'माओवादीले मेरो भाइ लग्यो, इन्साफ पाइन्छ कि भनेको त सरकारले अब बाआमा पनि लग्ने भयो'
- छोरा नूरप्रसाद अधिकारी"
- See more at: https://www.facebook.com/nepalinewss-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण १५ -
उनीहरूका आँखा लोलाएका छन् । पूरै शरीर शिथिल छ । बोली निक्लन छाडेको छ ।
हालत हेर्दा लाग्छ, नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामाया जीवनको
अन्तिम सास गनिरहेका छन् । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष प्रधानन्यायाधीश खिलराज रेग्मी हरेक साँझ बिहान साइरन बजाउँदै नजिकैबाट जान्छन् ।
नन्दप्रसाद दम्पती उनलाई भेट्न बाटो कुरेर बस्थे । तर, अब कसैलाई नचिन्ने गरी उनीहरूको स्वास्थ्यस्थिति बिगि्रएको छ । खिलराज नै आए भने पनि उनीहरू बौरिन सक्ने छैनन् ।
पछिल्लो पटक सात दिनदेखि उनीहरू आमरण अनशनमा छन् । उनीहरूको माग छ, छोराको हत्यारालाई कानुनअनुसार कारबाही होस् । यही माग उनीहरूले अघिल्ला प्रधानमन्त्री बाबुराम भट्टराईका अघिल्तिर पनि राखेका थिए । बाबुरामले माग त पूरा गरेनन्, उनीहरूलाई महिनौंसम्म गैरकानुनी थुनामा राखिदिए ।
यही माग अहिले अध्यक्ष रेग्मीलाई पनि राखिरहेका छन् । रेग्मीले माग सुन्नु त परको कुरा, उनी मातहतका प्रहरीले थुप्रै धरपकटपछि सीधै मानसिक अस्पतालमा लगेर ५ साता थुन्ने काम गर्यो । त्यसको सबैतिर आलोचना हुन थालेपछि साउन ७ गते डाक्टरहरूले उनीहरूमा पागलपन छैन भन्दै छाडिदिए । छुट्नेबित्तिकै उनीहरू उही माग लिएर बालुवाटारमा हान्निए र थाले आमरण अनशन ।
'आज सात दिन पुगिसक्यो, उहाूहरूको मुखमा पानी पनि परेको छैन,' उनीहरूका जेठा छोरा नूरप्रसादले भने, 'बोल्न पनि नसक्ने अवस्थामा पुगिसक्नुभो, भरे हो कि भोलि हो, प्राण जाने ठेगान छैन ।'
गोरखा फुजेल- ७ चमरी गाउूका नन्दप्रसादका कान्छा छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो । भट्टराई पत्नी एवं एमाओवादी नेतृ हिसिला यमीकी पीए जानुका पौडेललगायत माओवादी कार्यकर्ताले हत्या गरेको एक वर्षपछि खुल्यो । अधिकारीले जानुकासहित छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिए ।
तर प्रहरीले त्यसलाई छुँदै छोएन । पछि पत्नीसहित उनी अनशन बसे । त्यसको पनि सुनुवाइ भएन । उल्टै उनीहरू सबैलाई प्रहरीले थुनिदियो । गाउूबाट एमाओवादी कार्यकर्ताले लखेटे । खान नपाएर खोरका बस्तु खोरमै मरे ।
विस्थापित भई काठमाडौं आएपछि पटक- पटक धरपकड गरियो । पछि त पागल भनेर मानसिक अस्पतालमै भर्ना गरिदियो । त्यहाँबाट छुटेपछि बालुवाटारमा खिलराजको दैलै अगाडि उनीहरू अनशनमा बसेका थिए । प्रहरीले 'यहाँ त हुँदैन' भन्दै उनीहरूलाई अलिक पर एउटा भत्काइूदै गरेको घरमा लगेर राखिदियो । वरिपरि इँटैइँटा असरल्ल पारिएको ठाउूमा उनीहरू पातलो मजेत्रो ओडेर सुतिरहेका छन् । खानपिन नभएकाले शौचालय पनि सातै दिनदेखि जान परेको छैन ।
'मानसिक अस्पतालबाट आएपछि बाआमाको स्वास्थ्य झनै खस्किएको छ,' नूरप्रसाद भन्छन्, 'माओवादीले मेरो भाइ लग्यो, इन्साफ पाइन्छ कि भनेको त सरकारले अब बाआमा पनि लग्ने भयो ।'
प्रकाशित मिति: २०७० श्रावण १५
No comments:
Post a Comment