-भिडियो हेर्नुस्:http://www.youtube.com/
काठमाडौ, भाद्र १५ - उच्चस्तरीय राजनीतिक समितिले नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गराउन अझै प्रयत्न गर्ने निर्णय गरेको छ । समितिले औपचारिक वार्ता गर्ने जिम्मा भने सरकारलाई दिएको छ ।
समितिको शुक्रबार बसेको बैठकले मंसिरमा चुनाव गर्ने गरी माओवादीसँग अनौपचारिक वार्ता जारी राख्ने भएको छ । 'अझै अनौपचारिक कुराकानी गरी चुनावमा आउन मनाउने निर्णय भएको छ,' एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार बैठकले मधेसी जनअधिकार फोरम नेपालसहितको मोर्चासँग भएको पाँच बुँदे सहमति सरकारलाई बुझाउँदै असन्तुष्टलाई मंसिर ४ को निर्वाचनमा सहभागी हुनेगरी वार्ताको जिम्मेवारीसमेत सुम्पने भएको छ । 'समितिभन्दा वैधानिक निकाय सरकार हो, सहमतिलाई राष्ट्रपतिकोमा लैजाने निकाय पनि सरकारै हो,' सिटौलाले भने, 'मंसिर ४ लाई ध्यानमा राखेर नेकपा-माओवादीसहित असन्तुष्ट दलहरूलाई बोलाएर सरकारले सहमति गरोस् भन्ने कुरा भएको छ ।'
बैठकमा अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँगको वार्ता छिटो टुंग्याउने निधो भएको छ । समाजवादीसँग शनिबार वार्ता गर्ने निर्णय भएको छ । समितिले बेवास्ता गरेको भन्दै समाजवादी आक्रोशित बनेको थियो । 'अशोक राईजीको पार्टीसँगको वार्ता टुंगोमा पुर्याउने प्रयास शनिबार हुनेछ,' श्रेष्ठले भने ।
प्रकाशित मिति: २०७० भाद्र १५

No comments:
Post a Comment