nepali new VIDEO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण ११ - भारतीय सत्तारूढ संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) की प्रमुख तथा कंग्रेस आई अध्यक्ष सोनिया गान्धीले नेपालमा लोकतान्त्रिक शक्तिबीच एकता देख्न चाहेको बताएकी छन् । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबारको भेटमा उनले लोकतान्त्रिक शक्तिबीचको एकतामा जोड दिएकी हुन् ।
'लोकतन्त्रलाई बलियो बनाउन लोकतान्त्रिक शक्तिबीच एकता देख्न चाहन्छौं,' अध्यक्ष गान्धीको भनाइ उदृत गर्दै भ्रमण टोलीमा संलग्न एमाले विदेश विभाग सदस्य राजन भट्टराईले कान्तिपुरसँग भने । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्घता पनि गान्धीले जनाएको उनले बताए ।
नेपालले गान्धीसँग उनकै निवासमा भेटेका थिए । अपराह्न चार बजे भएको ३५ मिनेट लामो वार्तामा अध्यक्ष गान्धीले नेपालमा संक्रमणकालको चाँडै अन्त्य भएको देख्न चाहेको बताएकी थिइन् । त्यसका लागि निर्वाचन उपयुक्त अवसर हुने उनको भनाइ थियो । प्रमुख दलहरूबीच दिल्लीमा भएको १२ बुँदे सहमतिपछि सुरु शान्ति प्रक्रिया र संविधान निर्माण पूरा नहुँदा संक्रमणकाल लम्बिइरहेको छ । संक्रमणकाल अन्त्यकै लागि दोस्रो पटक संविधानसभा चुनाव हुन लागेको हो ।
पूर्वप्रधानमन्त्री नेपालले सबैलाई समेटेर समयमै निर्वाचन गर्ने प्रयास भइरहेको बताएका थिए । उनले निर्वाचनबाट संविधान जारी गर्ने र त्यसपछि सुरु हुने आर्थिक विकासका लागि उदारतापूर्वक सहयोग आवश्यक रहेको धारणा गान्धीसँग राखेका थिए । द्विपक्षीय सम्बन्ध विस्तारका लागि राजनीतिक संवादलाई जोड दिनुपर्ने नेपालको भनाइ थियो ।
'राजनीतिक दलहरूबीचको सम्बन्ध जति राम्रो भयो त्यति नै द्विपक्षीय सम्बन्ध मजबुत हुन्छ,' नेता नेपालको भनाइ उदृत गर्दै भट्टराईले भने । गान्धीले नेपालमा उच्चतहको राजनीतिक सम्बन्ध बढाउन तयार रहेको धारणा राखेकी छन् ।
नेपाल र भारत नजिकमा छिमेकी भएकाले आपसी संवादले द्विपक्षीय सम्बन्ध बलियो र चासो बुझ्न सहयोग पुग्ने अध्यक्ष गान्धीको भनाइ थियो । भेटमा कंग्रेस आईका विदेश विभाग प्रमुख करण सिंह र एमाले महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।
नेपाल-भारत सम्बन्धमा दलहरूबीचको भूमिका प्रभावकारी बनाउने उद्देश्यअनुसार भारतले नेता नेपाललाई भ्रमणमा बोलाएको हो । द्विपक्षीय सम्बन्धमा राजनीतिकभन्दा पनि अन्यपक्ष बढी हावी हुन थालेको महसुस भएपछि दल र नेताहरूसँगको सम्बन्ध बढाउने नीति भारतले लिएको हो ।
नेता नेपालसँगको भेटमा भारतीय अधिकारीले दलहरूसँगको सम्बन्ध बढाउने नीति रहेको स्पष्ट सन्देश दिएका छन् । यही नीतिअनुसार यसअघि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई भारतले बोलाएको थियो ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग बिहीबार साँझ हुने भनिएको भेट शुक्रबार बिहानका लागि सरेको छ । गान्धीसँगको भेटपछि नेता नेपालले जनता दल (यूनाइटेड) का अध्यक्ष शरद यावदसँग छलफल गरेका थिए । बिहीबार बिहान नेपालसँग भारतीय विदेश सचिव रञ्जन मथाईले भेट गरेका थिए । नेपाललाई भेट्न विदेश सचिव मथाई होटल ओवराय पुगेका थिए । विदेश सचिवसहितको टोलीससँग नेपालले संविधानसभाको चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नका लागि भारतलगायतका मित्रराष्ट्रहरूको सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए ।
नेता नेपालसँग राष्ट्रवादी कंग्रेसका महासचिव डिपी त्रिपाठीले पनि भेटेका थिए । नेता त्रिपाठीले नेपालको राजनीतिक निकासका लागि एमालेले खेलेको समन्वयकारी र लचकदार भूमिकाको प्रशंसा गरेका थिए । लोकसभा सदस्य सज्जनसिंह बर्माले पनि होटलमै पुगी नेपालाई भेटेका थिए । दिउँसो बिहार राज्यका मन्त्री र केही सांसदले पनि नेपाललाई भेटेका थिए । नेता नेपालले शुक्रबार प्रधानमन्त्री सिंहसँगको भेटपछि सत्तारूढ र विपक्षी दलका नेताहरूसँग भेट्नेछन् । शनिबार पटना जाने कार्यक्रम छ ।
नेता नेपालले भारतीय अधिकारीसँग विशेष गरी सडक निर्माण, सञ्चार र जलविद्युत्का मुद्दालाई प्राथमिकताकासाथ उठाएका थिए । प्रधानमन्त्री भएका बेला सुरु गरिएका केही आयोजनालाई उनले जोड दिएका थिए । भारतीय पक्षसँग तराईको हुलाकी सडक निर्माण, मुजफ्रपुर-ढल्केबर प्रसारण लाइन निर्माण र महाकाली पञ्चेश्वर परियोजनालाई तीव्रता दिन ध्यानाकर्षण गराएका थिए । मध्यपहाडी राजमार्गको दोलालघाटदेखि धनकुटा खण्ड निर्माणमा पनि नेपालले सहयोगको आग्रह गरेका थिए । भारतले मध्यपहाडी राजमार्ग निर्माणमा चासो देखाउँदै आएको छ । यस्तै वागमती सभ्यता परियोजना सञ्चालनका लागि पनि उनले भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति: २०७० श्रावण ११

No comments:
Post a Comment