Thursday, July 11, 2013

» मुख्य समाचार » ४५ सालमा लिइएको ऋण ६३ मा तिरियो

दोहा (कतार), असार २७ - गएको जुन २० बिहानै धनुषाका शुभनारयण टर्रेतले आफूजस्ता ५० जनाको नेपाली कामदारको तलब लिएर ठेकेदार फरार भएको भन्दै सम्पर्कमा आए । दोहाको नेसनलस्थित एउटा क्याम्पमा उनीहरूलाई भेट्न जाँदा एउटै क्याम्पमा १० जना बढी बसेका रहेछन् । त्यसमा भेटिएका सबैभन्दा पाका थिए, तिलकपुर—३, नवलपरासीका कुलप्रसाद लामिछाने । उनी घर जाने पर्खाइमा जुन १ बाट सुतेका रहेछन् । ५२ वर्षिय लामिछानेले निरन्तर तलब नपाएपछि कतार छाडेर जाँदै रहेछन् ।

घर जान नपाउँदा उनलाई सबैभन्दा चिन्ता असार महिनाको लागेको रहेछ । 'घरबाट दैनिकजसो बूढीले सबैको खेत रोपिसकेको छ । हाम्रो बाँझै रहने भयो भनेर फोन गर्छिन्,' उनले भने, 'गाउँमा असार महिना लागेको छ, यता आफू भने मंसिरमा जस्तो केही काम नभएको जसरी सुतेर बस्नुपरेको छ ।'

दुई वर्षअघि कतार आएका लामिछानेका दुई छोराहरू पनि वैदेशिक रोजगारीमा उडेका छन् । जेठो कतारमै होटलमा काम गर्छन् भने महिला मलेसियातिर लागेका छन् । छोराहरू दुवै विदेश भए पनि आफूले जीवनमा गुमाएको खेत जोड्न कतार आएको बताउँछन् । 'मेरो दुई बिघा खेत थियो,' उनले भने, 'एक बिघा गाईले खाइदियो । त्यो एक बिघा जोड्न सकिन्छ भनेको सकिएन ।'

लामिछाने गाईपालन व्यवसाय गर्दा उनी नराम्रोसँग डुबेका रहेछन् । ०४५ सालतिर भारत जाँदा गाईपालन व्यवसायबाट राम्रै भएको देखेपछि उनले योजना बुनेछन्, 'यो गाईपालन व्यवसाय गरेमा छोराहरू पनि विदेश जानु पर्दैन म पनि  जानु नपर्ने । घरमै बसेर दैनिक जीवनयापन सहज हुन्छ ।' त्यो भन्दै ०४६ बाट गाईपालन सुरु गरे । गाईको लागि गोठ मात्रै एक लाख ७५ हजार रुपैयाँमा बनाए । भारतको मोडीग्राम भन्ने ठाउँबाट महँगा १५ वटा गाई झिकाए । एउटा गाईलाई  ३५ देखि ४५ हजारसम्म तिरे । गाईका लागि डाक्टर राखे । त्यो सबै गर्नको लागि खेत र जग्गा बैंकमा राखेर १५ लाख रुपैयाँ ऋण लिएका थिए ।

सबैका दिन आउँदैन रहेछ । जसमा लामिछाने पनि परे । जोशको साथ सुरु गरेको गाईपालन व्यवसाय तीन महिना नपुग्दै खत्तम भइदियो । रोग लागेर गाईहरू भकाभक मर्न थाले । बैंकको किस्ता तिर्न सक्ने कुरै भएन । हेर्दाहेर्दा गोठ रित्तिन महिना दिन पनि लागेन । केही महिनामै बैंकको पत्र आयो, 'सावा ब्याज गरी १७ लाख बुझाउनुहोला । नत्र घर खेत जान्छ ।'

त्यसपछि लामिछानेले साथीभाइबाट ऋण लिएर बैंकको ऋण तिरे । 'साथीभाइलाई वर्षभर ब्याज मात्रै बुझाए पनि हुने भनेर नियमित किस्ता तिर्न नसक्ने भएकोले महँगो ब्याजमा परियो,' उनले भने, 'मैले सुरु सुरुमा जसोतसो गरेर ब्याज तिर्न सकें । तर, पछि तिर्न नसकेर गाउँमा बस्न नसक्ने भएपछि बूढीलाई एक बिघा दिएँ ।

एक बिघा बेचेर ऋण तिर्नु । नपुगेको साउदीबाट कमाएर पठाउँछु भनेर साउदीतिर लागें ।'

साउदीमा पेट्रोल पम्ममा दुई वर्षसम्म काम गर्दा घरमा जम्मा ५७ हजार रुपैयाँ पठाउन सफल भएँ । त्यसपछि आत्तिएका लामिछानेले सिधै कपिललाई भने, 'म घर जान्छु । तेरो पैसाले केही भएन । काम हामी गर्छौ तर  ठेक्का अरूलाई दिन्छस् । कि हामी नेपालीलाई ठेक्का दे ।  मिलेर गर्छौ  । नत्र टिकट दे ।' संयोगले कपिलले ठेक्का उनैलाई दिए । चारजना नेपालीले काम गर्दा दिनमा एक सय ५० रियालसम्म हात पारे । उनीहरू पेट्रोल पम्पमा गाडीहरूमा  मोविल चेन्ज गर्ने, गाडी धुने काम गर्थे । 'यसरी गर्दा ३ वर्षको अवधिमा मैले १७ लाख जति ऋण तिरेको थिएँ । बूढीले जग्गा बेचेर अलि अलि तिरिछ । सबैगरी २८ लाख ३६ हजार ऋण तिरिएछ,' उनले भने, 'मैंले कमाको पनि त्यहीं गो, जग्गाको पनि त्यही गो, छोराले कमा पनि त्यही गो । ४५ सालमा लिएको ऋण तिर्न हामीलाई २७ वर्ष लाग्यो ।'

 उनी साउदीमा ६ वर्ष ८ महिना बिताए । साथीसंगतले उनलाई गैरकानुनी पनि बनाए र साउदी छाड्न बाध्य बनाए । 'त्यहाँ कमाइ राम्रै थियो । के भयो भने मसँग मैरै नाम मिल्ने कुलप्रसाद पाण्डे थिए । ऊ गलत काममा सक्रिय रहेछ । उसले तास जस्तो खेल्दा ठूलो रकम हिनामिना गरेको रहेछ । आफु फसेको थाहा पाएपछि आत्महत्या गर्न ठीक परेको अवस्था देखेपछि मैले बचाएँ । प्रहरीले पनि पक्राउ गर्न लागेको थाहा पाएपछि भाग भन्दा मलाई पनि सँगै जान अनुरोध गरे । नत्र जान्नँ भन्न थाले', उनले भने, 'त्यसको मायाले रियादबाट भागेर आठ हजार किमि टाढा सायद जोर्डनको बोर्डरतिर पुगियो । त्यसपछि केही महिना काम गरेर जेल बसेर दमामबाट नेपाल आइयो । नत्र म साउदीमै हुन्थें होला ।' उनी सरकारको कृषि नीति श्रमिक मैत्री नभइदिँदा जीवनभर ऋण तिर्दैमा ठीक भएको बताउँछन् ।

'३/३ महिनामा ब्याज बुझाउनुपर्छ । त्यसरी नबुझाए १३ प्रतिशत १४ प्रतिशत बढ्दै जान्छ,' उनले भने, 'उत्पादन भएन भने किसानले कहाँबाट ल्याउने ? सरकारले पशुपालन गर्नेको लागि गाईले दूध दिउन्, जेलसम्म  ब्याज लिने र गाईले दूध नदिएपछि फेरि ब्याज नलिने व्यवस्था गर्नुपर्छ ।'

कतारमा बढ्ता दलाली देखेका कुलप्रसाद अब वैदेशिक रोजगारलाई अन्त्य मार्दै देश र्फकने प्रतीक्षामा छन् । 'बुढेसकाल पनि लाग्यो । अब नेपालमा नै बस्नुपर्ला,' उनले भने, 'हामीले कमाएर छोराहरूलाई राख्न सक्ने कुरा हैन । सके राख्ने हो । अब उनीहरूको भविष्य आफैं बनाउँछन । अब पहिलेजस्तो पनि छैन ।'  फेरि गएर गाईपालन गर्नुहुन्छ कि ? जोशका साथ उनको जवाफ आयो, 'अब त ५० हजार र एउटा गाई सित्तैमा दिन्छु कसैले भन्यो भने पनि मलाई चाहिँदैन ।'
प्रकाशित मिति: २०७० असार २७
https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment