See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नयाँ दिल्ली, श्रावण २३ -
'मेरा क्या होगा डाक्टर'साप ?'
'आप भी डक्टर हो, सब पता है ना ।
भगवान्का दुआ करो, उपरवालेका भरोसा करो ।'
दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एउटा कुनोमा क्लान्त
मुद्रामा बसेका छन्- डाचित्रप्रसाद शर्मा वाग्ले । आफ्नो स्वास्थ्य
स्थितिको पछिल्लो रिपोर्टबारे डाक्टरको 'आश्वासन' उनले भर्खरै सुनेका छन् ।
साथमा श्रीमान्को हात छोएर बसिरहेकी श्रीमती पूजा पराजुलीका आँखामा आँसु
टिलपिल देखिन्छ । यही अस्पतालमा झन्डै ५० नेपाली बिरामीहरू क्यान्सर रोगको
उपचारमा अहिले पनि भेटिन्छन् जसलाई छेवैमा आउने डाक्टरले आश्वासन र भरोसा
दिइरहेका हुन्छन्, 'चिन्ता मत करो, सब ठीक हो जाएगा ।'
दुर्भाग्य भनौं- डाचित्रले यति आश्वासन पनि पाउँदैनन् । किनभने अस्पतालको
डाक्टरलाई राम्ररी थाहा छ, सामुको यो बिरामी आफैंमा डाक्टर हो । उसलाई
ढाँट्नुको कुनै अर्थ छैन । रुपन्देही जिल्लाको परुवा गाविसमा हुर्के-बढेका
चित्रप्रसाद यतिखेर नेपाली समाजमा अलग चिनारीको नाम बनेका छन् ।
चित्रप्रसाद परुवाको साधारण सरकारी स्कुलबाट उठे, उनी काठमाडौं हुँदै
रुसको उज्वेकिस्तान पुगे । र, त्यहाँबाट पाएको एमडी -जनरल फिजिसियन)
योग्यता बोकेर कुनै मध्यसहरमा होइन, अर्घाखाँची गाउँमा सेवाका निम्ति पुगे ।
२०५७ मा मेडिकल अफिसर बनेर अर्घाखाँची जिल्ला अस्पतालमा पुगेका
चित्रप्रसादले त्यो भेगमा आफ्नो काम देखाए, नाम बनाए र नेपाल सरकारबाट समेत
दुई वर्षअघि 'देशभरकै सर्वोकृत्ष्ट चिकित्सक'को सम्मान पाए । उनले
अर्घाखाँची सरकारी अस्पताललाई १५ बाट ३२ बेडमा विस्तार गरे । २४ घन्टै
उपचार सेवा, आपत्कालीन रक्त व्यवस्था, प्रसूति तथा शल्यक्रिया सेवा आदिको
विस्तार गरे । यसको सम्मान जनता र राज्य तहबाट एकैसाथ भयो ।
तर 'सबैका सधैं दिन उस्तै रहँदैनन्' भनेझैं भयो । अर्को एउटा अवसर पाएर
विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच -मास्टर इन पब्लिक हेल्थ)
पढ्न बैंकक पुगेको डेढ महिनामै चित्रप्रसाद संसारमै 'दुर्लभ र महँगो रोग'
लिएर नेपाल फिरे । 'एक लाखमा एकजना'लाई हुने एपेन्डिक्सको क्यान्सर -एडेनो
कार्सिनोमा अफ एपेन्डिक्स) उनको कलेजोसम्म फैलिसकेको रहेछ । थाइल्यान्डको
चुलालंकन युनिभर्सिटीमा मेडिकल रिसर्चसम्बन्धी काम गरिरहेका बेला अचानक
पाखुरा दु:खेर परीक्षण गर्ने क्रममा क्यान्सरको आशंका सुरु भएको थियो ।
स्वास्थ्य संगठनको छात्रवृत्ति भए पनि स्वास्थ्य बिमाको व्यवस्था नभएकाले
बैंककमा उपचार गर्न नसकेर -नपाएर) चित्रप्रसाद फेरि झोलीतुम्बा बोक्दै
नेपाल फिरेका थिए ।
