Monday, July 22, 2013

» मुख्य समाचार » एमाओवादी सञ्चार नीति बनाउँदै दैनिक पत्रिका प्रकाशन गर्ने तयारी -


काठमाडौं, श्रावण ८ - चुनावी माहौल सिर्जना गर्न एमाओवादीले एक महिने निर्वाचन अभियान सञ्चार नीति तय गरेको छ । तीन दिनसम्म चलेको विस्तारित बैठकले अभियानमा जाने नेताका लागि सञ्चार नीति सार्वजनिक गरेको छ ।
विस्तारित बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा निर्वाचन अभियानमा २ सय ४० निर्वाचन क्षेत्रमा जाने नेताहरूले स्थानीय रूपमा सञ्चार माध्यममार्फत सम्बोधन गर्ने उल्लेख छ । निर्वाचन क्षेत्रमा जाने नेताहरूले स्थानीय एफएम रेडियो र अन्य सञ्चार माध्यममा निर्वाचन अभियानबारे धारणा राख्नुपर्ने बैठकले निर्णय गरेको छ । त्यसको तयारीका लागि स्थानीय नेताहरूलाई निर्देशनसमेत दिइसकेको छ ।
उनले निर्वाचन अभियानका बेला स्थानीय रूपमा सामान्य नीति बनाएको उल्लेख गरे । 'संविधानसभा निर्वाचनलाई लक्षित गरी मिडिया नीति बनाउने तयारी भए पनि गृहकार्य गर्न बाँकी छ,' उनले भने ।
निर्वाचनका बेला सबै सञ्चार माध्यमका लागि नीति तय गरिने उनले उल्लेख गरे । 'त्यसमा सामाजिक सञ्जाल पनि पर्नेछन्,' उनले भने ।
एमाओवादीले निर्वाचनलाई लक्षित गरी आफ्नै दैनिक पत्रिका प्रकाशन गर्ने तयारीसमेत गरेको छ । त्यसबारे गृहकार्य भइरहेको स्रोतले जनायो । केही समय चलेर बन्द भएको 'समाचार दैनिक' को पुनः प्रसारण सुरु गर्ने कि अर्को निकाल्ने भन्नेमा टुंगो भइसकेको छैन । स्थानीय सञ्चार माध्यम, विशेषगरी एफएम रेडियोबाट प्रचारप्रसार तीव्र पार्ने उसले जनाएको छ । प्रायः जिल्लामा माओवादी पक्षधर एफएम रेडियोसमेत छन् ।
त्यसबाहेक निर्वाचन प्रचारप्रसार सामग्री बनाउने उसले जनाएको छ । छापा, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालका लागि पार्टीको मूल नारासहित फरक-फरक प्रचार सामग्री बनाउने तयारी उसको छ ।
गएको संविधानसभा निर्वाचनमा माओवादीले सञ्चार माध्यमबाट प्रचारप्रसार युद्ध निकै चर्काएको थियो । यो निर्वाचनका लागि सञ्चार नीति भने केही दिनमा तय गर्ने प्रवक्ता सापकोटाले बताए । 'अब छिट्टै सम्बन्धित सबै पक्षको सुझाव सल्लाहका आधारमा निर्वाचनसम्बन्धी सञ्चार रणनीति बनाउन गृहकार्य थालिने छ,' उनले भने ।
गत संविधानसभा निर्वाचनमा माओवादीले 'अरूलाई हेर्‍यौं पटक-पटक, माओवादीलाई हेरौं यस पटक' भन्ने नारा तय गरेको थियो । साउन १० गतेदेखि सुरु हुने एक महिने अभियानका लागि उसले 'पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, दोस्रो संविधानसभा निर्वाचनका लागि जनसम्बन्ध अभियान' मूल नारा तय गरेको छ ।

प्रकाशित मिति: २०७० श्रावण ८
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment