Thursday, August 22, 2013

गोलमेचको प्रक्रिया तय गर्न बाँकी


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौं, भाद्र ७ - प्रमुख दलको उच्चस्तरीय राजनीतिक समिति र नेकपा- माओवादीलगायत अन्य दलसूग 'गोलमेच सभा' गर्ने सैद्धान्तिक सहमति भए पनि प्रक्रिया तय गरिएको छैन । प्रमुख दलहरूले गोलमेचसभा वा सर्वदलीय बैठक जे भने पनि संविधानसभा निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
विशेष गरी नेकपा- माओवादीले निर्वाचनमा आउने इमान्दार प्रतिबद्धता जनाए मंसिरको निर्वाचन मितिबारे समेत पुनर्विचार गर्न सकिने स्रोतहरूको भनाइ छ । तर माओवादीले गोलमेचलाई निर्वाचन सार्ने रणनीतिका रूपमा लिएको देखिए जसरी भए पनि मंसिर ४ मै चुनाव गर्ने जनाइएको छ ।
'गोलमेचसभा वा सर्वदलीय बैठकका लागि धेरै समय खर्च गर्नु हुँदैन भन्ने कुरा भएको छ,' एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने, 'गोलमेचसभा गर्नुअघि दलहरू निर्वाचनका लागि एउटा समझदारीमा पुग्नुपर्छ ।'
संविधानका अन्तरवस्तु, संविधानसभा निर्वाचनलगायतका विषयमा सहमति गर्न माओवादीले गोलमेच सम्मेलनको माग गर्दै आएको छ । माओवादी सचिव देव गुरुङले गोलमेचसभा अगावै निर्वाचनमा जानेबारे निर्णय गर्न नसकिने बताए । 'सबै विषयको निर्णय गोलमेचसभाले निर्णय गर्ने कुरा हो । त्यो सभाले नै राष्ट्रिय सहमतिका लागि निर्णय गर्नुपर्छ,' उनले भने ।
'मंसिर ४ को निर्वाचनका लागि भ्याइन्छ, भ्याइूदैन, अहिले भन्न सकिन्न,' गुरुङले भने, 'तर अर्को संविधानसभा नआउँदासम्म गोलमेचसभाले राष्ट्रिय मुद्दाहरूको निर्णय गर्नुपर्छ । यो काम चार दलले मात्र गर्नु हुन्न ।'
प्रमुख दलले संविधानसभा निर्वाचनका लागि र माओवादीले मंसिरको निर्वाचन सार्ने सर्तमा गोलमेचसभा गर्ने सर्त राख्ने सम्भावनासमेत छ । यसबारे यही साताभित्र टुंगो लगाउने तयारीमा दलहरू छन् । प्रमुख दलले मंसिर ४ को निर्वाचन गर्न र माओवादीले त्यसलाई पर धकेल्न जोड गरेका छन् ।
सरकार र राजनीतिक समितिसूग भएको वार्तामा माओवादीले नेतृत्व गरेको गठबन्धनले गोलमेचसभाबाट संविधानसभाको मुद्दा टुंगोमा पुर्‍याउने माग गरेको छ । गठबन्धनमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले प्रमुख दलले आफ्ना माग मानेमा मंसिर ४ को निर्वाचनमा सहभागी हुन समस्या नभएको बताए । 'हामीले सरकार र राजनीतिक समितिसूगको वार्तामा अघि सारेका मागमा राष्ट्रिय सहमति भए मंसिर ४ मान्न तयार छौं, ८ गते सार्न पनि मान्छौ,' उनले भने, 'हाम्रो भनाइ राष्ट्रिय सहमतिको आधारमा नेपालको राजनीति चल्नुपर्‍यो ।'
बिहीबारको वार्तामा वैद्यले निर्वाचनको मितिभन्दा आफूले उठाएका मुद्दामा केन्दि्रत हुन प्रमुख दलका नेताहरूलाई आग्रह गरेका थिए । माओवादीले घोषित रूपमा संविधानसभाको निर्वाचन बहिष्कार गर्ने अभियान चलाइरहेको बेला गोलमेचसभाका लागि सैद्धान्तिक सहमति भएको हो । माओवादीभित्र पनि निर्वाचनमा जाने/नजानेबारे विवाद छ ।
प्रकाशित मिति: २०७० भाद्र ७

No comments:

Post a Comment