Tuesday, August 6, 2013

'सामर्थ्यका आधारमा संघीयता’

 
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



नयाँदिल्ली, श्रावण २३ - भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले मुलुकको आर्थिक सामथ्र्यका आधारमा थोरै संघीय प्रदेशमा सहमति जनाउनु उपयुक्त हुने सुझाव दिएकी छन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग जनपथस्थित निवासमा मंगलबार अपराह्न भेटवार्ता गर्दै गान्धीले नेपालमा हुन लागेको संविधानसभाको निर्वाचनले शान्ति र स्थायित्वका दिशामा ठोस बल पुर्‍याउने विश्वास व्यक्त गरिन् । 'सभापति कोइरालाले नेपाल सानो देश भएकाले सहमतिका आधारमा थोरै प्रदेश -६ वा ७) को संघीय स्वरूप बन्ने जानकारी दिनुभयो,' भेटवार्तामा सहभागी पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले कान्तिपुरसँग भने, 'नेतृ गान्धीले यो धारणामा सहमति जनाउँदै आर्थिक सामथ्र्य हेर्नु जरुरी रहेको बताउनुभयो ।' नेतृ गान्धीले नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि नेपाल भ्रमणमा आउने इच्छा रहेको बताएकी थिइन् ।
'एकीकृत माओवादी र मधेसवादी दलले कांग्रेसलाई गणतन्त्रविरोधी भनेर गलत हौवा फैलाएका छन्,' कोइरालाको भनाइ उद्धृत गर्दै अर्का महामन्त्री प्रकाशमान सिंहले भने, 'गणतन्त्रको प्रस्तावक नै कांग्रेस हो, यो तथ्य बुझ्नुपर्छ ।' कोइरालाले नेपालमा निर्वाचन तोकिएकै मितिमा हुने र यसमा सबै राजनीतिक दलको सहभागिता रहने विश्वास प्रकट गरेका थिए । उनले समावेशी सहभागितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा कांग्रेस उभिएको र यसलाई संस्थागत गर्न पनि अब संविधानसभाको निर्वाचन अनिवार्य सर्त बनेको बताएका थिए ।
'नेपाललाई साथ र सहयोग दिन भारत सदैव तत्पर छ,' गान्धीले भनिन्, 'निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ, त्यसपछि लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका प्रक्रियाहरू अघि बढ्ने छन् ।' ३५ मिनेटसम्म चलेको भेटवार्तामा नेतृ गान्धीले नेपाली कांग्रेस र भारतीय कंग्रेसबीचको अन्तर्सम्बन्धबारे पनि चर्चा गरेकी थिइन् ।
यसैगरी, सभापति कोइरालाले मंगलबार दिउँसो भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए । 'नेपालमा रहेका भारतीय लगानीका परियोजना सञ्चालन गर्न कठिनाइ भइरहेको छ,' भेटमा विदेशमन्त्री खुर्सिदको आग्रह थियो, 'बरु राजनीतिक सहमतिका आधारमा निश्चित विकास परियोजनाको जिम्मा भारतलाई दिए उपयुक्त हुने थियो ।' उनले संविधानसभाको निर्वाचनपछि यस प्रकारको 'सहमतियुक्त परियोजना' को अपेक्षा गरेका थिए ।
सभापति कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादव, कंग्रेस नेता करण सिंह र प्रतिपक्षी दलकी नेतृ सुषमा स्वराजसँग पनि भेटवार्ता गरेका छन् । तीमध्ये विदेशमन्त्री खुर्सिद र लोकसभामा विपक्षी नेतृ स्वराजसँगको भेटवार्तामा दिल्लीस्थित कार्यवाहक राजदूत खगनाथ अधिकारीसमेत सहभागी थिए । सहभागीका अनुसार अध्यक्ष सिंहले भने नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेकामा असन्तोष व्यक्त गर्दै संसारको एकमात्र हिन्दु राज्य बन्ने चिनारी गुमाएकामा असन्तुष्टि जाहेर गरेका थिए । कोइरालासहितको टोली बुधबार उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई भेट्न लखनउ जाँदैछ ।



प्रकाशित मिति: २०७० श्रावण २३

No comments:

Post a Comment