टोकरपुर (मन्थली), श्रावण १० - टोकरपुरकी गोमा पहरीका ४ छोराछोरी भए । ती सबैको जन्म घरमै भयो । 'स्वास्थ्य चौकीको आँगनसमेत नदेखी मेरा चारै सन्तान हुर्किए,' उनी गर्वसाथ भन्छिन् । गोमामात्र एउटी त्यस्ती पात्र होइनन्, सुत्केरी गराउनकै लागि स्वास्थ्य संस्था नपुगेकी हुन् । टोकरपुरको पूर्वी भिरालो पाखाका सबै पहरी महिलाले अहिलेसम्म सुत्केरी हुँदा स्वास्थ्य चौकी टेकेका छैनन् । घरमै सुत्करी गराउनेले समेत स्वास्थ्यकर्मीको सहयोग लिएनन् । कुनै एक महिलाले सुत्केरी गराउँदा स्वास्थ्यकर्मी सहयोग पाएको थाहा छैन यो गाउँवासीलाई ।
'भीरपाखैमा जन्मेका सबै बाँचेकै छन्,' स्थानीय झम्कबहादुर पहरी भन्छन्, अस्पताल लैजाउँभन्दा कोही मान्दैनन् । 'पहिले त्यो चलननै थिएन, अहिले आयो । 'हाम्रा पालामा पातैमा छोराछोरी भए ख्यै केही भएन,' उनले भने । झम्कबहादुरका अनुसार लेखर्कमा अहिले पनि परम्पराकै सिको गर्दै बच्चा जन्माउने चलन छ । गाउँमा कुनै महिलालाई सुत्केरी बेथाले च्यापे छिमेकी वृद्धाहरू जम्मा भएर घरेलु विधि अपनाउँछन् । बसोबास रहेको पहरी जातिका महिला अहिलेसम्म सुत्केरी गराउन स्वास्थ्य चौकीसम्म पुगेका छैनन् । लेखर्कबाट दोरम्बा र टोकरपुरमा रहेका स्वास्थ्य चौकीमा सुत्केरी हुने महिला लैजान जम्माजम्मी एक घन्टाको मात्र बाटो छ ।
टोकरपुर गाविसकै दुर्गममा पर्ने लेखर्ककी महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय महिलालाई सम्माउने गरेपछि कोही महिलाले उनीको कुरा मान्ने गरेका छैनन् । गर्भवती महिलाहरूले नियमित गराउनुपर्ने गर्भ परीक्षण भने कोही कोहीले गराउने गर्छन् । लेखर्कमा रहेका ५२ परिवारमध्ये ३४ परिवार पहरीको बसोबास छ । पहरीहरूको बसोबास रहेको सँगैको अर्को बस्ती दोरम्बा हो । दोरम्बाको गाउँका पहरी महिलाहरू पनि सुत्केरी सेवा लिनका लागि स्वास्थ्य चौकी पुग्दैनन् । 'हाम्रो गाउँमा जसले आएर सिकाए पनि कोही मान्नेवाला छैनन्,' पहरी समाजका जिल्ला कोषाध्यक्ष रहेका कुपेन्द्र पहरीले भने । 'हामीले भनेको त ठ्याप्पै मान्दैनन्,' उनले भने । कुपेन्द्र लेखर्कमा पढेलेखेका युवामा पर्छन् । उनले कक्षा ११ को अध्ययन सकेका छन् ।
सुत्केरी गराउँदा स्वास्थ्य चौकीबाट पाइने १ हजार रुपैयाँ र थप केही सहयोगका बारेमा गाउँमा कुरा नपुगेको होइन । सुरक्षित पनि हुने, पैसा पनि पाइने खबर त थाहा छ तर एक हजारको लागि यत्रो बाटोको बोकेर ओहोरदोहोर गर्छ स्थानीय महिला त्यही कुरामा जिद्धि गर्छन् । 'पैसालाई महत्त्व नदिएको भनौं भने हाम्रो गाउँमा मुस्किलले ३ महिनाभन्दा खान पुग्ने कोही छैनन्,' पहरीले भने । चेतनाको अभावले परम्परादेखिको बानी हटाउन सकिएको छैन ।
लेखर्क यस्तो गाउँ हो जहाँका पहरी मात्र होइन अन्य जाति पनि अस्पतालको सेवा भरसक लिन चाहँदैनन् । यो गाउँमा घरैपिच्छे धामी-झाँक्री छन् । कुपेन्द्र भन्छन्, 'ढ्याङ्ग्रो ठोक्ने मात्र ३ झाँक्री छन् ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment