Tuesday, August 6, 2013

बर्डफ्लु प्रभावित क्षेत्रमा स्वाइन फ्लु

  See more at:https://www.facebook.com/nepalinewss
 -भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २३ - भक्तपुरको बर्डफ्लु प्रभावित क्षेत्रका बासिन्दामा बर्डफ्लु नदेखिए पनि स्वाइन फ्लुको संक्रमण भएको छ । सरकारले प्रभावित क्षेत्रमा नमुना परीक्षण गर्दा स्वाइन फ्लु पुष्टि भएको हो ।
'नमुना परीक्षणमा बर्डफ्लु देखिएन,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले मंगलबार भने, 'बरु उहाँहरूलाई स्वाइन फ्लु र इन्फ्लुएन्जा बी देखियो ।' परीक्षणका लागि ११ नमुना संकलन गरिएकामा १० जनामा स्वाइन फ्लु देखिएको हो ।
डा. ठाकुरका अनुसार स्वाइन फ्लु हाल समुदायमा फैलिसके पनि यसबाट पूरै आतंकित भने हुनु पर्दैन । 'तर बालबालिका, गर्भवती महिला, बूढापाकालगायत जोखिम समूहलाई भने निकै खतरा छ ।'
महाशाखाले गत आइतबार उक्त क्षेत्रबाट आफैं परीक्षणका लागि आएका सात जना र थप चार जनाको 'थ्रोट स्वाव' को नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । भक्तपुरका ११ जनामा गरिएको परीक्षणमा डेढ वर्षे शिशुदेखि ७८ वर्षसम्मका थिए । तीमध्ये १० जनामा स्वाइन र इन्फ्लुएन्जा बी देखिएको थियो ।
स्वाइन फ्लुका लागि उच्च जोखिम समूहमा दमको सिकार भएका बूढापाका, मधुमेहलगायत दीर्घ रोगीहरू, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका, रोग प्रतिरोधक क्षमता कम हुने क्षयरोगी, एचआईभी/एड्स आदि रोग भएका पर्छन् ।
इपिडिमियोलजिस्ट एवं महाशाखाका पूर्वनिर्देशक डा. मानसकुमार वनर्जीका अनुसार स्वाइन फ्लु प्रमाणित भइसकेकाले उच्च जोखिमका समूहलाई रुघाखोकीजस्ता लक्षण देखिए तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ ।' स्वाइन फ्लुको जटिल अवस्थाको पहिलो लक्षण सास लिन अप्ठेरो हुनु हो ।
 स्वाइन फ्लुका अन्य लक्षणमा रुघाखोकी, ज्वरो र माथिल्लो श्वास नलीको संक्रमण हुन् । कसै-कसैलाई भने फोक्सोमा संक्रमण भई जटिल निमोनियाका रूपमा पनि देखिन सक्छ ।
स्वाइन फ्लु पहिलो पटक सन् २००९ मा मेक्सिकोमा देखा परेको हो । त्यसैले त्यसपछि जन्मेका बालबालिकामा यो रोग अझै कडा रूपमा देखिन सक्ने चिकित्सकहरूको विश्लेषण छ ।
स्वाइन फ्लुको भाइरस सामान्य रुघाखोकी जस्तै मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स-साना कणहरूको माध्यमले वातावरणमा फैलिन्छ ।





प्रकाशित मिति: २०७० श्रावण २३

No comments:

Post a Comment