Sunday, August 18, 2013

अस्पतालले परिवारसँग माफी माग्यो > स्टिल झिक्दा बालकको मृत्यु प्रकरण

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, भाद्र ३ - काठमाडौ मोडेल अस्पतालले सामाखुसीका पाँचवर्षे बालक सम्राट प्रधानको मृत्युको घटनाबारे अस्पतालमा आइतबार दिनभर भएको छलफलपछि परिवारसँग माफी माग्दै अस्पतालले उपचारमा संलग्न केही स्वास्थ्यकर्मीलाई निलम्बित गरिएको बताएको छ । स्वास्थ्य क्षेत्रका विशेषज्ञ, विभिन्न स्वास्थ्य संस्था, मोडेल अस्पताल र मृतक आफन्तबीच भएको दिनभर लामो वार्तापछि अस्पतालले मृतक परिवारलाई पत्र दिंदै माफी मागेको हो ।
'मृतक बालक परिवारजन तथा आफन्त पक्षले इंगित गरेको कमी-कमजोरीहरूमा समेत गम्भीरतासाथ लिँदै तत्सम्बन्धमा संलग्न स्वास्थ्यकर्मीहरूलाई छानबिनको क्रममा निलम्बित गरिएको छ,' मृतकका परिवारलाई दिइएको पत्रमा भनिएको छ, 'उपचार प्रयासका बाबजुत बालकको असामयिक निधनले अस्पताल दुःखी भएको छ । अस्पतालमा भएको बिरामीको मृत्यु डाक्टरका लागि पराजय हो र यस पराजयका लागि परिवारजनप्रति क्षमाप्रार्थी छौं ।'
मृतक परिवार र सञ्चारकर्मीले विशेष आग्रह गर्दा समेत अस्पतालले कति कर्मचारीलाई निलम्बित गरिएकोबारे जानकारी दिन चाहेन । 'बैठकले देखाएका अन्य कमी-कमजोरी हटाउन र सेवामा सुधार गर्न अस्पताल व्यवस्थापन प्रतिबद्ध छ,' पत्रमा उल्लेख छ ।
यसै सन्दर्भमा अस्पतालले एक प्रेस विज्ञप्ति जारी घटनामा केही कमी-कमजोरी भएको जनाएको छ । शल्यक्रियापश्चात् बालकलाई ज्वरो आइरहेकाले संक्रमणका कारण हो/होइन भन्ने ठम्याउन यथेष्ट परीक्षण नभएको, मृतकको पोस्टमार्टम गर्न अनिच्छुक भएका आफन्तलाई अस्पताल पक्षबाट विशेष आग्रह नगरिएको, जतिसुकै सानो शल्यक्रिया गर्दा पनि बिरामीलाई कम्तीमा एक दिनअघि नै भर्ना गरी शल्यक्रियापूर्व परीक्षण तथा हेरचाह नगरिएको विज्ञप्तिमार्फत स्वीकार गरिएको छ ।




प्रकाशित मिति: २०७० भाद्र ३

No comments:

Post a Comment