काठमाडौ, असार १८ - एमाओवादी नेता बाबुराम भट्टराईले पद त्यागमाथि पुनर्विचार नगर्ने अडान अझै छोडेका छैनन् । साउन ४ गते सुरु हुने विस्तारित बैठकले पद त्यागको मुद्दामा फैसला गर्नेछ ।
भट्टराईको पद त्याग उलने भनेजस्तै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विकासको विधि तयार गर्न हो वा सस्तो लोकपि्रयताका लागि उनले पद छोडेको हो भन्ने प्रश्न यतिबेला उठेका छन् । माओवादीभित्रै केहीले सस्तो लोकपि्रयता भनेका छन् भने युवा पुस्ता सकारात्मक भन्दै उत्साहित छ ।
विशेष गरी युवा पुस्ता उनको पद त्यागबाट उत्साहित भएका छन् भने ६० वर्ष पुगेका नेताहरूले 'अनुपयुक्त' समयको निर्णय भनी टिप्पणी गरेका छन् ।
युवा नेता देवेन्द्र पराजुलीले 'सचेत' पहल कदमी भनेका छन् । 'यो नयाँ सांगठनिक कार्यदिशा निर्माणका लागि गरिएको सचेत पहल कदमी हो' उनले सामाजिक संजाल फेसबुकमा लेखे । भट्टराईको पद त्याग व्यवहारमा लागू भए युवा पुस्ताले नेतृत्व लिने अवसर पाउनेछन् ।
सोमबारसम्म भट्टराईले पद त्यागलाई पुनर्विचार गर्ने संकेत दिएका छैनन् । 'मैले सोचविचार गरेरै पद त्याग गरेको हुँ, यसमा पुनर्विचार हुँदैन' उनले निकट नेताहरूसँग भने, 'यसले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न बाटो खोलेको छ ।' अध्यक्ष पुष्पकमल दाहाललगायत अन्य नेताहरूले पद त्याग फिर्ता लिन आग्रह गर्दासमेत उनले मानेका छैनन् ।
तर एमाओवादीकै एउटा पंक्तिले भने भट्टराईलाई पत्याएको छैन । केही नेताले भट्टराईले तेस्रो पटक पद त्याग गरेकाले पुरानै जिम्मेवारीमा र्फकने दाबी गरेका छन् । 'उहाँले यसअघि दुई पटक पद त्याग गरी पदमा र्फकनुभएको हो, यो तेस्रो पटक हो' ती नेताले भने, 'उहाँ उपाध्यक्ष पदमा फेरी र्फकनुहुन्छ ।'
भट्टराईले २०५१ मा जनमोर्चाको अध्यक्षबाट र २०६१ सालमा पोलिटब्युरोबाट राजीनामा दिएर पुनः ती पदमा फर्केका थिए । भट्टराईको पद त्यागले अध्यक्ष दाहाललाई अप्ठ्यारो पारेको छ । आफूले पद त्याग गरेपछि दाहालले पनि विस्तारै अध्यक्ष पद त्यागेर युवा पुस्तालाई बाटो खोल्ने बताएका थिए । यो दाहालका लागि व्यंग्य हो । तर दाहाल भने अध्यक्ष पद छाडेर 'उदारता' देखाउने पक्षमा देखिँदैनन् । नेपालको राजनीतिका शक्तिशाली राजनीतिक पदबाट दाहालले स्वैच्छिक बिदा लिन चाहेको देखिँदैन । त्यसैले उनले आइतबार भट्टराईलाई पद त्यागको निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए ।
शनिबार बिहानसम्म भट्टराईले पद त्यागबारे केन्द्रीय पदाधिकारीलाई कुनै संकेत दिएका थिएनन् । 'बाबुरामजीले पद त्यागबारे पहिले कुनै जानकारी दिनुभएको थिएन,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'एकैचोटि केन्द्रीय समितिमा पद त्यागको घोषणा गर्नुभयो ।' विस्तारित बैठकले यसरबारे के निर्णय गर्नेबारे नेताहरूसँग स्पष्ट जवाफ छैन । 'आशा गरौं, विस्तारित बैठकले सकारात्मक हल गर्नेछ,' श्रेष्ठको भनाइ छ ।
भट्टराईले सार्वजनिक रूपमा सोचविचार गरेर पद त्याग गरेको बताए पनि केन्द्रीय पदाधिकारीलाई कुनै संकेत नदिनुको कारण खुलाएका छैनन् । पार्टीभित्र पद पाउन 'तँ छाड, म छाड' हुन थालेपछि उनले आवेगमा आएर पद त्यागेको घोषणा गरेका हुन् । त्यसपछि यो ठूलो नैतिक प्रश्न बन्यो । अब उनले चाहेर पनि उपाध्यक्ष पदमा र्फकन गाह्रो देखिन्छ ।
एमाओवादीका नेताको चयन र बढुवाबारे स्पष्ट कार्यविधि नबनेसम्म भट्टराईको पद त्यागको खास अर्थ हुँदैन । 'पद त्यागेपछि स्पष्ट विधि बनाउनुपर्छ' भट्टराई निकट नेता टोपबहादुर रायमाझीले भने, 'नेताको मूल्यांकनको कि स्पष्ट आधार बनाउनु पर्यो, कि चुनावमा जानुपर्यो ।' उनले पार्टीमा 'टिके' प्रथा अन्त्य गर्ने सुरुवात भट्टराईको पद त्यागले गरेको जनाए ।
प्रकाशित मिति: २०७० असार १८
- See more at: https://www.facebook.com/nepalinewsspopular VDO http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment