- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण १६ - डेढ महिनासम्म सरकारले घोषणा गरेको राहत नपाएपछि बाढीपीडित दार्चुलावासी राजधानी आइपुगेका छन् । बाढीले विनाश गरेको ५ दिनपछि दार्चुला पुगेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ५० करोड रुपैयाँ राहत दिने भने पनि उनीहरूले पाएका छैनन् ।
चीन र भारतसँग सिमाना जोडिएको कुनाको जिल्ला सदरमुकाममा १ सय ३९ घर बगेर करिब ४ सय परिवार पूरै विस्थापित भएका छन् । सरकारले सुरुमा प्रतिपरिवार ३५ हजार रुपैयाँ दिनेबाहेक अरू कुनै राहत दिएको छैन । महाकाली बाढीपीडित तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष ललितबहादुर बोहराले दुर्गम जिल्लालाई उपेक्षा गरेर सरकारले राहत नदिएको बताए ।
'बस्ने ठेगान छैन, राम्रोसँग खान पाइएको छैन, बालबच्चा स्कुल जान पाएका छैनन्,' उनले भने, 'राज्यले उचित सम्बोधन गरेको भए, हामी यहाँसम्म आउने नै थिएनौं, यहाँ आउँदा पीडा सुन्छ कि भनेर आएका हौं ।'
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख वैकुण्ठ अर्यालले भने नयाँ बजेटमा रकम राखिएको जानकारी दिए । 'हामीले रकम राखेका छौं,' उनले भने, 'सम्बन्धित निकायले माग गरे तत्काल दिन सकिन्छ ।' महाकाली नदी किनारका १ सय ५० घर अझै पनि अति जोखिम अवस्थामा रहेको बोहराले बताए । सरकारले तत्काल तटबन्धको व्यवस्था नगरे जतिबेला पनि महाकाली नदीले बगाउन सक्ने खतरा रहेको उनको चिन्ता छ ।
अर्का पीडित गगन विष्टले आफ्नो भर्खरै बनाएको तीनतले पक्की घर बाढीले बगाएको बताए । '२० वर्षदेखि व्यापारको कमाइबाट ५० लाख रुपैयाँमा घर बनाएँ, अन्तिम अवस्थामा बगायो,' उनले भने, 'विद्यालय बगाएको छ, घर बगाएका छन्, सडकमा पाल टाँगेर बसेका छौं, यो शरणार्थी अवस्था कहिलेसम्म रहन्छ ?'
टोलीका दौलतसिंह खाँतीले अस्पताल, विद्यालय लगायत भौतिक संरचना बनाएर तत्काल दैनिक जीवन सहज बनाउन सरकारसँग माग गरे । 'दिएको राहत जनतासम्म पुगेको छैन, पाल र ३५ हजार रुपैयाँले मात्र केही हुँदैन,' उनले भने । दार्चुलाबाट सांसद भइसकेका कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सरकारले राहतको घोषणा गरे पनि वितरणमा ढिलाइ भएको बताए ।
थप राहत पनि घोषणा गर्नुपर्ने उनले बताए । चरणबद्ध रूपमा सरकारले प्याकेजमा बाढीपीडितलाई राहत दिनुपर्ने उनको भनाइ थियो । एमाले नेता उर्वादत्त पन्तले बाढीपीडितको समस्याप्रति सरकार बढी संवेदनशील हुनुपर्ने तर्क गरे । 'प्रधानमन्त्रीसँग भेटेर हामीले बाढीपीडितको दैनिक जीवनलाई सहज बनाउन माग गर्छौं,' उनले भने ।
प्रकाशित मिति: २०७० श्रावण १६
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:
Post a Comment