Thursday, July 11, 2013

» मुख्य समाचार » बाढीले ८ को मृत्यु केही बेपत्ता, सयौं विस्थापित

विराटनगर, असार २८ - पूर्वका जिल्लाहरूमा आएको बाढीले ८ जनाको ज्यान गएको छ । केही बेपत्ता भएका छन् भने झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा कयौं विस्थापित भएका छन् ।
सुनसरी तनमुना ५ का ३५ वर्षीय दुखीलाल उराउको टेंग्राहा खोलामा डुबेर मृत्यु भएको छ भने सिराहा सिलोर्बा पछवारी ७ का चारवर्षे बालक भैरव यादवले पोखरीमा डुब्दा ज्यान गुमाएका छन् ।
यस्तै खोलाले बगाउँदा मोरङ सिंहदेवीका सुजन लिम्बूको मृत्यु भएको छ । ओखलढुंगामा डुबेर एक जनाले ज्यान गुमाएका छन् भने विराटनगर-५ का १८ वर्षीय निशान्त न्यौपानेको पास्ता खोलामा डुब्दा मृत्यु भएको छ । विराटनगरमै करिब ४० वर्षकी महिला मृत भेटिए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यसैगरी खाडलमा जमेको पानीमा डुबेर झापामा दुई वर्षे बालक र एक महिलाको ज्यान गएको छ । झापामै बगेर तीनजना बेपत्ता भएका छन् । विभिन्न खोलाको बाढीमा परी शिव राई, धीरज ताजपुरिया र पहिचान नखुलेका अर्का एक युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढी पसेर घर जोखिममा परेपछि मोरङका विभिन्न गाउँका हजारभन्दा बढी विस्थापित परिवारमध्ये पानी पर्ने क्रम मत्थर भएपछि बिहीबारबाट केही घर र्फकन थालेका छन् । विभिन्न खोलामा आएको बाढी बस्ती र घरमा पसेपछि उनीहरू आफन्त, विद्यालय, गाविस कार्यालयलगायत सार्वजनिक स्थलमा शरण लिएर बसेका थिए । अझै पनि दर्जनौं परिवार सार्वजनिक स्थलमै बस्न बाध्य छन् ।
केसलिया खोलाको बाढी पसेर विराटनगर उपमहानगरपालिकाको ब्रह्मपुराका सयभन्दा बढी परिवार विस्थापित बनेका छन् । लोहन्द्रा खोलाको बाढीले मोरङ कटहरीका सयभन्दा बढी सुकुम्बासी परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैगरी बक्राहा खोलाको बाँध भत्किएर बाढी गाउँ पसेपछि बरडंगा गाविसका तीन सय परिवार विस्थापित छन् । मोरङका बेलबारी, रंगेली, उर्लाबारी, गोविन्दपुर, इटहरा, मोतीपुरलगायत क्षेत्र प्रभावित छन् ।
कोसीमा पानीको बहाव घटबट हुने क्रमसँगै सुनसरीको श्रीलंका टप्पु क्षेत्रमा कटान सुरु भएको छ । पाँच वर्षअघि पूर्व सोझिएर तटबन्ध भत्काएको कोसीको बहावलाई च्यानलमार्फत पश्चिमतर्फ सोझ्याइएपछि कोसीको भंगालोबीचमा पर्ने श्रीलंका टप्पु प्रभावित बनेको हो । यसैगरी पूर्वी तटबन्धलाई पानीको तीव्र बहावबाट जोगाउन बनाइएका केही संरचनामा कटान हुन थालेको छ ।
बक्राहा बाढीबाट बस्ती जोगाउन सेना, प्रहरी र स्थानीय बासिन्दाले बाँस र तारजाली लगाउनुका साथै बोरामा बालुवा भरेर रोक्न पहल गरिरहेको मोरङ प्रशासनले जनाएको छ ।