यसरी २०१२ को जुलाई महिनादेखि चित्रप्रसाद दिल्लीको रोहिणीबासी भएका छन् ।
राजीव गान्धी क्यान्सर अस्पतालसँगै लिइएको फ्ल्याटमा उनी भेटिन्छन्,
अस्पताल वरपर भेटिन्छन् । दुई सातामा एकपटक दिइने 'किमो'का समयमा भने उनी
अस्पतालको बेडमै भेटिन्छन् । अरू बेला भने पेटबाट आन्द्रा झिकेर बाहिर
'कोलोस्टमी ब्याग'मा राखिएको अवस्थामा श्रीमती पूजालाई साथ लिएर उनी
यताउता गरिरहेका भेटिन्छन् ।
चित्रप्रसादका लागि यो एक वर्षको अस्पताल जीवन कुनै पाँचवटा विषयमा
'डक्ररेट' गरेजत्तिकै भएको छ । यही अस्पताल छँदै उनले लेख्न थालेको डायरीमा
यहाँका कथाव्यथाहरू समेटिने क्रम अझै जारी छ । श्रीमतीलाई पाठेघरमा
क्यान्सर लागेपछि बूढाले गाउँमा अर्कैर् बिहे गरेर बसेको एउटा कथा । एक्लै
रेलको लामो बाटोबाट गोरखपुर हुँदै अस्पताल आएर 'किमो' लिने अनि रेलकै
बाटोबाट गाउँ फिर्ने श्रीमतीको अर्को कथा । अथवा यस्तैयस्तै कथाहरू ।
गएको सोमबार मात्रै काठमाडौं घर भएकी ७ बर्षिया बच्ची सुरुचि श्रेष्ठको
यही अस्पतालमा देहान्त भयो । ब्रेन-ट्युमरका कारण ९ महिनादेखि अस्पताल
राखिएकी यिनै बच्चीको शव नेपाल लैजान सरसहयोग जुटाउने र साथीभाइलाई खबर
गर्ने भरथेगमा पनि व्यस्त थिए चित्रप्रसाद ।
चित्रप्रसादलाई यतिखेर जीवनमा अरू कुराको पछुतो छैन । सदावहार जीवनबारेको
पोहोर-परारसम्म रहेको अनाहकको भ्रम पनि अब टाँसिएको छैन । 'एउटै कुरा भाइ,
मलाई सधैंभर ढाँट्न सिकाइयो । मेरो पढाइ, मेरो योग्यता र मेरो सिकाइमा पनि
ढाँट्नुलाई उत्तम कलाका रूपमा सिकाइयो,' उनी भन्दै थिए, 'मैले सयौंलाई
ढाँटें । नपढेका बाआमाहरूलाई ढाँटें, पहिलोपटक अस्पताल आएका अशक्त र
दु:खियाहरूलाई ढाँटें । उनीहरूलाई लागेका गम्भीर रोगका बारे कहिल्यै थाहा
दिइनँ । निको भइहाल्छ, चिन्ता नलिनोस् भन्दै ढाँटिरहें । यो कुराको मलाई
पाप नलागोस् ।' तर एउटा नियति अथवा दुर्भाग्य के भइदियो भने अहिले आफूलाई
परेपछि मात्रै यो ढाँट्नुको अर्थ चित्रप्रसादले राम्ररी पाएका छन् । उनी
आफैं डाक्टर भएका कारण उनलाई कसैले ढाँट्न सक्दैन । 'सायद मैले
भोग्नुपर्ने पाप यही होला कि म ढाँटिन सक्दिनँ । त्यहीकारण म दिनहुँ मेरा
आँखैसामु मृत्यु नाचिरहेको देख्दै छु,' उनले भने ।
१८ चरणमा 'किमो' दिइसकेको र ६० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको
अवस्थामा अस्पतालले यसै साता उनलाई एउटा 'प्रेस-नोट' थमाएको छ । यो नोटमा
उनलाई थप उपचारका लागि अमेरिका वा क्यानडा जान सिफारिस गरिएको छ । त्यो
पनि ढुक्कसँग स्वास्थ्य उपचारका निम्ति होइन, अरू औषधि 'परीक्षण'का निम्ति ।
यसका लागि चित्रप्रसादसँग बाँकी रहेको वा उनको खलककै सम्पत्तिले पनि
धान्न सक्ने देखिन्न ।
'अब गर्ने 'ट्रायल' औषधिका लागि १६ लाख रुपैयाँ प्रतिमहिना लाग्ने भनिएको
छ,' चित्रप्रसाद भन्छन्, 'राज्यले साथ/सहयोग दियो भने ठीकै हो । अन्यथा
मसँग यत्रो रकम खर्चेर उपचार गर्ने सामथ्र्य छैन ।' उनले दिल्लीबाट नेपाल
फर्केपछि आफूले काम गरेको ठाउँमा सहयोग माग्ने विचार गरेका छन् । संयोगले
यसै साता आफ्नी आमालाई लिएर उपचारमा आएका मुख्य सचिव लीलामणि पौड्यालसँग
पनि उनको भेट भयो । पौडेलले 'उपचारमा केही गर्न सकिन्छ कि भनेर म सरकारको
ध्यानाकर्षण गर्नेछु' भनेका छन् । पूर्ववर्ती बाबुराम सरकारले उनको सबै
उपचार खर्च बेहोर्ने घोषणा गरेको थियो, जो हावामा उडेर गयो ।
२ छोरी र एक छोराका ४४ वषर्ीय पिता चित्रको धेरै सम्पत्ति र फार्मेसी
बिक्री भइसकेको छ । अबको चरणमा उनी ऋणमा लिइएको धापासीको घर बेचेर सबै
कुराबाट मुक्त हुँदै छन् । ' मलाई के थाहा छ भने म अब केही महिना वा
वर्षभित्रमा मर्दै छु । मलाई अरू कुराको अब चिन्ता छैन । म 'नरहेपछि' मेरा
ससाना छोराछोरी र श्रीमतीको जीवन कस्तो होला ? यो सम्झेर म एकान्तमा
रुन्छु,' उनले भने ।
उनको डायरीको पन्नामा एक ठाउँ लेखिएको छ, 'मेरो कोठाको पंखा घुमिरहेको छ ।
पुरानो हुँदै गएजस्तो छ, यो अलिक सुस्त चलिरहेको छ । कुन दिन यो पंखा यति
घुम्न पनि बन्द हुने हो ला, मेरो जीवन पनि यस्तै नै हो । अहिले अलिक सुस्त
बनेको छ, जेनतेन चलिरहेको पंखाजस्तै ।'
फेरि कुरा गरौं जीवनकै । 'एक बारको जुनीमा चित्रप्रसाद शर्मा वाग्ले नामको
व्यक्तिलाई 'डाक्टर' बनेर के फाइदा भयो ?' प्रश्न गरें । 'मैले गाउँमा
प्रशस्त सम्मान र माया पाएँ । तर, आफैं डाक्टर भएर पनि म बेलैमा आफ्नो
रोगको डाइग्नोसिस गर्नमा चुकें,' उनले भने, 'यही दु:ख लाग्छ ।'
यसरी पश्चात्ताप र आँसुका कुरा जति गर्यो, त्यति घाउ बल्भिmने स्थिति
सामुमा थियो । फेरि उनले लेखेको डायरीको अर्को पाना पल्टियो । यहाँ उनले
हुर्कंदै गरेका साना छोरीहरूलाई सम्बो धन गरेर अन्तिम इच्छाजस्तो पत्र
लेखेका रहेछन् । उनले त्यसमा छोरीहरूलाई 'डाक्टर इन्जिनियर जे पनि
तिमीहरूको इच्छा तर मेरो इच्छा सुन्छौ भने तिमीहरू शिक्षक बनेर गाउँ गइदिए
हुन्थ्यो' भनेर लेखेका छन् । जीवनमा दम्भ, घमण्ड नगर्नु भन्दै उनले
छोरीहरूले गाउँमा काम गरिदिए आफू खुसी हुने भन्दै यसलाई आफ्नो 'अन्तिम
इच्छा' जस्तै ठान्न लेखेको पढेर सुनाए ।
यो डायरीको पाना नसिद्धिँदै सामु बसेका चित्रप्रसाद पसिनाले निथ्रुक्कै
भिजेका थिए । यति धेरै आत्मबल भएको पुरुष आँखै सामुमा भक्कानिएको मैले
हेर्न सकिनँ । फेरि भेट होला-नहोला, मन थामेरै म बाहिर निस्किएँ ।
प्रकाशित मिति: २०७० श्रावण २३

No comments:
Post a Comment