- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxYपालगन्ज, श्रावण १५ -
साउने संक्रान्तिको साँझ महादेवपुरी ७ बाँकेका ३७ वर्षीय झुपबहादुर
बिष्टलाई नाच्दा खुट्टा कुल्चेको भन्दै प्रहरी चौकी गाभरपुर, अगैयाका
हवल्दारले पक्राउ गरी चौकीमा पुर्याए । त्यहाँ उनलाई घुँडामुनि हात राखेर
हत्कडी लगाइयो र कुटियो । प्रहरीको कुटाइले उनको बायाँ आँखा, दाँत, छाती र
ढाडमा चोट लाग्यो ।
अगैया बजारमा भएको नाचगानमा बिष्टले भूलवशसँगै नाचेका सादा पोसाकका
हवल्दारलाई कुल्चिएको तर त्यसैलाई ठूलो मुद्दा बनाउँदै चौकीमा लगेर रातभर
बुट र मुक्काले अन्धाधुन्ध कुटेको दाबी गरे । बिष्टले भने, 'मैले जानाजान
खुट्टा टेकेको थिइनँ । सिभिल ड्रेसमा भएकाले प्रहरी हो भनेर पनि चिनिनँ ।
त्यो भूलको सजाय ठूलो पाएँ । खोक्दा मुखबाट रगत निस्किरहेको छ ।'
चौकी इन्चार्ज बुद्धि शर्माले मदिरा सेवन गरी होहल्ला गर्दा प्रहरीले
पक्राउ गरेको र उनीसँगै रहेका अर्का एकले कुटपिट गरेपछि चौकीमा ल्याएको
बताए । 'पक्राउ गर्दा बिष्टका साथी डम्बर खत्रीले उल्टै प्रहरी जवानलाई
मुक्का हानेर भागेकाले आवेगमा आएर बिष्टमाथि समेत हल्का 'पिटपाट' भयो,'
उनले भने । घटना प्रकाशमा आएपछि जिल्ला प्रहरीले संलग्नताको आरोप लागेका
हवल्दार र जवानलाई झिकाएर सोधपुछ गरिएको जनायो ।
त्यसअघि असार २४ गते बनकट्टी २ हलबलडोलीका ३२ वषर्ीय वकिल खाँलाई प्रहरी चौकी बनकट्टीले पक्राउ गरी यातना
दिए । अर्काको नर्सरीबाट बिरुवा चोरीको आरोप लागेका खाँलाई चौकीमा लगेर
पाइताला सुनिने र हिँड्नै नसकिने गरेर कुटेको थियो । 'गल्ती भयो । बिरुवाको
पैसा दिन्छु भन्दा पनि छाडेनन् । तीन प्रहरीले पालैपालो कुटे,' उनले भने ।
यस्तै असार पहिलो साता नौवस्ता २ पितमारीका ४२ वषर्ीय पदमबहादुर शाहीलाई गाडी भाडाको विवादमा इलाका प्रहरी कोहलपुरले पक्राउ गरी यातना
दियो । प्रहरी कुटपिटमा शाहीको दाँत झरेको छ । कारबाही र क्षतिपूर्तिका
लागि उनले उजुरी हालेपछि दबाबमा परेको प्रहरीले आन्तरिक छानबिन समिति गठन
गरेको छ । प्रतिवेदन आइसकेकाले कारबाही प्रक्रिया अघि बढ्ने बाँके प्रहरी
प्रमुख भूपालकुमार भण्डारीले बताए । असारमा मात्रै ७ जनालाई प्रहरी
हिरासतमा यातना दिएको फेला परेको छ । 'बिष्ट, खाँ र शाहीले न्यायको पहल गरिदिन निवेदन दिएका छन्,' हिरासतमा दिइने यातना को नियमित अनुगमन गरिरहेका अधिवक्ता वसन्त गौतमले भने, 'अरू चार घटनाको पनि अभिलेखीकरण गरिएको छ ।'
यसअघि प्रहरी हिरासतमा दिएका दुई वटा मुद्दाको जिल्ला अदालतले किनारा लगाइसकेको छ । जेठमा प्रहरीले हिरासतमा यातना दिएको ठहर गर्दै बाँके जिल्ला अदालतले यातना
पीडित दुजी भन्ने हरकली पुनलाई ५१ हजार क्षतिपूर्ति भराइदिने फैसला गरेको
थियो । त्यस्तै त्यसको अघिल्लो साता एक अर्को मुद्दामा पनि अदालतले
हिरासतमा यातना ठहर गर्दै क्षतिपूर्तिको फैसला गरेको थियो । 'यी सबै घटनाले बाँके प्रहरीको हिरासतमा चरम यातना दिने गरेको प्रमाणित भएको छ,' गौतम भन्छन्, 'प्रहरी अधिकारीले यातना
नदिने प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू भएको देखिएन ।' प्रहरी
उपरीक्षक भण्डारीले शाहीको घटनामा आन्तरिक छानबिन समिति गठन भएर
प्रतिवेदनसमेत आइसकेकाले पीडक जोसुकै भए पनि कारबाही गरिछाड्ने दृढता जनाए ।
'हिरासतमा शारीरिक र मानसिक यातना दिने प्रहरी कर्मचारीलाई कारबाही गर्न प्रतिबद्ध छु,' उनले भने ।
प्रकाशित मिति: २०७० श्रावण १५
No comments:
Post a Comment