काठमाडौ,
श्रावण ९ -
पछिल्लो पटक गरिएको एक अध्ययन अनुसार मुलुकमा दैनिक दुई जना बलात्कृत हुने
गरेका छन् । बैशाख र जेठमा मात्रै १ सय ४ बलात्कारका घटना भएको महिला
पुर्नस्थापना केन्द्र (ओरेक) ले गरेको अध्ययनबाट देखिएको हो । यस अवधिमा १०
महिलामाथि बलात्कारको प्रयास भएको छ । अधिकांश प्रयास आफन्त, छिमेकी र
शिक्षकबाट भएको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।
ओरेकले दुई महिनाका पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा यो प्रतिवेदन
तयार पारेको हो । अझै कयौं घटना सर्वाजनिक हुन नसकेको हुन सक्ने अनुमान छ ।
नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालका अनुसार अधिकांश वलात्कारीहरू
बेरोजगार, मदिरा सेवन गर्ने, आफन्तभित्र आउजाउ गरिरहने व्यक्ति छन् ।
'अधिकांश घटनामा पीडितका बारेमा सबै जानकारी राख्ने र अप्ठेरोमा पारेर
युवतीलाई बलात्कार गर्ने गरेको पाइएको छ,' सिलवालले भने । 'यो तथ्याङबाट
मुलुकको सामाजिक अवस्था कसरी तल्लो स्तरमा गिर्दैछ भन्ने देखिन्छ'
समाजशास्त्री सुरेन्द्र कोइराला भन्छन्, 'बलात्कारजस्तो जघन्य अपराधका दोषी
खुलेआम हिडिरहँदा राज्य मौन हुनु र कतिपय अवस्थामा त राजनीतिक दलले समेत
दोषीलाई संरक्षण गर्नु अझ भयावह पक्ष हो ।'
समाजमा बढ्दो खुलापनको व्यवस्थापन गर्न नसक्नु र यौनजन्य गतिविधिका लागि
आम सञ्चारमाध्यमका सामाजिक सञ्जालहरूको दुरुपयोग हुनलो पनि यस्तो अराजकता
बढेको कोइरालाको विश्लेषण छ । 'यसबाट बेरोजगारी र अन्य तनाब झेल्न नसकेपछि
जे पायो त्यही गर्दै हिड्ने मनोवृत्ति बढेको देखिन्छ' उनले भने ।
अपराधीहरूप्रति राज्यसंयन्त्रको जस्तो व्यवहार हुनु पर्ने हो त्यो नहुदा
पनि यस्तो मनोवृत्तिले प्रोत्साहन पाइरहेको उनी बताउँछन् । यो स्थिति रहन
नदिन ''बलात्कारसम्बन्धी कानुनी व्यवस्थाबारे चेतना फैलाएर महिलाका साथै
पुरुषलाई पनि मनोपरामर्श गराउनु पर्ने' अधिवक्ता मीरा ढुङ्गाना बताउँछिन् ।
'त्यसका लागि वलात्कारको कारण, उमेर समूह, वर्ग जस्ता पक्षहरूको गहन
अनुसन्धान गरी जस-जसलाई आवश्यक पर्ने हो उनीहरूलाई मनोबैज्ञनिक परामर्श दिन
सके मात्र यस्ता अपराध नियन्त्रण हुन सक्छन्' उनी भन्छिन् ।
कानून के भन्छ ?
बलात्कारसम्बन्धी विद्यमान कानुन अनुसार १० वर्ष मुनीकालाई बलात्कार गरे
१० देखि १५ वर्ष कैद, दश देखि १४ वर्ष सम्मकालाई गरे ८ देखि १२ वर्ष र १४
वर्ष वा सोभन्दा माथीका लाई गरे ५ देखि १० वर्षसम्म कैद हुन्छ । पिडीतले
बलात्कार भएको ३५ दिनभित्र उजुरी दर्ता गराइसक्नुपर्छ । कारणबस उक्त
अवधिभित्र दर्ता नगराए उजुरी लाग्दैन ।
हदम्यादको यो प्रावधानले पनि दोषीहरूलाई उम्कन सजिलो भएको ढुंगाना वताउँछिन् ।
यस्ता अपराध नियन्त्रण गर्न राजनीतिक दलको पनि महत्वपूर्ण भूमिका हुने उनी
बताउछिन् । 'अदालतका फैसला कारवाही गराउने निकायको पहिचान नहुनुले पनि
पीडितले न्याय पाउन नसकेका हु्,' उनले भनिन् ।
प्रकाशित मिति: २०७० श्रावण ९
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment