Monday, July 29, 2013

४ दरबन्दीमा ८ को सरुवा

- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नेपालगन्ज, श्रावण १५ - राप्तीपारिका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव छ । त्यहाँ रित्तिने गरेर सुगममा सरुवा गरिएको हो । त्यसमा पनि एउटै पदमा दुई/दुई कर्मचारी भएपछि उनीहरूबीच हाजिर लगाउनै 'हानथाप' चलेको छ । एउटै पदमा दुई र दरबन्दी नभएका ठाउँमा समेत सरुवा गर्दा प्रशासन फाँटका कर्मचारी के कसो गर्ने भन्नेमा रनभुल्ल छन् । कोहलपुरस्थित स्वास्थ्य चौकीमा 'हाकिम' आएपछि पहिलादेखि कार्यरत 'जुनियर' कर्मचारीले उपल्लो निकायमा खबर नगरेर प्रशासन फाँटमा ताला लगाई हिँडेका छन् ।
निर्वाचन आचारसंहिता छल्न स्वास्थ्य विभागले साउन २ र ३ मा मुलुकभरका ३ सय ७५ स्वास्थ्यकर्मी सरुवा गरेको थियो । त्यसमध्ये बाँकेका ४ स्वास्थ्य चौकीमा ८ तथा एउटा उपस्वास्थ्य चौकीमा दरबन्दीबिनै सरुवा गरिएको भेटिएको हो । अघिल्लो वर्ष पनि यहाँका विभिन्न स्वास्थ्य चौकीहरूमा दरबन्दीभन्दा बढी ७ कर्मचारी सरुवा भएपछि उनीहरूलाई 'खुवाएको' तलब भत्ता रकम बेरुजु आएको जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताए । 'गत वर्ष तलब, भत्ताबापत ११ लाख ८६ हजार बेरुजु निस्किएको छ,' उनले भने, 'यसपालि पनि विभागको 'अक्षमता' ले त्यस्तै परिस्थिति निर्माण भयो ।' 
सदरमुकामनजिक तथा आउजाउको राम्रो सुविधा भएका स्वास्थ्य चौकीमा दुई/दुई सरुवा भएपछि उनीहरूबीच हाजिर लगाउन द्वन्द्व सुरु भएको छ । कोहलपुर स्वास्थ्य चौकीमा 'सिनियर' आएपछि 'जुनियर' ले उपल्लो निकायलाई खबर नै नगरी प्रशासन फाँटमा ताला, चावी लगाएर 'भूमिगत शैली' अपनाएको स्वास्थ्यका एक कर्मचारीले बताए । सुगममा यस्तो 'मरामारी' चले पनि बाँकेका दुर्गम राप्ती पारिका केही स्वास्थ्य चौकीमा भने सरुवा भएका कर्मचारी जान नमान्दा त्यहाँ जहिल्यै अभाव भइरहने प्रशासन फाँटकी सुशीला केसीले बताइन् ।
सुगम मानिएको पिप्रहवा स्वास्थ्य चौकीको निरीक्षकमा कचनापुरबाट गिरबहादुर गुरुङ र मुगुबाट केशवराज गौतम सरुवा आएका छन् । कचनापुरका सिनियर अनमि रीमा सुवेदीको पनि स्वास्थ्य चौकी साई गाउँ सरुवा भएपछि कचनापुरमा कर्मचारी अभाव भएको छ । 'त्यहाँ अनमि र ग्रामीण स्वास्थ्य कार्यकर्तामात्र छन्,' केसीले भनिन् । स्वास्थ्य चौकी साई गाउँको सिनियर अनमि पदमा कचनापुरबाट सुवेदी र राप्ती पारिको गंगापुरबाट शीतला खड्का आएका छन् । त्यस्तै कोहलपुरस्थित स्वास्थ्य केन्द्रको सिनियर अनमिमा राप्ती पारि लक्ष्मणपुरबाट मेनका शाही आएकी छन् । यसअघि सोही पदमा कमला न्यौपाने कार्यरत छिन् । कोहलपुरमा जनस्वास्थ्य निरीक्षक धननाथ योगी इन्चार्ज भएर आएपछि पहिलादेखि नै कार्यरत सिनियर अहेब विद्यासागर मेनालले ४ दिनदेखि प्रशासन फाँटमा ताला लगाएका छन् । ताला खुलाउन व्यवस्थापन समिति र प्रहरीसँग सरसल्लाह भइरहेको कार्यालयले जनाएको छ ।   
महादेवपुरी स्वास्थ्य चौकीमा सिनियर अनमि उमा केसी कार्यरत रहेको अवस्थामा नै स्वास्थ्य विभागले बर्दियाबाट गोमा शर्मालाई सरुवा गरेको छ । स्वास्थ्यका अनुसार उपस्वास्थ्य चौकी नौवस्तामा अनमि दरबन्दी नभएका ठाउँमा बर्दियाबाट राधिका गैरेलाई सरुवा गरिएको छ । एउटै पदमा दुईदुई जना तथा दरबन्दी नभएका ठाउँमा पनि कर्मचारी सरुवा गरिएपछि मिलान गर्न समस्या भएको प्रशासन स्रोतले जनाएको छ ।


प्रकाशित मिति: २०७० श्रावण १५

No comments:

Post a Comment