Sunday, August 4, 2013

उपाधि नेपालले जित्ने दाबी




See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २१ - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापाले साफ च्याम्पियनसिप २०१३ को उपाधि देश बाहिर जान नदिने दाबी गरेका छन् । प्रतियोगिताको तयारीका लागि टिम बहराइन र कुवेततर्फ प्रस्थान गर्नु अगाडि कप्तान थापाले आइतबार भने, 'अहिले टिमको सबैभन्दा मजबुत पक्ष भनेको उच्च मनोबल हो ।'
उनले टिममा हुन सक्ने कमजोरीलाई दुई अरब देशको भ्रमणका क्रममा सच्याउने बताए । 'अहिले नेपाली टिमको सबैभन्दा बलियो र राम्रो पक्ष सकारात्मक सोच रहेको छ । हामी प्रतियोगितामा कडा मिहिनेतसाथ खेल्नेछौं र उपाधि जित्ने एकमात्र लक्ष्यले खेल्नेछौं । हामी साफ च्याम्पियनसिपको उपाधिमाथि कब्जा गर्न चाहन्छौं,' उनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठको नेतृत्वमा रहेको टिमका प्रशिक्षकद्वयमा ज्याक स्टेफनोस्की र रिचर्ड ओर्लोस्की छन् । यस्तै प्राविधिक निर्देशकमा कृष्ण थापा छन् । 'बहराइन र कुवेती फुटबल हाम्रो तुलनामा अगाडि छ, त्यसैले लगभग तीन साताको भ्रमणमा हामीले धेरै सिक्नेछौं,' श्रेष्ठले भने ।
राष्ट्रिय टिममा कप्तान थापासँगै किरण लिम्बू, रितेश थापा, विशाल श्रेष्ठ, सन्दीप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, सविन्द्र श्रेष्ठ, विजय धिमाल, अनन्त तामाङ, जगजित श्रेष्ठ, राजु तामाङ, भोलानाथ सिलवाल, विजय गुरुङ, विक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, टंकबहादुर बस्नेत र टेकबहादुर बुढाथोकी छन् ।
यस्तै टिमका अन्य सदस्यमा जुमनु राई, भरत खवास, सन्तोष साहुखल, अनिल गुरुङ र विमल घर्तीमगर छन् । भ्रमणका क्रममा टिमले चार अथवा त्यो भन्दा बढी मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसमध्ये अहिलेसम्म बहराइनको यू-२३ ओलम्पिक टिमसँग खेल्ने मात्र तय भइसकेको छ । 'बाँकी कार्यक्रम प्रशिक्षकसँगको सल्लाहमा भ्रमणकै क्रममा टुंगो लाग्नेछ,' श्रेष्ठले थपे ।
प्रतियोगितामा सहभागी हुने टिमको अन्तिम सूची कुवेतबाट फर्केपछि मात्र हुनेछ । राष्ट्रिय टोलीलाई २० खेलाडीमा घटाइनेछ र यसको निर्णय प्रतियोगिता सुरु हुन एक साता अगाडि तय हुनेछ । नेपालको आफ्नो पहिलो खेल पाकिस्तानसँग रहेको छ । त्यसयता नेपालले क्रमशः बंगलादेश र भारतसँग खेल्नेछ ।
कठिन समूह
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक स्टेफनोस्कीले साफ च्याम्पियनसिप २०१३ मा आफ्नो समूह कठिन समूहका परेको स्वीकारे । उनले भने, 'समूह चुनौतीपूर्ण छ । त्यसैले हामीले कडा मिहिनेत गर्नुपर्ने पनि निश्चित छ । हामी प्रत्येक खेलअनुसार रणनीति बनाउनेछौं, हामीले प्रतियोगितालाई लिएर सकारात्मक सोच बनाइरहेका छौं ।'
नेपालको समूहमा डिफेन्डिङ च्याम्पियन भारतसँगै बंगलादेश र पाकिस्तान छन् । प्रतियोगितालाई लिएर पहिलोपल्ट मिडियासँग कुराकानी गरिरहेका प्रशिक्षक स्टेफनोस्कीले भने, 'प्रतियोगिताका लागि अहिलेको बहराइन र कुवेत भ्रमण फलदायी हुने निश्चित
छ । नेपालको तुलनामा बलिया टिमसँग खेल्न पाउनु राम्रो अवसर हो ।'
देशलाई जित आवश्यक
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आइतबार नै नेपाली राष्ट्रिय टिमको बिदाइमा शुभकामना व्यक्त गरे । त्यस अवसरमा लामाले भने, 'अहिले सिंगो देशलाई जित आवश्यक रहेको छ । हामीसँग स्रोत र साधनको कमी छ, तर पनि सफलता आवश्यक छ ।'
उनले नेपाली टिम साफ च्याम्पियनसिप २०१३ जित्न सक्षम रहेको बताए । 'अहिले नेपाली फुटबल टोलीसँग देशको जिम्मेवारी बोक्ने अवसर प्राप्त भएको छ । यस्तो अवसर अरूले पाउँदैनन् । त्यसैले खेलाडीको काम र कर्तव्य पनि बढेको छ । नेपाली फुटबल टिमको सम्भावना धेरै छ,' सदस्य सचिव लामाले भने ।
यस्तै अध्यक्ष थापाले पनि नेपाली फुटबल टिम साफ च्याम्पियनसिप जित्न सक्षम रहेको बताए । 'नेपालले यसपल्ट साफ च्याम्पियनसिप जित्ने हो भने हामीले खेलाडीलाई अहिलेसम्म नेपाली खेलकुदमै नभएको बृहत् सम्मान र पुरस्कार दिनेछौं,' उनले भने, 'नेपाल प्रतियोगिताको प्रमुख दाबेदार रहेकामा कुनै शंका छैन ।'



प्रकाशित मिति: २०७० श्रावण २१

No comments:

Post a Comment