Friday, August 9, 2013

दिल्लीको सन्देश के ?

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

नयाँदिल्ली, श्रावण २६ - तीन महिना अन्तरमा नेपाली नेताहरूका चार उच्चस्तरीय राजनीतिक दिल्ली भ्रमणमा कुन बढी अर्थपूर्ण र विशिष्ट होला ? पछिल्लोपल्ट कांग्रेस सभापति सुशील कोइरालाको भ्रमणसँगै यो बहस सुरु भएको छ ।
पछिल्लो एक महिनामा कांग्रेसका दुई शीर्ष नेताहरू सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले भ्रमण गरेका छन् । भारतले लिने नेपाल नीतिमा परिवर्तनका विन्दु पहिल्याउन र नेपालले चाहेको परिवर्तनको संस्थागत स्वरूपबारे जानकारी लिन राजनीतिक तहमा भेटघाट भइरहेको स्पष्ट छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस नेता देउवाको भ्रमण 'पूर्वप्रधानमन्त्रीको हैसियत' मा थियो भने यो साता दिल्ली आएका कोइरालाको 'पार्टी सभापतिको हैसियतमा ।'
यसअघिका भ्रमणहरू राजनीतिकभन्दा बढी द्वैपक्षीय सहयोग र सम्बन्धका अन्य आयाम तथा विकास निर्माणका परियोजना केन्दि्रत देखिन्थे । तर कोइरालाको भ्रमण नेपालमा आसन्न संविधानसभा निर्वाचनमा भारतीय स्पष्ट अडान र दुई देशका कांग्रेस पार्टीको ऐतिहासिक सम्बन्धको व्याख्यानमा बढी केन्दि्रत देखियो ।
यी भ्रमणबीचमा भारतीय विदेश मन्त्रालयले जानाजानी वा झुक्किएर नेताहरूबीच भ्रमण हैसियतको 'स्पष्ट संकेत' देखाएको छ । कांग्रेस नेता देउवा र कोइरालाको भ्रमण तालिकालाई मात्रै विदेश मन्त्रालयले नियमित कार्यसूचीमा राख्यो भने दुई कम्युनिस्ट पूर्वप्रधानमन्त्री दाहाल र नेपाल सूचीमा अटाएनन् ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहको बुझाइमा भारतीय संस्थापन पक्षले नेपाली कांग्रेसका नेताहरूको दिल्ली भ्रमणमा देखाएको 'उच्च प्राथमिकतासँगै राजनीतिक संकेत' पनि स्पष्ट भएको छ ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धीले कोइरालासँग नेपाली कांग्रेस र भारतीय कांग्रेसबीचमा स्वतन्त्रता संग्रामदेखिको सम्बन्ध रहेको स्मरण गर्दै नेपाल अहिले परिवर्तनको ऐतिहासिक मोडमा रहेकाले 'कांग्रेसले बढी जिम्मेवारी' बहन गर्नुपर्ने स्पष्ट धारणा राखे ।
कांग्रेस सभापति कोइराला र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला दिल्लीले राखेको यही नजिकको भरोसाप्रति दंग देखिन्थे, यथार्थको धरातल जेजस्तो भए पनि ।
दिल्ली भ्रमण पूरा गरी उत्तर प्रदेश, बिहार राज्यमा भेटघाटमा व्यस्त सभापति कोइरालाले दिल्ली भेटवार्तामा दुई पटक नसोचेको अवस्था बेहोर्नुपर्‍यो । पहिलो थियो, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले 'नेपाल धर्मनिरपेक्ष बनाइएकोमा जनाएको असन्तुष्टिको सन्दर्भ' । र, दोस्रो, विदेशमन्त्री सलमान खुर्सिदले 'राजनीतिक सहमतिसहितको विकास परियोजना लिएर दिल्ली आउनका लागि दिएको सुझाव ।' दुवै मुद्दामा कोइरालासँग कुनै जवाफ थिएन । जहिल्यै असहमति, किचलो र झगडाबीच रमाइरहेका नेपालका दलहरूमाझ यस्तो सहमतिको परियोजना आफैंमा 'महँगो कुरा' थियो ।
विगतमा पूर्वप्रधानमन्त्रीहरू दाहाल, नेपाल, देउवा र अहिले सभापति कोइराला आउँदा कसैले पनि एकमतको र सहमति भएको विकास योजनाको माग लिएर दिल्ली आएका थिएनन् । हरेक नेताहरूले भारतसँगको आफ्नो सीमावर्ती जिल्लामा झोलुंगे पुल बनाउनेदेखि गाउँमा छोटी हुलाक निर्माण गर्नेसम्मको साँगुरो माग लिएर दिल्ली आएको अवस्थामा विदेशमन्त्री खुर्सिदले 'निकै महँगो सुझाव' दिएका छन् । राजनीतिकबाहेक मामलामा दिल्लीले नेपाली राजनेताहरूको नाडी छामेर यही सहमतिको सन्देश यसपटक सुनाउन चाहेको छ ।






प्रकाशित मिति: २०७० श्रावण २६

No comments:

Post a Comment