-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, भाद्र १४ - भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दीनका एक संस्थापक यासिन भट्कल भनिने मोहम्मद अहमद सिद्धिबाप्पालाई काठमाडौंबाट पक्राउ गरी भारत पुर्याइएको खुलासा भएको छ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) उच्चस्रोतका अनुसार दुबईबाट काठमाडौं आएका ३० वर्षीय भट्कललाई बुधबार दिउँसो २ बजे बागबजारबाट पक्राउ गरी वीरगन्जको सीमावर्ती क्षेत्र रक्सौल हुँदै भारत बिहारको मोतिहारी लगिएको हो । उनलाई शुक्रबार दिल्ली लगिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतबाटै आएका र नेपालस्थित दूतावासमा रहेका भारतको बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ 'र' र आन्तरिक मामिला हेर्ने इन्टेलिजेन्स ब्युरो (आईबी) का अधिकारीले नै उनलाई पक्राउ गरेको स्रोतले बतायो । राअवि स्रोतले गत भदौ २ मा लस्कर ए तोएबासम्बद्ध बम विशेषज्ञ अब्दुल करिम टुण्डालाई राजधानीमा जसरी पक्राउ गर्यो, त्यस्तै तरिकाले नै भट्कललाई पनि पक्राउ गरिएको बतायो । गृह मन्त्रालय र नेपाल प्रहरीले भने गिरफ्तारीबारे जानकारी नभएको जनाएका छन् । 'गिरफ्तारीबारे मलाई जानकारी छैन,' गृह प्रवक्तासमेत रहेका शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव शंकर कोइरालाले भने । प्रहरी प्रवक्ता नायब महानिरीक्षक नवराज सिलवालले भट्कललाई नेपाल प्रहरीले पक्राउ नगरेको दाबी गरे । 'उनी नेपाली भूमिमा पक्राउ परेका पनि होइनन्,' उनले भने ।
भारतीय सुरक्षा निकायलाई हवाला दिँदै त्यहाँका सञ्चार माध्यममा आएका समाचारमा पनि विरोधाभाष देखिन्छ । भारतमै पक्राउ परेको दाबी गरिए पनि सीमावर्ती भनेर नेपालको नाम जोडिएको छ ।
बिहीबारको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार भट्कलको गिरफ्तारीमा 'र' र आईबीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । समाचारअनुसार भारतीय र अन्तर्राष्ट्रिय जासुसी एजेन्सीले भारत गोरखपुर नजिक नेपालको सुनौलीस्थित सीमामा भट्कलसँग कुराकानी गरेका थिए । त्यो अन्तर्राष्ट्रिय जासुसी एजेन्सी कुन हो खुलाइएको छैन ।
हिन्दुको अनलाइन संस्करणको समाचारमा बिहार पूर्वी चम्पारन जिल्लाका एसपी विनय कुमारलाई उद्धृत गर्दै भट्कललाई नेपालको वीरगन्जसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र रक्सौलबाट मोतिहारी पुर्याइएको उल्लेख छ । राअवि स्रोतले पनि उनलाई रक्सौल हुँदै भारत पुर्याइएको बताएको छ । प्रहरीको गुप्तचर स्रोतले भने दुवै गिरफ्तारी योजनाबद्ध हुनसक्ने बताएको छ ।
