दोहा,
श्रावण ७ -
वैदेशिक रोजगारका क्रममा कतारमा रहेका २१ नेपाली कामदारलाई कम्पनीले तलब र
खानाका लागि रकमसमेत नदिएपछि शरण माग्दै आइतबार नेपाली दूतावासमा आइपुगेका
छन् । क्याम्पमा बस्नसमेत नपाएपछि उनीहरू दूतावासको ढोका ढकढक्याउन बाध्य
भएका हुन् ।
कतारको गल्फ रियल स्टेट कम्पनीमा कार्यरत उनीहरूले आफूहरूलाई कपिलले
पिट्ने, धम्काउने गरेको र हप्तौंदेखि खाना नपाएको बताएका छन् । 'हामीलाई
क्याम्प बोसले बस्नसमेत दिएनन्,' दूतावास आइपुगेका गोरखाका रणबहादुर आलेले
भने, 'एक हप्ताअघिबाट निस्की भनिरहेका थिए । तनाब थेग्न नसक्ने भएपछि सबै
सामान बोकेर आएका हौं । अब हाम्रो एकमात्र भरोसा दूतावास हो ।'
पीडितहरूले खाना नपाएर भोकभोकै बस्नुनपर्ने बताए । 'दुई दिनदेखि पानी
मात्रै पिएको छु,' रोल्पाका तिलक बुढा मगरले भने, 'कपिलको अनुरोधमा हाम्रो
खाता बन्द गरिएको छ । साथमा पैसा छैन ।' उनीहरूले जनवरीयता तलबसमेत पाएका
छैनन् । 'मैले ९ महिनायता तलब पाएको छैन,' १६ महिनाअघि कतार आएका धरानका
रमेश विकले भने, 'तलब नपाएकाले आउन लागेको ऋणसमेत तिर्न सकेको छैन ।'
अधिकांशले कतार बस्न अनुमति (आईडी) नपाएकाले गैरकानुनी हैसियतमा छन् ।
आईडी कार्ड नहुँदा अगस्टमा दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको उनले
बताए । 'मेरो गाउँले महेन्द्रकुमार लिम्बु र दाबा शेर्पा दुई महिनादेखि नै
जेलमा छन्', ताप्लेजुङका श्रीमान् सान्वा लिम्बुले भने, 'आईडी नहुनु हाम्रो
के दोष थियो र ?'
सबै कामदारले आफूहरूलाई यथासक्य छिटो घर पठाइदिन अपिल गरेका छन् । उनीहरू
काठमाडौंस्थित स्काई-वे म्यानेज्मेन्ट, टाइगर ओभरसिज र सान इन्टरनेसनल
लगायतबाट आएका हुन् । सप्लाईमार्फत विभिन्न कम्पनीमा निर्माण क्षेत्रमा
कार्यरत उनीहरूको तलब ६ देखि ८ सय तोकिएको छ । 'मैले ९० हजार रुपैयाँ तिरेर
आएको थिएँ,' सुकरौला, रूपन्द्रेहीका सारज उदिन सामातले भने, 'कमाउन आएका
मान्छे यता आफैं अलपत्र परियो । उता घरबाट पसलेले खाद्यान्न नदिएको खबर
आउँछ, यता आफू अलपत्र परेको छु ।'
नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले उनीहरूको समस्या समाधान
गर्न प्रयास भइरहेको बताएका छन् । 'आईडी कार्ड नभएकाले तुरुन्तै घर पठाउन
गाह्रो हुनेछ,' उनले भने, 'महिनाभन्दा बढी लाग्ने भएकाले उनीहरूको
बसोबासबारे छलफल भइरहेको छ ।'
प्रकाशित मिति: २०७० श्रावण ७
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
No comments:
Post a Comment