See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं,
श्रावण ३१ -
डेढ वर्षदेखि आपूर्ति नभएकाले सर्पदंशको उपचारमा प्रयोग हुने विष (एन्टी
स्नेक भेनम) अभाव भएको छ । मुलुकमा बर्सेनि सर्पदंशले करिब ५ हजारको मृत्यु
हुने गरेको छ । तराईका जिल्लामा बर्सेनि प्रतिलाख जनसख्यामा १ सय ६२ जनाको
मृत्यु हुने गरेको अनुमान छ ।
विषालु सर्पले डसेपछि एकमात्र उपचार एन्टी स्नेक भेनम दिनु नै हो ।
'हामीले बारम्बार टेन्डर आह्वान गर्दा पनि कसैले चासो राखेन,' स्वास्थ्य
सेवा विभागका महानिर्देशक डा. लखनलाल साहले भने, 'गत डेढ वर्षदेखि मुलुकमा
एन्टी स्नेक भेनमको आपूर्ति भएको छैन ।' विश्व बंैक र विश्व स्वास्थ्य
संगठनलाई समेत प्रत्यक्ष रूपमा खरिद गरेर उपलब्ध गराइदिन आह्वान गरिएको
उनले बताए ।
नेपालमा हालसम्म भारतमा उत्पादिन एन्टी स्नेक भेनम टेन्डर प्रक्रियाबाट
आपूर्ति हुने गरेकामा भारतमै यसको उत्पादन घटेर माग बढेकाले यो स्थिति आएको
हो । 'भारतमै माग यति उच्च छ कि अरू मुलुकमा आपूर्ति गर्नेबारे चाख
राखिँदैन', स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, 'सरकारले परराष्ट्र
मन्त्रालयमार्फत भारत सरकारलाई आपूर्ति सहज गराइदिन पहल नगरे स्थिति जटिल
हुन्छ ।'
महानिर्देशक डा. साहले एन्टी स्नेक भेनम कुनै पनि मूल्यमा आवश्यक भएको
उल्लेख गर्दै त्यसका लागि एक वर्षदेखि यो प्रयास भइरहेको बताए । डेढ
वर्षअघि किनिएको ३० हजार भाइल र केही महिनाअघि विश्व स्वास्थ्य संगठनले
दिएको करिब २२ हजार भाइल एन्टी स्नेक भेनमबाट जेनतेन माग थेग्ने काम
भइरहेको स्रोतले जनायो । 'अस्पतालहरूले १० वटा माग्दा दुई/तीनवटा पठाएर
जसोतसो थेगिराखिएको छ ।'
नेपालमा करिब १८ प्रजातिका विषालु सर्प छन् । तराईमा मुख्य रूपले गोमन र
करेतले बढी टोक्ने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि
विश्वभरिमा करिब पचास लाखभन्दा बढी व्यक्तिलाई सर्पले टोक्ने गरेको छ ।
सर्पदंशले एक लाख २५ हजारसम्म व्यक्तिको मृत्यु हुन्छ ।
प्रकाशित मिति: २०७० श्रावण ३१

No comments:
Post a Comment