बिरामी रहेका टुण्डा र युवा भट्कलका परिवारलाई विश्वासमा लिएर योजनाबद्ध हिसाबले उनीहरूलाई बोलाएर पक्राउ गरिएको हुनसक्ने आतंकवादी मामिला हेर्ने प्रहरी स्रोतले बतायो । यसअघि पक्राउ परेका ७० वर्षीय टुण्डाको मुटुमा पेसमेकर राखिएको छ । 'उनीहरूबाट नेपाली भूमि प्रयोग भएको हुनसक्छ तर बाहिरको सुरक्षा निकायका मानिसले राजधानीबाटै पक्राउ गर्ने र हामीले थाहा नपाउने हुन सक्दैन,' प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार भट्कललाई भारतीय प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । पछिल्लो दुई वर्षमा उनले ५ पटक दुबई र पाकिस्तानबाट नेपाल आउने जाने गरेको र भारतीय सुरक्षा निकायले उनीबाट नेपाली सिमकार्डसमेत बरामद गरेको स्रोतले बतायो । उनले नेपाली सिमबाट सम्पर्क गरेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ ।
टुण्डामाथि त्रिभुवन विमानस्थलमा ओर्लेदेखि नै निगरानी गरिएको थियो । घण्टाघरस्थित जामे मस्जिदद्वारा सञ्चालित जामे मार्केटबाट निस्कँदै गर्दा टुण्डालाई पक्राउ गरिएको स्रोतले जनायो । घण्टाघरअघिबाट मोटरसाइकल चढेर जाँदै गर्दा उनी पक्राउ परेको जनाइएको छ ।
टुण्डाले सुनसरी र बाराबाट गरी दुईवटा नेपाली नागरिकता लिएको राअवि स्रोतको दाबी छ । भारत बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्लाको जामिया आईबीएन ताइमियाँ मादिन्त इस्लाम मुस्लिम महाविद्यालयमा पटकपटक आउने जाने गर्थे । त्यो महाविद्यालय बाराको सिम्रौनगढबाट २० किलोमिटर दक्षिणस्थित मोतिहारीको ढाकाथाना चन्दनबारा ग्राममा रहेको जनाइएको छ ।
भारतीय गृहमन्त्री सुशीलकुमार सिन्धेलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले जनाएअनुसार इन्डियन मुजाहिद्दीनका एक संस्थापक भट्कललाई भारत बिहारको नेपालसँग जोडिएको सीमावर्ती क्षेत्रबाट बुधबार साँझ पक्राउ गरिएको हो । खास नाम मोहम्मद अहमद सिद्धिबप्पा भए पनि उनी भट्कल र साहरुख नामले समेत चिनिन्थे । भट्कल मुम्बई, दिल्ली, हैदरावाद, बैंगलोर, अहमदावाद, पुना र जयपुरका विभिन्न स्थानमा भएको बम विस्फोटका आरोपी रहेको भारतीय सुरक्षा निकायको भनाइ छ ।
इन्डियन मुजाहिद्दीनलाई भारतले सन् २०१० जून ४ बाट आतंककारी संगठनको सूचीमा राखेको छ । अमेरिकाले समेत यस संगठनलाई आतंकवादीकै सूचीमा राखेको छ । भारतको नेसनल इनभेस्टिगेसन एजेन्सीले भट्कल पक्राउमा सघाउनेलाई १० लाख भारतीय रुपैयाँको इनाम घोषणा गरेको थियो । भट्कललाई सन् २००८ मा पश्चिम बंगाल प्रहरीले पक्राउ गरे पनि उनको आतंककारी पृष्ठभूमिबारे बेखबर प्रहरी अधिकृतको मूर्खताका कारण उनी धरौटीमा छुट्न सफल भएका थिए ।
सन् १९४३ मा दरयागन्ज दिल्लीमा जन्मिएका टुण्डाले ७ कक्षासम्म पिल्खुवामा रहेको क्रिश्चियन मिसिनरी स्कुलमा पढेका थिए । पिताको मृत्युपछि उनले पढ्न छाडेका थिए ।
अगस्ट २३ को इन्डियन एक्सप्रेसको अनलाइन संस्करणको समाचारअनुसार कुनै समय वेटर र सिकर्मीको जागिरसमेत गरेका टुण्डाका तीन श्रीमती छन् ।
लस्कर ए तोएबासँग आबद्ध बम निर्माणमा पोख्त टुण्डा सन् २००९ मा अमृतसरमा भएको विस्फोटका आरोपी हुन् । भारतीय सुरक्षा निकायका अनुसार विभिन्न १६ वटा आतंककारी गतिविधिको अभियोग लागेका टुण्डाको सन् १९९८ को दिल्ली विस्फोटमा समेत भूमिका थियो ।
प्रकाशित मिति: २०७० भाद्र १४

No comments:
Post a Comment