीको स्थिति बलिया
हुँदाहुँदै पनि आन्तरिक व्यवस्थापन आवश्यक छ,' नेताहरूले शीर्ष नेताको
ध्यानाकर्षण गराएका थिए ।
एजेन्डा तालमेलको पनि
अध्यक्ष पुष्पकमल दाहालले बैठकमा निर्वाचनसम्बन्धी प्रस्तावमा अन्य दलसँग
तालमेल गर्ने विषय महत्त्वका साथ पेस गरेका छन् । 'निर्वाचनसम्बन्धी
प्रस्तावमा तालमेल बुँदा पनि छ,' प्रवक्ता अग्नि सापकोटाले भने, 'त्यसबाहेक
निर्वाचन घोषणापत्र, उम्मेदवार चयन, प्रचारप्रसार प्रस्तावहरू छन् ।'
बैठकले एक महिने निर्वाचन अभियानको समीक्षा र अब सञ्चालन गर्ने 'संगठन
सुदृढीकरण र जनपरिचालन, कार्यविभाजनसमेत गर्नेछ ।
प्रकाशित मिति: २०७० भाद्र १२

No comments:
Post a Comment