काठमाडौ,
श्रावण ३ -
पाकिस्तानी गिरोहले नेपालको कल रोमिङ दुरुपयोग गरी यहाँका दूरसञ्चार सेवा
कम्पनीहरूलाई करोडौं घाटा पुर्याएका छन् । गिरोहले बेलायतको भोडा फोन र
स्पेनी सिमकार्डबाट करोडौं नेपाली रुपैयाँ ठगी गरिरहेको पत्ता लागेको हो ।
त्यसरी रोमिङबाट कल ठगी गर्ने दुई पाकिस्तानी नागरिक ४९ वर्षीय मोहम्मद
आसिफ र ४३ वर्षीय नविर उर रहमानलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ
गरेको छ । पक्राउ परेकाहरूले कल रोमिङ गरिएका २० भन्दा बढी सिमबाट फोन गरेर
एक सातामा झन्डै २ करोड रुपैयाँ बराबर ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस्तो ठगीलाई 'इन्टनेसनल, रेभेन्यु सेयरिङ पड' (आईआरएसएफ)
भनिन्छ । यस्ता गिरोहले कल रोमिङ भएका सिमकार्ड नेपालमा ल्याएर यहाँबाट
टाढाका देशहरूमा फोन गर्छन् । नेपाल टेलिकम र एनसेल कम्पनीका इन्टरनेसनल
गेटवेमार्फत फोन गरेपछि नेपाललाई घाटा लाग्छ । सट्टामा गिरोहका
व्यक्तिहरूले फोन गरेका देशका कल सेन्टरहरूलाई फाइदा हुने काठमाडौं प्रहरी
प्रमुख एसएसपी सुबोध घिमिरेले बताए ।
नेपालबाट कहिल्यै फोन नगएका देशमा एकै रात घन्टौं कुरा भएपछि सेवा प्रदायक
कम्पनी पनि चकित भएका थिए । 'एकै रातमा १/२ लाख रुपैयाँभन्दा बढीको फोन
हुन थालेपछि एनसेल र एनटीसीले ती सिमकार्ड बन्द गरिदिएका रहेछन्,' घिमिरेले
भने, 'यी दुई व्यक्ति पक्राउ परेपछि रोमिङ कलबाट ठगी हुने गरेको खुलासा
भयो ।'
उनीहरूले नेपाल टेलिकम र एनसेल प्रालिको रोमिङ प्रयोग गरी इस्टोनिया,
लातभिया, लितवानियालगायत मुलुकमा कल गरेर प्रतिमिनेट ४ सय रुपैयाँ नोक्सान
पुर्याएको प्रहरीले जनाएको छ । यसअघि भीओआईपीबाट कल बाइपास गर्नेहरू
पक्राउ पर्दै आएकामा अहिले कल रोमिङबाट ठगी गर्ने समूह फेला परेको हो ।
प्रहरीका अनुसार यो गिरोहका मुख्य नाइके बेलायत, पाकिस्तान र मलेसियामा छन्
। बेलायतमा रहेका व्यक्तिले कल रोमिङ गरिएका सिमकार्डहरू कुरियर गरेर
नेपाल पठाइदिन्छन् । अनि नेपालमा रहेका व्यक्तिले ती सिमलाई सेटमा राखेर
ल्यापटपमार्फत फोन गरेका थिए । उनीहरूले इन्टरनेटमा 'डब्लुडब्लुडब्लु डट
लाइभ डटकम' बाट फोन गरेर छाडिदिने गर्छन् । प्रहरीका अनुसार फोन गएको देशमा
कसैले कुरा नगरी घन्टी मात्र बज्ने र त्योबापत रोमिङको पैसा उता रहेको
व्यक्तिले कमिसन पाउँछन् ।
पक्राउ परेकाहरूले नेपाल आउनुअघि मलेसियामा गएर कल ठगीबारे तालिमसमेत
लिएको प्रहरीले पत्ता लगाएको छ । यिनीहरूले त्यसरी कल गरेबापत साताको ५
हजार अमेरिकी डलर पाउने गरेका थिए । मलेसियाबाट दुई महिनाअघि विशेषज्ञ टोली
नेपाल आएर कल ठगी हुने/नहुने विषयमा अनुसन्धान गरेको थियो ।
कसरी थाहा भो ?
आतंकवादसँग सम्बन्धित अपराध हेर्ने विशेष ब्युरोले ३ साताअघि हवाईमार्ग
हुँदै नेपाल आएका असिफ र रहमानमाथि निगरानी गरिरहेको थियो । 'उनीहरू
दुई/चार दिन यहाँ बसेर चीनको खासा गए,' एक अधिकारीले भने, 'त्यहाँबाट चीनको
गेटवे प्रयोग गरेर फोन गरेको पाइएपछि त्यहींबाट नियन्त्रणमा लिइयो ।'
ब्युरोले आतंकवादसँग सम्बन्धित गतिविधिमा लागेको हुन सक्ने आशंका गरेकामा
उनीहरूले आईआरएसएफ गर्ने गरेको बयान दिएका हुन् । बयानका आधारमा काठमाडौं
प्रहरीले ठमेलस्थित उनीहरू बसेको होटलमा छापा मारी त्यहाँबाट एउटा ल्यापटप,
बेलायती फोनको २६ वटा सिमकार्ड, स्पेनी भोडाफोनको १७ सिमकार्ड, पाकिस्तानी
यु सिमको एउटा र एनसेलका ३ सिमकार्ड बरामद गरेको छ । विदेशमा रोमिङ कल
गर्न प्रयोग भएका २० वटा मोबाइल सेट पनि बरामद भएको छ । पक्राउ
परेकाहरूविरुद्ध एनसेलले झन्डै १ करोड रुपैयाँ बराबर ठगी गरेको अभियोग
लगाउँदै काठमाडौं प्रहरीमा जाहेरी दिएको छ । नेपाल टेलिकमले पनि
उनीहरूविरुद्ध करोडौं ठगीको मुद्दा हाल्ने तयारी गरिरहेको छ । उनीहरूलाई
दूरसञ्चार ऐन, २०५३ अन्तर्गत मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको
प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०७० श्रावण ३
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment