अन्तरजातीय विवाह
बुटवल, श्रावण १५ - यहाँ अन्तरजातीय विहे गर्ने एक दलित परिवार गाउँबाटै विस्थापित हुनुपरेको छ । रुपन्देहीको सिपवा ८ का विपत हरिजनको परिवार गाउँबाट विस्थापित भएको हो । दलितले आफ्नो जातको छोरी विहे गरेर अपमान गरेको भन्दै दलित परिवारमाथि आक्रमण हुन थालेपछि ५ महिनादेखि विस्थापित भएको हो ।
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
विपतले चैत १ गते कथित उपल्लो जात मानिने स्थानीय विन्देश्वरी भरसँग प्रेम
विवाह गरेका थिए । भर २१ वर्ष र विन्देश्वरी १९ वर्षका छन् । सानैमा विहे
भए पनि गौना नभएकी भरले ३ वर्षे प्रेमपछि हरिजनसँग प्रेमविवाह गरेकी हुन् । विहेलगत्तै गाउँबाट लखेटिएका दम्पती सातासम्म मधेसका मानव अधिकारको संरक्षणमा कार्यरत माहुरी होम नामक गैर सरकारी सस्थामा आश्रय लिएका थिए । पछि परिवारमाथि आक्रमण सुरु भएपछि अन्य सदस्यसहित आफन्तको शरणमा छन् ।
भर परिवारले सुरुमा उपल्लो जातका छोरीचेली विहे गरेर 'बेइज्जत' गर्न नहुने भन्दै हरिजन परिवारसँग विन्देश्वरीलाई फिर्ता दिन माग गरेका थिए । हरिजन परिवारलेे नमानेपछि 'इज्जत' मा दाग लगाइदिएको भन्दै आक्रमण गरेका थिए । भर परिवारलाई स्थानीय अगुवा र राजनीतिक दलका नेताको साथ छ । ज्यान मार्ने धम्कीसहित घरमा आएर आक्रमण गर्न थालेपछि दलित परिवार ५ महिनादेखि विस्थापित छ । विपत दम्पतीसहित उनका दाजु सुग्रीम भैरहवामा आश्रय लिएर बसेका छन् ।
बैनीलाई बलात्कार गर्ने धम्की दिएपछि भारत पठाएका छन् । कक्षा १० मा पढ्ने १७ वर्षे सुन्तली र कक्षा ७ मा पढ्ने १४ वर्षे फूलमती पढाइ छोडेर भारतस्थित आफन्तकोमा गएर बसेका हुन् । वैदेशिक रोजगारीमा विदेश रहेका बाबुन घर र्फकन सकेका छैनन् । २२ जनाको विपतको परिवारमा अहिले वृद्ध महिला र बालबालिका मात्र गाउँमा छन् । 'गाउँमा रहेका आमा हजुरआमालाई दिनहँु मार्ने धम्की दिन्छन् रे,' भैरहवामा आश्रय लिएका सुग्रीमले भने, 'भाइले के विहे गर्यो हाम्रो त घरबास उठ्यो ।' माइती पक्षले धम्की दिएपछि वर्षभर खाने १२ बिघा उनीहरूको खेत पनि बाँझो थियो ।
साउन पहिलो साता जिल्ला प्रहरीबाट प्रहरी गएर सुरक्षा दिएपछि खेत रोपिएको थियो । परिवार अस्तव्यस्त भएको सुग्रीमले बताए । दुलही फिर्ता नदिँदा ग्ााउँबाट लखेटिएपछि हरिजन परिवार पटक-पटक सुरक्षा माग गर्दै प्रहरीमा पुगेको थियो । इलाका प्रहरी लुम्बिनीमा गएका उनीहरूलाई प्रहरीले सहयोगको सट्टा दुलही फिर्ता दिन दबाब दिएपछि जिल्ला प्रहरीमा गएका थिए ।
जिल्ला प्रहरीले पटक पटक दलित परिवारलाई गाउँ र्फकने वातावरण बनाउन प्रयास गरेको जनायो । महिला सेल प्रमुख रामबहादुर खत्रीले गाउँमा समायोजन गराउने नभई पटक पटक गाउँले अगुवासहित छोरी फिर्ता माग्न आउने गरेको बताए । उनीहरूलाई छोरी फिर्ता नमाग्न र हरिजन परिवारलाई डर त्रास नदेखाउन भनेर सम्झाएर पठाउने गरेको उनले बताए ।
स्थानीय अगुवा तथा शान्ति समिति संयोजक रामप्रसाद यादवले कानुनमा अन्तरजातीय विवाहलाई मान्यता दिए पनि सामाजिक र धार्मिक सस्कारले मान्यता नदिएकाले समस्या भएको बताए । विवाहलाई समाजले स्वीकार नगरेपछि
विपत र विन्देश्वरीले असार १५ गते जिल्ला अदालतमा विवाह दर्ता गराएका थिए । विवाह दर्तापछि पनि भर परिवारले आफ्नी छोरी फिर्ताको माग गर्दै आक्रमण गर्न छोडेका छैनन् ।
अन्तरजातीय विवाहका कारण विस्थापित रुपन्देही सिपावाका विपत हरिजन र विन्देश्वरी भर ।
प्रकाशित मिति: २०७० श्रावण १५
No comments:
Post a Comment