See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण १८ - पशु/पक्षी रोग विशेषज्ञले व्यापक रूपमा बर्डफ्लुको प्रसार हुनुको एउटा महत्त्वपूर्ण कारण केही व्यवसायीले गैरकानुनी रूपमा आफ्नो फार्ममा बर्डफ्लुविरुद्घको खोप लगाउनु रहेको दाबी गरेका छन् ।
उनीहरूका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि मुलुकका केही कुखुरा व्यवसायीले गैरकानुनी रूपमा लुकीछिपी आफ्नो पोल्ट्री उत्पादनमा बर्डफ्लु रोग विरुद्घको खोप लगाउने गरेका छन् ।
यो खोप मुलुकमा आयात गर्न पाउने कानुनी व्यवस्था नभए पनि अवैध रूपमा भित्रिने गरेको छ । 'यस पटकको बर्डफ्लु फैलावटपछि व्यवसायीहरूले भित्रभित्रै खोप लगाएको कुरामा हामी अनौपचारिक रूपमा नजिकसमेत पुगेका छौं,' पशु सेवा विभागका एक वरिष्ठ अधिकारीले भने, 'व्यवसायीहरूले कुखुरामा बर्डफ्लुविरुद्घको खोप लगाएका थिए, एउटा कुखुरा मरेपछि जाँच गराउँदा बर्डफ्लु देखियो र मार्नुपर्यो ।'
विज्ञहरूका अनुसार खोप पनि एक प्रकारको भाइरस नै हो । यसमा भाइरसको कम मात्रा हालेर विभिन्न प्रक्रियाअन्तर्गत निस्त्रिmय गरिन्छ । यो खोप स्वस्थ कुखुराको शरीरमा जाँदा जुन भाइरस छ त्यसको विरुद्घमा काम गर्छ ।
खोप लगाएको फार्मका सबै कुखुराको शरीरमा बर्डफ्लुको भाइरस रहन्छ । 'यो प्रक्रियामा हामी जस्तो जैविक सुरक्षाका उपायहरू कम मात्रै पालना गरिने ठाउँमा भाइरस फैलिनु सबैभन्दा ठूलो खराबी हो,' विभाग स्रोतका अनुसार, 'खोप लगाएको स्वस्थ कुखुरामा समेत बर्डफ्लुको भाइरस रहन्छ, यस्तो स्थितिमा मानव संक्रमणको सम्भावना कायम नै रहन्छ ।'
विभाग स्रोतका अनुसार हालसम्म खोप लगाउनु गैरकानुनी रहेकै समय उच्चस्तरीय दबाबले मुलुकको कुखुरामा समेत खोप लगाउने सरकारबाट निर्णय भए पनि विस्तृत कार्यविधि नबनेकाले यो कार्यान्वयन हुन सकेको छैन ।
विश्वका अन्य मुलुकमा खोप लगाउँदा कुखुरालाई निगरानी गरिने जनाउँदै स्रोतले भन्यो, 'खोप लगाइएका कुखुराको सुलीमा बर्डफ्लु भाइरसको कति मात्रादेखि राखिएको छ यसको समेत निगरानी आवश्यक हुन्छ ।' उनका अनुसार खोप लगाइएका कुखुराको सुलीबाट समेत बर्डफ्लु रोग सर्ने सम्भावना हुन्छ ।
'आजको मितिसम्म विश्वको कुनै पनि मुलुकमा कुखुरामा दिइने बर्डफ्लु विरुद्घको खोप पूर्ण सफल भएको छैन,' नेपाल भेटनरी एसोसिएसनका महासचिव डा.शीतलकाजी श्रेष्ठले भने, 'यो भाइरसको वंशानुगत गुण परिवर्तन हुने गरेकाले खोप त्यति प्रभावकारी देखिने गरेको छैन ।'
कुनै पनि भाइरल रोगका लागि खोप अपरिहार्य भए पनि बर्डफ्लु भाइरसको स्वरूप परिवर्तन हुने भएको र मुलुकमा जैविक सुरक्षा आदिको विषम स्थिति देखिने गरिएको अवस्था समेत औंल्याउँदै उनी देशभरिको बर्डफ्लु भाइरसको इपिडिमियोलोजिकल अध्ययन हुनुपर्ने आवश्यकतासमेत औंल्याउँछन् ।
प्रकाशित मिति: २०७० श्रावण १८
No comments:
Post a Comment