साफ यू-१६ च्याम्पियनसिप
भारत ०-० अफगानिस्तान (टाइब्रेकर ४-३)
भिडियो हेर्नुस् : http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण १४ - नेपालले दोस्रो साफ यू-१६ च्याम्पियनसिप फुटबलमा उपाधिका निम्ति भारतविरुद्ध खेल्ने भएको छ । भारतले अफगानिस्तानलाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४-३ ले पन्छाउँदै नेपालविरुद्ध फाइनल भेट आइतबार निश्चित गर्यो ।
नेपालले पहिलो सेमिफाइनलमा बंगलादेशलाई ५-१ ले शनिबार पन्छाउँदै पहिलोपल्ट साफ यू-१६ को फाइनल यात्रा तय गरेको थियो । पहिलो संस्करणको उपविजेता भारतले दुई वर्षअघि दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपाललाई १-१ को बराबरीपछि टाइब्रेकरमा ४-२ ले निराश पारेको थियो । नेपालका निम्ति दशरथ रंगशालामै मंगलबार हुने दोस्रो साफ यू-१६ को फाइनल दुई वर्षअघिको बदला लिने राम्रो अवसर हुनेछ ।
लगनखेलस्थित आर्मी मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध अफगानिस्तानले राम्रो खेल पस्कियो । विशेषगरी दोस्रो हाफमा अफगानिस्तानले एकपछि अर्को गर्दै निरन्तर आक्रमण गर्यो । तर, सिर्जित थुप्रै गोलका अवसर उपयोग गर्न सकेन । त्यसैले निर्धारित ९० मिनेट गोलरहित भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा भारतको सुरुआत राम्रो थिएन । कृष्ण पण्डितले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । त्यसपछि वेदेश्वर सिंह, कप्तान प्रोसेन्जित चक्रवर्ती, सुई टिर्के र आरोन प|mयांंकलिनले सटीक प्रहार गरे । अफगानिस्तानका सुरुआती दुई प्रहारमा अतिकुलल्लाह वाजिरी र नासर अहमद नेकजाद सफल रहे । लगत्तै कप्तान सहिद जलाल कुसेनीले हानेको बलले पोस्टको दिशा लिएन । त्यसपछि भारतको आस फर्कियो । चौथोमा सरदारी अमनुल्लाहले लोभलाग्दो प्रहार गरे ।
अफगानिस्तानको पाँचौं तथा निर्णायक अवसरमा रेजाही मोर्ताजाको सशक्त प्रहार बल क्रसबारमा लागेर फर्केपछि भारतले फेरि फाइनलमा स्थान बनायो । 'गोलका धेरै अवसर गुमाएपछि हार्नुपर्यो,' अफगान प्रशिक्षक वाहिदुल्लाह वाहेदीले भने, 'पेनाल्टी सुटआउट भाग्यको खेल हो । जसको भाग्य बलियो छ, उसैले जित्छ ।'
भारतका प्रशिक्षक गौतम घोषले भने, 'कडा मिहिनेत गर्ने र राम्रो खेल्ने' सधंै भाग्यमानी हुन्छ । प्रतिद्वन्द्वी निकै राम्रो थियो । हामी सिक्ने प्रक्रियामै छौं ।
एक्सपोजर चाहिएको छ । त्यसपछि टिम परिपक्व हुने छ ।' नेपालविरुद्धको फाइनलबारे
उनले भने, 'नेपालको टिम धेरै राम्रो र सन्तुलित छ । पछिल्ला चार खेलमा उसले एक रूपले राम्रो खेलिरहेको छ । पहिलो संस्करणको फाइनलमा हारेका थियौं । तर, प्रत्येक दिन आइतबार हुँदैन । र, कुनै पनि टिम यहाँ हार्न आएका होइनन् ।'
प्रकाशित मिति: २०७० श्रावण १४
see more at https://www.facebook.com/nepalinewss
No comments:
Post a Comment