Sunday, July 7, 2013

» मुख्य समाचार » डाक्टरको निजी 'धन्दा’


चितवन, असार २४ - यहाँका नाम चलेका प्रायः चिकित्सक (डाक्टर) को दरबन्दी सरकारी अस्पतालमा छ, तर उनीहरू अधिकांश समय निजीमा भेटिन्छन् । उपचारमा संलग्न हुनुपर्ने एउटै चिकित्सक तीनवटाभन्दा बढी निजी अस्पतालको सञ्चालक समितिमा रहेर काम गर्दै आएका छन् ।
सञ्चालक समितिका अध्यक्षसमेत रहेका वरिष्ठ सर्जन भक्तमान श्रेष्ठ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक हुन् । तर उनी यहाँको नारायणी सामुदायिक अस्पताल सञ्चालक समितिमा पनि अध्यक्षको जिम्मेवारी सम्हालिरहेछन् । उनी क्यान्सरमा भन्दा नारायणी अस्पतालमा बढी व्यस्त हुन्छन् । अर्कोतर्फ अध्यक्ष बन्नकै लागि उनले क्यान्सर अस्पतालबाट काजबिदासमेत मिलाएका छन् । त्यति मात्र होइन, प्रायः चिकित्सक सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई आफूले लगानी गरेको निजीमा आउन सुझाउँछन् । सरकारीमा सस्तोमा उपचार हुने भए पनि उनीहरूले निजी अस्पतालमा बोलाएर महँगोमा उपचार गराउँछन् । यस्तै, भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन विजय पौडेल निजी चितवन अस्पतालका अध्यक्ष छन् । नियमतः सरकारी अस्पतालमा काम गर्ने डाक्टरले निजीमा काम गर्न पाइँदैन । तर यहाँका चिकित्सकले गैरकानुनी रूपमा निजीमा गएर काम गर्दै आएका छन् । 'सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले निजीमा काम गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनुपर्छ,' मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटांैडाका निर्देशक श्याम उप्रेतीले भने, 'सरकारीमा काम गर्नेले स्वीकृतबिना निजीमा काम गर्न र अध्यक्ष हुन पाइँदैन ।' तर स्वीकृत लिएर सरकारी अस्पताललाई कुनै बाधा नपुग्ने गरी काम गर्न पाइने उनले बताए । 'अनुगमन गरेर रिपोर्ट मन्त्रालयमा पठाउने काम हाम्रो हो, तर त्यो पठाउन सकिरहेका छैनौं,' उनले भने । यहाँका धेरै चिकित्सक नियम लत्याउँदै कार्यालय समयमै निजी अस्पतालमा गएर काम गर्छन् । तर यसप्रति प्रशासन र जनस्वास्थ्य कार्यालयले चासो देखाएका छैनन् । स्वास्थ्य विभागले समेत कारबाही गर्न सकेको छैन । पछिल्लो समय चितवनलाई 'मेडिकल सिटी' का रूपमा विकास गर्ने भनिए पनि चिकित्सककै मनपरीले सम्भव भएको छैन । अस्पतालहरू डाक्टरका लागि पैसा कमाउने माध्यम बनेका छन् । एउटै डाक्टरले मासिक ५ लाखदेखि १५ लाख रुपैयाँसम्म कमाउने गरेको स्रोतले बतायो । 'अहिले क्यान्सर अस्पतालको कर्मचारी होइन, स्वयंसेवकका रूपमा त्यहाँ काम गरिरहेको छु,' आफ्नो बचाउ गर्दै भक्तमानले भने, 'म ३ वर्षे काज छुट्टीमा छु ।' नियमित सेवा दिनुपर्ने अस्पतालबाट छुट्टी लिएर अध्यक्ष बनेका श्रेष्ठले निजी अस्पतालबाट मासिक १५ लाख कमाउने गरेको दाबी स्राेतको छ । आफू नारायणी सामुदायिक अस्पतालको अध्यक्ष नभएको दाबी गर्दै उनले अध्यक्ष हुने प्रक्रियामा भने रहेको बताए । स्रोतका अनुसार उनी नारायणी सामुदायिकका अध्यक्ष हुन् । सरकारी अस्पतालमा काम गर्ने डाक्टरले 'कसैलाई टेर्दैनन्' । नियम मिचेर कार्यालय समयमा निजी अस्पताल, क्लिनिकमा गएर काम गर्छन् । जनस्वास्थ्य कार्यालयका कर्मचारी सरकारी अस्पतालका डाक्टरले नियम मिचेर निजी अस्पतालमा काम गरेको 'थाहा नपाएजस्तो' गरिरहेछन् । 'अनुगमन गरेका थियौं, तर रिपोर्ट मन्त्रालयमा पठाएनौं,' जनस्वास्थ्य प्रमुख केहरसिंह गोदारले भने, 'सबै डाक्टर हामीभन्दा सिनियर छन्, कारबाहीका लागि केही गर्न सकिएको छैन ।'
क्यान्सर अस्पतालमा कार्यरत डाक्टर अप्रेसन छ भन्दै निजी क्लिनिकमा जान्छन् । अस्पतालमा आएका बिरामीको उपचारमा ध्यान दिँदैनन् । बिरामीलाई चिकित्सक फेला पार्न साता कुर्नुपर्छ । अस्पतालमा काम गर्ने झन्डै ५० जना विशेषज्ञ चिकित्सक निजी अस्पतालमा काम गर्छन् । तीमध्ये आधा चिकित्सकले कार्यालय समयमा निजीमा काम गर्छन् । मन्त्रालयको स्वीकृतबिना यदि सरकारी अस्पतालका डाक्टरले अन्य अस्पतालमा काम गरेको पाइए स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र अख्तियारले कारबाही गर्छ । नियम नमान्नेलाई विभागीय कारबाहीका रूपमा सजाय, ग्रेड रोक्का र सरुवा गरिन्छ । तर कसैले पनि कारबाहीमा चासो नदिँदा सरकारी अस्पतालमा काम गर्ने डाक्टरको मनोमानी बढेर गएको हो । एउटै डाक्टरले पैसाका लागि धेरै बिरामीको उपचार गर्दा बिरामीले राम्रो उपचार पाउने गरेका छैनन् । बिरामीको ज्यान जाने गरेका घटनासमेत बारम्बार सार्वजनिक भइरहेका छन् । 'सरकारीमा काम गर्ने डाक्टरले निजी अस्पतालको अध्यक्ष भएर काम गर्न पाइँदैन,' चिकित्सक संघका अध्यक्ष डा. कृष्ण पौडेलले भने, 'यदि नियम मिचेको भए मन्त्रालयले विभागीय कारबाही गर्छ ।' उनले केही डाक्टरले सरकारीमा दरबन्दी भए पनि निजी अस्पतालको सञ्चालक समितिमा अध्यक्ष भएर नियम मिच्दै काम गरिरहेको बताए ।

प्रकाशित मिति: २०७० असार २४
- See more at: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
                         https://www.facebook.com/nepalinewss

No comments:

Post a Comment