-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काभ्रे, श्रावण १६ - बर्डफ्लुको संक्रमण बढ्दै गएपछि व्यवसायीले चोर बाटो प्रयोग गरेर कुखुरा काभ्रे भित्र्याएका छन् । उपत्यकामा बर्डफ्लु प्रकोपसँगै प्रशासनले सक्रियता बढाएपछि संक्रमित कुखुरा कोल्डस्टोरमा राखी बिक्री गर्न व्यवसायीले रातारात यता पठाएका हुन् । काभ्रे पनि बर्डफ्लुको उच्च जोखिमभित्र परेपछि प्रशासनले जिल्ला भित्रिने ४ नाकाबाट कुखुरा र कुखुराजन्य वस्तु आयातमा सोमबारबाट प्रतिबन्ध लगाएको छ ।
'सोमबार राति उपत्यकाका संक्रमित कुखुरा चोर बाटोबाट काभ्रे भित्र्याएको छ,' स्रोतले भन्यो, 'रातको १२-३ बजेसम्ममा ७ टाटामोबाइलमा ल्याएको हो ।' स्रोतका अनुसार प्रहरी चौकी साँगामा चेकजाँचमा कडाइ गरेपछि उपत्यकाका व्यवसायीले संक्रमित कुखुरा आशापुरी जाने बाटो हुँदै कुशादेवीबाट ल्याएका थिए ।
'काभ्रेमा बर्डफ्लु नदेखिएको हुँदा त्यसरी भित्र्याइएका कुखुरालाई यहींको भन्दै बजारमा पुर्याउने रणनीतिसमेत व्यवसायीले बनाएका छन्,' स्रोतले भन्यो, 'त्यसका लागि काभ्रेकै केही व्यवसायीले साथ दिएका थिए ।' व्यवसायीले काभ्रेको कुखुरा हो भन्दै सिन्धुपाल्चोकमा समेत पठाएको थाहा भएको छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीको निर्देशनपछि साउन १४ गते दिउँसो ४ बजेदेखि प्रहरीले साँगा, नाला, दोलालघाट, मंगलटार नाकामा कुखुरा तथा कुखुराजन्य वस्तु भित्रन पूर्ण रोक लगाएको छ । 'जिल्ला भित्रिने ४ नाकाबाट कुखुरा भित्र्याउन रोक लगाएका छौं,' प्रजिअ भण्डारीले भने, 'अर्को व्यवस्था नभएसम्म कडाइ गरिन्छ ।' उपत्यकाबाट जिल्ला कुखुरा भित्रिएको बारे आफूलाई कुनै जानकारी नआएको नेपाल कुखुरापालक किसान संघका अध्यक्ष भोजराज दाहालले बताए । 'उपत्यकाबाट कुखुरा ल्याएको जानकारी छैन,' उनले भने, 'प्रशासनले प्रतिबन्ध लगाउनुभन्दा केही घन्टाअघि लेस कुखुरा उपत्यकाबाट गाडीमा हालेर ल्याएको देखेका थियौं । त्यतिबेला यसबारे केही थाहा थिएन ।'
यस सम्बन्धमा जिल्ला पशु कार्यालय प्रमुख डा. सम्झना काफ्लेले अनभिज्ञता प्रकट गरिन् । उनले भनिन्, 'खै मलाई त केही थाहा भएन ।' बर्डफ्लु मासु खानेलाई मात्र नभई मासु काटेर बिक्री गर्नेहरूमा पनि सर्न सक्ने अत्यधिक सम्भावना हुने जिल्ला स्वास्थ्यका डा. अर्जुन सापकोटाले बताए ।
प्रकाशित मिति: २०७० श्रावण १६
No comments:
Post a Comment