उता सुनसरीको महेन्द्रनगर ५ को जलाल गाउँ आसपास क्षेत्रमा कोसी कटान बढेको छ । 'कटान नरोकिए बस्ती बाँकी रहँदैन,' स्थानीय श्याम सुब्बाले भने ।
झापामा १०६४ विस्थापित झापामा करिब तीन सय बढी परिवारका एक हजार एक सय ६४ जना विस्थापित भएका छन् । प्रहरीका अनुसार पाँचगाछीमा ३ सय ५०, राजगढका ३ सय ६१, भद्रपुर २ सय ११, महाभारा ४ मा ९०, टाघनडुवामा ५३, शरणामति ५१, गौरीगन्जमा ३७ र सतासीधाममा ३८ जना विस्थापित छन् । सतासीधाम ४ का अमरबहादुर राई, श्रीप्रसाद राई, शुरवीर भण्डारी र प्रेमबहादुर विकलगायतको २२ घरमा बाढीले क्षति पुर्‍याएको छ । जिल्लाका ८ सयभन्दा बढी घर डुवानमा परेका छन् । विस्थापितहरू विद्यालय, गाविस भवन र छिमेकमा आश्रय लिएर बसेको प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जनाए । विस्थापितलाई जिल्ला प्रशासन, दैवीप्रकोप उद्धार समिति र रेडक्रसले दाल, चामल, नुन, तेललगायत वितरण गरेको पनि उनले जनाए । 
वर्षासँगै रतुवा, मावा, कमल, कन्काई, बिरिङ, मेचीलगायतका नदीमा पानीको बहाव बढ्दा साढे बाह्र बिघा जमिन कटान भइसकेको छ । टाघनडुब्बा, कुमरखोद, पथरिया र घेराबारीका ५ काठे पुल बगेका छन् ।
चार गाविसका घर डुबानमा
सप्तरीका चार गाविसमा पाँच दर्जनभन्दा बढी घर डुबानमा परेका छन । खाँडो खोलाको बाढीले तिलाठी, बेल्ही तथा सुन्दरी खोलाको बाढीले बरमझिया र पोर्ताहा गाविसका बस्ती डुबानमा परेका हुन् । नेपाल-भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी र भारत बिहार सुपौलको कुनौली पञ्चायतबाट बग्ने खाँडो खोलाको मुहान तीन वर्षदेखि बन्द भए पनि त्यसलाई खुलाउन थालिएको काम अधुरै रहेकाले तिलाठी र बेल्हीमा बाढी पसेको हो ।
पाँच घर पहिरोमा परे
धनकुटामा ५ घर पहिरोमा परेका छन् । पहिरोले धनकुटा नगरपालिकामा तीनघर भत्काएको छ भने आँखीसल्ला गाविसमा दुई घर बगाएको छ । यस्तै आँखीसल्लास्थित स्वास्थ्य चौकी र ठाकुरदेवी उच्चमाविलाई पनि क्षति पुर्‍याएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सूर्यप्रसाद उपाध्यायले बताए ।
हिलेको सिजाली टोलस्थित गोविन्द मगरको पोल्टी र्फम रहेको दुइटा घर भत्केको हो । किराना पसल, घरभित्रका धनमाल नष्ट हुँदा १७ लाख रुपैयाँ बराबरको क्षति भएको उपाध्यायले जनाए । यस्तै धनकुटा नगरपालिका ४ देब्रेबासस्थित दुर्गाबहादुर राईको घर पनि भत्किएको छ ।
यसैबीच मोरङ व्यापार संघले बाढीपीडितलाई चिउरा, चाउचाउ, बिस्कुट, प्याजलगायत खाद्यवस्तु उपलब्ध गराएको जनाएको छ । ग्रामीण पुनर्निर्माण संस्थाले त्रिपाल, सारी, गुन्द्री, टिसर्टलगायत उपलब्ध गराएको छ ।










प्रकाशित मिति: २०७० असार २८ https://www.facebook.com/nepalinewss

No comments:

Post a Comment