Wednesday, August 28, 2013

गोर्खाल्यान्ड नपाएसम्म आन्दोलन नरोक्न सुझाव



इलाम - दार्जिलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चालाई आधा दर्जन भातृ संगठनले बुधवार लिखित सुझाव बुझाउँदै छुट्टै राज्य प्राप्त हुने संकेत देखानपरेसम्म गोर्खाल्याण्ड आन्दोलन नरोक्न आग्रह गरेका छन्। आगामी कार्यदिशा तय गर्न मोर्चाले आन्दोलनमा होमिएका भातृ संगठनसँग सुझाव मागेको थियो। आन्दोलनका कमजोरी सच्याउँदै भावी रणनीति तय गर्न मोर्चाले ती सुझावलाई महत्वपूर्ण आधार मानेको छ।

दार्जिलिङमा आयोजित बैठकमा मोर्चाका अध्यक्ष विमल गुरुङसमक्ष युवा, नारी, भूतपूर्व सैनिक, विद्यार्थी, कर्मचारी, व्यापारी, किसानलगायत भातृ संगठनका प्रतिनिधिले लिखित सुझाव बुझाएका हुन्। 'प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषण गरी गोर्खाल्याण्ड आन्दोलन अघि बढाइनेछ' बैठकपछि मोर्चाका महासचिव रोशन गिरीले भने, 'मोर्चाको आगामी कार्यदिशा यिनै सुझावका आधारमा तय हुनेछ।'

आन्दोलन चर्किएको झण्डै एक महिना बितिसक्दासमेत पश्चिम बंगाल र केन्द्र सरकारले सम्बोधन नगरेपछि मोर्चा नयाँ रणनीति बनाई अघि बढ्ने तरखरमा छ। 'त्यसै योजनाअनुसार भातृ संगठनबाट हामीले सुझाव लिएका हौं' महासचिव गिरीले थपे, 'अब सधैं बन्द हड्ताल गरेरै अघि बढ्ने कि फरक शैलीको आन्दोलनमार्फत अघि बढ्ने भन्ने टुंगो गर्न सुझाव अनिवार्य थियो।'

दार्जिलिङमा उठिरहेको छुट्टै राज्यको माग बंगालसँग सम्बन्धित नभएको जिकिर गर्दै केन्द्रले सम्बोधन गर्नुपर्ने र नगरेसम्म आन्दोलन जारी राख्न सुझाव दिएको विद्यार्थी मोर्चाका केन्द्रिय सदस्य रोहितविक्रम शर्माले बताए। '१०७ वर्षदेखि उठिरहेको गोर्खाल्याण्डको माग अब निष्कर्षमा पुर्याउनैपर्छ' शर्माले आफ्नो सुझावबारे भने, 'विद्यार्थीहरु पढाई छोडेर आन्दोलनमा होमिएका छन्, नेतृत्व गर्नेहरुले नडगमगाई अघि बढ्नुपर्छ ।'

भारतमा हुने लडाईंमा सबैभन्दा पहिले गोर्खा सैनिकलाई खटाइने उल्लेख गर्दै भूतपूर्व सैनिक मोर्चाका एक पदाधिकारीले 'छुट्टै राज्य माग्दा चाहिं सरकारले तिमीहरु विदेशी हौ, राज्य दिन मिल्दैन भन्ने गरेको' दुःखेसो पोखे। 'अब त्यसरी सहनुहुँदैन, जस्तोसुकै लडाईं लडेर पनि बेग्लै राज्य कायम गर्नैपर्छ' नेतृत्वलाई बुझाएको सुझावबारे उनले भने, 'आन्दोलन गर्ने तर बीचैमा छोड्ने र जनअपेक्षाविपरीत सम्झौतमा टुंग्याउने गर्नुहुँदैन।'

'इतिहास पढ्ने विद्यार्थीलाई अरु समुदायको वीरताबारे घोकाइन्छ, बंगालमा बस्ने १६ लाख नेपालीबारे केही पढाइँदैन' छुट्टै राज्य माग्नुको कारण प्रष्ट्याउँदै नारी मोर्चाकी आशा गुरुङले भनिन्, 'अब मन, बचन र कर्मले होमिने हो, आन्दोलन बीचैमा रोक्नुहुँदैन।' भारतका शीर्षस्थ नेता गोर्खा सैनिककै सुरक्षाघेरामा बसिरहेको उल्लेख गर्दै उनले नेतृत्वलाई गोर्खालीको वीरत्व जोगाउन पनि छुट्टै राज्य चाहिने सुझाएकी छन्।

'सन् २०१० भित्र गोर्खाल्याण्ड कायम गरिसक्ने' दावी गर्दै २००७ देखि मोर्चाले आन्दोलन गरेपनि अपेक्षाअनुसार प्रगति नभएको उल्लेख गर्दै कर्मचारी संगठनले अब कुनै झिनामसिना सम्झौता नगर्न नेतृत्वलाई सुझाव दिएको छ । 'जनतालाई पहिल्यै गोर्खाल्याण्ड हुन्छ भनेर आन्दोलन थालिएको थियो तर वीचमा 'जिटिए' सम्झौता गरियो' संगठनको सुझावमा लेखिएको छ, 'अब त्यसरी जनतालाई धोका दिइनुहु"दैन ।'

भातृ संगठनका सुझाव अध्ययन गरी मोर्चाले आगामी ३० अगष्टमा हुने गोर्खाल्याण्ड जोइण्ट एक्सन कमिटीको बैठकमा आन्दोलनको आगामी रोडम्याप बनाउनेछ । तेलङ्गनालाई छुट्टै राज्य बनाइएपछि दार्जिलिङमा चर्किएको आन्दोलनलाई अन्य पा"च पार्टीले समर्थन गर्दै आएका छन् । अनिश्चितकालीन बन्द जारी रहेको दार्जिलिङमा हुन लागेको कमिटीको सर्वपक्षीय बैठकलाई सबैले उत्सुकतापूर्वक पर्खिरहेका छन्।

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment