दोहा (कतार), असार २७ -
गएको जुन २० बिहानै धनुषाका शुभनारयण टर्रेतले आफूजस्ता ५० जनाको नेपाली
कामदारको तलब लिएर ठेकेदार फरार भएको भन्दै सम्पर्कमा आए । दोहाको
नेसनलस्थित एउटा क्याम्पमा उनीहरूलाई भेट्न जाँदा एउटै क्याम्पमा १० जना
बढी बसेका रहेछन् । त्यसमा भेटिएका सबैभन्दा पाका थिए, तिलकपुर—३,
नवलपरासीका कुलप्रसाद लामिछाने । उनी घर जाने पर्खाइमा जुन १ बाट सुतेका
रहेछन् । ५२ वर्षिय लामिछानेले निरन्तर तलब नपाएपछि कतार छाडेर जाँदै
रहेछन् ।
घर जान नपाउँदा उनलाई सबैभन्दा चिन्ता असार महिनाको लागेको रहेछ । 'घरबाट
दैनिकजसो बूढीले सबैको खेत रोपिसकेको छ । हाम्रो बाँझै रहने भयो भनेर फोन
गर्छिन्,' उनले भने, 'गाउँमा असार महिना लागेको छ, यता आफू भने मंसिरमा
जस्तो केही काम नभएको जसरी सुतेर बस्नुपरेको छ ।'
दुई वर्षअघि कतार आएका लामिछानेका दुई छोराहरू पनि वैदेशिक रोजगारीमा
उडेका छन् । जेठो कतारमै होटलमा काम गर्छन् भने महिला मलेसियातिर लागेका
छन् । छोराहरू दुवै विदेश भए पनि आफूले जीवनमा गुमाएको खेत जोड्न कतार आएको
बताउँछन् । 'मेरो दुई बिघा खेत थियो,' उनले भने, 'एक बिघा गाईले खाइदियो ।
त्यो एक बिघा जोड्न सकिन्छ भनेको सकिएन ।'
लामिछाने गाईपालन व्यवसाय गर्दा उनी नराम्रोसँग डुबेका रहेछन् । ०४५
सालतिर भारत जाँदा गाईपालन व्यवसायबाट राम्रै भएको देखेपछि उनले योजना
बुनेछन्, 'यो गाईपालन व्यवसाय गरेमा छोराहरू पनि विदेश जानु पर्दैन म पनि
जानु नपर्ने । घरमै बसेर दैनिक जीवनयापन सहज हुन्छ ।' त्यो भन्दै ०४६ बाट
गाईपालन सुरु गरे । गाईको लागि गोठ मात्रै एक लाख ७५ हजार रुपैयाँमा बनाए ।
भारतको मोडीग्राम भन्ने ठाउँबाट महँगा १५ वटा गाई झिकाए । एउटा गाईलाई ३५
देखि ४५ हजारसम्म तिरे । गाईका लागि डाक्टर राखे । त्यो सबै गर्नको लागि
खेत र जग्गा बैंकमा राखेर १५ लाख रुपैयाँ ऋण लिएका थिए ।
सबैका दिन आउँदैन रहेछ । जसमा लामिछाने पनि परे । जोशको साथ सुरु गरेको
गाईपालन व्यवसाय तीन महिना नपुग्दै खत्तम भइदियो । रोग लागेर गाईहरू भकाभक
मर्न थाले । बैंकको किस्ता तिर्न सक्ने कुरै भएन । हेर्दाहेर्दा गोठ
रित्तिन महिना दिन पनि लागेन । केही महिनामै बैंकको पत्र आयो, 'सावा ब्याज
गरी १७ लाख बुझाउनुहोला । नत्र घर खेत जान्छ ।'
त्यसपछि लामिछानेले साथीभाइबाट ऋण लिएर बैंकको ऋण तिरे । 'साथीभाइलाई
वर्षभर ब्याज मात्रै बुझाए पनि हुने भनेर नियमित किस्ता तिर्न नसक्ने
भएकोले महँगो ब्याजमा परियो,' उनले भने, 'मैले सुरु सुरुमा जसोतसो गरेर
ब्याज तिर्न सकें । तर, पछि तिर्न नसकेर गाउँमा बस्न नसक्ने भएपछि बूढीलाई
एक बिघा दिएँ ।
एक बिघा बेचेर ऋण तिर्नु । नपुगेको साउदीबाट कमाएर पठाउँछु भनेर साउदीतिर लागें ।'
साउदीमा पेट्रोल पम्ममा दुई वर्षसम्म काम गर्दा घरमा जम्मा ५७ हजार
रुपैयाँ पठाउन सफल भएँ । त्यसपछि आत्तिएका लामिछानेले सिधै कपिललाई भने, 'म
घर जान्छु । तेरो पैसाले केही भएन । काम हामी गर्छौ तर ठेक्का अरूलाई
दिन्छस् । कि हामी नेपालीलाई ठेक्का दे । मिलेर गर्छौ । नत्र टिकट दे ।'
संयोगले कपिलले ठेक्का उनैलाई दिए । चारजना नेपालीले काम गर्दा दिनमा एक सय
५० रियालसम्म हात पारे । उनीहरू पेट्रोल पम्पमा गाडीहरूमा मोविल चेन्ज
गर्ने, गाडी धुने काम गर्थे । 'यसरी गर्दा ३ वर्षको अवधिमा मैले १७ लाख जति
ऋण तिरेको थिएँ । बूढीले जग्गा बेचेर अलि अलि तिरिछ । सबैगरी २८ लाख ३६
हजार ऋण तिरिएछ,' उनले भने, 'मैंले कमाको पनि त्यहीं गो, जग्गाको पनि त्यही
गो, छोराले कमा पनि त्यही गो । ४५ सालमा लिएको ऋण तिर्न हामीलाई २७ वर्ष
लाग्यो ।'
उनी साउदीमा ६ वर्ष ८ महिना बिताए । साथीसंगतले उनलाई गैरकानुनी पनि बनाए
र साउदी छाड्न बाध्य बनाए । 'त्यहाँ कमाइ राम्रै थियो । के भयो भने मसँग
मैरै नाम मिल्ने कुलप्रसाद पाण्डे थिए । ऊ गलत काममा सक्रिय रहेछ । उसले
तास जस्तो खेल्दा ठूलो रकम हिनामिना गरेको रहेछ । आफु फसेको थाहा पाएपछि
आत्महत्या गर्न ठीक परेको अवस्था देखेपछि मैले बचाएँ । प्रहरीले पनि पक्राउ
गर्न लागेको थाहा पाएपछि भाग भन्दा मलाई पनि सँगै जान अनुरोध गरे । नत्र
जान्नँ भन्न थाले', उनले भने, 'त्यसको मायाले रियादबाट भागेर आठ हजार किमि
टाढा सायद जोर्डनको बोर्डरतिर पुगियो । त्यसपछि केही महिना काम गरेर जेल
बसेर दमामबाट नेपाल आइयो । नत्र म साउदीमै हुन्थें होला ।' उनी सरकारको
कृषि नीति श्रमिक मैत्री नभइदिँदा जीवनभर ऋण तिर्दैमा ठीक भएको बताउँछन् ।
'३/३ महिनामा ब्याज बुझाउनुपर्छ । त्यसरी नबुझाए १३ प्रतिशत १४ प्रतिशत
बढ्दै जान्छ,' उनले भने, 'उत्पादन भएन भने किसानले कहाँबाट ल्याउने ?
सरकारले पशुपालन गर्नेको लागि गाईले दूध दिउन्, जेलसम्म ब्याज लिने र
गाईले दूध नदिएपछि फेरि ब्याज नलिने व्यवस्था गर्नुपर्छ ।'
कतारमा बढ्ता दलाली देखेका कुलप्रसाद अब वैदेशिक रोजगारलाई अन्त्य मार्दै
देश र्फकने प्रतीक्षामा छन् । 'बुढेसकाल पनि लाग्यो । अब नेपालमा नै
बस्नुपर्ला,' उनले भने, 'हामीले कमाएर छोराहरूलाई राख्न सक्ने कुरा हैन ।
सके राख्ने हो । अब उनीहरूको भविष्य आफैं बनाउँछन । अब पहिलेजस्तो पनि छैन
।' फेरि गएर गाईपालन गर्नुहुन्छ कि ? जोशका साथ उनको जवाफ आयो, 'अब त ५०
हजार र एउटा गाई सित्तैमा दिन्छु कसैले भन्यो भने पनि मलाई चाहिँदैन ।'
प्रकाशित मिति: २०७० असार २७
https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment