Wednesday, August 14, 2013

मुस्लिम तान्दै मधेसी दल

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, श्रावण ३१ - मधेस केन्द्रित राजनीति गरिरहेका दलहरूले ठूलो 'भोट ब्यांक' का रूपमा रहेका मुसलमानहरूलाई आफूतिर तान्न नेतृत्व तहमा आकर्षक जिम्मेवारी दिन थालेका छन् । पछिल्लो जनगणनाअनुसार देशभर ११ लाख ६४ हजार २ सय ५५ मुसलमान छन् । तिनको ९० प्रतिशत तराई/मधेसमा छन् । जहाँ, यादवको संख्या १० लाख ५४ हजार ४ सय ५८ छ ।
पाँचवटा मधेसी पार्टीले मुसलमानलाई केन्द्रीय उपाध्यक्ष बनाएका छन् । अशोक राई नेतृत्वको संघीय समाजवादीले समेत मुसलमानको धेरै संख्या रहेको सर्लाहीका मोहम्मद रिजवान अन्सारीलाई उपाध्यक्ष बनाएको छ । त्यसको उद्देश्य पूर्वसभासद/पूर्वराज्यमन्त्री अन्सारीलाई देखाएर अरू मुसलमानलाई आफूतिर आकर्षण गर्नु हो ।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले गत साता वीरगन्जका मोहम्मद लालबाबुलाई उपाध्यक्ष बनाएको छ । अध्यक्ष यादवका अनुसार जेपी गुप्ताले पार्टी छाडेपछिको रिक्त पदमा लालबाबुलाई ल्याइएको हो । 'मुसलमानहरूलाई आकर्षण गर्न उहाँलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका हौं,' उनले भने, 'हाम्रोमा उपाध्यक्ष पद पावरफुल छ ।' फोरम अध्यक्ष यादवको योजनै मुसलमान समुदायसँग सहकार्य गर्ने छ । केन्द्रीय समितिबाहेक कतिपय जिल्लामा नेतृत्व हाँक्ने जिम्मा पनि फोरमले मुसलमानलाई दिएको छ । आफ्नो समुदायभन्दा झन्डै सवा लाख बढी जनसंख्या रहेको मुसलमान समुदायलाई आकषिर्त गर्नु यादवको उद्देश्य देखिन्छ ।
पार्टी गठनदेखि नै विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) मा सिरहाका नसिर सिद्दिकी उपाध्यक्ष छन् । सिरहा पनि मुसलमानको राम्रो जनसंख्या भएको जिल्ला हो । त्यहाँका निर्वाचन क्षेत्रहरूमा चुनाव हार/जितका लागि मुसलमानको भोट निणर्ायक मानिन्छ । केन्द्रीय समितिमा पनि मुसलमानलाई रामै्र स्थान दिएको लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवले बताए ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पनि रौतहटका शेखअब्दुल जब्बारलाई उपाध्यक्ष बनाएको छ । ठूलो संख्यामा रहेका रौतहटका मुसलमान तान्नै उनले जब्बारलाई उपाध्यक्षको जिम्मेवारी दिएका हुन् । मधेसी जनअधिकार फोरमबाट संविधानसभा चुनाव लड्दा उनले राम्रै मत ल्याएका थिए । केहीअघि जब्बार फोरम गणतान्त्रिक छाडेर सद्भावना प्रवेश गरेका थिए । महतोले मुसलमानको मन जित्न सप्तरीमा 'राम्रो पकड भएका' पूर्वमन्त्री अनिश अन्सारीलाई समेत राम्रो स्थान दिएका छन् । पहाडी मुसलमानको भोट तान्न महतोले कास्की पोखराका हिकमत मियाँलाई सीधै केन्द्रीय समितिमा ल्याएका छन् । मियाँलाई देखाएर गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, पाल्पा, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौंका उक्त समुदायलाई आकषिर्त गर्नु महतोको उद्देश्य हो । उनले पदाधिकारीमा समेत मुुसलमान ल्याउन चाहेका छन् ।
 महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपालले पनि नवलपरासीका अलाउद्दिन अन्सारीलाई उपाध्यक्ष नियुक्त गरेको छ । अन्सारी केही समयअघि राप्रपा छाडेर तमलोपा नेपाल प्रवेश गरेका थिए । मुसलमानको राम्रो उपस्थिति रहेको नवलपरासीमा अन्सारीलाई देखाएर पार्टी मजबुत बनाउने महेन्द्रको उद्देश्य हो । अन्सारी त्यहाँबाट चुनाव लड्ने तयारीमा समेत छन् ।
केहीअघिसम्म राजकिशोर यादव नेतृत्वको फोरम -गणतान्त्रिक) को दुवै महासचिव पदमा मुसलमान -पर्साका शशिकपुर मियाँ र कपिलवस्तुका अकबाल अहमद शाह) थिए । शाह अहिले गणतान्त्रिक छाडेर महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) प्रवेश गरेका छन् । आइतबार तमलोपा प्रवेश गरेका उनले जिम्मेवारी पाइसकेका छैनन् । अघिल्लो संविधानसभा चुनावमा पर्सा-२ बाट लडेका मियाँ भने गणतान्त्रिकमै छन् ।
संविधानसभा विघटनपछि बनेको शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा) ले पनि जिम्मेवार तहमा मुसलमानलाई राखेको छ । रौतहटका इजहारुलहक मिकरानीलाई प्रवक्ता बनाइएको छ भने केन्द्रीय समितिमा जैनुल रायनलगायत छन् । पदाधिकारीमा पनि यो समुदायलाई ल्याउने योजनामा भण्डारी छन् ।
रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना पार्टीमा पनि सहअध्यक्ष मुसलमान समुदायकी गौरी महतो छिन् । सहमहासचिवसमेत उक्त समुदायकै हफिज मियाँ अन्सारी छन् । केन्द्रीय समितिमा पनि रामै्र स्थान दिइएको महासचिव कौशलेन्द्र शर्माले उल्लेख गरे ।
महन्थ ठाकुर नेतृत्वको तमलोपामा भने पदाधिकारी पदमा अहिले मुसलमान छैनन् । उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार पार्टी स्थापनाका बेला राजविराजका अनिस अन्सारीलाई सहमहामन्त्री बनाइएको थियो । उनी महतो नेतृत्वको सद्भावनामा गएपछि तमलोपाले उक्त पदमा अरूलाई नियुक्त गरिएको छैन । तमलोपा केन्द्रीय समितिमा भने कपिलवस्तुका परवेज खाँ, सुभहान अलीलगायत छन् ।
मधेसवादीबाहेक एमाओवादी, कांग्रेस, एमालेलगायत राष्ट्रियस्तरका पार्टीमा भने मुसलमानहरू पोलिटब्युरो, केन्द्रीय सदस्य र सल्लाहकारबाहेक पदमा छैनन् । एमाओवादीले सल्लाहकार र पोलिटब्युरो, कांग्रेसले केन्द्रीय सदस्य, एमालेले पोलिटब्युरो र केन्द्रीय सदस्य पदमा मुसलमानलाई स्थान दिएका छन् ।
मोहम्मद लालबाबु (उपाध्यक्ष)-                   मधेसी जनअधिकार फोरम नेपाल
नसिर सिद्दिकी (उपाध्यक्ष)-                    मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)     
शेखअब्दुल जब्बार (उपाध्यक्ष)-                   सद्भावना पार्टी
अलाउद्दिन अन्सारी (उपाध्यक्ष)-                   तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल
मो.रिजवान अन्सारी (उपाध्यक्ष)-                 संघीय समाजवादी    
शशिकपुर मियाँ (महासचिव)-                    मधेसी जनअधिकार फोरम -गणतान्त्रिक)
इजहारुल हक मिकरानी (प्रवक्ता)-                राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा)
गौरी महतो (सहअध्यक्ष)-                  राष्ट्रिय सद्भावना पार्टी

प्रकाशित मिति: २०७० श्रावण ३१

No comments:

Post a Comment