Friday, May 23, 2014

हराउँदै छन् ढुंगेधारा



भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

ललितपुर, जेष्ठ ९ - च्यासलको नारानहिटीमा पाँच वर्षअघिसम्म चैत-वैशाखको खडेरीमा समेत दुईवटै ढुंगेधाराबाट पानी बग्थ्यो । अहिले कमिला हिंड्न थालेका छन् । अव्यवस्थित सहरीकरण, ऐतिहासिक पोखरी र कुण्डहरूको विनाश र जथाभावी डिप बोरिङका कारण ढुंगेधाराको यो दुर्दशा भएको जानकारहरूले बताए ।

'घर अगाडिको ढुंगेधारामा पानी आउँदासम्म सजिलो थियो, सुकेपछि पानी खोज्दै हिंड्नुपर्छ,' स्थानीय निर्मला महर्जनले भनिन् । पाटनका ६० भन्दा बढी ढुंगेधाराको हालत यस्तै छ । जमिनमा प्रशस्त पानी सिञ्चित हुन नपाउँदा ठूलो मूल भएका सुन्धारा, मंगहिटी, आल्कोहिटी र कुम्भेश्वर ढुंगेधाराको मुहान सुक्दै गएको स्थानीयवासीले बताए । केही वर्ष अघिसम्म ढुंगेधाराकै पानीले नुहाइधुवाई र करेसाबारीमा सिँचाइसमेत गर्ने पाटनवासी अहिले ट्यांकरको पानी किनेर खान थालेका छन् ।

'पाँच-सात वर्षयता पानी ठ्याम्मै छ,' नागबहालका हरिकाजी महर्जनले भने,' यस्तै अवस्था रहे चार-पाँच वर्षमा वर्षायाममा समेत पानी चुहिन मुस्किल पर्छ ।' दशक अघिसम्म तीनटा ढुंगेधारामा बाह्रैं महिना पानी बग्थ्यो स्थानीय आकाश महर्जनले स्मरण

गरे । नागबहाल टोलमा खानेपानी लिमिटेडले नियमित पानीसमेत वितरण गरेको छैन । 'किन्नुको विकल्पै छैन,' उनले भने ।

ऐतिहासिक नगरी पाटनमा बर्सेनि घरहरू थपिंदै छन् । अग्ला घरहरू निर्माण हुने क्रम बढ्दो छ । गहिरो जग खन्दा पानीका मूलहरू छिन्दै गएको जानकारहरूले बताए । पोखरी र कुण्डहरूको विनाशका कारण ढुंगेधारा संकटमा परेको भूगोलका अध्यापक डा.सुरेशदास श्रष्ठले बताए । 'सबैतिर इँटा र ढुंगा बिछ्याएपछि माटोको भित्री तहसम्म पानी पुग्न पाएन,' उनले भने, 'पोखरी र कुण्डको जग्गासमेत मिचेर घर बन्न थालेपछि ढुंगेधारा सुक्न थालेका हुन् । जथाभावी इनार खन्दा पनि असर परेको छ ।'

ललितपुरका ६० भन्दा बढी ढुंगेधाराको जलाधार क्षेत्र मानिने सप्तपाताल पोखरी मिचेर नमुना मच्छिन्द्र उच्चमावि सञ्चालन गरिएको छ । कुमारीपाटीमा पोखरी पुरेर १८ रोपनी जग्गामा घर बनाइएका छन् । छयाबहालको ऐतिहासिक पोखरी हराइसक्यो । प्रयाग पोखरी नजिकको प्या पुःख (कहिल्यै नसुक्ने) पोखरीमा आजभोलि हिलोसमेत देख्न मुस्किल भएको स्थानीय ज्ञानशोभा महर्जनले बताइन् । चारवटा विशाल पोखरी रहेको ठाउँमा हाल ललितपुर उपमहानगरपालिकाको भवन ठडिएको छ । पोखरीको जग्गा मासेकाले पाटनवासी काकाकुल हुन पुगेको स्थानीय दिलीप बाराहीले बताए ।

ढुंगेधारा सुक्न थालेपछि इनार खन्ने र बोरिङ गर्ने क्रम तीव्र भएको छ । 'केयूकेएलले मूलबस्तीमा एक चौथाइ -२५ प्रतिशत) पानी पुर्‍याउन सकेको छैन,' स्थानीय सुरेश श्रेष्ठले भने ।

गैरसरकारी क्षेत्रको एक अध्ययनअनुसार नगरका ६० भन्दा बढी ढुंगेधारामध्ये करिब ४० वटामात्रै सञ्चालनमा छन् । बाँकी काम नगर्ने वा लोपै भएका छन् । लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्मको सिमसार ब्युँताउन सके ऐतिहासिक ढुंगेधाराले पुनर्जीवन पाउने उपमहानगरपालिका कार्यकारी प्रमुख मोहननाथ मास्केले बताए ।



प्रकाशित मिति: २०७१ जेष्ठ ९

No comments:

Post a Comment