-भिडियो हेर्नुस्:http://www.youtube.com/
काठमाडौं, श्रावण २५ - इस्लाम धर्माबलम्बीले शुक्रवार देशभर महान पर्व 'इदउल फित्र' मनाउँदैछन् । हिजरी सम्वतको 'रमजानल मुबारक' महिनाभर रोजा (ब्रत) बसिसकेपछि मुसलमानले हर्षोल्लासपूवर्क 'इदउल फित्र' मनाउूछन् ।
हिजरी सम्वतको आठौं 'साबान' महिनाको अन्तिम तारिखमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरु हुन्छ । 'इदउल फित्र'का दिन विहान नुहाई धुवाई गरी सेवई, खजुर, फलफूललगायत मिठा परिकार खाने प्रचलन छ । सफा, राम्रा कपडा र अत्तर -सुगन्ध) लगाएर इदगाह -इदको नमाज पढ्नकालागि बनाईएको विशेष ठाउू) वा मस्जिदमा गएर इदको नमाज (प्रार्थना) पढिन्छ ।
नमाज पढिसकेपछि एक अर्कासंग गला मिलाएर इदको शुभकामना आदान-प्रदान गर्दै भाइचारा र आत्मियता साटासाट गरिन्छ । इदमा आफन्त र छिमेकीहरुलाई बोलाएर सेवई, खजुरलगायतका मिठा खानेकुरा ख्वाईने चलन छ ।
इदको नमाज पढ्नुअघि एक महिनासम्मको रोजामा भएका कमी कमजोरी निर्मुल गर्न तथा इदको खुसियालीबाट गरिबलाईसमेत बन्चित रहन नदिन 'शदकतुल फित्र' घरका प्रत्येक सदस्यबाट निकालिन्छ । पौने दुई किलो गहुँ वा साढे तीन किलो जौं, चना, खजुर, दाल तथा त्यसको मूल्यबराबरको रकम परिवारका प्रत्येक सदस्यका तर्फबाट गरीबका लागि निकाल्नुपर्छ । हामीकहाँ भने ती वस्तुको मूल्यांकन गरी रकम नै निकाल्ने गरिएको छ ।
हाजी नबीबक्स मियाँका अनुसार यो पटक एक जना व्यक्तिबाट ७५ रुपैयाँका दरले 'शदकतुल फित्र' निकालिने तय भएको छ । यसरी सम्पत्ति चुक्दा गर्नाले उसँग बाँकी भएको सम्पत्ति शुद्ध हुने विश्वास छ । उक्त रकम गरीब, मिश्किन, दुःखी, फकिर र असहायहरुलाई बाँडिन्छ ।
रमजान महिनासंग इस्लामको आधार स्तम्भ 'जकात'समेत जोडिएको हुन्छ । जो व्यक्तिसँग साढे सात तोला सुन वा साढे बाउन्न तोला चाँदी वा त्यस बराबरको सम्पत्ति छ उसले त्यसको साढे दुई प्रतिशत 'जकात' निकाल्नु अनिवार्य छ । यो पनि दान नै हो । २०६८ को जनगणना अनुसार मुलुकमा इस्लाम धर्म मान्ने मुसलमानहरु ११ लाख ६४ हजार २ सय ५५ छन् । केही वर्षअघि देखि इदका अवसरमा सरकारले सार्वजनिक विदा दिने गरेको छ ।
इदका अवसरमा विभिन्न राजनीतिक दल संघ/संस्थाले विज्ञप्तिमार्फत् शुभकामना दिदै इदउल फित्रको बरकतले मुलुकमा शुख शान्ति, स्थायित्व र सम्वृद्धिको वातावरण बनोस् भन्ने कामना गरेका छन् । शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तमलोपा नेपाललगायतले शुभकामना दिएका छन् । यस्तै इदका अवसरमा गोरखा मुस्लिम युवा समाज, गोरखा-काठमाडौं मुस्लिम समाजलगायतले पनि शुभकामना दिएका छन् ।
यसैबीच सरकारले इस्लाम धर्माबलम्बीको महान पर्व 'इदउल फित्र' को उपलक्ष्यमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । यो पर्वमा हरेक वर्ष सार्वजनिक बिदा दिने परम्परा छ ।
प्रकाशित मिति: २०७० श्रावण २५


